Main Menu

दाइ बिदाइको लामो रात

daiko-bidaiko-lamo-raat-sirjhana-dhakal

  • सिर्जना ढकाल

आज मेरो क्रूर कलमले विजयको हत्याको कुरा टिपिरहेको छ। ऊ छैन भनेर मैले विवशतापूर्वक लेख्नु परिरहेको छ। मेरो प्रिय छोरा अब यो संसारमा छैन, चिर निद्रामा सुतिसकेको छ। २०६१ साल पुस २९ गते कास्की जिल्लाको साम्मी मैदानमा निःशस्त्र अवस्थामा कब्जामा लिएपछि दुई घन्टासम्म तड्पाएर क्रूरतापूर्वक उसको हत्या गरियो। अनेकौं कल्पना गरे पनि विजयको हत्याको कल्पना गर्न सक्दैनथेँ म। तर के गर्नु ? मेरो दुर्भाग्य, मेरो प्रिय छोरा शत्रुको कब्जामा पर्‍यो। (घनश्याम ढकाल, २०६१, अप्रकाशित डायरीबाट)

एउटा लेखकले आफ्नो एक मात्र छोरो दोहोरो मुठभेडको नाममा मारिएपछि डायरीमा लेखेका पीडाका शब्द हुन् यी।

आज म १३ वर्ष अघिको त्यो भयानक घटना सम्झिरहेकी छु। पुस महिनाको त्यो अन्तिम दिन। मलाई अझै पनि याद छ, हामीले एक अर्कासँग नबोलेर र नरोएरै त्यो भयानक लामो रात काटेका थियौं। हामीलाई निर्धक्क भएर दाइको वियोगमा रुने छुट पनि थिएन।

हामी त्यति बेला पोखराकै नयाँबजारमा डेरामा बस्थ्यौं। म बेलुकी ५ बजेको समाचार सुन्दै थिएँ। अचानक कास्कीको निर्मलपोखरीको साम्मी मैदानमा एकजना आतंककारीको दोहोरो मुठभेडमा मृत्यु भएको समाचार रेडियोले सुनायो। समाचारमा मृतकको साथबाट बन्दोबस्तीका सामान र चन्दा रसिद बरामद भएको भनिएको थियो। पछि थाहा भयो, ‘बन्दोबस्तीको सामान’मा डेढ महिनाअघि दाइलाई मैले भेट्न जाँदा किनेर लगिदिएका कपडा पनि थिए। समाचार सुनेपछि मेरो हातखुट्टा चिसो भयो। मारिने मान्छेको नाम भनिएको थिएन। तर, एउटा कुरा स्पष्ट थियो, कोही निःशस्त्र मान्छे मारिएको थियो। त्यो या त राजनीतिक कार्यकर्ता हुनुपर्थ्यो कि कोही सर्वसाधारण मान्छे।

अचानक दाइलाई सम्झेँ, दुई दिनअगाडि मात्रै उहाँसँग फोनमा कुरा भएको थियो। त्यही फोन वार्ता सम्झेर निश्चिन्त हुने कोसिस गरेँ तर मन पटक्कै मानेन। डेराबाहिर निस्केँ अनि एउटा पसलबाट दाइको नम्बरमा फोन गरेँ। अहँ, फोन लाग्दै लागेन। दाइको फोन नम्बर मसँग मात्रै थियो, घरमा। बारम्बार लगाउँदा पनि फोन लागेन। फेरि चित्त बुझाएँ, दाइ फोन नलाग्ने ठाउँमा पुग्नुभयो होला। मनमा छटपटी भइरह्यो। जाडो महिनाको साँझ झमक्कै भइसकेको थियो। दाइको केही खबर पाइन्छ कि भन्ने आशमा केशव भान्जा (पत्रकार केशवशरण लामिछाने)सँग फोन सम्पर्क गर्ने कोसिस गरेँ। भान्जासँग पनि फोन सम्पर्क भएन। फर्केर डेरामा आएँ। खाना पकाउने जाँगर थिएन, तैपनि यसोउसो गर्दै थिएँ, बाले फोन गर्नुभयो। भोलिपल्ट माघेसंक्रान्ति भएकाले हामीलाई घर बोलाउन फोन गर्नुभयो होला भन्ने लाग्यो।

