Main Menu

एकै सिजनमा रु. ५ लाखसम्म कमाउँछन् इँटा मजदूर

माघ ९, भक्तपुर

brick-laborer-5-lakh-income

सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उनीहरू दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहेका छन् ।

दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ । बिहान ४ बज्दा नबज्दै उठ्ने र खलामा तयार रहेको माटोबाट इँटा बनाउने उनको दिनचर्या रहेको छ । बिहान उठ्ने बित्तिकै इँटा बनाउने, दिउँसो खाना खाएर इँटा सुकाउने, चाङ लगाउने र बेलुका फेरि भोलि पल्ट इँटा बनाउनका लागि खलको सरसफाइ गरेर दिन बित्ने गरेको छ ।

त्यसैगरी, ७ र २ वर्षका दुई छोराकी आमा रोजिना तामाङको दम्पती पनि विगत ३ वर्षदेखि इँटा पार्ने काम गर्दै आइरहेको छ । सिन्धुपाल्चोकका स्थायी बासिन्दा उनीहरुको पनि डेरा च्याम्हसिंहमा रहेको छ । अरु बेला ज्याला मजदूरी गर्ने रोजीनाको दम्पती पनि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहेको छ ।

दैनिक ज्याला मजदूरीमा भन्दा बढी आम्दानी हुने भएपछि रामबहादुर र रोजीनाको परिवार मात्र होइन सयौँ परिवार यतिखेर भक्तपुरका विभिन्न इँटा भट्टामा इँटा बनाउने कार्यमा तल्लीन छन् ।

विगत ५ वर्षदेखि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहेका रामबहादुरका अनुसार सिजनमा एक परिवारले रु. ३ लाखदेखि ५ लाखसम्म कमाउने गर्दछन् । दैनिक १ हजार २०० देखि २ हजार वटासम्म इँटा बनाउँदै आएको बताउँदै रामबहादुरले दैनिक २ देखि ३ हजार रुपैयाँसम्म कमाइ हुने जानकारी दिए ।

आफूलाई आवश्यक पर्दा इँटा उद्योगले पेश्कीसमेत दिने भएकाले पनि सिजनमा अन्य पेशा छाडेर इँटा बनाउने पेशा अंगाल्ने गरेको रामबहादुरले बताए । रोजीनाका अनुसार इँटा बनाएको ज्याला गतवर्ष प्रतिगोटा १ रुपैयाँ ५० पैसा दिएको थियो ।

यसवर्ष भट्टा व्यवसायीले इँटाको ज्याला भने निर्धारण गरेका छैनन् । रोजीना भन्छिन्, “प्रत्येक वर्ष केही न केही रकम वृद्धि गरेर दिने गरेको छ ।”

विगतको तुलनामा इँटा पार्ने काम निकै सहज भइसकेको रोजीना बताउँछिन् । “पहिले इँटा पार्न आफैँ खाल्डो खन्ने, मुछ्ने र अनि बल्ल इँटा पार्ने काम हुन्थ्यो,” उनी भन्छिन्, “आजभोलि प्रविधिको विकाससँगै उद्योग आफैँले माटो मुछेर इँटा बनाउन तयारी माटो खलसम्म पुर्याउने व्यवस्था गरेको छ ।”

इँटाभट्टाले मजदूरका सन्तानलाई शिशु स्याहार केन्द्रको बन्दोबस्त गरेका कारणले पनि इँटा बनाउने कार्य सहज भएको रोजीना बताउँछिन् । “विद्यालय जान सक्ने केटाकेटी विद्यालय जान्छन् । विद्यालय जान नसक्ने ससाना नानीलाई शिशु स्याहार केन्द्रमा राख्नुपर्ने व्यवस्था गरेको छ । काममा उल्झन नआउने भएकाले पनि इँटा पार्ने कामबाट राम्रै कमाइ हुन थालेको हो ।” उनी भन्छिन् ।

जिल्लामा अहिले सञ्चालनमा रहेका ६२ वटै इँट्टाभट्टामा रहेका मजदूरलाई आवश्यक सेवा सुविधा उपलब्ध गराएको भक्तपुर इँट्टाभट्टा व्यवसायी संघका अध्यक्ष नातीभाइ ह्योम्बा बताउँछन् । हप्ताहप्तामा कम खर्च दिइनुका साथै आवश्यक पेश्कीसमेत समयमा उपलब्ध गराउने गरेको उनी बताउँछन् । “मजदूरका लागि पहिलाजस्तै अहिले माटो निकालेर मुछ्नु पर्ने समस्या छैन ।” उनी भन्छन् ।

जिल्लामा सञ्चालित सबै भट्टाका मजदूरका लागि भट्टा आफैँले माटो मुछेर खलखलमा पुर्याउने व्यवस्था गरेको छ । “पहिला खलखलमा माटो मुछ्नका लागि बनाएको पोखरीमा बच्चा खसेर मृत्यु भएका घटनाका कारण पनि यो वर्षदेखि भट्टाले नै माटो मुछेर आवश्यक मात्रामा खलखलमा पुर्याउने व्यवस्था मिलाएको हो ।” ह्योम्बा भन्छन् ।

मजदूरका सानासाना नानीका लागि ४-५ वटा भट्टा मिलेर उपयुक्त हुने ठाउँमा शिशु स्याहार केन्द्र खोलेको अध्यक्ष ह्योम्बा बताउँछन् । उनका अनुसार जिल्लाका ६२ वटा इँटाभट्टाले अहिले २२ वटा शिशु स्याहार केन्द्र सञ्चालन गरिरहेका छन् । शिशु स्याहार केन्द्रमा बालबालिकालाई खाना खुवाउने, खेल्ने र पढाउने व्यवस्था उद्योग स्वयंले गरिरहेको छ ।

भट्टामा काम गर्ने मजदूरले यदि राम्रोसँग काम गरेको खण्डमा एक परिवारले मात्र एक सिजनमा रु. ४ लाखदेखि ५ लाखसम्म आम्दानी गर्नसक्ने अध्यक्ष ह्योम्बा बताउँछन् ।

प्रतिहजार इँट्टा पारेबापत कति दिने र बोक्नेलाई कति दिने भन्ने विषयमा ठेकेदारलाई जिम्मा दिइएको उनले बताए ।

“त्यो सबै ठेकेदारले हेरेर गर्छ । यस अनुसार इँट्टा पार्ने र इँट्टा बोक्नेको छुट्टाछुटै ज्याला दिएको छ,” उहाँले भन्नुभयो, “इँट्टा बोक्नेले पनि एक सिजनमा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छ ।”

  • लक्ष्मी गारु
(Visited 12 times, 1 visits today)

टिप्पणी

comments