Main Menu

धर्म र नेपाली कम्युनिस्ट

१. विषय प्रवेश
मानव जगतमा दुई विश्वदृष्टिकोण छन् । चेतना (प्रत्यय) लाई प्राथमिक मान्ने प्रत्ययवाद र पदार्थलाई प्राथमिक मान्ने भौतिकवाद । परिवर्तनको श्रोत पदार्थभन्दा बाहिर खोज्ने अतिभूतवाद र परिवर्तनको श्रोत पदार्थभित्र नै खोज्ने द्वन्द्ववाद । समष्टिमा अतिभूतवादी प्रत्ययवाद र द्वन्द्वात्मक भौतिकवाद । सबै धर्महरु मूल रूपमा अतिभूतवादी प्रत्ययवादको दार्शनिक मान्यताको जगमा उभिएका हुन्छन् । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आविष्कारसहित कम्युनिस्ट आन्दोलनको जन्मभन्दा पहिले भएका सबैप्रकारका राजनीतिक आन्दोलनहरुले विश्वदृष्टिकोणमा परिवर्तनको मुद्दा उठाएका थिएनन् । तर कम्युनिस्ट आन्दोलन एउटा यस्तो राजनीतिक आन्दोलनका रुपमा उपस्थित भयो जसले हजारौं मतहरुमा व्यक्त अधिभूतवादी प्रत्ययवादका विरुद्ध चुनौती दियो । यस अर्थमा कम्युनिस्ट आन्दोलन सारतत्वमा विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन बन्न पुग्यो । धर्म विश्व दृष्टिकोणसँग सम्बन्धित मुद्दा भएकाले कम्युनिस्ट आन्दोलन सबै धर्मको विरुद्धमा पनि स्वतः उभिन पुग्यो । इतिहासका सबै वर्गसंघर्ष, उत्पादनका लागि भएका संघर्ष र वैज्ञानिक प्रयोगको अनुभवको सार खिच्न सक्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दार्शनिक हतियारद्वारा सुसज्जित मानव जातिको अन्तिम शोषित तर क्रान्तिकारी वर्ग हुनुको नाताले सर्वहारा वर्गका अगाडि एकातिर आफूसहित सबै उत्पीडित वर्ग र समुदायलाई मुक्त गर्ने अभिभारा छ भने अर्कोतिर मानव जातिले आर्जन गरेका समस्त संस्कृतिले मानवजातिको लागि गरेको सेवा र हानीको मूल्याङकन गरी मानव जातिको सबै पुस्तालाई यथोचित न्याय गर्नुपर्ने, न्यायाधीशको भूमिका खेल्नुपर्ने अभिभारा पनि छ । यो दोस्रो अभिभारा पूरा गर्ने क्रममा कम्युनिस्टहरुले आफूलाई परम्परागत नास्तिकभन्दा पृथक् रुपमा प्रस्तुत गरे । कम्युनिस्टहरु दृढतापूर्वक धर्मको विरुद्धमा उभिए तर धर्महरुले आफ्नो शैसवकालमा वा अन्य बेला खेलेका क्रान्तिकारी भूमिकाहरुलाई पनि उचित मूल्याङ्नक गरी स्वीकार गरे । वेदका रचनाकारहरु त्यसबेलाका महान् मानिसहरु थिए । ठाउँपिच्छे देवता जन्मिने परम्परालाई तोडेर मूर्ती पूजाको विरोध गर्ने गौतम बुद्ध, एक अल्लाहको धारण ल्याउने मोहम्मद अनि मालिकलाई मात्र ईश्वरको आशीर्वाद मिल्छ भन्ने मान्यताका विरुद्ध इश्वरको नजरमा सबै बराबर भन्ने इसामसिह वास्तवमा आफ्नो जमानाका महान् क्रान्तिकारीहरु नै थिए । मानव जातिको दुःखलाई कम गर्न धर्ती, हावा, पानी, अग्नि आदिलाई खुसी पार्न पूजा गर्ने प्राकृत धर्मीका प्रथम नायकहरु आफ्नो जमानाका महान् मानवसेवी नै थिए ।
आफ्नो समयको सापेक्षित अज्ञानता, सृष्टि र जीवन–जगत्का नियमहरुको उत्तर खोज्ने प्रयत्न र मानवजातिमाथि आइरहने प्राकृतिक अनिष्टको प्रकोपबाट हुने पीडालाई राहत दिने सदिक्षाको जगमा नै मानिसले फरक फरक भूगोलमा फरक फरक प्रकार र नामका अलौकिक शक्ति वा ईश्वरलाई जन्म दिन पुग्यो । ईश्वर वास्तवमा अज्ञानी मानिसले आफ्नो दिमागभित्रबाट जन्माएको प्यारो सन्तान नै थियो । त्यो अज्ञानी मानवले आफ्नो त्यो सन्तानलाई यति धेरै प्रेम ग¥यो कि आफैंले जन्माएको सन्तान ईश्वरको आफू सन्तान हुँ भनी स्वीकार ग¥यो । यसरी आदीमकालमा ईश्वरको आविष्कार र शैशवकालीन धार्मिक मूल्यमान्यताहरु सारमा मानवजातिको सेवाकै लागि रचना गरिएका थिए तर वर्गसमाजको उत्पत्तिसँगै ती सबै दयालु अलौकिक शक्ति वा ईश्वर र मानव सेवा गर्ने मूल्य मान्यताहरु वर्गीय बन्न थाले र शोषकवर्गले ईश्वरलाई एवं धार्मिक मतलाई शोषित वर्गका विरुद्ध गतिलो हतियारका रुपमा प्रयोग गर्न सुरु ग¥यो । त्यसै गरी शासक र शोषक वर्गले मुठ्याएको ईश्वर र धर्मसँग विद्रोह गरेर नयाँ ईश्वर र नयाँ धार्मिक मतहरु जन्मिने प्रक्रिया पनि लगातार चल्यो । त्यही क्रममा जन्मिएका हुन् बौद्ध मत, इस्लाम र इसाई मत आदि । ती मतहरुले तबसम्म विद्रोही र क्रान्तिकारी भूमिका खेले जबसम्म ती मतहरु शासक एवम् शोषकवर्गको कब्जामा परेनन् । यसरी के प्रष्ट देखिन्छ भने शासक एवम् शोषक वर्गको कब्जामा परेपछि सबै ईश्वर र सबै धर्महरु जनविरोधी बन्न पुगे । श्रमजीवी वर्गमाथि शोषण गर्ने गतिलो वैचारिक हतियार बन्न पुगे ।