साँझ घर पुग्नासाथ बाले भन्नुभो, ‘आखिर उसलाई मारिछाडे।’

मैले पत्याइनँ। बहिनी र आमा मूर्तिजस्ता भएर बसेका थिए। बहिनीले ‘दाइलाई फोन गर्नु न दिदी, बाले त त्यसै के–के भन्नुहुन्छ’ भन्न थाली। प्रशासनको निगरानी हुन्छ भनेर घरको फोनबाट हामी दाइलाई फोन गर्दैनथ्यौं। तर, त्यो दिन पहिलो चोटि दाइलाई घरबाट फोन गर्‍यौं। राजेन्द्रले फोन गर्नुभयो र फोन उठ्यो पनि। तर, उठाउने मान्छे हाम्रो दाइ नभई तत्कालीन शाही नेपाली सेनाको अधिकारी थियो, फोन उठाउनेलाई ‘विश्वास खै ?’ (दाइको पार्टी नाम विश्वास थियो) भनेर सोध्दा उसले साम्मी मैदानतिर गएको छ भन्यो। मलाई अझै पनि दाइको हत्या भएको होइन, बरु गिरफ्तार गरेर कतै राखेको हुनसक्छ भन्ने लाग्यो, त्यो कुरा बालाई भनेँ पनि।

तर, तत्कालीन माओवादीका कार्यकर्ता निश्चलले घरमा फोन गरेर दाइको हत्याको खबर सुनाएका रहेछन्। फोन बहिनीले उठाएकी रहिछ। अनि बालाई फोन दिनु भनेपछि बालाई बोलाएकी रहिछ। जब बा फोनमा बोल्दाबोल्दै हल न चल भएर उभिनुभयो, बहिनीले फोन खोसेर कानमा टाँसिछ र सुन्दा फोन काटिइसकेको रहेछ। अनि अचानक बा डाँको छोडेर रुँदै ‘दाइलाई खाए’ भनेपछि पनि उसलाई पत्यार नै नलागी त्यसै टोलाएर बसिरहिछ। ऊ पनि उही दुई दिनअघि दाइसँग भएको फोनको कुरा सम्झिरहेकी थिई।

०००

बाटोमा हिँड्दै गर्दा बिहानको ११ बजेतिर एक्कासि खुट्टामा गोली हानेर घाइते बनाएपछि कब्जामा लिएर दुई घन्टासम्म कठोर यातनापश्चात् दाइलाई सेनाले हत्या गरेको रहेछ। सँगै रहेका दाइका साथीहरूचाहिँ भागेछन् भन्ने पछि थाहा भयो।

घरबाट दाइको फोनमा फोन गरेको केही बेरमा सेनाको ब्यारेकबाट फोन आयो। त्यहाँबाट फोन गर्ने को हो भनेर सोधपुछ गर्न थाल्यो। दाइको हत्या भएको त लगभग पुष्टि भइसकेको थियो। बा–आमालाई थप आतंकले घे¥यो, माओवादीसँग सम्पर्क गरेको अभियोगमा छोरी र ज्वाइँलाई पनि दुःख दिने हुन् कि भन्ने। दाइको हत्याको खबर पुष्टि गर्न केही परिचितले फोन गरे। मलाई भने हरेक पल्टको फोनको घन्टी दाइको फोनजस्तो लागिरह्यो। म दाइको हत्या भएको मान्न तयार थिइनँ। जहिले पनि अप्ठेरोमा परेर उम्केपछि दाइको फोन आउँथ्यो मलाई, ‘बुझिस् मुस्किलले फुत्कियो आज’ भन्दै। म दाइको त्यस्तै फोन आउने आशामा थिएँ। तर, दाइ ठिकै हुनुहुन्छ भन्ने खबर कसैले सुनाएन। बरु दाइको शव सेनाले चौरमा फालिराखेको छ भन्ने खबर कसैले बालाई सुनायो। त्यो रात हामी सबैका लागि जिन्दगीको सबैभन्दा लामो रात थियो। हामी पाँचै जनाले त्यो रात अनिँदै काट्यौं।

