Main Menu

मूल्याङ्कन अनलाईनका सम्पादक महर्जनलाई ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान

माघ १५, काठमाडौं

emulyankan-editor-maharjan-shakti-tara-smriti-puraskar

प्रेस सेन्टर नेपालको १४ औं स्थापना दिवसको अवसरमा मूल्याङ्कन अनलाइनका सम्पादक तुल्सीदास महर्जनलाई राजधानीमा आज आयोजित एक कार्यक्रममा ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ द्वारा सम्मान गरिएको छ ।

वरिष्ठ पत्रकारहरु बितेका शक्ति लम्साल र तारा न्यौपानेको सम्झनामा प्रेस सेन्टर नेपालले यसै वर्ष स्थापना गरेको सो पहिलो पुरस्कार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्ध कालमा युद्धभूमिमा रही पत्रकारिता गरेका देशभरका महिला पत्रकारहरुलाई पनि सम्मान पत्र प्रदान गरी सम्मानित गरे ।

प्रेस सेन्टर नेपालसँग सम्बन्धित देशभरका प्रतिनिधि पत्रकारहरु सहभागी उक्त कार्यक्रममा प्रेस काउन्सिल तथा प्रेस चौतारीका अध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

मूल्याङ्कन मासिक, नवयुवा मासिक र मूल्याङ्कन अनलाइनका सम्पादकको हैसियतमा आफूलाई प्रदान गरिएको पुरस्कारको सन्दर्भमा ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’द्वारा सम्मानित सम्पादक महर्जनले प्रेस सेन्टर नेपाललाई धन्यवाद दिई एक विज्ञप्ति प्रकाशित गरेका छन् । विज्ञप्तिको पूर्ण पाठ यहाँ प्रस्तुत गरिन्छ ।

विज्ञप्तिको पूर्ण पाठ

म एकजना विज्ञानको बिद्यार्थी । सत्य खोज्नु नै जीवन हो भन्ने धारणा बोकेको मान्छे । सत्यको स्रोत त भौतिक वस्तुको यथार्थता र त्यसभित्रको प्राकृतिक नियममा लुकेको हुन्छ भन्ने कुरा मलाई विज्ञानले सिकायो । वस्तु र घटना एवं परिघटनाको मूल्याङ्कन बिना यथार्थ बुझ्न सकिन्न, सत्य खोज्न सकिन्न । मूल्याङ्कन पत्रिका अर्थात् मूल्याङ्कन संस्थासित यसको जन्मदेखि नै मेरो साइनो यही कारणले जोडिन पुग्यो ।

निष्प्राण पदार्थ मात्र भौतिक सत्य होइन । मानव समाजभित्रको यथार्थता पनि भौतिक सत्य हो । हजारौं वर्षदेखि मानव समाजमा वर्ग बिभाजन, वर्ग बिभेद, वर्गीय शोषण र त्यसको कारणले उत्पन्न दुःख, दर्द, अन्याय, अत्याचार, विकृति आदि सबै भौतिक सत्यहरु हुन् । पदार्थ गतिशील छ । गतिकै क्रममा यसले आफूलाई बदल्दछ र वस्तु रुपान्तरणको अवस्था आउँछ । मानव समाज पनि एक भौतिक यथार्थ भएकोले यो पनि गतिशील छ । गतिशील भएकैले समाजभित्रको वर्गीय अन्तरविरोधले पैदा गरेको उथलपुथलले मानव समाजलाई बदल्दछ । मानव समाज बदल्ने उथलपुथललाई हामी क्रान्ति भन्छौं ।

त्यही क्रान्ति खोज्ने प्रयत्नमै मैले आफ्नो जीवनको दुई दशकभन्दा बढी समय मानव समाज र यसको गतिको मूल्याङ्कन गर्ने प्रयास स्वरुप मूल्याङ्कन पत्रिका र संस्थामा बसेर पत्रकारिता गरेँ ।

सत्य खोज्नु मानव जीवन हो । सत्य खोज्ने बिचार र पद्धति विज्ञान हो । पदार्थ अन्तिम सत्य हो । पदार्थको नियमले केहीलाई पनि विभेद गर्दैन । पदार्थ बुझ्ने बिचार र पद्धति पनि विज्ञान नै हो । त्यसैले विज्ञान बिचारले बिभेदलाई ठाउँ दिँदैन । मानव समाजमा भएको वर्ग विभेद समाजको भौतिक संकट हो । त्यसैले त्यसको समाधानका लागि जन्मेको मार्क्सवादको आधार विज्ञान भयो ।

मलाई थाहा छ तपाईं सम्पूर्ण पत्रकार मित्रहरु त्यही माक्र्सवादले सिकाएका दर्शन, सिद्धान्त, बिचार र संस्कृतिको वाहक बनी विद्यमान वर्ग विभेदको समाज बदल्ने महा अभियानमा लागिरहनुभएको छ । तपाईं सम्पूर्ण मित्रहरुमा मेरो सलाम छ ।