आजको २१औं शताब्दीमा पनि विश्व साम्राज्यवादले धर्मलाई सर्वहारा क्रान्ति, राष्ट्रिय मुक्तिलगायतका सबै प्रकारका आन्दोलनलाई रोक्ने हतियारका रुपमा प्रयोग गरिरहेको छ । विश्वका सबैखालका क्रान्तिकारीहरु बीच केवल सर्वहारा क्रान्तिकारीहरुले मात्र धार्मिक अन्धताका विरुद्धको मोर्चा सम्हाल्न परिरहेको छ । यसप्रकारको स्थितिमा कम्युनिस्ट आन्दोलनले धर्मबारे निकालेका निष्कर्ष नेपालमा कसरी लागू भए र गर्ने भन्ने विषयमा छलफल चलाउनु निकै सान्दर्भिक र महत्वपूर्ण छ ।

२. नेपालमा धर्म
(क) नेपालमा धेरै अन्य विषयको जस्तै धर्मको इतिहास पनि आधिकारिक रुपमा पाइन्न । धर्मको इतिहासको अध्ययन गर्न विभिन्न ग्रन्थ, जातक, वंशावली, इतिहास र समाजशास्त्रका छरिएर रहेका पुस्तकहरुको सहारा लिनुपर्ने अवस्था छ । आजको नेपालको लुम्बिनीमा बौद्ध धर्मको जग बसालिएको यथार्थ प्रमाणित छ । बौद्ध मत वज्रयान, हीनयान, महायान आदिमा विकसित हुँदै गएपछि नेपालभित्रै फरक फरक बौद्ध मतभित्रकै सम्प्रदाय विकसित भएको देखिन्छ । त्यसमध्ये पनि तामाङ जातिले अभ्यास गर्दै आएको बौद्धमत नेपालबाट तिब्बत–चीन पुगेर थप नयाँ ढाँचामा ढालिएर फेरि नेपाल फर्किएको देखिन्छ । प्रकृतिपूजक हुँदै मुन्धुमसम्म विकसित किरात धर्मको उत्पत्ति हिमालयखण्ड अर्थात् आजको नेपालभित्र नै भएको कुरामा धेरैले विमति राख्दैनन् । मूलतः प्रकृति पूजकका रुपमा रहेका विभिन्न जनजातिका धार्मिक मतहरु पनि मूलतः नेपालभित्रै जन्मिएका भनी स्वीकार गर्न कुनै तथ्यले छेक्दैन । गौतम बुद्ध कालमै जन्मिएको मानिएको तथा गौतम बुद्ध र महावीरको बास एक पटक एक रात एकै स्थानमा भएको बौद्ध कथामा उल्लेख भएको कुरालाई हेर्दा जैन धर्म पनि नेपाल र हिन्दुस्तानको यसै सेरोफेरोमा जन्मिएको सजिलै मान्न सकिन्छ । यसरी के देखिन्छ भने नेपालभित्र र बौद्धकालदेखि जन्मिएका धार्मिक मतहरुमा वर्णव्यवस्था, जातपात, छुवाछुतजस्ता कुनै चीज थिएन, ती समतामूलक स्वभावका धार्मिक मतहरु थिए ।

