Main Menu

दलितको श्रम र सीप चल्छ, तर भान्सा चल्दैन

पुस १६, बाँके

dalit-still-prevalent-bankeनेपालगन्जबाट करिब १६ किलोमिटर उत्तर-पश्चिममा अवस्थित बैजनाथ गाउँपालिका-८ पिपरीमा दलित र गैरदलितको मिश्रित बसोवास छ । गाउँका दलित र गैरदलित मर्दापर्दा एक-अर्काको काममा सघाउँछन् । खेतीपातीका बेला खेतबारीको काममा सहयोग आदानप्रदान हुन्छ । करेसाबारीमा उत्पादन भएका तरकारी र अन्नपात पैंचो पनि चल्छ । तर, त्यस गाउँका दलित र गैरदलितबीच श्रम चल्छ, पानी चल्दैन ।

“हरियो तरकारी, दाल, चामल पैंचो चल्छ, तर भान्सा र पानी चल्दैन,’ स्थानीय चन्द्रा विकले भनिन् । उनले भान्सा र पानी नचलेका कारण चाडपर्व र बिहेबारीमा छिमेकमै भए पनि दलित र गैरदलितले एक-अर्कालाई नबोलाउने गरेको बताइन् । गैरदलितले दलितको घरमा गएर खान मन नगर्ने भएकाले चाडपर्व र बिहेबारीमा एउटा समुदायले अर्को समुदायलाई नबोलाएको हो ।

विवाहका आवतजावत हुँदैन

“विवाहमा निमन्त्रणा दिँदा पनि छिमेकमै भएका गैरदलित नआएपछि बोलाउन छाड्यौँ,” स्थानीय ५० वर्षीया रातु सुनारले भनिन्, “गैरदलित आउँदैनन्, किन बोलाउनु ? दलित-दलितबीच मात्र विवाहमा सहयोग आदानप्रदान र खानपिन हुन्छ ।” उनले पहिलेको तुलनामा दलितमाथि हुने विभेद अलि घटेको भनिए पनि गाउँघरमा अझै पनि छुवाछुत जबर्जस्त रूपमा रहेको बताइन् । “दलितमाथि हुने विभेद प्रत्यक्षबाट अप्रत्यक्षमा झरेको छ,” सुनारले भनिन् , “प्रत्यक्ष गरिने विभेदभन्दा अप्रत्यक्ष गरिने विभेदले झन् नरमाइलो लाग्दो रहेछ ।”

कानुनले निषेध गरेकाले गैरदलितहरू दलितलाई सीधै गाली गर्ने र छुवाछुत भयो भन्न सक्दैनन् । तर, दलित भनेर हेप्ने र छुवाछुत मान्ने प्रवृत्ति अहिले पनि अप्रत्यक्ष रूपमा कायमै रहेको दलितहरू बताउँछन् । गैरदलितले दलितलाई हेर्ने दृष्टिकोणमा देखावटी परिवर्तन आएको बैजनाथ गाउँपालिका ८ चौफेरीकी खिमसरा विकले बताइन् । उनले बिहेबारीमा आएका गैरदलितले संयुक्त भान्सामा खानपिन गर्न नमान्ने गरेको अनुभव सुनाइन् । “निमन्त्रणा पाएका गैरदलित विवाहमा सहभागी हुन आउँछन् । तर , उनीहरूका लागि छुटै भान्साको व्यवस्था गर्नुपर्छ ।” उनले भनिन् ।

पानी र भान्सा अझै चलेन

ग्रामीण बस्तीमा गैरदलितले दलितको घरमा गएर खाने प्रचलनको सुरुवात अझै हुन सकेको छैन । छिमेकी दलित र गैरदलितबीच तरकारी, अन्नपात ऐंचोपैंचो चले पनि पानी र भान्सा अनै चल्न सकेको छैन । “प्रत्यक्ष-अप्रत्यक्ष जुन रूपमा गरिए पनि विभेद त विभेद नै हो,” खिमसरा बिकले भनिन्, “दलितको सीप, काम र उत्पादन गरेका वस्तु चल्छन् । तर, पकाएका खाना र घरमा भएको पानी चल्दैन ।”

गैरदलितको घरमा मिठोमसिनो पाक्दा दलितको र दलितको घरमा मिठोमसिनो पाक्दा गैरदलितको घरसम्म पुग्दैन । कारण हो, दलितमाथि विद्यमान छुवाछुत । “मिलेर खाऔँ, मिलेर जाऔँ भन्ने सबैले भन्छन्, तर गैरदलित नजानिँदो तरिकाले छुवाछुत मान्छन् । उनीहरूको घरमा जाँदा नराम्रो मान्ने गरेकाले जान मन लाग्दैन,” पिपरीकी पुष्पा सुनारले भनिन्, “छुवाछूत कागज र भाषणमा अन्त्य भएको छ । तर, व्यवहारमा अन्त्य भएको महसुस गर्न पाएका छैनौँ ।”

गैरदलितसँग बोल्नसमेत अलि अप्ठेरो लाग्ने गरेको चौफेरीकी दिलसरा विकले बताइन् । उनले पहिलेदेखि नै विभेदमा परेकाले गैरदलितसँग खुलेर बोल्न अझै पनि अप्ठेरो महसुस हुने गरेको अनुभव सुनाइन् । नयाँ पुस्ताले छुवाछुत कम माने पनि पुरानो पुस्तामा अझै परिवर्तन आउन नसकेको यहाँका दलितहरूको अनुभव छ ।

  • विश्वराज पछल्डङ्ग्या

नयाँ पत्रिका दैनिकबाट

(Visited 23 times, 1 visits today)

टिप्पणी

comments