Main Menu

सन्दर्भ : प्रलेस र जगदम्बाको साहित्य–इतिहास लेखन परियोजना

साहित्य–इतिहास अर्थात् ऐनाको ऐना

सङ्गीत श्रोता

सङ्गीत श्रोता

इतिहास अलिकति स्कुल–कलेजमा पढ्ने–पढाउने विषय जस्तो थियो, अलिकति राजामहाराजासँग जोडिएका दिवस–जयन्ती जस्तो थियो । तर पछिल्ला दिनमा यो पाठशालाका पर्खालहरू नाघेर चोक–चौतारामा तीखो बहस झेल्न आइपुगेको छ । इतिहासका ठूला भनिएका घटनाहरू वा ऐतिहासिक व्यक्तित्वहरू सरकारी लेखकका ‘आधिकारिक’ किताबहरूबाट निस्केर चिया पसलका टेबलमा सल्बलाइरहेका छन् । इतिहासको व्याख्यामा सामान्य मान्छेको पनि हक लाग्छ भन्ने चेतना वृद्धि भइरहेको छ । (यो वृद्धिमा पछिल्लो समयको राजनीतिक आन्दोलनको योगदान त छँदैछ ।) पृथ्वीनारायण शाह, महेन्द्र शाह, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम जस्ता ‘ठूला’ नामले गणतान्त्रिक चेतनाका प्रश्न खेपिरहेका छन् । यो लेखले चर्चिन खोजेको सन्दर्भ चाहिँ नेपाली साहित्यको इतिहास लेखन हो, जुन अहिले एउटा वृत्तमा छलफलमा छ ।