(ख) नेपालको पश्चिम पहाडमा ई.सं.को पहिलो शताब्दीतिरै उत्तरबाट आइपुगेका मानिएका मतवाली खस मस्टो अर्थात् कुलदेवता पूजक थिए । उनीहरु हिन्दूधर्मी थिएनन् । जब १२औंदेखि १६औं शताब्दीका बीचमा भारतबाट पूर्ण विकसित हिन्दू धर्मसहित वैदिक आर्यहरु पश्चिमबाट नेपाल भूमिमा प्रवेश गर्न सुरु गरे, त्यसपछि नै पश्चिम नेपालमा हिन्दू धर्म आइपुगेको र मस्टोपूजक खसलाई पनि हिन्दूकरण गर्ने प्रक्रिया चलेको हो । तिनै पश्चिम नेपालबाट प्रवेश गरेका वैदिक आर्यहरुको राज्य विस्तार हुँदै गोरखासम्म पुगेको मानिन्छ । अर्कातिर नेपालको तराईखण्डमा भारतबाट हिन्दूधर्मीय मानिसहरु उत्तरतिर सर्दै आउने क्रममा आइपुगेको देखिन्छ । वागमती उपत्यकामा भने भारतको वैशालीबाट आएका हिन्दू धर्मीय लिच्छवीले इ.सं. २०० मा किराँत राज्यमाथि विजय पाएपछि नै हिन्दू धर्मको व्यवस्थित सुरुआत गरेको देखिन्छ । त्यसपछि सन् ८७९ मा भारतबाट आएका हिन्दू मल्लहरुले लिच्छवी शासनको अन्त्य गरेपछि हिन्दू परम्परालाई अझ नयाँ उचाइमा विकसित गर्दै लगेको प्रस्ट छ । वागमती उपत्यकाको विशेषतः नेवार जातिभित्र विभिन्न समुदाय कुन धर्मको नजिक छ भनेर जान्न उसले पुरेत कुन धर्मको राख्छ भनी बुझ्नुपर्ने जटिलता छ किनभने बौद्ध, किराँत र हिन्दू अनुष्ठानहरु सबैजसोले गरिरहेको भेटिन्छ । नेपालमा इस्लामहरु दुई तरिकाले आइपुगेको देखिन्छ । एउटा भारतीय भूमिबाट इस्लाम धर्मीय समुदाय उत्तरतिर सर्ने क्रममा नेपालको तराईका विभिन्न भूभागसम्म आइपुगे, अर्को मल्ल कालमा चुरा–पोते आदि श्रृङ्गारका सामानको व्यापार गर्न कास्मिरबाट झिकाएर वागमती उपत्यकामा बसालियो, त्यसै गरी त्यही व्यापारका सिलसिलामा विभिन्न पहाडी वस्तीमा बस्न पुगे । यसबाहेक शिख धर्मीहरुचाहिँ सबैभन्दा पछि भारतबाट तराईका केही शहरमा र त्रिभुवन राजपथ खुलेपछि ड्राइभर पेसा गर्दै केही काठमाडौंमा आएर बस्न पुगे । इसाई धर्मचाहिँ मल्लकालमा नै आइपुगेको इसाइहरु बताउँछन् तर पृथ्वीनारायण शाहको शासन सुरु भएपछि उनीहरुलाई देशनिकाला गरिएको र नभाग्नेलाई फाँसी दिएको भन्ने भनाई इतिहासकारहरुले बताएका छन् । आजका इसाईधर्मीहरुचाहिँ दोस्रो विश्वयुद्धपछि अमेरिका, बेलायतजस्ता देशले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा काम गर्न भनी पठाएका विभिन्न मिसनहरुले चलाएका अभियानबाट प्रभावित भएर इसाई धर्म ग्रहण गरेका हुन् ।

(ग) असली हिन्दूस्तान बनाउने योजनाअनुसार पृथ्वीनारायण शाहले थालेको गोरखा राज्यको विस्तार अभियानको सफलतापछि बनेको नेपालमा हिन्दूधर्म स्वतः राजकीय धर्म बन्न पुग्यो र गैरहिन्दूलाई हिन्दूकरण गर्ने, हिन्दू धर्मका आधारमा नीतिनियम कानुन, आदेश फर्मान जारी हुने क्रम तीव्र पारियो । वर्णव्यवस्था मान्न र छुवाछूत गर्न गैरहिन्दूलाई पनि प्रशिक्षित गरियो । सिंगै नेपालमा शाह–राणा वंशको शासनकाल सुरु भएपछि पुरानो परम्परागत वर्गसंरचनालाई भत्काएर क्रमशः हिन्दूधर्मको वर्णव्यवस्थाअनुसारको तहगत संरचनामा आधारित वर्गीय समाज निर्माण गरियो । वास्तवमा नेपालमा वर्गीय समाज वर्णव्यवस्थाको तहअनुसार निर्माण हुनपुग्यो । जति तल्लो जात उति तल्लो वर्ग, जति माथिल्लो जात उति माथिल्लो वर्ग । संसारमा अन्त कतै नभएको केवल वर्णव्यवस्था भएको दक्षिण एसियामा मात्र भएको वर्गीय समाजको मोडल सिंगै नेपालमा पृथ्वीनारायण शाहको शासनकालपछि लागू गरिएको हो । यसर्थ, नेपालमा हिन्दू धर्मले, अरु धर्मले अरु समाजमा पार्ने नकारात्मक प्रभाव मात्र पारेको छैन, बरु यसले वर्गसमाज नै नयाँ ढंगले संरचना गरेको यथार्थलाई गम्भीरतापूर्वक आत्मसात गर्नु जरुरी छ । जतिजति हिन्दू धर्मलाई लागू गरियो त्यतित्यति महिला उत्पीडन बढ्दै गयो, त्यतित्यति दलित उत्पीडन बढ्दै गयो । जनजाति माथि ‘नमासिन्या मतवाली’ भनेर दोस्रो दर्जाको रैती बनाउने काम हिन्दू उच्चजातीय मान्यताबाहेक अरु केही थिएन भन्ने प्रष्टै छ । यसरी आधुनिक नेपालसम्म आइपुग्दा नेपाल एकातिर थुप्रै धर्महरुको माखेसाङ्लोमा अल्झिएको र हिन्दू धर्मले अरु सबै धर्ममाथि दमन गरिरहेको समाजको रुपमा देखाप¥यो ।

३. नेपाली कम्युनिस्ट आन्दोलन र धर्म
(क) धर्म र नेपाली कम्युनिस्ट नीति
कार्लमाक्र्सले एउटा महान् संश्लेषण गर्नुभएको थियो, ‘धर्म मानिसको लागि अफिम हो ।’ नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको नीति यही वाक्यका वरपर यहाँसम्म कि यो वाक्यको भित्री तहसम्म समेत पुग्न नखोजी केवल नतमस्तक भएर घुमिरहेको देखिन्छ । नेपालमा धेरैजसो कम्युनिस्टले यो वाक्यको अर्थ कसरी बुझेका छन् भने अफिम लठ्याएर बेहोस बनाउने लागू औषध हो, त्यसैले यसलाई प्रयोग गर्न हुँदैन, धर्म पनि त्यस्तै लागू औषध हो । माक्र्सको अभिप्राय त्यो होइन । त्यतिबेला असाध्य रोग लागेकाको शारीरिक पीडा कम गर्न कुनै ‘पेन किलर’ औषधि बनेको थिएन, त्यसकारण त्यतिबेला त्यस्ता रोगीको पीडालाई भुल्याउन अफिम सेवन गराइन्थ्यो । यस अर्थमा माक्र्सको अभिप्राय के थियो भने पीडाग्रस्त मानिसलाई गलत तरिकाले नै भए पनि धर्मले अफिमले जसरी पीडाबाट छुटकारा दिने गरेको छ । माक्र्सले धर्मलाई गलत भन्नुभयो साथमा धर्मले नकारात्मक ढंगले पारेको सकारात्मक प्रभावको पनि शानदार ढंगले उजागर गर्नुभयो ।

