Main Menu

संस्कृति

द्रौपदीको दुःख

  • अभय श्रेष्ठ

draupadiko-dukha(साहित्य तत्कालीन समय र स्थानको ऐना हुन्छ । साहित्यमा समाजको संरचना, राजनीति, अर्थव्यवस्था, संस्कृति र मूल्य मान्यता प्रतिविम्वित भएका हुन्छन् । तर पनि साहित्य साहित्य नै हुन्छ, यथार्थ हुँदैन । साहित्यमा रहेका पात्र, कथावस्तु, घटना, परिघटना आदि सबै समाजबाट टिपिएका हुने भए पनि अपवादबाहेक सबै हुबहु हुँदैनन् ।

महाभारतको कथा सम्भवतः तीन हजार वर्षभन्दा पहिले वेदव्यास ऋषिले लेखेको उत्कृष्ट साहित्य हो । त्यसमा उल्लेखित पात्र, घटना, परिघटना र कथावस्तु हुबहु नभए पनि त्यसभित्र समाविष्ट कयौं कुराहरु यथार्थ घटनाबाट टिपिएका हुन सक्छन् । तर, साँचो कुरा के हो भने वेदव्यासको लेखनले त्यतिखेरको मानव विकासको स्तर, राजनीति, सामाजिक संरचना, सामाजिक मूल्य मान्यता, अर्थव्यवस्था र साँस्कृतिक स्तर र रुपलाई झल्काएको छ ।

महाभारत काल अर्थात लेखक ऋषि वेदव्यासको पाला भनेको मानव समाज विकासको चरणको हिसाबले दास युगको समय थियो । त्यसैले दास युगमा पूर्वीय समाज कस्तो थियो भन्ने कुरा महाभारत कथामा राम्ररी नै बयान छ ।

हजारौं वर्षपहिलेको लेखनबारे समाजका सबै थरी मानिसहरुले आलोचनात्मक ढङ्गले हेर्ने र व्याख्या विश्लेषण गर्ने कुरा भएन । अझ त्यसलाई धार्मिक विश्वास र मान्यतामा ढालिएपछि त त्यसप्रति आलोचनात्मक हेराई रहने त कुरा नै भएन । अझै पनि महाभारत कथामा उल्लेखित सबै घटनाहरु सत्य र जायज मान्नेहरु हाम्रो समाजमा बग्रेल्ती पाइन्छन् ।

महाभारत कथालाई आलोचनात्मक हेराइ हेर्दा तत्कालीन दास युगमा महिलाहरुको स्थिति कति अन्यायपूर्ण थियो भन्ने कुरा त्यसभित्रकी पात्र द्रोपदीले भोग्नुपरेको नियतिलाई नियाल्दा प्रष्ट हुन्छ । पाण्डव भाइहरुमध्ये धर्मवीरको रुपमा ठड्याइएका एक भाइ युधिष्ठिर महिलाहरुको दृष्टिमा कति अन्यायी पात्र हुन्, धृतराष्ट्र महाराज, भीष्म पितामह, कृष्ण आदि पात्रहरुको चरित्र कति दुष्ट छ भन्ने कुराले त्यतिखेरको दास युगको चरित्रलाई छर्लंग्याएको छ ।

यिनै कुराहरुलाई लेखक अभय श्रेष्ठले आफ्नो रचना ‘द्रोपदीको दुःख’ मा व्याख्या गरेका छन् । ‘नवयुवा’ मासिक पूर्णाङ्क १७६ मा प्रकाशित यो रचना पूर्वीय दास युगमा महिला वर्ग कुन स्थितिमा थियो भन्ने बुझ्न मद्दत हुने ठानी यहाँ पुनः प्रकाशित गरिन्छ । – सम्पादक)

पूर्वीय साहित्यमा रुचि राख्नेमध्ये धेरैलाई ‘महाभारत’ सर्वाधिक प्रिय किताब हो । यसकी पात्र द्रौपदी सर्वाधिक महत्वपूर्ण पात्र । उनी नारी उत्पीडन, दलन, सहनशीलता र बौद्धिकताका प्रतिमूर्ति हुन् । प्रतिवाद क्षमता पर्याप्त हुँदाहुँदै पनि उनी पुरुषसत्ताको पाँग्राले नराम्ररी किचिएकी छन् ।

