Main Menu

संविधान/कानुन

जनवादी गणतन्त्र चीनको संविधानको अग्रलेख कस्तो छ ?

china-constitution-preamble(संविधान कुनै पनि मुलुकको मूल कानुन हुन्छ । त्यस मूल कानुन अनुसार नै अन्य सबै ऐन, कानुन, नियम, नीति, निर्देशनहरु बनाइएका हुन्छन् । मुलुकको अर्थतन्त्र कस्तो हुन्छ, राजनीतिक प्रणाली कस्तो हुन्छ, सामाजिक संरचना कस्तो हुन्छ, सांस्कृतिक संरचना तथा व्यवहारहरु कस्ता हुन्छन् भन्ने जस्ता सबै प्रश्नहरुको उत्तर संविधानमा अन्तरनिहीत हुन्छ । यसमाथि पनि संविधानका सबै धारा, उपधाराहरुको मूल आत्मा त्यसको अग्रलेख वा प्रस्तावनामा अन्तरनिहीत हुन्छ ।

वर्तमान चीन क्रान्तिपछि छोटो समयमा नै तीव्र विकास गर्ने विशिष्ट मुलुकमा पर्दछ । चीनमा सन् १९११ मा डा. सुनयात सेनको नेतृत्वमा पुँजीवादी लोकतान्त्रिक क्रान्ति सम्पन्न भयो भने सन् १९४९ मा माओ त्से तुङको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो । क्रान्तिपूर्व चीन विश्वको गरिब मुलुकको रुपमा रहेको थियो । जनवादी क्रान्ति सम्पन्न भएको ६८ वर्षको छोटो समयमा नै चनि अहिले विश्वको दोश्रो आर्थिक शक्तिको रुपमा स्थापित भएको छ । मुलुकको विकासका लागि जनताको शक्तिलाई एकीकृत पार्नु जरुरी छ । र, यो कुरा संविधानमा कसरी सुनिश्चित गरिएको हुन्छ, त्यसमा भर पर्दछ । त्यस उसले वर्तमान समयमा विश्व जनतालाई चकित पार्ने गरी तीव्र विकासको पथमा लम्किरहेको चीनको संविधानको प्रस्तावना कस्तो रहेको छ ? यो जिज्ञासाका लागि यहाँ उक्त प्रस्तावना प्रस्तुत गरिन्छ ।- सम्पादक)

प्रस्तावना

चीन संसारका सर्वाधिक लामो इतिहास भएका देशहरुमध्ये एक हो । चीनका सबै जनजातिका जनतासँग संयुक्त रुपमा सिर्जना गरिएको वैभवशाली इतिहास छ र गौरवशाली क्रान्तिकारी परम्परा छ ।

सन् १८४० पछि सामन्ती चीन बिस्तारै अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक देशमा बदलिएको थियो । चिनीया जनताले राष्ट्रिय स्वतन्त्रता तथा मुक्ति र लोकतन्त्र तथा स्वतन्त्रताका लागि धेरै लडाईंहरु वीरतापूर्वक लगातार लडे ।

वीसौं शताव्दीमा चीनमा ठूल्ठूला संसार हल्लाउने ऐतिहासिक परिवर्तनहरु भए ।

डा. सुन यात–सेनको नेतृत्वमा भएको सन् १९११ को क्रान्तिले सामन्ती राजतन्त्रलाई उखेलेर फाल्यो र गणतन्त्र चीनलाई जन्म दियो । तर, साम्राज्यवाद र सामन्तवादलाई फाल्ने चिनीया जनताको ऐतिहासिक उद्देश्य अधुरै रह्यो ।