नेपाली कम्युनिस्ट आन्दोलनले धर्मलाई गलत र यसको विरोध गर्नुपर्दछ भन्ने अत्यन्त सरलीकृत नीति मात्र अघि सारेको देखिन्छ । धर्मको ऐतिहासिक भौतिकवादी विश्लेषणसहित विश्वदृष्टिकोण परिवर्तनको अभियानसँग गाँसेर यसबारे गम्भीर नीति अघि सारेको देखिँदैन । नेपाली कम्युनिस्ट आन्दोलनले धर्मबारे लिएको अर्को नीति के थियो भने राज्य धर्मनिरपेक्ष हुनुपर्छ । ५० को दशकभन्दा अघिसम्म त कम्युनिस्ट आन्दोलन केवल धार्मिक स्वतन्त्रताको मात्र वकालत गथ्र्यो, त्यसपछि भने धर्मनिरपेक्षताको पक्षमा उभिन थाल्यो । हिन्दू धर्म नेपालमा शासक धर्म रहिआएकोले मुख्य प्रहारको निशाना हिन्दू धर्मले सिर्जना गरेका उत्पीडनलाई नै बनाउनु ठीक थियो तर यो द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माणको प्रश्नसँग सम्बन्धित भएकाले हिन्दूबाहेकका अन्य धर्मको जनविरोधी मानवविरोधी चरित्रमाथि पनि प्रहार गरिनुपर्दथ्यो । त्यसोचाहिँ हुन सकेन । केवल हिन्दू धर्म मात्रै गलत भए जस्तो, अरु धर्मप्रति भने उदारता अपनाएजस्तो कम्युनिस्ट आन्दोलनको नीति रह्यो, जुन त्रुटीपूर्ण छ ।

(ख) नेपाली कम्युनिस्टको व्यवहार र धर्म
नेपाली कम्युनिस्ट आन्दोलनमा रहेको धर्मबारे घनिभूत, व्यापक र दूरगामी रणनीतिको अभावका कारणले धर्मबारे नेपाली कम्युनिस्टको व्यवहार मूलतः ढोंगी र अवसरवादी प्रकारको रहन गएको छ । धर्मको विरोध वामपन्थी बालरोग जसरी चर्को रुपमा प्रकट हुने, त्यसपछि समयक्रमसँगै महादेवको तस्वीर कोठामा टाँस्नेस्तरमा एक सय असी डिग्री फन्को मार्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा हुनु धर्मबारेको छिपछिपे बुझाइका आधारमा गरिएको विरोध बाहेक केही होइन । कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म कुनै न कुनै रुपमा जातपात कायम रहनु, महिलालाई दोस्रो दर्जाकै व्यवहार गरिनु अनि भाषण गर्दा धर्मको विरोध तर जनै लगाउन नछोड्नु, तामाङ नेता भए स्वयम्भूमै जलाउनु पर्ने, हिन्दू भए पशुपतिमै लाँदा राम्रो मान्नु, घरभित्र सबै धार्मिक अनुष्ठान तर बाहिर परिवारले मान्दैनन् भनी उम्किनु, भूमिगत होउन्जेल दशैंको विरोध तर खुला भएपछि सबैभन्दा ठूलो टीका उनकै निधारमा– यी र यस्ता प्रशस्त व्यवहारहरु छन् नेपाली कम्युनिस्टका जसले धर्मबारेको उनीहरुको उद्घोष वास्तवमा ढोंग पाखण्ड बाहेक अरु केही थिएन भन्ने प्रष्ट हुन्छ । करिब साढे ६ दशकको कम्युनिस्ट आन्दोलनमा पैदा भएका अत्यन्त थोरै नेता कार्यकर्तामात्र धर्मसँग सम्बन्ध विच्छेद गरेका पाइनु भनेको अँध्यारोमा टुकी अवश्य हो, तर झलमल उज्यालो भने हुँदै होइन ।