भोलिपल्ट माघ १ गते हामीलाई अर्को लडाइँका लागि तयार हुनु थियो। त्यो थियो अन्तिम संस्कारका लागि दाइको शव प्राप्त गर्ने लडाइँ। त्यो दिन केही मानवअधिकारवादी घटनास्थल जाने रहेछन्, बा पनि राजेन्द्रलाई लिएर उनीहरूसँग साम्मी मैदान जानुभयो। त्यहाँ सेनाले घेरा हालेर बसेको रहेछ। तल जंगलमा छ भनेर शव हेर्न दिएन र बालगायत अरूहरू त्यसै फर्कनुभयो। दाइको शव प्राप्त गर्ने बाको प्रयत्न जारी थियो। दोस्रो, तेस्रो र चौथो दिन बाले प्रयत्न गरिरहनुभयो तर दाइको शव दिइएन। केही सपि नलागेपछि ठूलोबा त्रिलोचन ढकालले माधवकुमार नेपाललाई फोन गर्नुभयो। माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई र देउवाले प्रधानसेनापतिलाई भनेपछि मात्रै शव दिइने कुरा आयो। त्यति बेला राजाको सक्रिय शासन थियो र एमाले आधा प्रतिगमन सच्चिएको भन्दै कांग्रेससहित सरकारमा थियो। राज्यले आफ्नो नियन्त्रणमा लिएर हत्या गरेको निःशस्त्र युवकको शव प्राप्त गर्न प्रधानमन्त्रीको सोर्स लगाउनुपर्ने बढो विचित्र स्थिति थियो यो। मानवअधिकारवादी संगठनहरू यो गैरन्यायिक हत्या हो भनेर आवाज उठाइरहेका थिए तर संकटकालको त्यो कालरात्रिमा शासकहरू यो कुरा सुन्न तयार थिएनन्।

सेना एकजना लोकप्रिय नेताको शवसँग डराइरहेको थियो। शव दिने भए भन्ने सुनियो तर त्यसको प्रक्रिया के हुने हो थाहा थिएन। आखिर दाइको हत्याको पाँच दिनपछि माघ ४ गते साम्मी मैदान जानुपर्ने भनेर सीडीओले खबर गरे। शव यता घरमा ल्याउन नपाइने, उतै अन्तिम संस्कार गर्नुपर्ने र धेरै मान्छे जान नपाइने सर्त राखिएको थियो। अनि सेनाको नियन्त्रणमा चलाइएको एउटा माइक्रोबसमा जति अटिन्छ त्यति हामी दोविल्लातिर लाग्यौं। बसमा नअटेका मान्छेहरू डेढदुई घन्टाको बाटो हिँडेरै दोबिल्लातिर पुग्न तयार भए। केही मान्छेहरू दाइको शव लिन साम्मी मैदानतिर लागे। बा, आमा हामी दुई बहिनीहरू दोविल्लातिर लाग्यौं।

चार दिनदेखि शोक र आँसुले ज्यानमा कसैको तागत थिएन। हामीहरू जबर्जस्ती हिँडिरहेका थियौं। दोबिल्लामै अन्तिम संस्कार गर्ने कुरा रहेछ। बा–आमा घरिघरि कुरा गर्नुहुन्थ्यो, म सुन्दै थिएँ। आमाले बालाई सम्झाउँदै हुनुहुन्थ्यो। हामी आमालाई जति कमजोर ठान्थ्यौं आमा त्यति कमजोर हुनुहुन्न रहेछ भन्ने कुराको मलाई त्यो बेला अनुभूति भयो। हामी त्यहाँ पुग्नुअगाडि नै दाहसंस्कारका लागि दाउरा नदिन र कुनै पनि सहयोग नगर्नका लागि दोबिल्लावासीलाई सेनाले धम्क्याएको रहेछ। तर, त्यो धम्कीलाई बेवास्ता गर्दै अन्तिम संस्कारका लागि दाउरा लगायतका सामान सबै स्थानीयवासीले जुटाए। यसबापत उनीहरूले पैसा लिन पनि मानेनन्। राज्यले हत्या गरेको एउटा विद्रोही नेताको अन्तिम संस्कारमा रातको समयमा स्थानीय जनताको स्वतस्फूर्त सहयोग र सहभागिता राज्यशक्तिविरुद्ध दरो थप्पडजस्तो लाग्थ्यो। प्रशासनले अन्तिम संस्कारमा धेरै मान्छे जान नपाइने भनेर गरेको उर्दीलाई स्थानीय जनताको उपस्थितिले खारेज गरिदियो।