सर्वोच्च नेता अध्यक्ष माओ त्से तुङको नेतृत्व रहेको चिनीया कम्युनिस्ट पार्टीको अगुवाइमा सबै जनजातिहरु सम्मिलित चिनीया जनताको कठिन र दीर्घकालीन, सशस्त्र र निशस्त्र, बाङ्गाटिङ्गा खालका लडाईंहरु पश्चात सन् १९४९ मा साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पुँजीवादको शासन सत्ता फाले, नयाँ जनवादी क्रान्तिमा महान बिजय हासिल गरे र जनगणतन्त्र चीनको स्थापना गरे । त्यतिबेलादेखि चिनीया जनताले राज्यसत्तामाथि आफ्नो कब्जा जमाएका छन् र देशका मालिक बनेका छन् ।

जनगणतन्त्रको स्थापनापछि चीनले बिस्तारै नयाँ जनवादीबाट समाजवादी समाजमा संक्रमणको गर्यो । उत्पादनका साधनहरुमाथि निजी स्वामित्वको समाजवादी रुपान्तरणको प्रकृया पूरा गरिएको छ, मान्छेले मान्छेमाथि गर्ने शोषण प्रणालीलाई ध्वंश गरिएको छ र समाजवादी व्यवस्था स्थापना गरिएको छ । किसान मजदुरको संयुक्त गठवन्धनको जगमा मजदुर वर्गको नेतृत्वमा जनताको जनवादी अधिनायकत्व जुन सारमा सर्वहारा वर्गको अधिनायकत्व हो त्यो सुदृढ र विकसित भएको छ । चिनीया जनता र चिनीया जनताको मुक्ति सेनाले साम्राज्यवाद र प्रभुत्ववादी आक्रमण, अन्तध्र्वंश र सशस्त्र उक्साहटहरुलाई परास्त गरेका छन् र त्यस तरिकाले चिनीया राष्ट्रिय स्वतन्त्रता र रक्षा एवं यसको राष्ट्रिय सुरक्षालाई बलियो बनाउने काम गरेका छन् । आर्थिक विकासको उपलब्धीमा मुख्य सफलता हासिल भएको छ । उद्योगको स्वतन्त्र र सापेक्ष रुपले विस्तृत समाजवादी प्रणाली आधारभूत रुपमा स्थापना भएको छ । कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । शैक्षिक, वैज्ञानिक, र साँस्कृतिक फाँटहरुमा उल्लेखनीय प्रगति भएको छ, त्यसमा समाजवादी बिचारधाराको शिक्षाले मूल्यवान नतिजाहरु दिएको छ । जनताको जीवनले उल्लेखनीय उन्नति हासिल गरेको छ ।

चीनको नयाँ जनवादी क्रान्तिको बिजय र यसको समाजवादी निदानको सफलता मार्क्सवाद लेनिनवाद र माओ बिचारधाराको पथप्रदर्शन र चिनीया कम्युनिस्ट पार्टीको नेतृत्वमा सहीलाई पछ्याउदै, गल्तीहरु सच्च्याउदै र असङ्ख्य अप्ठ्यारा र कठिनाइहरुलाई झेल्दै सबै जनजातिको चिनीया जनताले प्राप्त गरेका हुन् । चीन आउँदा लामो समयका लागि समाजवादको प्राथमिक चरणमा रहनेछ । राष्ट्रको आधारभूत काम भनेको यसको शक्तिलाई चिनीया शैलीको समाजवादको बाटोमा समाजवादी आधुनिकीकरणमा ध्यान केन्द्रित गर्नुमा लगाउनु हो । चिनीया कम्युनिस्ट पार्टीको नेतृत्व र मार्क्सवाद–लेनिनवाद एवं माओ बिचारधारा, डेङ ज्याउपिङ सिद्धान्त र तीन प्रतिनिधिको महत्वपूर्ण बिचारको पथप्रदर्शनमा सबै जनजातिको चिनीया जनताले जनताको जनवादी अधिनायकत्व र समाजवादी बाटोलाई अगाडि बढाउनेछन्, सुधारलाई संरक्षण गर्नेछन् र बाहिरी विश्वका लागि खुला गर्नेछन्, समाजवादी संस्थाहरुको निरन्तर विकास गर्नेछन्, समाजवादी बजार अर्थतन्त्रलाई बिकास गर्नेछन्, समाजवादी लोकतन्त्रलाई बिकास गर्नेछन्, समाजवादी कानुनी प्रणलीलाई विकास गर्नेछन् र मुलुकका उद्योग, कृषि, राष्ट्रिय सुरक्षा र विज्ञान र प्रविधिलाई पाइलापाइला गरी आधुनिकीकरण गर्न कडा एवं आत्मविश्वासका साथ काम गर्नेछन् र चीनलाई समृद्ध, शक्तिशाली, लोकतान्त्रिक र उच्च संस्कृतिको समाजवादी मुलुकमा बदल्नका लागि भौतिक, राजनीतिक र आत्मिक सभ्यताहरुको संयोजित विकासमा बढावा दिनेछन् ।

