Main Menu

वैशाख तेस्रो साता घरेलु उद्योग महोत्सव हुने

पुस १७, काठमाडौँ

नेपाल घरेलु तथा साना उद्योग महासंघले आगामी वैशाखमा ‘नेपाल १४औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना गर्ने भएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख १४ गतेदेखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा प्रदर्शनीको गर्न लागेको हो ।

‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ नाराका साथ शुरु हुने प्रदर्शनीमा नेपालका ७५वटै जिल्लाका उद्यमीको सहभागिता रहने महासंघले जनाएको छ ।

प्रदर्शनीमा भारत, पाकिस्तान, बंगलादेश, चीनलगायतको सहभागिता रहने महासंघले जनाएको छ । सो महोत्सवमा २५० वटा कक्ष रहनेछ । ५ दिनसम्म चल्ने प्रदर्शनीमा २ लाखभन्दा बढीले मेलाको अवलोकन गर्ने विश्वास लिइएको छ । मेला अवधिभर रु. ५ करोडभन्दा बढीको प्रत्यक्ष र रु. १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले अपेक्षा गरेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिए ।

लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले नियमितरुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ । प्रदर्शनीको सहआयोजकका रुपमा उद्योग मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला तथा बालबालिका मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम र विज्ञान तथा प्रविधि मन्त्रालय रहने छन् ।

(Visited 13 times, 1 visits today)

टिप्पणी

comments