Main Menu

दोलखामा बन्ने भयो चलचित्र नगरी

चैत्र २५, दोलखा । दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ ।

मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका १ सय ४ वटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को स्वीकृति लगत्तै २०७३ चैत १५ गते वन विभाग र चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ ।

वन विभागले तत्काल पत्र लेखी जिल्ला वन कार्यालय, दोलखालाई कार्यान्वयन अगाडि बढाउन निर्देशन दिएको चलचित्र नगरीका अभियन्ता मदनदास श्रेष्ठले जानकारी दिए ।

ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो । चलचित्र नगरी निर्माणका लागि लाकुरीडाँडा गाविसको सेतीदेवी दादर सामुदायिक वनले ७६.२५ हेक्टर जमिनको भोगाधिकार प्रदान गरिसकेको छ । स्थानीयवासी जितबहादुर श्रेष्ठले फिल्म सिटीका लागि थप जमिन दिनसमेत तयार भएको जानकारी दिए ।

डाँङडुँगेडाँडामा फिल्म सिटी बनेमा यहाँ विश्वकै सवैभन्दा बढी उचाईमा फिल्म सिटी बन्ने, आर्थिकरुपमा नेपाल सम्पन्न हुँदै जाने, सामाजिक तथा प्राविधिकरुपमा उपयुक्त ठाउँ रहेको र हावापानीको हिसाबले पनि अति उपयुक्त रहेको विश्वास गरिएको छ ।

फरक प्रकृतिको फिल्म सिटी बन्ने यो स्थान काठमाडौँबाट करिब १ सय ९ किमी पूर्वमा रहेको डाँङडुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ ।

(Visited 16 times, 1 visits today)

टिप्पणी

comments