Main Menu

प्रलेसको ६५ औं वार्षिकोत्सव समारोह

बहस : पुरस्कार लिनुहुन्छ ! लिनुहुन्न !

गत असोज ५ गते विहीवार आयोजित प्रगतिशील लेखक संघ (प्रलेस) को ६५ औं वार्षिकोत्सव समारोहको मुख्य कार्यक्रम ‘पुरस्कार र सम्मानको संस्कृति’ बारेमा बहस छलफल रह्यो । प्रगतिशीलहरुले पुरस्कार र सम्मान थाप्न हुन्छ या हुन्न भन्ने विषयमा तर्क वितर्क भयो ।

प्रगतिशील सांस्कृतिक चिन्तकको आइकोन बनाएका समालोचक चैतन्य (मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादीका अध्यक्ष) को प्रमुख आतिथ्यमा संचालित उक्त बहस छलफल कार्यक्रममा ‘पुरस्कार र सम्मानको संस्कृति’ विषयमा साहित्यकार डा.अमर गिरीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । लिखित अवधारणा पत्रलाई छोट्याई मौखिक रुपमा उक्त समारोहमा प्रस्तुत गरिएको थियो । डा. गिरीको अवधारणा पत्रमाथि प्रा. गोबिन्द आचार्य, कवि एवं नेपाल लेखक संघका अध्यक्ष श्रवण मुकारुङ र साहित्यकार आहुतिले समालोचना गरेका थिए ।

प्रलेसको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त समारोहमा प्रलेसका पूर्व अध्यक्ष आनन्ददेव भट्टद्वारा स्थापित प्रलेस प्रतिभा पुरस्कारबाट कवि केशव सिलवाललाई पुरस्कृत गरिएको थियो । दश हजार राशिको उक्त पुरस्कार यसै वर्ष स्थापना गरिएको हो भने कवि केशव सिलवाल सो पुरस्कारबाट पुरस्कृत हुने प्रथम स्रष्टा हुन् । पुरस्कृत कवि सिलवालले समारोहमा उनको चर्चित कविता ‘एक प्रान्त’ वाचन गरी सुनाएका थिए ।

कवि सिलवालका कृतित्व र व्यक्तित्वबारे चर्चा गर्दै उक्त समारोहमा साहित्यकार डा. बिन्दु शर्माले कविले आफ्ना रचनाहरुमार्फत् सिमान्तकृत वर्गको पक्षमा आवाज उठाएको टिप्पणी गरिन् । उनले भनिन्, “ चाहे चेपाङ होस्, चाहे बोक्सीका आरोपी महिलाहरु होऊन्, चाहे सडक बालबालिकाहरु होऊन्, चाहे जनता र देशका लागि लाग्दालाग्दै आफ्नो जीवन सिध्याएका शहीदहरु होऊन् ती सबैको आवाज कवि सिलवालको कवितामा पाइन्छ ।”

कार्यक्रममा अवधारणा पत्रभित्र रहेका विषयहरुलाई प्रष्ट्याई साहित्यकार डा. अमर गिरीले भने, “ अहिले प्रगतिशील साहित्यिक तथा सांस्कृतिक आन्दोलनमा बाहिरी र भित्री दुबै तर्फबाट बैचारिक आक्रमण भइरहेको हुुँदा यो चुनौतिपूर्ण अवस्थामा छ । त्यसैले पनि पुरस्कार र सम्मान संस्कृतिबारे हामीले एउटा निश्चित अवधारणा बनाउनु जरुरी छ । यस सम्बन्धमा हामीभित्र पनि निश्चितै रुपमा केही कमजोरीहरु छन् । ती कमजोरीहरुलाई हामीले सच्याउन सकिएन भने यो आन्दोलन कमजोर भएर जान्छ । हामीले हाम्रा कमजोरीहरुलाई त्यतिकै राखिराख्ने हो भने नेपाली प्रगतिशील साहित्यिक तथा सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन सक्दैनौं र नेपाली समाजको रुपान्तरणमा हामीले ठोस योगदान पुर्याउन सक्दैनौं । त्यसैले बैचारिक स्पष्टता सहित नेपाली समाजको परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन, सांस्कृतिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउन, पुरस्कार र सम्मानको संस्कृतिको सम्बन्धमा पनि ठोस, स्पष्ट र सही दृष्टिकोण निर्माण गर्नु जरुरी हुन्छ ।

