Main Menu

१८ लाख डलरमा विक्री भएका आइन्स्टाइनका दुई सामान्य नोट

einstein-notes-sold-18-lakhन् १९२२ सम्ममा ४३ वर्षीय वैज्ञानिक अल्बर्ट आइन्स्टाइन विश्वकै सबैभन्दा प्रख्यात जिवीत भौतिकशास्त्रिको रुपमा परिचित भइसकेका थिए । त्यस वर्ष आइन्स्टाइन एउटा जापानी प्रकाशकको निमन्त्रणामा लेक्चरहरु दिन जापान पुगे । युरोपबाट जापान जाँदै गर्दा उनलाई १९२१ को नोबेल पुरस्कार प्रदान गरिने कुरा उनले थाहा पाए । सैद्धान्तिक भौतिकशास्त्रमा उनले पुर्याएको योगदान र विशेषत फोटोइलेक्ट्रिक इफेक्टको बारेमा उनले प्रतिपादन गरेको सिद्धान्तको लागि उनलाई नोबेल पुरस्कार प्रदान गरिने कुरा थियो । उनले नोबेल पुरस्कार पाउने समाचार अत्यन्त द्रुतगतिमा जापानसम्मै फैलियो । नोबेल पुरस्कार पाउने व्यक्तिलाई प्रत्येक्ष भेट्ने मौकाको हज्जारौँ जापानीहरु प्रतिक्षा गरिरहेका थिए ।

फरक प्रकारको टिप

मानिसहरुको भीडम्भीड र कोलाहलबाट थकित आइन्स्टाइन टोकियोको इम्पेरियल होटलमा रहेको आफ्नो कोठामा सोचमग्न थिए । होटलका एक कर्मचारीले डेलिभरी ल्याउँदै ढोका ढक्ढकाउँछन् । सायद सो कर्मचारीले आइन्स्टाइनबाट टिप लिन मानेनन् वा सायद आइन्स्टाइनसँग चेन्ज थिएन । त्यसैले आइन्स्टाइनले ‘खुसी जीवन जिउनको लागि के गर्नुपर्छ ?’ भन्ने प्रश्नको जवाफस्वरुप हातैले लेखेर २ वटा नोटहरु दिन्छन् ।

त्यो बेला कसले सोचोको होला र ती नोटहरु करिब एक शताब्दीपछि  दशौँ लाख डलरमा बिक्री हुन्छन् भनेर ? गत साता जेरुसलाम अक्सन हाउसमा ती दुई नोटहरु १८ लाख डलरमा बिक्री भए । 

पहिलो नोटमा लेखिएको थियो, ‘सफलताको लागि सधैं दौडिरहने जीवनले भन्दा शान्त र सरल जीवनले हामी धेरै सुखी बन्छौँ ।’ उक्त नोटको लिलामीको लागि २ हजार अमेरिकी डलरबाट बोली सुरु भएको थियो । २० मिनेटमा बोली १५ लाख ६० हजार अमेरिकी डलर पुगेको थियो जबकी अक्सन हाउसले त्यसको मुल्य ८ हजार अमेरिकी डलरभन्दा बढी अपेक्षा गरेको थिएन ।

दोस्रो नोटमा लेखिएको थियो, ‘जहाँ इच्छा, त्यहाँ उपाय ।’ सो नोट भने २ लाख ४० हजार अमेरिकी डलरमा बिक्री भयो ।

छोटै भएपनि ती सन्देशहरुबाट आइन्स्टाइनको त्यो समयका सोचहरुको बारेमा हामी अनुमान लगाउन सक्छौँ । आफ्नो करिअरका सुरुवाती दिनहरुमा आइन्स्टाइनले पेटेन्ट क्लर्कका रुपमा गरेका संघर्षहरुबाट के अनुमान लगाउन सक्छौँ भने, उनलाई ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने कथनमाथि पूर्ण विश्वास थियो ।

त्यस्तै, पहिलो नोटमा लेखिएको सन्देशबाट पनि के अनुमान लगाउन सक्छौँ भने आफू रातारात प्रख्यात भएबाट उनी आवश्यकताभन्दा बढी उत्साहित भएर बाटो बिराउने लाइनतिर लागेनन् । विश्वकै सबैभन्दा प्रतिभाशाली जीवित भौतिकशास्त्रीको रुपमा प्रतिष्ठित रहे पनि उनी कहिलेपनि ख्याति प्राप्तिका पछाडि दौडेनन् । 

आइन्स्टाइन यदि जिउँदै हुँदो हो त उनले लेखेको एक सरल नोट यति ठूलो रकममा विक्री भएको समाचार सुनेर उनले के सोच्थे होला ? सायद व्यंग्यात्मक मुस्कानको साथ भन्थे, ‘सय वर्षपछि पनि मान्छेहरुले मैले भनेको कुरा सुनेनन् । सायद लाखौँ वर्ष पनि पर्याप्त नहोला ।’

  • राकेश खत्री
(Visited 2,374 times, 1 visits today)

टिप्पणी

comments