Main Menu

अर्माले ध्वस्त क्यारिबियनमा क्याटागोरी ५ को अर्को आँधी

असोज ३, डोमिनिका

cat-5-storm-irma-hit-Caribbean-areaहालैमात्र अर्मा आँधीले क्षतविक्षत बनेको क्यारिबियन क्षेत्रमा अर्को शक्तिशाली समुद्री आँधी छिरेको छ ।

हरिकेन मारिया नामक यो आँधी अहिले मोन्ट्सेराट नामक बेलायती स्वामित्वको क्यारिबियन टापूतिर अगाडि बढिरहेको जनाइएको छ । केही समयअघि मात्र एक रातमै क्याटेगोरी ५ पुगी आँधी डोमिनिका छिरेको थियो ।

२६० किलोमिटर प्रतिघण्टाको वेगमा पुगिसकेको सो आँधीले सोमबार राति डोमिनिकामा ठूलो मात्रामा समुद्री पानी ल्याएको थियो ।

घाइते वा मृत्युको खबर आइनसकेपनि प्रधानमन्त्री रुज्भेल्ट स्केरिटले अवस्था गम्भीर रहेको बताउँदै सहयोगको लागि अपिल गरेका छन् । प्रधानमन्त्री स्केरिट आफैलाई पनि बाढी पसेको उनको घरबाट उद्धार गरिनुपरेको थियो ।

प्रधानमन्त्री स्केरिटका अनुसार आँधीका कारण व्यापक मात्रामा क्षति भएको छ भने त्यहाँका घरका छानाहरु आँधीले उडाएर लगेको छ ।

यो आँधी डोमिनिकाको इतिहासमै सबैभन्दा ठूलो आँधी रहेको जनाइएको छ ।

मारिया आँधी फ्रान्सेली स्वामित्वको ग्वाडेलुप टापू छलेर अहिले मोन्ट्सेराट र सेन्ट किट्स एण्ड नेभिसतर्फ अगाडि बढिरहेको छ ।

आँधी केही समयको लागि क्याटेगोरी ४ मा झरेर आँधीको गति २५० किलोमिटर प्रतिघण्टा पुगे पनि पुनः ऊर्जा बटुल्दै क्याटेगोरी ५ पुगेको थियो ।

अमेरिकी नेशनल हरिकेन सेन्टरले चेतावनी दिँदै भनेको छ, ‘आँधी भर्जिन आइल्याण्ड्स र प्योर्टो रिको पुग्दासम्म पनि मारिया अति खतरनाक क्याटेगोरी ४ वा ५ आँधी रहिरहने आंकलन गरिएको छ । भर्जिन आइल्याण्ड्स र प्योर्टो रिकोमा आँधी बुधबार पुग्ने अनुमान गरिएको छ ।’

२ साताअघि मात्र अर्मा आँधीका कारण भर्जिन आइल्याण्ड्स क्षतविक्षत भएको स्याटेलाइटले खिचेका तस्बिरहरु सार्वजनिक भएका थिए ।

मारिया आँधीका कारण अहिले भर्जिन आइल्याण्ड्समा अर्मा आँधीपीडितलाई राहत बाँड्ने कार्यसमेत रोकिएको छ ।

आँधी प्योर्टो रिको पुग्दा सो मुलुकको इतिहासमै सबैभन्दा ठूलो आँधी हुनेछ । सोमबार प्योटो रिकोका कमिसनर हेक्टर पेस्केराले त्यहाँका वासिन्दालाई चेतावनीस्वरुप अपिल गरेका छन्, ‘तपाईंहरु ठाउँ छोडेर जानैपर्छ, अन्यथा तपाईंहरुको मृत्यु हुन्छ । योभन्दा बढी स्पष्ट कसरी भनूँ, मलाई थाहा भएन ।’

(Visited 5 times, 1 visits today)

टिप्पणी

comments