रातको साढे आठतिर दाइको शव दोविल्लाको बगरमा ल्याइपुर्‍याइयो। हामी पनि त्यहाँ पुग्यौं। अब भने दाइ हुनुहुन्न भन्ने कुरा नस्वीकारी हामीलाई धर थिएन। हामीले अब दाइलाई अन्तिमपटक हेर्नु र अन्तिम श्रद्धाञ्जलि दिनु थियो। जबर्जस्ती मन सम्हालेर दाइको क्षतविक्षत शरीर हेर्‍यौँ। दाइलाई पहिला खुट्टामा गोली हानेर त्यसपछि टाउकोमा ढुंगाको छपनीले हानी हानीकन मारिएको थियो, अनुहार थिएन, छाला मात्रै थियो। टाउको दुई फक्लेटा पारिएको थियो। चिउँडोमुनि संगीनले कोपेको घाउ थियो। मारिसकेपछि फेरि गोली हानेजस्तो लाग्थ्यो। हत्या गरिसकेपछि जंगलमा खाल्डो खनेर गाडिएको थियो। खाल्डोबाट निकालेर दाइको शव ल्याइएको थियो। बल्लतल्ल मन थामेर हामीले दाइलाई अन्तिम श्रद्धाञ्जलि दियौं। कसैको मोबाइलमा बाको लागि एउटा फोन आयो।

हाम्रो लागि उहाँ दाइ हुनुहुन्थ्यो। तर, विजय ढकाल (२०३३–२०६१) गण्डक क्षेत्रमा एउटा लोकप्रिय युवानेता हुनुहुन्थ्यो। कास्की जिल्लाको सेक्रेटरीको जिम्मेवारीमै हुँदा उहाँको हत्या भएको थियो। त्यसकारण पार्टीले यस घटनामा चासो राख्नु अस्वाभाविक थिएन। तर, फोन आएपछि थाहा भयो, छोराको शव प्राप्त गर्न लडेको लडाइँपछि बाले आफ्नै छोराका साथीहरूसँग अर्को लडाइँ लड्न त बाँकी नै रहेछ। फोन गर्ने मान्छे त्यही थियो, जसले दाइको हत्याको खबर दिन घरमा फोन गरेको थियो। फोन गर्नेको आवाजमा न सहानुभूति थियो न हार्दिकता नै। ऊ आफू सुरक्षित ठाउँमा बसेर बालाई कासन गर्दै थियो। उसले बालाई दाइको शव पोखरा सहरमा लगेर प्रदर्शन गर्न आदेश दियो। त्यो कसरी सम्भव थियो भन्ने न उसले सोच्यो न उसका नेताहरूले नै। बस् उसले आदेश दियो। उसले भनेजस्तो गर्न असमर्थता जनाएपछि शवलाई त्यहीँ त्यसै छोड्न उसले बालाई आदेश दियो। अनि बाले पाँच दिनसम्म उनीहरूले नलगेपछि सबैको प्रयासमा शव ल्याएको र अझै पनि उनीहरू आउँछन् भने शव हस्तान्तरण गर्न आपूm तयार भएको भन्नुभयो। उसले जवाफमा शव त्यहीँ छोड्न र आफ्नो अनुकूलतामा आएर शव लैजाने गैरजिम्मेवार कुरा ग¥यो। भर्खरै मारिएको आफ्नो नेता गुमाउनु परेको पीडा उसमा थिएन नै। उसले सहिदको पितालाई हदैसम्मको अपमान र थप पीडा दियो।