द्रौपदीसम्बन्धी ती प्रसंग सम्झँदा संवदेनाको समभावले मेरो हृदयगति नै रोकिएलाजस्तो हुन्छ । एक, कुन्तीको आदेशका निहुँमा आफ्नो ‘स्वार्थ’ पूर्ति गर्न युधिष्ठिरले उनलाई पाँच भाइकी साझा पत्नी घोषणा गर्दा । दुई, गर्दै नगरेको अपराधका लागि दुर्योधनको सभामा दुःशासनले जगल्ट्याउँदै उनको सारी तान्दा । तीन, सुमेरु पर्वतमा ढलेपछि पाँचै पतिले पापिनी भनी जीवनको अन्तिम घडीमा छाडेर हिँड्दा । पूर्वीय समाजमा नारीहरुले शब्दमा वर्णन गर्नै नसकिने असीम दुःख भोगेका छन् । तर, पुरुषसत्ताको क्रेनले किचिनु नै तिनको नियति हो भन्ने सोच्नु न्यायमूलक सामाजिक परिकल्पनाकै उपहास हो । यही विचारबाट प्रेरित भएर मैले एउटा कथा लेखें—‘सुमेरुमा द्रौपदी’ । त्यसमा द्रौपदी आफ्नो जीवनको पुनर्मूल्यांकन गर्छिन् र पाण्डवहरुको क्रुरताप्रति विद्रोह गर्छिन् ।
………………………

द्रौपदी पाञ्चाल नरेश द्रूपदकी छोरी हुन् । अनुपम सौन्दर्य र अतिआकर्षक शारीरिक बनोटले गर्दा उनी हरेकजसो पुरुषको सपनाकी रानी थिइन् । तल पानीमा छायाँ हेर्दै माथि रुखमा झुन्ड्याइएको माछा आकारको यन्त्रको छिद्रमा वाण हानेर अर्थात् मत्स्यवेधको सर्त पूरा गरेर अर्जुनले उनलाई स्वयम्बरमा प्राप्त गरे । तर, आमाको आदेश शिरोपर गरेर युधिष्ठिरले उनलाई पाँच दाजुभाइकी साझा पत्नी बनाइदिए ।

यथार्थचाहिँ अर्कै थियो । अत्यन्त आकर्षक शरीरकी धनी द्रौपदीलाई पहिलोपल्ट देख्दै जेठा पाण्डुपुत्र पानीपानी भएका थिए । तर, सर्तअनुसार मत्स्यवेध गर्न उनी समर्थ थिएनन् । त्यसमाथि स्त्रीजातिलाई आकर्षित गर्ने सौर्य र सौन्दर्य दुवै उनीसँग थिएन । त्यसले गर्दा उनीभित्र अचम्मकै जटिलता हुर्किरहेको थियो । त्यो बेलाबेला अनेक रुपमा प्रकट भयो । द्रुपद आफ्नी अनिन्द्य सुन्दरी छोरीका पति शुरवीर अर्जुन नै होऊन् भन्ने चाहन्थे । लाक्षागृहमा पाँचै पाण्डव जलेर मरिसकेको खबर फैलिए पनि त्यसमा उनको विश्वास थिएन । त्यसैले उनले छोरीको स्वयम्बरका लागि मत्स्यवेधको सर्त राखे । त्यो अर्जुनबाहेक कसैले पूरा गर्न नसक्नेमा उनी विश्वस्त थिए । संसारका सारा क्षेत्रीय राजाहरुले गर्न नसकेपछि ब्राह्मण भेषको एक युवक उठ्यो र सजिलै मत्स्यवेध गरिदियो । ती अर्जुन थिए ।

राजाहरु ब्राह्मणले क्षेत्रीय कन्या जितेको देख्न चाहँदैनथे । उनीहरु अर्जुनसँग युद्ध गर्न तयार भए । अर्जुन र भीमलाई त्यहीँ छाडेर नकुल—सहदेवलाई लिएर युधिष्ठिर लुसुक्क भागे । युधिष्ठिरभित्रको ‘जटिलता’ पहिलोपल्ट यहीँ प्रकट भयो । विचरा अर्जुनलाई साथ दिने भीम मात्र भए । सयौं राजाको आक्रमण सामना गर्न उनीहरुलाई हम्मे प¥यो । घमासान युद्ध भयो । युद्धको भयावह रुप देखेर कूटनीतिमा पोख्त कृष्णले हस्तक्षेप गर्दै राजाहरुलाई भने,‘ब्राह्मण भए पनि द्रौपदीमाथि सर्त पूरा गर्नेकै हक लाग्छ ।’ बल्ल राजाहरु युद्ध रोक्न तयार भए । द्रौपदीलाई लिएर डेरा पुग्नै लाग्दा भीम र अर्जुन खुसीले चिच्याए, ‘आमा, बाहिर आएर हेर्नुस् त, हामीले एउटा विशेष चिज ल्याएका छौं ।’