(ग) नेपाली कम्युनिस्ट र केही टिठलाग्दा गल्तीहरु
नेपाली कम्युनिस्टहरुले परम्परागत चाडपर्वलाई प्रगतिशील चेतना बाँड्न उपयोग गर्ने नीति लिँदै आए । तर चाडपर्व भने हिन्दू चाडपर्व मात्र रोजे, त्यो पनि आर्य खस चाडपर्व मात्र । मधेसी र जनजातिको चाडपर्वका बारेको कम ज्ञान किनभने लामो समयसम्म ठूला कम्युनिस्ट नेता आर्य खस उच्च जातका मात्र रहे अनि मधेसी र जनजाति ठूला नेता कार्यकर्ता नभएका कारणले मधेस र जनजातिका चाडपर्वलाई उपयोग गर्ने प्रस्ताव नै बन्न सकेन । परिणामतः कम्युनिस्ट पार्टीका समारोहहरु हिन्दू पहाडिया उच्च जातीय ढाँचामा ढालिए । कोही नेता चुनियो भने रातो टिका र फूलको माला प्रचलन नै बसालियो अनि मुसलमान र इसाई चुनियो भने पनि स्वाभावैले उसको मान्यता विपरीत माला र टिका लगाइयो । द्यौसी भैलोमा कम्युनिस्ट पार्टीले निर्णय गरेर ‘मह्पूजा’ गर्न जानुपर्ने नेवार युवती कायकर्तालाई रातभरि नचाइयो र ऊमाथि हिन्दू चाड लादियो, उसको आफ्नो चाड मान्न वञ्चित पारियो । लिंग पूजाको तीजसँग कुनै सरोकार नराख्ने लिम्बू महिलालाई सभापति बनाएर ज्यापु महिलालाई नचाइयो । स्कुल क्याम्पसको लागि पैसा बटुल्ने नाममा पार्टीका नेताको संयोजकत्वमा हिन्दू पुराण वाचन कार्यक्रम आयोजना गरियो । अझ कम्युनिस्ट नेताले उद्घाटनसमेत गर्ने गरियो । यस्ता अनगिन्ती उदाहरणहरु छन् जसमा कम्युनिस्ट पार्टीमा लागेका गैरहिन्दूहरुलाई हिन्दू कर्ममा निर्णय गरेर लगाइयो, विडम्बना लगाइँदैछ । यहाँसम्म कि जनयुद्धमा युद्धविराम गर्दासमेत दशैंको निम्ति भनेर गरियो । यसरी गम्भीरतापूर्वक हेर्दा के देखिन्छ भने कम्युनिस्टहरु एकहदसम्म चाहे त्यो थोरै नै किन नहोस्, गैरहिन्दू माथि हिन्दूकरण लाद्ने औजार बन्न पुगे । वास्तवमा यथार्थ यही हो– कम्युनिस्ट पार्टी साँचो अर्थमा धर्मनिरपेक्ष समेत बन्न सकेन । यी इतिहासका टिठलाग्दा गल्तीहरु कम्युनिस्टले तुरुन्तै सच्याउन जरुरी छ । तर दुःखद् पक्ष यसतिर ध्यान धेरैको छैन ।

(घ) दर्श वर्षको जनयुद्ध र धर्म
तत्कालीन नेकपा (माओवादी) पार्टीले जनयुद्ध सुरु गर्नुभन्दा पहिलासम्म कम्युनिस्टको धर्मबारेको नीति या त ढोंग पाखण्डमा सीमित थियो या त केही योद्धाहरुको विशिष्ट व्यवहारमा सीमित थियो । तर जनयुद्धले धर्मद्वारा लादिएको तीनवटा गम्भीर नकारात्मक सामाजिक व्यवहारमाथि गम्भीर प्रहार ग¥यो । एक, गाईको पवित्रतामाथि प्रहार ग¥यो । जनयुद्धमा हाम्फालेका सबै हिन्दू समुदायबाट आएकाले (अपवाद पनि होलान्) गाईको मासु खाएर गाईको ईश्वरीय पवित्रतासम्बन्धी हिन्दू मान्यतालाई चुनौती दिए । अब नातासम्बन्ध जोड्दै जाने हो भने नेपालको कुनै पनि ब्राह्मण, क्षेत्री, सन्यासी परिवार, त्यसै स्तरका मधेसी समुदायका परिवार गाईसम्बन्धी आफ्नो मूल्यमा चोखो रहेका छैनन् । यथार्थ यही हो । नेपालमा जनजाति र दलितमाथि थोपरिएको यो अपवित्रताको साङ्लो जनयुद्धले कमसेकम बौद्धिकस्तरमा चकनाचुर पारिदिएको छ । गाई जनावर हो, धेरै दूध दिने जनावर त्यसलाई त्यही रुपमा मात्र बुझ्ने दृष्टिकोण बनाउन ढोका खोलिदिएको छ । दुई, जनयुद्धले दलितमाथिको जातपात छुवाछुत भेदभावका विरुद्ध ठूलै परिवर्तन ल्याएको छ । भेदभावलाई घटाउन र दलित जागरण ल्याउन त्यसले ऐतिहासिक भूमिका खेलेको छ । कहिल्यै हतियार बोक्न नपाएकालाई हतियारधारी बनाएर, छुवाछुत भेदभावलाई व्यवहारमा दण्डनीय बनाएर अनि दलितलाई नीतिनिर्माणमा नेतृत्व दिने प्रक्रियाको सुरुआत गरेर जनयुद्धले वर्णव्यवस्थाको ढाडमा धेरै पटक वज्र प्रहार गरेको छ । तीन, महिलालाई सशस्त्र बनाएर जनयुद्धले महिलामाथिको हिन्दू र अन्य सबै धर्मको उत्पीडनलाई गम्भीर चुनौती दिएको छ । निश्चित रुपमा जनयुद्धले धर्मसँग अभिन्न रुपमा सम्बन्धित यी विषयमा गम्भीर परिवर्तन ल्याएकै हो । तर ती परिवर्तन आमसमाजको सांस्कृतिक रुपान्तरणको रुपमा नभएर केवल जनयुद्धको बलमा भएका परिवर्तनको स्तरमा मात्र रहेकाले जनयुद्धको समाप्तिपछि ती उपलब्धी प्रतिगमनमा जाने गम्भीर खतरा उपस्थित भइसकेको छ । दलित र गैरदलितबीचको अन्तरजातीय विवाहमा भइरहेको सम्बन्ध विच्छेद त्यसको ज्वलन्त उदाहरण हुन् । त्यसकारण जनयुद्धले भत्काएका धार्मिक मूल्यमान्यतालाई पुनर्जीवित हुन नदिन र अग्रगामी बाटोमा अघि बढ्न कम्युनिस्ट क्रान्तिकारीहरुले ठोस योजना बनाउन तत्काल जरुरी छ ।