‘मैले ठूलो संघर्षले छोराको शव प्राप्त गरेको छु, छोरालाई त मैले गुमाइसकेँ। तपाईंलाई थाहै छ, ऊ मेरो छोराभन्दा तपाईंको नेता हो। आफ्नो नेताको शवको जिम्मा लिन तपाईंहरू आउनुहुन्छ भने म तपाईंहरूकै हातमा तपाईंको नेताको शव हस्तान्तरण गर्न तयार छु। नत्र बगरमा त्यत्तिकै स्यालको आहारा बन्नका लागि म मेरो छोराको शव छोड्न सक्दिनँ’, बाले कड्केर जवाफ दिनुभयो। बाको यो जवाफ ‘अझ ठूलो चुनौती सामना गर्न तयार भइराख्नु’ भनेर हामी छोरीहरूलाई सन्देश थियो। मलाई लागेको थियो, आफ्नो जवान छोराको शवअगाडि बा कमजोर हुनुहुनेछ। तर, बा त हरेक परिस्थितिसँग लड्न तयार हुनुहुँदो रहेछ। अन्ततः त्यो आधा रातमा दाइको अन्तिम संस्कार गरियो। यसपछि पनि बाले गर्नु परेका संघर्षको लामो कथा त छँदैछ।

१३ वर्षपछाडि फर्केर हेर्दा लाग्छ, परिवर्तनको नाममा हामीले हाम्रा प्रियजनहरू गुमायौं। समाजमा केही परिवर्तन पनि भयो। तर, मुठ्ठीभर मानिसका लागि मात्रै। आमजनताको रगतपसिनाले लडिएको ‘जनयुद्ध’ले ल्याएको परिवर्तन आमजनताकै लागि हुनुपर्ने हो तर युद्धबाट बाँचेर आएको नेतृत्व आफ्नो ‘नाफाको जिन्दगी’को प्रयोग आन्दोलनलाई अगाडि बढाउन र सहिद तथा बेपत्ताका सपना पूरा गर्न होइन, सम्पत्ति कमाउने र आफूआफू रमाउने प्रतिस्पर्धामा व्यस्त छ। उनीहरू आजभोलि सायद पैसा र पबाहेक केही देख्दैनन्। हिजो कम्युनिस्ट आदर्शका लागि लडाइँ चलेको थियो। आज सबैभन्दा डरलाग्दो कुरा त्यो आन्दोलन, त्यो नेतृत्व र त्यो यात्रा अब कम्युनिस्ट नै नरहने दोसाँधमा पुगिसकेको छ। तर, यो कुरा मान्न उनीहरू तयार छैनन्।

नेताहरूका कुरा सुन्दा समाजवाद ढोकामा आएर बसेको भ्रम हुन्छ। मानौँ, तपाईंले ढोका खोल्न मात्रै ढिला भइरहेको छ, त्यो खोल्नासाथ समाजवाद सजिलै प्रवेश गर्नेछ। कम्युनिस्ट आन्दोलनको यतिविघ्न भ्रष्टीकरण र विसर्जनको कल्पना आन्दोलनका लागि आफ्नो एकबारको जुनी बलिदान गर्नेहरूले कहिल्यै सोचेका थिएनन्।

नेपालमा गरिखाने वर्गको आन्दोलन फेरि उठ्ला ? विजय ढकालजस्ता युवाले देखेका सपना त्यसै हराइसके? कि तिनलाई पूरा गर्न नयाँ शिराबाट फेरि आन्दोलनको नवनिर्माण गर्नेहरू पनि कतै छन् ?

  • सिर्जना ढकाल

साभार अन्नपुर्णपोष्ट दैनिक, पुस २९, २०७४

(Visited 13 times, 1 visits today)

टिप्पणी

comments