Main Menu

चैत तिनको सान्दर्भिकता

कवि गोविन्द वर्तमान

कवि गोविन्द वर्तमान

नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा चैत तिनको महत्व विशिष्ट प्रकृतिको छ । तर अस्ति भर्खर गएको त्यस दिनलाई राम्ररी सम्झने काम समेत भएन । आफ्नो इतिहासप्रति उदासी, त्यस इतिहासका योगदानहरुप्रति अकृतज्ञता र समयका स्मृतिचिन्हहरुप्रति उपेक्षा सतहमा देखिए । त्यस अप्रिय दृश्यको पुनरावृत्ति नहोस् भन्नका लागि यहाँ चैत तिनको सम्झनामा शब्दहरु अर्पण गर्नु आवश्यक भएको हो ।
छ्यालीस साल चैत तिन गते नेपालका साहित्य, कला, सङ्गीत तथा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यजस्ता अन्य सिर्जना क्षेत्रका स्रष्टाहरु अभिव्यक्ति स्वतन्त्रताको निम्ति सडकमा उत्रिएका थिए । मुखमा कालो पट्टी बाँधेर सामुहिक रुपमा धर्ना दिने ती स्रष्टाहरुलाई तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाले सामुहिक रुपमा गिरफ्तार गरेको थियो । त्यतिबेला वामपन्थी दलहरु सम्मिलित संयुक्त वाममोर्चा र नेपाली काङ्ग्रेसले फागुन सात गतेदेखि थालेको जनआन्दोलन एक किसिमको गतिहीनताको अवस्थामा पुगेको थियो । चर्को दमनको चक्रव्युहलाई तोड्न दलहरुका कार्यक्रमहरु सफल भइरहेका थिएनन् । आन्दोलन एउटा अत्यास र आशङ्काको अवस्थामा अड्किएको थियो । ठिक यही अवस्थामा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने पञ्चायती व्यवस्थाविरुद्ध ठूलो जोखिम उठाएर लेखक कलाकारहरु त्यस गतिहीनतालाई तोड्ने इच्छाशक्तिसहित सडकमा आएका थिए ।
राजनीतिक दलहरुले पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रष्ट नारासहित आन्दोलन थालेको त्यस अवस्थामा स्रष्टाहरुले आफूसँग प्रत्यक्ष सरोकार भएको अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रकारान्तरले पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्थाको माग गरेका थिए । स्रष्टाहरुको शान्त, र कलात्मक आन्दोलनको विपक्षमा पञ्चायतले अशान्त, हिंस्रक र कलाहीन व्यवहार गर्दै वयोवृद्ध साहित्यकार युद्धप्रसाद मिश्रलाई समेत घोक्रेठ्याक लगाएर गिरफ्तार गरेको थियो । सम्झनायोग्य दिन थियो, चैत तिन । शारीरिक रुपमा अशक्त तर मानसिक रुपमा सशक्त वरिष्ठ साहित्यकार पारिजात पनि आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । मुखमा कालो पट्टी बाँधेर सरस्वती सदन अगाडि पञ्चायतलाई चुनौती दिइरहेकी वरिष्ठ स्रष्टा पारिजातलाई घिच्याएर गिरफ्तार गर्ने हिम्मत पञ्चायतले गरेन । त्यसैले सयौं लेखक–कलाकारहरुलाई ट्रक र भ्यानमा कोचेर बग्गीखाना लगिसक्दा पनि पारिजातले मुखमा कालो पट्टि बाँधेर आन्दोलनलाई गति प्रदान गर्ने निर्भीकता देखाइरहनु भएको थियो । त्यस दृश्यलाई घण्टाघरको पेटीमा उभिएर सयौं सर्वसाधारणले हेरिरहेका थिए । दर्शनीय दिन थियो, चैत तिन ।