 आ–आफ्ना ‘शक्तिशाली’ इतिहास भएका दुई ठूला संस्थाहरूले नेपाली साहित्यको इतिहास लेख्ने परियोजना सुरु गरेका छन् । यी दुवै संस्था गठन–चरित्र र सञ्चालनका हिसाबले सरकारी निकाय होइनन् । पहिलो हो– २००९ सालमा स्थापित प्रगतिशील लेखक संघ (प्रलेस), नेपाल र दोस्रो हो– २०१२ सालमा स्थापित मदन पुरस्कार गुठी सम्बद्ध जगदम्बा प्रकाशन । उद्देश्यका हिसाबले पहिलो संस्था आन्दोलनकारी वैचारिक संगठन हो । दोस्रो संस्था नेपालको विद्यमान सामाजिक–सांस्कृतिक संरचनाकै सहयोगी अंगका रूपमा क्रियाशील रहेको पाइन्छ । आ–आफ्ना सीमासहित यी दुवै मञ्चले नेपाली साहित्य–संस्कृतिका क्षेत्रमा ठूलो प्रभाव राख्छन् । यस्ता संस्थाबाट हुने कामले पनि समाजलाई लामो समयसम्म प्रभावित गर्न सम्भव छ । यसर्थ साहित्यको इतिहास लेखन यतिखेर प्राज्ञिक बहसको विषय हुनु स्वाभाविक हुन्छ । तर विडम्बना, त्यस्तो बहस वा चासो कमै देखिन्छ ।
इतिहासका मोटा–मोटा विषयमा ठाडो टिप्पणी गर्ने राजनीतिक व्यक्तित्व र छिद्रान्वेषी समालोचकहरूसम्मको हामीकहाँ खाँचो छैन तर साहित्य, समाज र राजनीतिक क्षेत्रमा हुनुपर्ने इतिहासबोध भने सतही देखिने गरेका अनेक उदाहरण छन् । अहिले एकातिर नेपालको ‘सरकारी’ इतिहासको छ्यानब्यान गर्नुपर्ने र इतिहासको पुनर्लेखन वा पुनव्र्याख्या गर्नुपर्ने माग बलियो ढंगले उठिरहेको छ भने अर्कोतिर वर्तमानको राजनीतिक दाउपेच र तत्कालीन शक्ति संघर्षको ‘पोजिसन’लाई आधार बनाएर इतिहासको व्याख्या गर्ने गलत परिपाटी हावी भइरहेको छ । यस्तो बेलामा साहित्य–इतिहास लेखाइरहेका संस्थाहरूको प्राज्ञिक उत्पादन कस्तो हुन्छ भन्ने चासो कम्तीमा प्राज्ञिक जगतले राख्नुपर्ने हो ।
नेपाली साहित्यको इतिहास यसअघि पनि नलेखिएको होइन । बालचन्द्र शर्मादेखि तारानाथ शर्मासम्म, दयाराम श्रेष्ठदेखि मोहनराज शर्मासम्म, चूडामणि बन्धुदेखि शरद्चन्द्र शर्मा भट्टराईसम्मले ‘नेपाली साहित्य’को इतिहास लेखेका छन् । ती सबै लेखाइहरूमा केही कुरा साझा पाइन्छ– तिनले ‘नेपाली साहित्य’ भनेर एउटा मात्रै ‘सरकारी’भाषाकोसाहित्यलाई अथ्र्याउँछन्, ती सबैले आदर्शवादी कालविभाजनको ढाँचा लेख्छन्, ती सबैले विधा, विवरण र तिथिमितिको हिसाब बढी गर्छन्, ती सबैले लिखित र प्रकाशित सामग्रीमा मात्रै भर पर्छन् । आज प्रलेस र मदन पुरस्कार गुठीले लेख्ने साहित्यको इतिहास र यसअघि लेखिएको इतिहासमा के फरक र के नयाँ हुन्छ ? यो चासोको विषय हुन सक्छ । पुरानै इतिहास नामको खातामा केही नयाँ लेखकका नाम, नयाँ पुस्तक सूची र केही नयाँ तिथिमितिहरू मात्रै थप्ने कार्यले नयाँ इतिहास लेखन परियोजनाको औचित्य पुष्टि गर्न सक्दैन । वैचारिक रूपमा भिन्न र आन्दोलनकारी संस्था भएका कारण प्रलेसले लेख्ने इतिहाससँग पुनव्र्याख्याको अपेक्षा बढी हुन्छ नै ।