(ङ) नेपाली कम्युनिस्ट र धर्मनिरपेक्ष राज्य एवं गणतन्त्रको स्थापना
तमाम गल्ती कमजोरीका बावजुद नेपाली कम्युनिस्ट आन्दोलन– त्यसमा पनि विशेषतः जनयुद्ध र त्यसको जगमा विकसित वि.सं. २०६२÷०६३ को जनआन्दोलनले नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापित गरिछाड्यो । यो निकै ठूलो क्रान्तिकारी उपलब्धी हो । गणतन्त्रको अर्थ हो नेपालको शासकीय धर्म हिन्दूधर्मको राजकीय संरक्षण अन्त्य र धर्म निरपेक्षताको अर्थ हो धार्मिक स्वतन्त्रतासहित नास्तिक बन्ने नागरिकलाई वैधानिक अनुमति– निष्कर्षमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको प्रचारलाई वैधानिक स्वीकृति । यो उपलब्धीमाथि टेकेर नेपाली कम्युनिस्टले धेरै काम गर्न सक्ने स्थिति सिर्जना भएको छ । जरुरी छ, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा र सिंगै समाजको अधिभूतवादी प्रत्ययवादी विश्वदृष्टिकोण बदलेर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माण गर्ने अभियान सञ्चालनको गुरु योजना ! त्यो गुरुयोजना बनाउन सक्छ कि सक्दैन भन्ने कुरामा नै नेपाली कम्युनिस्टको धर्मबारेको भविष्य निर्धारण हुनेछ ।

४. धर्मबारे नेपाली कम्युनिस्टको समस्या
(क) धर्मबारे नेपाली कम्युनिस्टको मूल समस्या भनेको दृष्टिकोणको समस्या नै हो । धर्मको सतही विरोध तर व्यवहारमा त्यसैसँग जोडिइरहने समस्या नै दृष्टिकोणको समस्या हो । धर्मका जराहरु के हुन् ? एक, विश्व दृष्टिकोणमा नै धर्मको सबैभन्दा ठूलो जरा छ । दुई, चाडपर्व र रीतिरिवाजमा दोस्रो जरा छ । र, तीन आचार व्यवहारमा तेस्रो जरा छ । यी तिनै क्षेत्रका जराका बारेमा संश्लेषण गरी त्यसविरुद्ध लड्दै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण बनाउने अभियानको मार्गचित्र बनाउन ठोस, व्यापक र दूरगामी दृष्टिकोण बनाउन नसक्नु मुख्य समस्या हो ।

(ख) धर्मको धार्मिक पर्व र धर्मबाट निर्देशित आचार व्यवहारका सम्बन्धमा कुन कुन विषयमा कुन तहको कम्युनिस्ट नेता÷कार्यकर्ताले के के गर्नैपर्ने ? आम पार्टी सदस्यता र समर्थकले के कर्म गर्नैपर्ने ? कुन कुन धर्मका नेता÷कार्यकताले त्यस धर्मसँग सम्बन्धित अनुष्ठान कसरी भौतिकवादी बनाउने ? र कुन परम्परागत रीतिलाई कसरी वैज्ञानिकीकरण गर्ने ? त्यसमा पनि कुन स्तरकाले कति गर्ने र जनस्तरमा के प्रस्ताव गर्ने ? जस्ता विषयमा कुनै नीति नहुनु नेपाली कम्युनिस्टको अर्को नीतिगत समस्या हो । नीति नै नभएपछि भौतिकवादी ढंगले अनुष्ठान गर्दा पनि ठीक, धार्मिक ढंगले अनुष्ठान गर्दा पनि ठीकको स्थिति जारी छ । यसबारेमा ठोस नीति अब बनाउनै पर्दछ । नत्र कम्युनिस्ट आन्दोलन विश्व दृष्टिकोण परिवर्तन गर्ने आन्दोलन नभई केवल राजनीतिक सत्ता परिवर्तनको आन्दोलनमा सीमित हुनेछ ।

(ग) व्यवहार जहिले पनि दृष्टिकोण र नीतिको अधिनस्थ हुन्छ । नेपाली कम्युनिस्टका व्यवहारमा देखापरेका ढोंग र पाखण्डीपन जति पनि छन् त्यो दृष्टिकोण र नीतिमा रहेको समस्याका कारणले उत्पन्न भएका हुन् । व्यवहार जिवन्त हुने र भौतिक जीवन चलायमान सामाजिक अस्तित्वसँग जोडिएको हुनाले त्यो अत्यन्त कठिन त हुन्छ नै तर त्यो त हर युगमा हर क्रान्तिकारीले सामना गरेको कुरा हो । मुख्य कुरा दृष्टिकोण र नीति हो । दृष्टिकोण र नीति प्रष्ट हुने हो भने नेपालको अग्रगामी परिवर्तन चाहने जनमानसले धर्मको विरुद्ध निकै ठूलो अभियान चलाउने चित्र प्रष्ट देखिन्छ, किनकि परिवर्तनका खातिर जहिले पनि नेपाली जनताले चाहे त्यो कुनै पनि धर्म समुदायको होस्, वलिदान दिन पछि नपरेको दृष्टान्त हाम्रो सामू छ ।