लेखक कलाकारहरु सामुहिक रुपमा आन्दोलनमा उत्रिएको त्यो पहिलो घटना थियो । हरिगोविन्द लुइँटेल, मुरारी अर्याल, सुनिल पोखरेल र आरोहण शनिबार, अशेष मल्ल र सर्वनाम आदि समेतको सक्रियतामा त्यस दिनलाई त्यही रुपमा सफल पारिएको थियो । स्रष्टाहरुले आ–आफ्ना सिर्जनाहरुलाई ऐकान्तिक कर्मका रुपमा मात्र नबुझेर सामाजिक सरोकारको आवश्यकतालाई मूर्त रुप दिएका थिए । उनीहरुका सिर्जनाहरुले सम्प्रेषण गर्ने विचार र कलालाई राजनीतिसँग सोझै सम्बन्धित तुल्याएको पनि त्यो पहिलो दिन थियो । सत्यमोहन जोशी, मोहन कोइराला, कृष्णचन्द्रसिंह प्रधान, पारिजात, बाशु शशि, कमलमणि दीक्षित आदिलाई अघि लगाएर त्यसपछिका पुस्ताका स्रष्टाहरु निर्भीकतापूर्वक सडकमा आएका थिए । ‘कोही पनि भाग्न नपाओस्… घेर् घेर्’ भन्दै बन्दुक सोझ्याएर प्रहरीहरुले निहत्था मानिसहरुको समूहलाई गिरफ्तार गरेको त्यो दृश्य भयकारीभन्दा बढी रोमान्चकारी थियो ।
हामी त्यस दिनलाई सम्झिरहन्छौं । साहित्य व्यक्तिगत सिर्जना हो कि सामुहिक सिर्जनाहरुको एउटा कलात्मक प्रदेश हो भन्ने विषयतिर ध्यान दिँदा पनि त्यस दिनको सम्झना आइरहन्छ । म अक्सर त्यस दिनलाई अभिव्यक्ति स्वतन्त्रताको पक्षमा चालिएको कोसेढुङ्गाको रुपमा पनि बुझ्दछु । ‘मकैको खेती’ शीर्षकको पुस्तक लेखेर राणाकालमा कृष्णलाल अधिकारीले उठाएको जोखिम र त्यसबापत उनले भोगेको जेलजीवन पनि यस प्रसङ्गमा सन्दर्भित हुन आउँछन् । एउटा स्रष्टा आफ्नो समुदाय, आफू वरिपरिको समाज र सिङ्गो राष्ट्रको समस्याबाट पृथक रहेर केवल घरभित्र सिर्जनरत हुने प्राणी होइन वा हुनु हुँदैन भन्ने विचारलाई पनि चैत तिनले बलियोसँग स्थापित गरेको हो । त्यो सत्यलाई हामी दिव्य ज्ञानको एउटा अंशका रुपमा बुझिरहन्छौं । अन्तरज्ञान प्रदान गर्ने एउटा भव्य पाठशालाजस्तो दिन थियो, चैत तिन ।