सुन्दरी द्रौपदी उनीहरुका लागि कुनै ‘चिज’ मात्र थिइन् । सायद त्यसैले भित्रैबाट कुन्तीले फ्याट्ट भनिदिइन्, ‘पाँचै दाजुभाइले बराबर बाँडेर लिनू ।’ द्रौपदीलाई देखेपछि दुःख मनाउ गर्दै उनले युधिष्ठिरलाई भनिन्, ‘हरे अञ्जानमै मैले यस्तो के बोलेँ । अब तिमी एउटा उपाय निकाल । मेरो भनाइ असत्य नहोस् । र द्रौपदीले पनि दुःख भोग्नु नपरोस् ।’ मत्स्यवेध गरेर अर्जुनले स्वयम्वरमा द्रौपदीलाई पाएको खबर युधिष्ठिरले आमालाई सुनाएकै रहेनछन् । सुनाएका भए यो स्थिति कदापि आउने थिएन । युधिष्ठिरको कुण्ठा दोस्रोपल्ट छताछुल्ल भयो ।

‘साइँला भाइ, यिनलाई जितेको तिमीले हो, तिमी नै यिनको पाणी ग्रहण गर,’ आमाको आज्ञापछि लोकाचारवश युधिष्ठिरले अर्जुनलाई भने ।

‘ठूल्दाइ, हजुर अविवाहित हुँदाहुँदै म विवाहित हुनु कहाँ उचित हो र ।’ अर्जुनले विनम्रतापूर्वक भने । पुग्यो । अन्धाले आँखा भेटेजस्तै भयो । युधिष्ठिरले मौका छोपिहाले, ‘त्यसो भए हुनेछिन् ।’ अर्जुनको आशय यस्तो थिएन । दाजुहरुको विवाह नभई उनी विवाह गर्न चाहँदैनथे । जेठाले कसैसँग विवाह गरुन्, त्यसपछि मात्र विवाह गर्छु भन्ने उनको चाहना थियो । तर, द्रौपदीसँग विवाहित हुन सबैभन्दा बढी लालायित युधिष्ठिर नै थिए । बाँकी अरु भाइ पनि द्रौपदीको सौन्दर्य देखेर फतक्कै भइसकेका थिए । द्रौपदीको जिन्दगीमाथि त्यति ठूलो निर्णय हुँदै थियो तर कसैले उनलाई सोध्न जरुरी ठानेनन् ।

युधिष्ठिरको निर्णयमा द्रौपदीका पिता र दाजु धृष्टद्युम्नले विरोध गरे । धृष्टद्युम्नले हाकाहाकी भने, ‘सदाचारी दाजुले भाइकी पत्नीलाई कसरी सम्भोग गर्न सक्छ ?’ जवाफमा युधिष्ठिरले भने, ‘जस्तै पापकर्म भए पनि मैले गरेपछि धर्म नै ठहर्छ ।’
……..

विचित्रवीर्य निःसन्तान भएर मरेपछि सत्यवतीले भीष्मलाई विधवा भाइबुहारी अम्बिका र अम्बालिकासँग सम्भोग गरेर सन्तान जन्माउन आज्ञा दिएकी थिइन् । भीष्मले सौतेनी आमाको आज्ञा स्विकार्न सकेनन् । त्यो बेला भीष्म दोष ठहरिएनन् । सत्यवतीको वचन पूरा नभएकोले कुनै आकाश खसेन । यही कुरा युधिष्ठिर र कुन्तीलाई मान्य भएन ।

