Main Menu

भूकम्पले क्षतिग्रस्त भवनमा पढाउनुपर्ने बाध्यता

compulsion-teach-earthquake-effected-buildingsभदौ २९, खोटाङ । भूकम्पले क्षतिग्रस्त यहाँका विद्यालय भवनहरुको पुनः मर्मत नहुँदा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता छ । रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको पञ्चकन्या आभारभूत विद्यालय र जनकल्याण आधारभूत विद्यालयको भवन पुनः मर्मत नहुँदा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता भएको हो ।

भूकम्प गएको २ वर्ष ४ महिना बितिसक्दा पनि कुनै निकायबाट सहयोग नपाउँदा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपरेको विद्यालय परिवारले जनाएको छ । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले पञ्चकन्या आधारभूत विद्यालय खाम्लाको तीनकोठे भवनको पूर्वपट्टिको गाह्रो चर्किएर २ ठाउँ धाँजा छुटेको छ ।

भूकम्पले चर्काएको विद्यालय भवनको गाह्रोबाट ढुंगा/माटो निस्किएर भ्वाङ परेपछि भित्रबाट बाहिर देखिने प्वाल बनेको छ । कक्षा १ देखि ३ सम्मका २४ जना विद्यार्थीलाई सोही जीर्ण भवनमा पठनपाठन गराउनुपर्ने बाध्यता रहेकोे प्रधानाध्यापक गणेश राईले जानकारी दिए ।

वर्षात्को भलबाढीसम्म पस्ने जनकल्याण आधारभूत विद्यालय हुर्लुङको भवनको हालत पनि उस्तै छ । भूकम्पले ठाउँठाउँमा चिराचिरा बनाएको तीनकोठे भवनमा १ देखि ३ सम्मका २३ जना विद्यार्थीलाई आफूसहित जोखिम मोलेर पठनपाठन गराउनुपरेको प्रधानाध्यापक कल्पना भुजेलले बताइन् ।

भूकम्पको क्षति विवरणसहित जिल्ला शिक्षा कार्यालयको स्रोत केन्द्रमा पेश गरिए पनि साना तथा ‘घ’ वर्गमा परेका विद्यालयका संरचनालाई सहयोग नदिँदा पुनः मर्मत गर्न नसकिएको बताइएको छ । 

(Visited 8 times, 1 visits today)

टिप्पणी

comments