Main Menu

चेस खेल र भौतिकशास्त्र

मेलभिल फाइन्मनले आफ्नो छोरा रिचर्ड फाइन्मनलाई प्रकृति बुझ्ने तरिका सिकाउँदै एक दिन एउटा अनौठो चरा देखाउँदै सोधे, ‘त्यो चरा देखिराखेका छौ ? त्यसलाई स्पेन्सर्स वाब्र्लर भनिन्छ । इटालीमा यसको नाम चुट्टो लपिटिडा हो । चीनमा यसलाई चुङ्–लङ्ग–ता भनिन्छ । पोर्चुगलमा बोम डा पेइडा भनिन्छ भने जापानमा यसको नाम काटानो टाकेडा हो । तिमी यो चराको नाम संसारका सबै भाषाहरुमा थाहा पाउन सक्छौ । तर अन्तमा तिमीलाई नाम बाहेक यसको बारेमा केही पनि थाहा हुँदैन । त्यसैले, यो चराले के गरिरहेछ, त्यो हेरौँ, किनकि त्यही सबैभन्दा अर्थपूर्ण हुन्छ ।’

आफ्ना बाबुको बारेमा रिचर्ड फाइन्मन भन्छन्, ‘उहाँले मलाई वस्तुका नामहरु भन्नुहुन्नथ्यो । उहाँले मलाई कुनै चीजको नाम थाहा पाउनु र त्यो चीजको बारेमा थाहा पाउनुको बीचको भिन्नताका बारेमा शिक्षा दिनुहुन्थ्यो, जुन कुरा मैंले सानैमा थाहा पाएँ । यो मलाई शिक्षित गर्ने मेरो बुबाको तरिका थियो ।’

आफ्ना बाबुबाट यसरी शिक्षित भएका रिचार्ड फाइन्मन बीसौँ शताब्दीका एक महान् वैज्ञानिक हुन् । भौतिकशास्त्र, त्यसमा पनि विशेष गरी क्वान्टम यान्त्रिकीमा उनले गरेको योगदानका कारण उनले सन् १९६५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाएका थिए । तर भौतिकशास्त्रका विद्यार्थीहरुमाझ् भने उनी वैज्ञानिकभन्दा बढी एक उत्कृष्ट शिक्षकको रुपमा प्रख्यात थिए । अहिले पनि भौतिकशास्त्रका विद्यार्थीहरु उनलाई एक आदर्श शिक्षकको रुपमा लिन्छन् ।

यिनै फाइन्मनको बारेमा बिबिसी होराइजनले तयार गरेको एक वृत्तचित्रको लागि लिइएको एक अन्तवार्तामा उनले प्रकृतिको अध्ययनलाई एक चेस खेलसित तुलना गरेका थिए । – अनुवादक

  • रिचार्ड फाइन्मन

chess-physics-analogyहिलेकाहीँ हामी (भौतिकशास्त्रीहरु) के गरिरहेका छौँ भन्ने कुराको तुलनात्मक अध्ययन गर्न रमाइलो हुन्छ ।

उदाहरणको लागि प्रकृतिलाई चेस खेलसँग तुलना गर्न सकिन्छ । तर, मानौँ यस खेलका नियमहरुबारे तपाईं अनभिज्ञ हुनुहुन्छ । तपाईंलाई समय-समयमा जारी खेलका चालहरु हेर्न भने दिइन्छ । र, तपाईं यिनै चालहरुबाट यस खेलका नियमहरु पत्ता लगाउन तत्पर हुनुहुन्छ । तपाईंले खेलको नियमको पूर्व ज्ञान बिना नै कुनकुन गोटी कसरी चलाउन सकिन्छ भन्ने कुरा पत्ता लगाउनुपर्नेछ ।

खेलका केही चालहरुलाई ध्यानपूर्वक अध्ययन गरिसकेपछि उदाहरणका लागि तपाईंले चेस खेलमा उँटले आफ्नो रङ्ग परिवर्तन गर्दैन भन्ने कुरा पत्ता लगाउनुभयो । तर, केही समयपछि तपाईंले यो कुरा पत्ता लगाउनुहोला कि उँट छड्के रुपमा मात्र जान्छ । यद्यपि तपाईंको यो नयाँ आविष्कारले पुरानो आविष्कारको पनि व्याख्या गर्छ कि छड्के रुपमा जाँदा कहिले पनि रङ्ग परिवर्तन हुँदैन । यो भनेको विज्ञानमा सुरुमा एउटा नियम पत्ता लगाउनु र पछि थप अध्ययन अनुसन्धानपछि त्यही नियमको बारेमा गहिरो बुझाई प्राप्त गर्नुसँग तुलना गर्न सकिन्छ ।