५. निष्कर्ष ः धर्मबारे नेपाली कम्युनिस्टको बाटो
सबै प्रकारका धार्मिक अन्धताविरुद्धको आन्दोलन वास्तवमा व्यापक अर्थमा भन्दा सांस्कृतिक रुपान्तरणको आन्दोलन हो । नेपाली समाज भर्खरै सामन्ती उत्पादन सम्बन्धबाट पुँजीवादी उत्पादन सम्बन्धतिर बामे सर्न आँटेको हुनाले अहिलेको सांस्कृतिक रुपान्तरणको मूल रणनीति जनवादी संस्कृतिको निर्माण हुन्छ, तर जनवादी संस्कृतिको निर्माणले धार्मिक अन्धताविरुद्ध पूरै सफलता प्राप्त गर्न सक्दैन, त्यसका निम्ति समाजवादी संस्कृतिको निर्माण जरुरी हुन्छ । तसर्थ, धार्मिक अन्धताविरुद्धको आन्दोलनको रणनीति निर्माण गर्दा नेपाली सांस्कृतिक आन्दोलनले जनवादी संस्कृतिको निर्माणको साथसाथै समाजवादी संस्कृतिको जग बसाल्ने दिशा तय गर्न जरुरी छ । यो मूल रणनीतिअन्तर्गत रही नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनले आफ्नो दूरगामी योजनासहित अघि बढ्नु आवश्यक छ ।

(क) नेपाली कम्युनिस्ट आन्दोलनले पचासको दशकपछि एउटा निष्कर्ष निकालेको छ– सर्वहारा सांस्कृतिक क्रान्तिलाई राजनीतिक क्रान्तिपछि होइन, आजैदेखि क्रान्तिको अभिन्न अंगको रुपमा सञ्चालन गरिनुपर्दछ । यो निकै ठूलो संश्लेषण हो तर व्यवहारमा लागू भएको भने मूल रुपमा छैन । यो संश्लेषणलाई कम्युनिस्ट आन्दोलनले योजनाबद्ध रुपमा लागू गर्न सुरु गर्नुपर्दछ ।

(ख) धार्मिक अन्धता र सबै प्रकारका रुढीको विरुद्धको सांस्कृतिक रुपान्तरणको आन्दोलन वास्तवमा विश्व दृष्टिकोण परिवर्तनको आन्दोलन भएकाले पार्टीभित्र र बाहिर तत्कालीन, अल्पकालीन र दीर्घकालीन रणनीति तयार पारी योजनाबद्ध रुपमा सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरिनुपर्दछ । सांस्कृतिक संघ–संगठनलाई केवल नाचगान वा साहित्य–कला सिर्जनामा मात्र सीमित पार्ने रोगबाट मुक्त भई त्यसलाई विश्वदृष्टिकोण परिवर्तनको महाअभियान सञ्चालन गर्ने संगठनका रुपमा विकसित गरिनुपर्दछ ।