अर्कोतिर ‘बृहत्’ नाम दिएको जगदम्बाको इतिहासमा पनि परिवर्तित परिस्थिति र नेपाली समाजको गणतान्त्रिक रूपान्तरणको मर्मबोध हुनु आवश्यक छ । साहित्य इतिहासका नाममा राणाकालीन र राजतन्त्रकालीन मूल्यलाई नै निरन्तरता दिने परम्पराबाट मदन पुरस्कार गुठी र जगदम्बा प्रकाशनले पनि एक कदम अघि फड्कने आँट गर्नुपर्छ । त्यो भनेको नेपालको साहित्य इतिहास लेख्दा पुस्तक, पुस्तकालय, दरबारिया लिखत र सरकारी अभिलेखहरूमा मात्रै सीमित हुने अनुसन्धानको तरिका फेरिनुपर्छ । दुई÷चार जना ‘महान्’ व्यक्तिलाई केन्द्रमा राख्ने, एउटै भाषालाई मात्रै मुलुकको वाङ्मयको सत्य ठान्ने र काठमाडौं खाल्डोमा उपलब्ध स्रोतलाई प्राथमिकता दिने चलिआएको परिपाटी जस्ताको तस्तै दोहोरिन दिनु हुँदैन । लोक जीवनको साहित्यलाई पनि साहित्यको मान्यता दिनुपर्छ । समाजको परिवर्तनकारी चरित्रसँग साहित्यको सम्बन्ध खुट्टिनुपर्छ । अन्यथा नयाँ भनेर सुरु गरिएको इतिहास खासमा नयाँ हुँदैन, पुरानो थुप्रोमा फोहोरका नयाँ पोका फ्याँके जस्तो मात्रै हुन्छ ।
Pralesa Logoसाहित्यको इतिहास लेखनले आज तीन/चार प्रकारका चुनौती सामना गर्नैपर्ने देखिन्छ । पहिलो– नेपाल र नेपाली भन्ने अवधारणाको परम्परागत बुझाइ र अहिलेबदलिँदै गरेको बुझाइबीच प्रष्टता चाहिन्छ । ‘नेपाली साहित्य’ पदावलीले नेपालभित्रको तर चल्तीको नेपाली भाषाभन्दा बाहिरको साहित्यलाई समेट्दैन, जसले गर्दा नेपालको साहित्यको दायरा साँघुरो हुन्छ । कुनैबेला नेपाल भनेर काठमाडौं उपत्यका बुझिन्थ्यो, अहिले त्यो पुरानो भयो । कुनैबेला नेपाली शब्दको पूर्ववाची वा पर्यावाची शब्द ‘गोर्खाली’ थियो, अहिले त्यो पनि बदलियो। एउटा मात्रै भाषाको साहित्यलाई बुझिने ‘नेपाली साहित्य’ पदले अहिले फराकिलो अर्थ खोजिरहेको यथार्थतिर इतिहासकार वा सम्बद्ध संस्थाको ध्यान जानु आवश्यक छ ।
दोस्रो– इतिहास लेखनमा मौखिक स्रोत, लोक साहित्य र असरकारी स्रोतहरूलाई मान्यता नदिने पुरानो परम्परा साँच्चिकै पुरानो भइसकेको छ । साहित्य–इतिहास लेख्दा लोक साहित्य र मौखिक स्रोत छुट्यो भने नेपाली साहित्यको इतिहास एकपाखे हुने निश्चित छ । किरात, नेवार, तामाङ, गुरुङ लगायत नेपालका थुप्रै जनजाति समुदायको साहित्य र इतिहास अहिले पनि मूलतः मौखिक स्रोतहरूमा जीवित छ । चल्तीको नेपाली भाषाको शक्ति र सामथ्र्य पनि खनिज पदार्थझैँ ग्रामीण क्षेत्रको लोक साहित्यमा सुरक्षित छ । हाम्रो समाजको संस्थापनमा ‘लेखेको कुरा’लाई मात्रै मान्यता दिने र त्यसैलाई मात्रै सत्य ठान्ने मत बलियो छ । विवाद, बहस वा सामाजिक अन्तक्र्रियाका क्रममा सबैभन्दा दोहोरिने आहान हो– ‘यो कुरा कहाँ लेख्या छ ?’ आफूलाई सत्य साबित गर्न चाहने लेखापढा मान्छेहरूपनि ‘फलाना पुस्तकमा लेखिएको छ’ भन्दै तर्क गरिरहेका हुन्छन् । भनिन्छ– लेखापढा मान्छेको राइँदाइँ चलेको दुनियाँमा लेखिएको कुरा झुठो भए पनि साँचो ठानिन्छ, अनि भनिएको कुरा साँचो भए पनि झुठो मानिन्छ । साहित्यमा लेख्नपढ्न सक्नेहरूको मात्रै होइन, लेखपढ गर्न नपाएका मान्छेको पनि बराबरी हक लाग्छ । लोक साहित्य र लिखित साहित्य भन्दै लोक साहित्यलाई साहित्य–इतिहासको हदबन्दीबाट बाहिर पार्दा लेखपढ गर्नेहरूको मात्रै वर्चस्व समाजमा कायम रहिरहन्छ । तर, यो वर्चस्वको इतिहासलाई एक दिन भविष्यले पुनर्मूल्याङ्कनको अदालतमा उभ्याउँछ नै ।