तर फेरि अचम्मको घटना हुन सक्छ । सबै ठीकै चलिरहेको थियो । तपाईंसँग सम्पूर्ण नियमहरु छन्, र सबै नियमहरुले राम्रै काम गरिरहेको थियो । तर अचानक कुनै कुनामा केही अनौठो घटना घटेको पाउनु होला । र, तपाईंले त्यस घटनालाई व्याख्या गर्ने नयाँ नियम पत्ता लगाउनुपर्ने होला । उदाहरणको लागि चेस खेलको बीचमा कसैले कास्लिङ्ग गरेको छ, जुन तपाईंले अपेक्षा गर्नुभएको थिएन । सामान्यत भौतिकशास्त्रमा हामी जहिले पनि हामीले निष्कर्ष नबुझेका कुराहरुमा मात्र अनुसन्धान गर्छौँ । हामी जहिले पनि हाम्रा सबै निष्कर्षहरुलाई परिक्षण गर्दैनौँ । जुन कुरा नियममा चल्दैन, त्यही सबैभन्दा रोचक हुन्छ । 

त्यस्तै, भौतिकशास्त्रमा विद्रोहहरु पनि हुन्छन् । मानौँ कि तपाईंले चेस खेलमा उँटले रङ्ग परिवर्तन गर्दैन भन्ने कुरा पत्ता लगाउनुभयो । त्यसपछि त्यसको गहिरो अध्ययन पश्चात उँट छड्के रुपमा मात्र जान्छ भन्ने कुरा पत्ता लगाउनुभयो, र ती नियमहरु स्थापित हुन पुगे । उँट छड्के रुपमा मात्र जान्छ र यसो गर्ने क्रममा उँटले रङ्ग परिवर्तन गर्दैन भन्ने कुरा सबैलाई थाहा भयो, सबैले यसै नियमलाई पूर्ण नियमको रुपमा ग्रहण गरे ।

तर, कुनै दिन, कुनै चेस खेलमा मानौँ तपाईंले उँटले रङ्ग परिवर्तन गरेको पाउनुभयो । यो नयाँ घटनाको व्याख्या गर्नको लागि मानौँ तपाईंले फेरि अनुसन्धान थाल्नुभयो र गहिरो अध्ययन पश्चात के कुरा पत्ता लगाउनुभयो भने यस्तो पनि स्थिति आउन सक्छ कि उँटलाई पहिले नै कब्जा गरिएको छ । तर, पुलिस गोटि चेस बोर्डको अर्को कुनामा पुग्ने हो भने, त्यो उँटमा परिवर्तन हुन सक्छ । यस हिसाबमा उँटले आफ्नो रङ्ग परिवर्तन गरे सरह हुन्छ । यो सम्भाव्यता तपाईंलाई पहिले थाहा थिएन । तर गहिरो अध्ययन र अवलोकन पछि तपाईंले उक्त कुरा पत्ता लगाउन सफल हुनुहुन्छ ।

यो कुरा प्रकृतिका नियमहरुसँग तुलना गर्न मिल्छ । हामीले पत्ता लगाउने प्रकृतिका नियमहरु पनि कहिलेकाहीँ निकै सकारात्मक देखिन्छन् यस हिसाबमा कि ती नियमहरुले राम्रैसँग काम गरिरहेका हुन्छन् । तर, कहिलेकाहीँ सानो घटनाले पनि ती नियमहरुलाई अपूर्ण सिद्ध गरिदिन्छ । र, हामीलाई उँटले कुन अवस्थामा रङ्ग परिवर्तन गर्छ भन्ने कुरा पत्ता लगाए जस्तै प्रकृतिका नियमहरुको पनि पुनरावलोकन गर्नुपर्ने वाध्यता आउँछ । यही प्रक्रियाबाट हामी कुनै घटनालाई व्यख्या गर्ने नियमको गहिरो अर्थ खोतल्दै जान सफल हुन्छौँ ।

बीबीसी होराइजनले रिचार्ड फाइन्मनसित लिएको अन्तर्वार्ताबाट

अनुवाद : आकाश महर्जन

(Visited 156 times, 1 visits today)

टिप्पणी

comments