छ्यालीस सालको चैत तिन गतेका दिन लेखक–कलाकारहरुले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा धर्ना दिने कार्यक्रम तय भएको थियो । तर त्यस दिन फलामे टोपी लगाएका खाकी वर्दीका प्रहरीहरु लाठी र बन्दुकसहित बिहानैदेखि प्रज्ञा परिसरलाई घेरेर बसेका थिए । तिनलाई सघाउने सादा पोशाकका चलचित्रकर्मी पनि त्यतै थिए । हामीले त्यहाँ कार्यक्रम गर्न सक्ने सम्भावना थिएन । त्यसैले वैकल्पिक स्थानको रुपमा हामीले सरस्वती सदनलाई रोजेका थियौं । त्यहींबाट हामीले हाम्रो आन्दोलनको उद्देश्यबारे सङ्क्षिप्त मन्तव्य दिएर मुखमा कालो पट्टी बाँधेका थियौं र धर्ना दिएका थियौं । त्यसको पन्ध्र मिनेटपछि नै दङ्गा प्रहरीको जत्थाले बन्दुक सोझ्याउँदै आएर हामीलाई घेरेको थियो र ट्रकमा कोचेर बग्गीखाना पु¥याएको थियो ।
छिँडीदेखि मुन्तिरको बग्गीखानाको हल साहित्य, कला, सङ्गीत र सिर्जनाका अन्य नयाँ आयामहरुलाई गरिमा प्रदान गर्ने स्रष्टाहरुले खचाखच भरिएको थियो । उमेरको जेष्ठताको हिसाबले युद्धप्रसाद मिश्रदेखि सुम्निमा तुलाधरसम्मको त्यो जमघटलाई बग्गीखानामा सक्रिय प्रहरी अधिकृत तथा जवानहरुले समेत अनौठो दृष्टिले अवलोकन गरेका थिए । नेपालमा एउटा नयाँ दिनको रुपमा एउटा नयाँ युग र नयाँ युगको रुपमा लोकतन्त्रको एउटा नयाँ अध्याय उद्घाटित हुँदैछ भन्ने पूर्वसङ्केतलाई उनीहरुको दृष्टिले पनि आँकलन गरिरहेको थियो । सुन्दर भविष्य निर्माणको निम्ति वर्तमानले गरेको उदात्त श्रमलाई प्रदर्शन गरिरहेको एउटा गजबको दिन थियो, चैत तिन ।
बग्गीखानामा हुलिसकेपछि एक, एक गरेर सबैलाई बयान लिन बोलाइएको थियो । बयान लिएपछि भिडियो क्यामेराले तस्विर खिचेर नाम, ठेगाना, उमेर र पेशाको अभिलेख राख्ने काम पनि गरिएको थियो । निरङ्कुश सत्ताको दृष्टिमा स्रष्टाहरु अपराधीजस्ता भएका थिए र अपराधीहरुको वैधानिक अनुशासनले मुलुकका सबै क्षेत्रलाई मरणासन्न हुने गरी सताइरहेको थियो । हामी त्यही मनोदशालाई बोध गरिरहेका थियौं । तथापि भय नाउँको अपराधी चरो हाम्रो मानसबाट उडेर अन्तै पुगिसकेको थियो । खास गरी धु्रवचन्द्र गौतम, वासु शशि, कमलमणि दीक्षितजस्ता स्रष्टाहरु खुला आकाशमुन्तिर कुराकानी गरिरहेझैं फरासिलो पारामा बोलिरहनु भएको थियो । निरङ्कुशताले गाँजेको त्यस अनकण्टार भुइँमा केही ठट्टाहरु पनि प्रकाशजस्तै छरिएका थिए । सुशीला दीक्षित, शारदा शर्मा, निशा शर्माजस्ता महिलाहरुको अनुहारबाट समेत भय हराएको थियो । ठिक यही बेला बयान दिएर आइपुगिन्– सुम्निमा तुलाधर ।
‘के के सोधे त ?’ कमलमणि दीक्षितले सोध्नु भयो । हामी सबै सुम्निमातिर सोझियौं ।
‘नाम, उमेर, ठेगाना, पेशा र आन्दोलनमा किन लागेको भनेर सोधे ?’
‘अनि ?’
‘अभिव्यक्ति स्वतन्त्रताको निम्ति आन्दोलनमा आएको हुँ, म कविता पनि लेख्छु भनिदिएँ । …त्यसपछि एउटा कविता सुनाऊ न त भनेर जिस्क्याउन खोजे ।’
‘सुनायौ त ?’