जनवादी गणतन्त्र चीन सबै यसका जनजातिहरु सम्मिलित जनताद्वारा संयुक्त रुपमा सिर्जित एकात्मक बहुराष्ट्रिय राज्य हो ।

हाम्रो मुलुकमा शोषक वर्गलाई समाप्त पारिसकिएको छ । तथापि, आउँदा लामो समयसम्मका लागि निश्चित परिधिभित्रको वर्ग संघर्ष जारी रहनेछ । चिनीया जनताले मुलुकभित्र र बाहिरका शक्ति र तत्वहरु, जो चिनीया समाजवादी व्यवस्थाका शत्रु हुन् र जसले यसलाई कमजोर बनाउन कोसिस गर्छन्, त्यस्ताहरुबिरुद्ध संघर्ष गर्नै पर्छ ।

ताइवान जनवादी गणतन्त्र चीनको पवित्र भूक्षेत्रको अंश हो । मातृभूमिको पुनर्एकीकरणलाई सम्पन्न गर्ने काम ताइवानमा रहेका हाम्रा स्वदेशीहरुसहित सबै चिनीया जनताको अउल्लंघनीय कर्तव्य हो ।

समाजवाद निर्माणका लागि मजदुर, किसान र बुद्धिजीवीहरुमा भरोसा राख्नु र एकतावद्ध गर्न सक्ने सबै शक्तिहरुलाई एकता गर्नु आवश्यक छ । लामा वर्षहरुसम्मको क्रान्ति र निर्माणमा कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा व्यापक देशभक्त संयुक्त मोर्चाको निर्माण भइसकेको छ, जसमा जनवादी पार्टीहरु र जनताका संगठनहरु, जसले सबै समाजवादी श्रमिक जनता, सबै समाजवादका निर्माताहरु, समाजवादलाई समर्थन गर्ने सबै देशभक्तहरु र मातृभूमिको पुनर्एकीकरणको पक्षमा उभिने सबै देशभक्तहरुलाई समेट्दछन्, तिनीहरु सबै सम्मिलित छन् । यो संयुक्त मोर्चालाई सृदृढ र विकास गर्ने कार्य निरन्तर हुनेछ । उल्लेखनीय ऐतिहासिक भूमिका भएको व्यापक प्रतिनिधिमूलक संगठनमा आधारित संयुक्त मोर्चा, चिनीया जनताको राजनीतिक परामर्श सम्मेलनले अझै मुलुकको राजनीतिक र सामाजिक जीवनमा, अन्य मुलुकहरुसँगको मित्रतालाई प्रोत्साहित गर्न र समाजवादी आधुनिकीकरणका लागि संघर्ष गर्न र मुलुकको पुनर्एकीकरण एवं एकताका लागि धेरै महत्वपूर्ण भूमिका खेल्नेछ । चिनीया कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुदलीय सहकार्य र राजनीतिक परामर्शको प्रणाली आउँदा लामो समयसम्मका लागि अस्तित्वमा रहनेछ र विकास हुनेछ ।