केही नलागेपछि हिमालमा तपस्या गरिरहेका व्यासलाई बोलाइयो । अविवाहित छँदै पराशर ऋषिबाट सत्यवतीले जन्माएकी थिइन् यिनलाई । उनैले विचित्रवीर्यका दुई विधवा र एक दासीबाट सन्तान जन्माएका थिए । ‘पूर्वजन्ममा यिनले महादेवबाट पाँच पतिको बरदान पाएकी थिइन्’, उनै व्यासले ज्येष्ठ पाण्डुपुत्रको पक्षपोषण गरे, ‘यस जन्ममा उनलाई त्यही फल मिलेको हो । त्यसैले यो विवाह अधर्म हुँदैन ।’ द्रौपदीप्रति युधिष्ठिरको अत्यधिक आशक्ति देखेरै व्यासले यस्तो चलाखी गरेका थिए । मौन विरोधबाहेक द्रुपद र धृष्टद्युम्नले केही गर्न सकेनन् । यही मौनतालाई स्वीकृति मानेर पाँचै भाइले सुन्दरी द्रौपदीसँग बिहे गरे ।
……………….

द्रौपदीसँग बिहेपछि पाण्डवहरुको शक्ति बढ्यो । कृष्णले दुर्योधनलाई युद्धको चेतावनी दिए । डराएर दुर्योधनले बेलैमा पाण्डवहरुलाई अंश राज्य सुम्पिए । इन्द्रप्रस्थ नामक राज्य र अत्याधुनिक सुन्दर दरबार उनीहरुले पाए ।

रानी भए पनि द्रौपदीको दुःख घटेन, झन्झन् बढ्यो । साझा पत्नी हुनुपरेको पीडा छँदै थियो, त्यसमाथि सौताका बगाल थपेर पाण्डवहरुले उनीमाथि अर्को अत्याचार गरे । युधिष्ठिरले शिविदेशका राजा गावासनकी छोरी देविकासँग बिहे गरे । भीमले काशीराजकी छोरी बलन्धरासँग । भीम तीन पत्नीका धनी भए । द्रौपदीसँग आफ्नो सहवासका बेला कुटीमा आएको आरोपमा युधिष्ठिरले अर्जुनलाई १२ वर्ष ब्रह्मचार्यको सजायँ दिएका थिए । त्यसै अवधिमा उलुपी, चित्रांगदा र सुभद्रालाई पत्नी बनाएर धनुर्वीर अर्जुन पत्नीवीर पनि भए । चेदी नरेशकी छोरी करेणुमतीलाई नकुलले र मद्र नरेशकी छोरी विजयालाई सहदेवले निजी पत्नी बनाए ।

पाँच पतिलाई सन्तुष्ट राख्न विचरी द्रौपदीलाई सधैं होसियार रहनुपथ्र्यो । जेठी पत्नी भएको अहम् र कामक्रोध सबै त्यागेर उनले पाण्डव र तिनका निजी पत्नीको समेत सेवा गरिन् । आफ्ना सबै इच्छा दबाएर सेवाकै भावले उनले तिनीहरुको मन राखेकी थिइन् । साँच्चै भन्ने हो भने पतिहरुको परिहासमा बाहेक उनले हाँस्नै बिर्सिसकेकी थिइन् ।

एकदिन युधिष्ठिरले जुवामा द्रौपदीलाई हारिदिए । कुनै भाइसित अनुमति लिन उनले आवश्यक ठानेनन् । उनकी निजी पत्नी देविका पनि थिइन् । तिनलाई दाउमा नराखेर साझा पत्नीलाई नै उनले किन दाउमा राखे ? युधिष्ठिरभित्रको कुण्ठा तेस्रोपल्ट यसरी प्रकट भयो ।

युधिष्ठिरको बदमासीले गर्दा खुला सभामा निर्पराध द्रौपदीको सारी तानेर नाँगेझार पार्न खोजियो । उनको इज्जत बचाउन कुनै पति अघि सरेनन् । केवल भीमले मुर्मुरिँदै युधिष्ठिरको हातमा आगो झोसिदिन्छु भने । अर्जुनले उल्टै भीमलाई हकारे, ‘माल्दाइ, तपाईंको धर्म कहाँ चर्न गयो ? आफ्ना धर्मात्मा दाजुलाई यसरी अपमान गर्न हुन्छ ?’ बरु कौरव पक्षकै विकर्ण र विदूरले उनको पक्षमा बोले । भीष्म पितामहको दोधारे कुराले कौरवको मनोबल झनै बढ्यो । तिनीहरुले उनलाई अश्लील छेडखानीसमेत गरे ।