मलाई थाहा छ, प्रेस सेन्टर नेपाल समाज बदल्ने यही महा अभियानमा आजभन्दा १४ वर्षपहिलेदेखि निरन्तर लाग्दै आएको क्रान्तिकारी संस्था हो । हजारौ वर्षको वर्गीय समाजकै हिस्साको रुपमा पछिल्लो अढाइ सय वर्ष पुरानो सामन्तवादी समाजमा राज्यसत्ता कब्जा गर्दै आएको राजतन्त्र ढाल्न गणतन्त्रको झण्डा बोकेर नेपालमा २०५२ सालबाट जनयुद्ध सुरु भयो । दश वर्षसम्म निरन्तर चलेको त्यो जनयुद्धको सफलताका लागि नै त्यही कालभित्र यो प्रेस सेन्टर नेपाल आजभन्दा १४ वर्षपहिले स्थापना भई क्रियाशील भएको इतिहास हामी सबैलाई थाहा छ । यसमा क्रान्तिकारी पत्रकार एवं जनताले गर्व गर्ने ठाउँ छ ।

बितेका शक्ति लम्साल र तारा न्यौपाने नेपालको माक्र्सवादी मिडिया आन्दोलनका सर्वश्रेष्ठ सम्मानित व्यक्तित्वहरु हुन् । नेपालको क्रान्तिकारी आन्दोलनमा उहाँहरुको योगदान अतुलनीय छ । म प्रेस सेन्टर नेपालको १४ औं स्थापना दिवसको अवसरमा उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । प्रेस सेन्टर नेपालले उहाँहरुको स्मृतिमा पुरस्कारको स्थापना गरेर क्रान्तिकारी आन्दोलनका वाहकहरुलाई ऊर्जा थप्ने प्रशंसनीय काम गरेको म ठान्दछु ।

त्यस पुरस्कारको हकदार सुरुमै मलाई गरिएकोमा प्रेस सेन्टर नेपाल र पुरस्कार प्रदान गर्नुहुने पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

आन्दोलनधारा र क्रान्तिधारामा व्यक्ति एउटा सानो हिस्सा मात्र हो । जस्तो कि रेखामा बिन्दु असङ्ख्यमा एक खण्ड मात्र हो । बिन्दुबिन्दु मिलेर रेखा बन्दछ । रेखा कोर्दा गति रेखामा अभिव्यक्त हुन्छ बिन्दुमा होइन । तर, फेरि बिन्दु नभई रेखा पनि बन्दैन । आन्दोलनधारा र क्रान्तिधारा गतिवान रेखा हुन् । व्यक्तिहरु त्यसभित्रका सानासाना बिन्दुसरी हिस्सा हुन् । त्यसैले व्यक्ति मात्रैको कुनै अर्थ र महत्व हुन्न । मूल्याङ्कन संस्थाले लिएको दर्शन, सिद्धान्त, बिचार र कर्मले नेपाली समाज परिवर्तनका लागि सञ्चालित आन्दोलनधारा र क्रान्तिधारामा पु¥याएको योगदान नै महत्वको विषय हो भन्ने म ठान्दछु । त्यसैले मलाई प्रदान गरिएका पुरस्कार र सम्मानले मूल्याङ्कन संस्थाको मिडिया अभियानप्रतिको आम क्रान्तिकारीहरुको स्विकारोक्ति हो भनेर म बुझ्दछु । त्यसको लागि प्रेस सेन्टर नेपालका सम्पूर्ण पत्रकार कमरेडहरुलाई म हार्दिक आभार व्यक्त गर्नुका साथै धन्यवाद पनि दिन चाहन्छु । धन्यावाद छ तपाईंहरुलाई ।

मैले अभियान पत्रकारिताको सुरुवात २०४४ सालमा गरेको थिएँ । गर्जन साप्ताहिकमा डेस्क सम्पादकका रुपमा । आदरणीय कमरेड नारायणकाजी श्रेष्ठ प्रधान सम्पादक हुनुहुन्थ्यो । आदरणीय कमरेड गिरिराजमणि पोखरेल सम्पादक हुनुहुन्थ्यो । आदरणीय अग्रज कमरेड निनु चापागाईं, सहकर्मी पत्रकार कमरेडहरु विश्वनाथ साह र प्रल्हाद बुढाथोकी पनि सँगसँगै हुनुहुन्थ्यो । उहाँहरु सबैसँगको बिचार र जीवन अन्तरक्रियाबाट म पत्रकार हुन पुगेँ । त्यसैले उहाँहरु सबैलाई म आज त्यही सन्दर्भमा राखी सम्झन्छु ।

पंचायती निरंकुशताको समयमा सुरु गरिएको त्यो पत्रकारिता एक वर्षसम्म मात्र चल्यो । किनकि, पंचायतले त्यसको प्रकाशन बन्द गरिदियो ।