(ग) धर्मनिरपेक्ष राज्यको प्राप्तिलाई रक्षा गरी त्यसको वैधानिक स्वीकृतिमाथि उभिएर द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई वैधानिक सबै माध्यम प्रयोग गरी प्रचार गर्ने कार्यलाई व्यापक मात्रामा बढाइनुपर्दछ ।
(घ) नेपालमा रहेका सबै धर्मको ऐतिहासिक भौतिकवादी विश्लेषणसहित तिनले इतिहासको खासकालमा खेलेका सकारात्मक भूमिका र अन्ततः तिनले खेल्ने मानवविरोधी, श्रमजीवी वर्गविरोधी भूमिकाका बारेमा स्पष्ट पार्ने गरी पार्टीभित्र व्यापक प्रशिक्षण, पुस्तक पुस्तिकाको प्रकाशन र सञ्चार माध्यमहरुमार्फत् प्रचारको योजना बनाई लागू गरिनुपर्दछ ।
(ङ) धार्मिक अन्धताविरोधी सांस्कृतिक आन्दोलनलाई रुपमा धर्मविरोधी आन्दोलन नभई नयाँ विश्वदृष्टिकोण निर्माणको आन्दोलनको रुपमा सञ्चालन गर्न कलाको भरपुर प्रयोग गरिनु आवश्यक छ ।
(च) धार्मिक सभा समारोह मार्फत् गरिने राजनीतिको डटेर भण्डाफोर गर्ने नीति लिइनुपर्दछ ।
(छ) धार्मिक अन्धताको विरोधी हुनुको मतलब कुनै आस्तिक व्यक्ति विशेषको विरोधी हुनु होइन । धार्मिक सम्प्रदाय वा व्यक्तिको आस्थाको सबैभन्दा बढी सम्मान पनि कम्युनिस्टहरुले नै गर्नुपर्दछ र गर्न सक्दछन् । वास्तवमा कुनै आस्तिक व्यक्ति वा सम्प्रदायलाई कम्युनिस्टले एउटा रोगीका रुपमा हेर्दछन् । रोगीलाई मारेर वा घाइते बनाएर रोग निको हुँदैन, उपचार गरेर मात्रै रोग निको हुन्छ । यही उपचारको विधि व्यवहारमा अपनाइनुपर्दछ ।
(ज) विश्वदृष्टिकोण परिवर्तनको आन्दोलन दीर्घकालीन हो तर धार्मिक अन्धताको प्रत्यक्ष जरा भने चाडपर्व, प्रथा, परम्परा, अनुष्ठानहरुमा प्रकट हुने गरेका छन् । त्यसैले सबैभन्दा पहिले त्यहीँबाट धार्मिक अन्धतासँगको संघर्ष सुरु गरिनुपर्दछ ।
(झ) धार्मिक सभा समारोहमार्फत् गरिने राजनीतिको डटेर भण्डाफोर गर्ने नीति लिइनुपर्दछ ।
(ञ) धार्मिक अन्धताको विरोधी हुनुको मतलब कुनै आस्तिक व्यक्ति विशेषको विरोधी हुनु होइन । धार्मिक सम्प्रदाय वा व्यक्तिको आस्थाको सबैभन्दा बढी सम्मान पनि कम्युनिटहरुले नै गर्नुपर्दछ र गर्न सक्दछन् । वास्तवमा कुनै आस्तिक व्यक्ति वा सम्प्रदायलाई कम्युनिस्टले एउटा रोगीका रुपमा हेर्दछन् । रोगीलाई मारेर वा घाइते बनाएर रोग निको हुँदैन उपचार गरेर मात्रै रोग निको हुन्छ । यही उपचारको विधि व्यवहारमा अनाइनु पर्दछ ।
(ट) विश्व दृष्टिकोण परिवर्तनको आन्दोलन दीर्घकालीन हो तर धार्मिक अन्धताको प्रत्यक्ष जरा भने चाडपर्व, प्रथा, परम्परा, अनुष्ठानहरुमा प्रकट हुने गरेका छन् त्यसैले सबैभन्दा पहिलो त्यहीँबाट धार्मिक अन्धतासँगको संघर्ष सुरु गरिनुपर्दछ ।
 सबै चाडपर्व, अनुष्ठानहरुबाट धार्मिक क्रियाकलापलाई अलग्याइ तिनलाई केवल सांस्कृतिक रुपमा मात्र मनाउन सुरु गरिनुपर्दछ । दशैंबाट धार्मिक क्रियाकलाप अलग्याउने हो भने यो विशुद्ध पारिवारिक भेटघाट र खानपिनको सांस्कृतिक पर्वमा रुपान्तरण हुनेछ ।
 सबै चाडपर्व अनुष्ठानलाई बोझिलोबाट सरलीकृत गर्न र खर्चिलोबाट किफायती बनाउन आमजनतालाई सघाउनुपर्दछ । एकैचोटी आमजनता विज्ञानलाई स्वीकार गर्न तयार नहुने अवस्थामा चाडपर्व अनुष्ठानलाई सरल र किफायती बनाउन तयार पार्दै वैज्ञानिकीकरण गर्न तयार पार्दै लाने नीति लिइनुपर्दछ । किरिया बस्न छाड्न नसक्नेलाई १३ दिनको सट्टा ५ दिनमा झार्न अनि घरखेत बेचेर घ्यावा गर्नेलाई चियापानसम्ममा झार्न सकियो भने त्यो पनि अन्ततः विज्ञानतिरकै यात्रा हुन्छ ।
 सम्भव भएजति चाडपर्व अनुष्ठानलाई वैज्ञानिकीकरण गरिने अभियान चलाइरहनुपर्दछ ।
 मानव जाति आफैंले लडेर स्थापित गरेका राजनीतिक सामाजिक दिनहरुलाई सांस्कृतिक पर्वको रुपमा मनाउन सुरु गर्नुपर्दछ । मे दिवस, ८ मार्च, जनयुद्ध दिवस, शहीद दिवस, गणतन्त्र दिवस आदिलाई कम्युनिस्टहरुले केवल राजनीतिक पर्व मात्र बनाए, त्यति पर्याप्त छैन तिनलाई सांस्कृतिक पर्वको रुप समेत दिन जरुरी छ । पाहुना दशैं वा ल्होछारमै डाक्ने, मे दिवसमा चाहिँ जुलुश मात्रै निकाल्ने गरेर आमजनताले तिनलाई आफ्नो भावना जोडिएको पर्व ठान्दैन । नयाँ पर्वहरुको जग बसाल्न तिनलाई खानपिनसँग जोड्नेतिर पनि कम्युनिस्टको ध्यान जान जरुरी छ । मानव जातिका पर्वहरु खानपिन, मनोरञ्जन र भावना साटासाटसँग जोडिएका छन्, त्यसैले त्यसलाई मानिसहरु आफ्नो ठान्छन् भन्ने तथ्यतिर गम्भीर ध्यान जानु आवश्यक छ ।
 कम्युनिस्ट पार्टीले पार्टीका नेताले कुन कुन अनुष्ठानमा के गर्ने, कुन स्तरसम्मका कार्यकर्ताले के गर्ने, के नगर्ने, आमकार्यकर्ताले के गर्ने, के नगर्ने र आमजनतामा के लैजाने भन्ने स्पष्ट नीति बनाई लागू गर्नुपर्दछ ।
यसप्रकार धार्मिक अन्धताविरुद्धको सांस्कृतिक आन्दोलनलाई विश्वदृष्टिकोण परिवर्तनको आन्दोलनका रुपमा विकास गर्दा मात्र क्रमशः सफलता प्राप्त हुने विश्वास गर्न सकिन्छ । विश्वदृष्टिकोण परिवर्तनको लडाइँ मानव जातिले लड्नुपर्ने सबैभन्दा लामो र ठूलो लडाईं हो, त्यसकारण सर्वहारा वर्गले अन्तिम लडाईं कसरी जित्छ र कहिलेसम्ममा जित्छ भन्ने कुराले यस विषयमा पनि निर्णायक महत्व राख्दछ भन्ने कुरा स्वतः सिद्ध छ ।
OOO

‘मूल्यांकन’ (२०६९ असोज) बाट साभार ।
(नयाँ संविधान निर्माणको चरणमा धर्म र धर्मनिरपेक्षताबारे बहस चलिरहेका बेला आहुतिद्वारा तीन वर्षअघि लेखिएको यो लेख थप सान्दर्भिक देखेर यहाँ प्रस्तुत गरिएको हो  -सम्पादक ।)

(Visited 987 times, 1 visits today)

टिप्पणी

comments