china-constitution-preambleजनवादी गणतन्त्र चीन सबै यसका जनजातिहरु सम्मिलित जनताद्वारा संयुक्त रुपमा सिर्जित एकात्मक बहुराष्ट्रिय राज्य हो । जनजातिहरुबीच समानताको समाजवादी सम्बन्धहरु, एकता र आपसि सहयोग स्थापना भएका छन् र निरन्तर सबलीकरण हुनेछन् । जनजातिहरुको एकतालाई रक्षा गर्ने संघर्षमा ठूला–राष्ट्र अहंकारवाद, मुख्यतः हान अहंकारवादसँग लड्नु जरुरी छ, र स्थानीय राष्ट्रिय अहंकारवादसँग लडाईं गर्नु जरुरी छ । राज्यले सबै जनजातिहरुको साझा समृद्धिलाई अधिकतम बढावा दिनेछ ।

क्रान्ति र निर्माणमा चीनका उपलब्धीहरुमा विश्व जनताको समर्थन र सहयोग नअलग्गिने अवस्थामा छन् । चीनको भविष्य विश्वको भविष्यसँग जोडिएको छ । चीनले स्वतन्त्र विदेश नीतिलाई निरन्तर बोक्दछ र सार्वभौमिकता एवं राष्ट्रिय भूअखण्डता, आपसि अनाक्रमण, आपसि आन्तरिक मामिलामा अहस्तक्षेप, समानता र आपसि फाइदा र कुटनीतिक सम्बन्धको विकासका लागि शान्तिपूर्ण सहअस्तित्व र अन्य मुलुकहरुसँगको आर्थिक तथा साँस्कृतिक आदानप्रदानका लागि आपसि सम्मानका पाँच सिद्धान्तहरुलाई अगाडि बढाउँदछ । चीनले निरन्तर रुपमा साम्राज्यवाद, प्रभुत्ववाद र उपनिवेशवादको बिरोध गर्दछ, अन्य मुलुकका जनताहरुसँगको एकतालाई बलियो बनाउने काम गर्दछ, उत्पीडित राष्ट्रहरु र आफ्ना राष्ट्रिय स्वतन्त्रताको रक्षा एवं राष्ट्रिय अर्थतन्त्रको बिकास गर्नका लागि विकाशील राष्ट्रहरुले गर्ने न्यायपूर्ण संघर्षमा बिजय प्राप्तिका लागि तिनीहरुलाई समर्थन–सहयोग गर्दछ, र विश्व शान्तिको रक्षा र मानव विकासको निदानलाई बढावा दिने प्रयत्न गर्दछ ।

यो संविधान, कानुनी रुपमा, सबै जनजातिहरु सम्मिलित चिनीया जनताको संघर्षको उपलब्धीको पुष्टि गर्दछ र आधारभूत प्रणाली र राज्यका आधारभूत कामहरुलाई परिभाषित गर्दछ, यो राज्यको आधारभूत कानुन हो र योसँग सर्वोच्च कानुनी प्राधीकार छ । सबै जनजातिका जनता, सबै राज्य अङ्गहरु, सशस्त्र बल, सबै राजनीतिक पार्टीहरु र सार्वजनिक संगठनहरु र मुलुक भित्रका सबै उद्योगहरु र संस्थाहरुले संविधानलाई आचारको आधारभूत मापदण्डको रुपमा लिनुपर्छ, र संविधानको मर्यादालाई माथि उठाउनु र यसको कार्यान्वयनलाई सुनिश्चित गर्नु तिनीहरुको कर्तव्य हुन्छ ।

(सन् १९४९ पछि निर्मित जनवादी गणतन्त्र चीनको संविधान पटकपटक गरी सन् १९८२, १९९३, १९९९ र २००४ मा संशोधन गरियो । प्रस्तुत संविधानको प्रस्तावना पछिल्लो संशोधनबाट समेत पारित हो ।–सम्पादक)

अनुवादक – तुल्सीदास महर्जन

(Visited 155 times, 1 visits today)

टिप्पणी

comments