२०४६ सालको जनआन्दोलनको आलोकमा २०४८ सालमा मूल्याङ्कन पत्रिका र संस्थाको जन्म भएको तपाईंहरुलाई मैले दोहोर्याई रहनु नपर्ला भन्ने म ठान्दछु । मूल्याङ्कन प्रकाशनको सुरुदेखि नै व्यवस्थापन, प्रचारप्रसार र वितरणमा सहयोगी बन्दै २०५२ सालबाट म पूर्णकालीन पत्रकारको रुपमा मूल्याङ्कन पत्रिका र त्यसको सहप्रकाशन नवयुवा पत्रिकासँग जोडिएँ । मूल्याङ्कन संस्था एक अभियान पत्रकारिता (मिसन जर्नालिज्म) भएको सर्वविदितै छ । यही कारणले नै त्यस संस्थासित र पत्रकारितासित मेरो जीवन अभिन्न रुपले जोडिन पुग्यो । आज मलाई जुन पुरस्कार दिइयो, यो त्यही अभियानको निरन्तरताका लागि इन्धन हो भन्ने म ठान्दछु । त्यसैले यस घडीमा म मूल्याङ्कन पत्रिकाका सुरुवाती प्रकाशक मित्र सुवास श्रेष्ठ, प्रधान सम्पादक श्याम श्रेष्ठ र सम्पादक नारायणकाजी श्रेष्ठ प्रकाशलाई सम्झन्छु । त्यस्तै गरी मूल्याङ्कन मासिक एवं मूल्याङ्कन अनलाइनका प्रधान सम्पादक हरिगोबिन्द लुईंटेललाई पनि सम्झन्छु । त्यस्तै गरी सम्पादनका सहकर्मी मित्रहरु राजेन्द्र महर्जन मुक्ता श्रेष्ठ, बितेका गोबिन्द वर्तमान, भोगीराज चाम्लिङ, झलक सुवेदी, संगीत श्रोता र चन्द्र खाकीलाई पनि सम्झन चाहन्छु । मूल्याङ्कन संस्थालाई लामो समयसम्म संरक्षक भई अभिभावकत्व प्रदान गर्नुहुने डा. मथुराप्रसाद श्रेष्ठ, सल्लाहकारहरु डा. कमलकृष्ण जोशी, डा. कृष्णबहादुर थापा, साहित्यकार खगेन्द्र संग्रौला, बितेका चन्द्रराज ढुङ्गेल, डा. चैतन्य मिश्र, समालोचक डि. आर पोखरेल, वामपन्थी नेता पद्मरत्न तुलाधर, डा. भरत प्रधान, डा. महेश मास्के, प्रा. महेश्वरमान श्रेष्ठ, प्रा. हर्षनारायण धौभडेललाई पनि सम्झना गर्न चाहन्छु । त्यस्तै गरी व्यवस्थापन तर्फका सहकर्मीहरु श्याम खड्का, बितेका बेखादास महर्जन, विरप्रसाद भंसारी, श्याम खड्का, बलराम पोखरेल, दुर्गा खड्का, जमुनाप्रसाद चौधरी र श्रीबहादुर खड्कालाई पनि सम्झना गर्न चाहन्छु ।

मूल्याङ्कन संस्थाको सुरुवाती समयमा व्यवस्थापकीय र वितरणमा कीर्तिपुरका मित्रहरु सूर्य बज्रबज्राचार्य, दिलबहादुर महर्जन आदिले पनि महत्वपूर्ण भूमिका खेल्नुभयो । म आज उहाँहरु सबैलाई पनि सम्झना गर्न चाहन्छु । पत्रिकाको दुःख सुखसँग लामो समयसम्म जोडिएका इन्द्रेणी अफेसट प्रेसका सञ्चालक ज्ञानेन्द्र मानन्धरलाई पनि म सम्झना गर्न चाहन्छु ।

सम्झना गर्ने क्रममा मलाई मूल्याङ्कनको अभियानमा निरन्तर लाग्न सहयोग गर्नुहुने मेरी जीवन सङ्गीनी फोटो पत्रकार हिरा महर्जन, भर्खरै कला पत्रकारिता थालनी गरेकी मेरी छोरी दिपमाला महर्जन, विज्ञान लेखक एवं पत्रकार मेरा छोरा आकाश महर्जनलाई पनि सम्झना गर्दछु । साथै मेरो हरेक रचनामा जिज्ञासा राख्ने र मनोविज्ञानका बिद्यार्थीको नाताले मलाई मनोवैज्ञानिक सुझाव दिँदै गरेकी मेरी छोरी निश्चला महर्जनलाई पनि म आज सम्झना गर्न चाहन्छु ।

म ‘म’ बन्न म आफैबाट मात्र बनेको नभई धेरै व्यक्तिहरुको र धेरै चेतनाहरुको अन्तरक्रियाबाट बनेको अनुभूति मलाई भएको नाताले पुरस्कार र सम्मान मेरो निजी विषय होइन भन्ने म ठान्दछु । अन्तमा फेरि एक पटक अग्रज पत्रकार बितेका शक्ति लम्साल र बितेका तारा न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै पुरस्कार प्रदान गर्नुहुने पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र प्रेस सेन्टर नेपालप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

तस्बिर – हीरा महर्जन

(Visited 216 times, 1 visits today)

टिप्पणी

comments