पेन्टिङ : कलाकार गणेशकुमार जिसी ।

पेन्टिङ : कलाकार गणेशकुमार जिसी ।

‘मुड छैन भन्दिएँ ।’ सुम्निमाको यो कुरा सुनेर हलभरि हाँसोको सानो लहर फैलियो ।
‘हो त, मुड नआई कहाँ कविता सुनाइन्छ त !’ कमलमणि दीक्षितले सुम्निमाको समर्थनमा वक्तव्य दिनु भयो । गम्भीर हाँसोको अर्को लहर फेरि फैलियो ।
साँझ बाक्लिँदै गएको थियो । छोड्ला, नछोड्ला भन्ने प्रश्नले मस्तिष्कलाई बोझिलो तुल्याउन थालेको थियो । त्यसैबेला उमेर समूहको आधारमा बयान लिएर क्रमशः छोड्ने कुरा सुनियो । त्यसअनुसार सबैभन्दा पहिला युद्धप्रसाद मिश्र छुट्नु भयो । त्यसपछि कृष्णचन्द्रसिंह प्रधान, मोहन कोइराला आदिको पालो आयो । त्यसपछि बासु शशि, धु्रवचन्द्र गौतम, खगेन्द्र सङ्ग्रौला आदि छुट्नु भयो । त्यसपछि हरिगोविन्द लुइँटेल, शार्दूल भट्टराई र मेरो उमेर समूहका मानिसहरुसँग बयान लिने पालो आयो । बयानपछि राति आठ बजेतिर हामी छुट्यौं, तर शार्दूल भट्टराईलाई फेरि अर्को फत्तुर लगाएर रोकियो । उहाँ छुट्नु भएन । रामेशदाइलाई पनि शार्दूलजीलाई जस्तै अर्को फत्तुर लगाएर रोकियो । पछि थाहा भयो, दोस्रोपटक बयान लिएर तारिख धाउनु पर्ने गरी रामेशदाइ र शार्दूल भट्टराईलाई राति दश बजेतिर छोडिएछ । सुशील खनाल नाउँका त्यतिबेलाका डिएसपीले मलाई पनि ‘खुँखार उग्रवादी’ बताएर अल्झाउन खोजेका थिए । तर म छोडिएँ । सेतो आतङ्कले निर्ममतापूर्वक लखेटेर स्रष्टाहरुको मानसमा हुलिदिएको त्यतिखेरको तनाव वास्तवमै कुरुप थियो । हामी त्यही कुरुपताविरुद्ध जुधिरहेका थियौं । वास्तवमा स्रष्टाहरुको निम्ति मानसिक र भौतिक दुवै दृष्टिमा एउटा जुझारु दिन थियो, चैत तिन ।
त्यस दिनलाई सम्मान गर्दै त्यसका शिक्षाहरुलाई विस्तार गर्न हामीले ‘सिर्जना : चैत्र तिन’ नाउँको सानो संस्था गठन गरेका थियौं । तर अहिले त्यो संस्था आफैं विघटनको सङ्घारमा पुगेको छ । ‘लेखक दिवस’ भनेर त्यस दिनलाई धु्रवचन्द्र गौतमहरुले सम्मानपूर्वक सम्झना गर्ने गर्नु भएको थियो । तर यस वर्ष त्यस्तो केही सुनिएन । आफ्नै इतिहासको गरिमामाथि बन्चरो हान्ने काम त गरिरहेका छैनौं हामीले ? अहिले म यही प्रश्नको उत्तर खोज्ने जमर्को गरिरहेको छु ।
————————-

‘हरियो साइकल’ पुस्तकबाट साभार । प्रकाशक: फिनिक्स बुक्स ।


(कवि तथा निबन्धकार गोविन्द वर्तमान (२०१७–२०६९) ‘मूल्याङ्कन’ मासिकको सम्पादक-सदस्य रहिसकेका पत्रकार समेत हुन् । वर्तमानका कविता विभिन्न पत्रपत्रिकामा फुटकर रुपमा प्रकाशित छन् । उनका ‘सोह्र साँझहरु’‘हरियो साइकल’निबन्धकृति प्रकाशित छन् ।)

(Visited 161 times, 1 visits today)

टिप्पणी

comments