पुरस्कार र सम्मानलाई हामीले संस्कृतिकै रुपमा लिनुपर्छ । पुरस्कार र सम्मान आत्मिक यानि कि अभौतिक संस्कृतिसँग जोडिन्छ । आत्मिक संस्कृतिको निर्माणमा पुरस्कार र सम्मान मात्रले पनि भूमिका निर्वाह गरेको हुँदैन । त्यसैले पुरस्कार र सम्मानको संस्कृति भनिएको हो । संस्कृतिका दुईवटा पक्षहरु छन्, एउटा आत्मिक पक्ष र अर्को भौतिक पक्ष । पुरस्कार र सम्मान बढी मात्रामा आत्मिक पक्षमा पर्छन् र यसले मूल्य निर्माणको प्रक्रियामा धेरै महत्वपूर्ण प्रभाव पार्दछ ।”

डा.गिरीले पुरस्कार र सम्मानका कुराहरु वर्गीय चरित्रबाट अलग नहुने बताए । उनी भन्छन्, “ बिचारधारा र वर्गबाट अलग गरी हामी पुरस्कार र सम्मानको कुरा सोच्न सक्दैनौं ।”

प्रगतिशील साहित्यिक सांस्कृतिक अभियन्ताहरुसँग भएका कमजोरीहरुलाई औंल्याउँदै अवधारणा पत्रभित्र भएका बिचारहरु व्यक्त गर्ने क्रममा साहित्यकार डा. अमर गिरीले “ पुरस्कार र सम्मान जहाँबाट जसले दिए पनि ग्रहण गर्दै जाने प्रवृत्तिले हाम्रो आन्दोलनलाई कमजोर बनाउँदछ, त्यसैले यसबारे गम्भीर भई ठोस र स्पष्ट अवधारणा बनाउनु जरुरी छ” भने ।

डा. गिरीको अवधारणा पत्रमाथि समालोचना गर्दै साहित्यकार एवं समालोचक आहुतिले ‘मार्क्सवादीहरुले पुँजीवादबाट आएको अवधारणालाई जस्ताको तस्तै लिनु हुन्न, त्यसलाई परिमार्जन गरेर मात्र प्रयोगमा ल्याउनुपर्छ’ भने । उनका अनुसार भौतिक संस्कृतिलाई जस्ताको तस्तै लिन सकिन्छ, तर अवधारणागत औजारलाई सकिन्न । र, पुरस्कार तथा सम्मानको कुरामा पनि यही कुरा लागु हुन्छ ।

उनी भन्छन्, “ मार्क्सवादीहरुले कयौं अवधारणाहरु बुर्जुवा वा पुँजीवादीहरुसँग जस्ताको तस्तै लिने गरेका छन् । यो ठूलो गलत भएको छ । मार्क्सवादहरुले आधारभूत दर्शनमा बिरोध, बिचारमा लडे, राजनीतिमा लडे, वर्ग संघर्षका कयौं विषयमा लडे, तर जीवनका कयौं आयामहरुमा बुर्जुवाहरुले जे गरे त्यसलाई जस्ताको तस्तै ल्याएर लागु गरे । पुरस्कारलाई पनि मार्क्सवादीहरुले त्यसरी नै लागु गरे । बुर्जुवाहरुले आफ्नो उद्देश्यका लागि पुरस्कारलाई प्रयोग गरे, हामीहरुले हाम्रो उद्देश्यका लागि प्रयोग गर्नुपर्छ भन्ने धारणा मार्क्सवादीहरुमा भयो । यो ठीक कि बेठीक भन्ने सवाल उठाइएन । यसमाथि छलफल जरुरी छ ।”