तेस्रो– इतिहासलाई निरन्तर परिवर्तनको गतिमा नबुझ्ने जडताबाट साहित्य क्षेत्रका इतिहासकारहरूमुक्त हुनु आवश्यक छ । साहित्यको इतिहास भनेको पुस्तक प्रकाशन मिति, पुस्तकको संख्या र लेखकको परिचय मात्रै होइन, यो सामाजिक परिवर्तनको प्रतिबिम्ब उतार्ने कला हो । जसरी इतिहास स्थिर हुँदैन, त्यसरी नै साहित्य–इतिहासको चरित्र पनि स्थिर र अपरिवर्तनीय हुँदैन । नेपाली समाज वा राजनीतिको ऐतिहासिक गतिलाई साहित्यले कति प्रभावित ग¥यो र साहित्य कति प्रभावित भयो भन्ने प्रश्नहरूमा ‘दहीमथनी’ नभई नेपाली साहित्य इतिहास ‘नौनी’ बन्न सम्भव छैन ।
jagadamba-logoइतिहासकार समालोचक वा पुस्तक–समीक्षक मात्रै होइन । समाज विज्ञानका अन्य शाखा (समाजशास्त्र, इतिहास, भूगोल, राजनीति, भाषाविज्ञान, पुरातत्व, अर्थशास्त्र आदि) को सहयोग र साथबिना साहित्य–इतिहास लेख्न खोज्नु एक प्रकारको खेलाँची हो । इतिहासकारसँग एकैपटक अन्वेषक, जासुस, कवि र कलाकारको समेत क्षमता हुनुपर्छ भन्ने भनाइ छ । त्यसको अर्थ हो– इतिहास लेख्नका लागि सीमित विषयको मात्रै विज्ञताले पुग्दैन । अनि एउटै व्यक्तिमा सर्वज्ञान र सर्वगुणको सम्पन्नता खोज्नु पनि मूर्खता नै हुन्छ । इतिहास–लेखनका क्रममा आइपर्ने यो विरोधाभासको समाधान गर्न सामाजिक–अन्तक्र्रिया र अध्ययन–अनुसन्धानको चरणबद्ध लामो प्रक्रियामा प्रवेश गर्नुपर्छ । हाम्रा इतिहास–लेखन परियोजनाहरू ज्ञाता र सरोकारवालाहरूसँग सार्वजनिक अन्तक्र्रिया र चरणबद्ध लम्बे प्रक्रियामा कति जान्छन्–जान्नन्, त्यो बेग्लै कुरा हो ।
कला–साहित्यलाई समाजको ऐना भन्ने चलन छ । प्रसिद्ध नाटककार तथा कवि ब्रतोल्त ब्रेख्तले त कलालाई ‘ऐना होइन, यथार्थ कुँद्ने टुकटुके हो’ भनेका छन् । परम्परागत रूपमा साहित्यलाई ऐना नै मान्ने हो भने पनि यसको इतिहास ऐनाको पनि ऐना हो । तर, निर्माणाधीन ऐनाले हाम्रो साहित्यको सामाजिक अनुहार कति देखाउँछ वा कस्तो देखाउँछ, त्यो त भविष्यले नै जताउला । साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयलगायतका सरकारी प्राज्ञिक निकायहरु गणतान्त्रिक परिवर्तनपछि पनि ‘इतिहासको पुनव्र्याख्या’ गर्न अघि नसरेको बेला प्रलेस र जगदम्बाले साहित्य–इतिहास लेखनमा कम्मर कस्नु आफैमा सुखद र प्रशंसनीय कुरा त हुँदै हो । तथापि ऐना इतिहासको कस्तो फ्रेममा राखिन्छ र ऐनाले नेपाली साहित्यको कुन अनुहार बिम्बित गर्छ, त्यो पनि भविष्यकै गर्तमा छ ।

(पहिलोपटक कान्तिपुर कोसेली, २०७२ माघ २ मा प्रकाशित)

(Visited 236 times, 1 visits today)

टिप्पणी

comments