यति धेरै अपमान सहनुपरे पनि धृतराष्ट्रले माफी दिएर वर माग्न भनेपछि द्रौपदीले पहिला तिनै बैगुनी युधिष्ठिरलाई र पछि क्रमशः अरु भाइहरुलाई कौरवको दासताबाट मुक्त गराइन् । महाबली भीम महामूर्ख थिए । दुशासनले छुँदा द्रौपदीबाट जन्मेका सन्तानै बिटुलिने आशंका उनले प्रकट गरे । कृतज्ञता उनका पतिहरुको ग्रन्थीमै थिएन । युधिष्ठिरले धर्मपालनाका नाममा फेरि जुवामा सबै हारे र भाइहरुसहित उनलाई लिएर वनबास हिँडे । वनबास जाँदा पाँचैजनाका निजी पत्नी दरबारमा सुखसयलसाथ बसे । द्रौपदी नै उनीहरुको दुःखको साथी बन्न आफ्ना प्रिय छोराहरु छाडेर हिँडिन् ।

वनबासमा कौरवका बहिनीज्वाइँ जयद्रथले उनलाई अपहरण ग¥यो र अज्ञातबासका क्रममा दरबारमा दासी भएर काम गर्दा राजा विराटको साला किचक शैरन्द्रीको भेषमा रहेकी उनीप्रति मोहित भयो । वासनापूर्तिका लागि उसले अनेक षड्यन्त्र ग¥यो । सफल नभएपछि दरबारमा खुलमखुल्ला हातपात ग¥यो । दुःख, क्रोध र अभिशापले जलिरहेकी द्रौपदीले याचनाका दृष्टिले युधिष्ठिर र भीमलाई हेरिन् । गोप्यता खुल्ने डरले सबै चुपचाप थिए । द्रौपदीको अपमान देखेर भीम क्रोधित भए । तर, दाजुको इशारा पाउने बित्तिकै ‘निहुरी मुन्टी न’ भए ।

द्रौपदीले आफ्ना पतिहरुलाई खुबै सहिन् । खासगरी युधिष्ठिरलाई । श्रीखण्डझै पवित्र तिनको पाखण्ड भनिनसक्नु थियो । फेरि पनि जेठा पतिका रुपमा उनले तिनलाई सबैभन्दा बढी सम्मान गरिन् । अति भएपछि धृतराष्ट्रको सभामा उनले भनेकी थिइन्, ‘आफैंलाई हारिसकेपछि युधिष्ठिरले मलाई दाउमा राख्ने अधिकार कहाँबाट पाए ?’

जवाफमा दरबारका भीष्म, द्रोण, कृपाचार्यलगायत भद्र भलाद्मीले धर्मको हवाला दिँदै युधिष्ठिरकै पक्षपोषण गरे । ‘जुन स्त्रीका पति राजा युधिष्ठिर छन्, ऊ कसरी निर्धक्क रहन सक्छे ? संसारमा उनीबाहेक को होला जो पत्नी, राज्य र सर्वस्व त्यागेर वनबास जाने सर्तमा जुवा खेल्न तयार हुन्छ ?’ अति दुःखी भएरै द्रौपदीको मुखबाट अकस्मात् यस्तो विषाद्पूर्ण वचन निस्केको थियो । भीमको पराक्रमप्रति उनलाई विश्वास थियो । त्यसैले आफ्नोे दुःख यदाकदा उनलाई सुनाइन् । नत्र पराधीनताको पीडामा आफ्ना सबै अधिकार गुमाएर पनि उनले कसैसँग कहिल्यै गुनासो गरिनन् ।

बैगुनी युधिष्ठिरलाई राजा बनाउन महाभारत युद्ध भयो । त्यसमा कैयन् वीर मारिए । द्रौपदीले आफ्नो प्राणभन्दा प्यारा सन्तान र थुप्रै आफन्तको वीभत्स हत्या देख्नुप¥यो । दुःखहरुको आकाशै उनीमाथि घोप्टियो ।
……………………

जसलाई ज्वाइँ बनाउने इच्छाले द्रुपदले त्यत्रो सर्तसहित छोरीको स्वयंवरको घोषणा गरे, त्यो पूरा गर्ने युवकप्रति द्रौपदीको आशक्ति हुनु अस्वाभाविक थिएन । यो कुरा युधिष्ठिरले नबुझेका थिएनन् । तर, उनी आफैं द्रौपदीसँग सहवास गर्न आतुर थिए । विवाहबिना त्यो सम्भव थिएन । जेठा भएका नाताले द्रौपदीसँग पहिलो सहवासको अवसर उनैले पाए ।