प्रलेसको ६५ औं वार्षिकोत्सवमा सहभागी साहित्यकारहरु ।

त्यसअघि प्रलेसको उक्त समारोहमा चर्चित कवि श्रवण मुकारुङको प्रस्तुतिले रोचकता प्रदान गरेको थियो । सम्वोधनको क्रममा कवि मुकारुङले सन्दर्भ घटनाहरु सुनाई रोचकता प्रदान गरे । एउटा सन्दर्भ प्रस्तुत गर्दै उनले भने, “राईहरुको किरात राई यायोक्खा भन्ने एउटा संस्था छ । म एक राई भएको नातालाई मलाई पनि त्यसको एउटा कार्यक्रममा बोलाइयो । त्यो कार्यक्रम पुरस्कार र सम्मानकै कार्यक्रम थियो । त्यहाँ राईहरुमा एसएलसिमा सर्वोकृष्ट अङ्क ल्याउने एकजनालाई पुरस्कार दिने गरियो । त्यस्तै गरी राईहरुबाट डाक्टर इञ्जिनीयर बन्नेहरु र पिएचडि गरेकाहरुलाई सम्मान गरिए । आफ्नो बोल्ने पालामा मैले भनेँ, ‘तपाईंहरुले डाक्टर इञ्जिनीयर बन्नेलाई किन सम्मान गर्नुहुन्छ ? पिएचडि गर्नेहरुलाई किन सम्मान गर्नु हुन्छ ? राईहरु अहिले पनि सुनकोशीको तिरमा अदुवाको भारी बोकिरहेछन् । तिनीहरुका छोराछोरीहरुले पढ्नै पाएका छैनन् । उनीहरुले कहिल्यै अवसर पाउँदैनन् । केहीले अवसर पाए । डाक्टर भए, इञ्जिनीयर बने । उनीहरुलाई सम्मान गर्नु जरुरी छैन । गर्नुहुन्छ भने डाक्टर भएर राष्ट्र र जनताका लागि केही योगदान गरेकाहरुलाई सम्मान गर्नुहोस् । अथवा तपाईंको समुदायलाई के योगदान पुर्याए, त्यसको आधारमा सम्मान गर्नुहोस् । कोही डाक्टर भएर मात्र होइन, उसले देशका गरिबहरु कतिलाई निःशुल्क उपचार गर्यो, त्यसको आधारमा सम्मान गर्नुहोस् न । तपाईं एसएलसिमा उत्कृष्ट अङ्क ल्याउनेलाई पुरस्कार दिँदैहुनुहुन्छ, तर पढ्नै नपाएका राईहरु छन्, तपाईं तिनीहरुलाई कुन स्थानमा राख्नुहुन्छ ? तपाईं कस्ंतो संस्कृतिको निर्माण गर्दै हुनुहुन्छ ? मलाई चित्त बुझेन ।’ मेरा यी कुराहरु सुनेपछि त्यसपछाडिका कार्यक्रमहरुमा अहिलेसम्म मलाई फेरि बोलाइएको छैन ।”

कवि मुकारुङले पुरस्कार र सम्मान पनि वर्गीय हुन्छन् भन्ने डा. अमर गिरीको अवधारणालाई समर्थन गरेका छन् ।

प्रलेसको ६५ औं वार्षिकोत्सव समारोहमा डा. गिरीले प्रस्तुत गरेको अवधारणा पत्रमाथि टिप्पणी गर्दै प्रा.गोबिन्द आचार्य भन्छन्, “ पुरस्कार र सम्मानको संस्कृतिले हामीलाई निलीसकेको छ । यो भनेको पुँजीवादी संस्कृति हो । माक्र्सवादका अनुसार संस्कृति श्रमसँग जोडिन्छ । प्रगतिशील लेखक संघले पुरस्कार दिनुको सट्टा एउटा राम्रो कृतिको किताब छापिदिए राम्रो हन्थ्यो । पुरस्कारको संस्कृतिलाई हामीले पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ ।”

प्रलेसका अध्यक्ष प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रलेसका पूर्व अध्यक्ष आनन्ददेव भट्ट, समालोचक निनू चापागाइँ, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली लगायतका साहित्यकारहरुको उपस्थिति रहे । काठमाडौंको प्रदर्शनी मार्गस्थिति नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न प्रलेसको ६५ औं वार्षिकोत्सवको उक्त समारोहमा सयौं साहित्यकारहरुको सहभागिता रहेको थियो ।

 

(Visited 47 times, 1 visits today)

टिप्पणी

comments