यदुवंश विनाश र कृष्णको मृत्युपछि दिक्दार पाँच पाण्डवसँगै द्रौपदी पनि आत्महत्या गर्न सुमेरु पर्वतको बाटो हिँडिरहेकी थिइन् । चार सय कोस लामो बरफको चट्टान हिँड्दा अत्यधिक भोक र थकाइले उनी त्यहीं पछारिइन् । भीमले सोधे, ‘ठूल्दाई, द्रौपदीले हामी पाँचै दाजुभाइको त्यत्रो सेवा गरेकी थिइन् । विचरीले के पापले यहाँ पछारिइन् ?’

‘यो हामी पाँच दाजुभाइमध्ये अर्जुनसँग विशेष प्रेम गर्थी । त्यही पापले यसको यो गति भो’, युधिष्ठिरले भने, ‘हिँड यसको मोहमा पर्नु अर्को पापमा फस्नु हो ।’ युधिष्ठिरले आफ्नोे कुण्ठा अन्तिमपल्ट अमानवीय बेहोराको पराकाष्टामा पुगेर प्रकट गरे । कैयन् दिनदेखिकी भोकी र थकित द्रौपदी हिउँमा चिप्लनु अनौठो थिएन । फेरि अर्जुनप्रति उनको विशेष प्रेम पाप थिएन । थियो भने त्यसलाई पाप बनाउने काम युधिष्ठिरले नै गरेका थिए । उनलाई अर्जुनकी मात्र पत्नी बन्न दिएको भए यो समस्यै आउने थिएन । धर्मात्मा युधिष्ठिरले आफ्नै भाइकी पत्नीसँग सम्भोग गर्नु पाप ठहरिएन, द्रौपदीले आफ्नो वास्तविक पतिसँग विशेष प्रेम गर्नु पाप ठहरियो । महाभारत युद्ध उत्प्रेरकका रुपमा आरोप लगाउँदा द्रौपदीका यी अकथित दुःखबारे कसैले किन सोचेनन् ?

युधिष्ठिरको आदेशमा पाँचैजना द्रौपदीलाई नहेरी लम्किए । यसपछि महाभारतमा एकाएक द्रौपदीको भूमिका सकिन्छ ।
……………..

आफूप्रति पतिहरुको यस्तो क्रूर व्यवहारले द्रौपदीभित्र कुनै प्रतिक्रिया उब्जेन होला ? द्रौपदीलाई पाँचैजनासँग बिहे गराउन भूमिका खेल्ने महाभारतका लेखक वेदव्यासले यो कुरा किन खोतलेनन् ?

द्रौपदीको भूमिका त्यहीँ सकिनुको अर्थ अनेक लाग्न सक्छ । एक महाभारत साहित्यका रुपमा जति उन्नत भए पनि इतिहासका रुपमा सर्वाधिक धोकापूर्ण छ । दुई, नारी दोस्रो दर्जाकी नागरिक हो, उसले हरेक उत्पीडन चुपचाप सहनुपर्छ । तीन, ऊ कमजोर छे कुनै पनि कुराको प्रतिवाद र प्रतिरोध गर्नु उसको बुताभित्रको कुरा होइन ।

मलाई भने त्यस्तो लाग्दैन । जीवनको अन्तिम घडीमै सही, यति धेरै अत्याचारपछि कुनै पनि नारी मौन बस्न सक्दिनँ । द्रौपदी अपवाद हुन सक्दिनन् । मेरो कथामा द्रौपदीको त्यही विद्रोही रुपको वर्णन छ । उनी आफ्नै जीवनको पूनर्मूल्यांकन गर्छिन् । महारानी भए पनि दलित र नारी एकै दर्जामा रहेको निष्कर्षमा पुग्छिन् ।

विडम्बना, वेदव्यासकी सहनशील द्रौपदीको दुःख हिन्दू समाजमा हाम्रा दुःखी दिदीबहिनीले आजसम्मै उत्तरदानका रुपमा पाएका छन् ।

(चक्रपाणि चालिसेको संक्षिप्त भारत, गीत प्रेस भारतद्वारा प्रकाशित संक्षिप्त महाभारत, राकेशनाथद्वारा सम्पादित ‘कितने खरे हमरे आदर्श ?’ लगायत कृति र स्रोतमा आधारित)

(Visited 59 times, 1 visits today)

टिप्पणी

comments