Main Menu

विस्थापित हुँदै चितवनका इँटा व्यवसाय

brick-factory-getting-displacedभदौ २८, चितवन । गुणस्तरीय इँटा उत्पादन हुने जिल्लाको रुपमा परिचित यहाँको इँटा भट्टा चौतर्फी समस्याले घेरिएसँगै विस्थापन हुने स्थितिमा छ ।

वि.सं. २०२५ तिर जिल्लामा ४५ हजारको हारहारीमा इँटा भट्टा रहेकामा हालसम्म आइपुग्दा १८ वटामा झरेको छ । हाल जिल्लाको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा इँटा भट्टा छन् ।

इँटा उद्योग संघका जिल्ला अध्यक्ष नारायण सापकोटा गुणस्तरीय माटो अभाव, जनघनत्व वृद्धि, सहजरुपमा मजदुर नपाउनु, विभिन्न निकायलाई कर र चन्दाजस्ता समस्याका कारण उद्योग विस्थापित हुँदै गएको बताउँछन् । उनका अनुसार नगरपालिका, जिल्ला समन्वय समिति र आन्तरिक राजश्व कार्यालयलाई फरक-फरक कर तिर्नुपर्छ ।

जनघनत्व बढ्दै गएकाले स्थानयवासीको दबाबमा बाटो, पुल, टोल, क्लब, विद्यालय, कुलोलगायतलाई चन्दा दिनुपर्ने बाध्यता पनि बढ्दै गएको छ । मजदुरलाई अग्रिम पैसा तिर्नुपर्ने हुन्छ भने कोइलालगायतका कच्चा पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा थप समस्या भएको छ ।

इँटा उद्योग महासंघका सचिवसमेत रहेका सापकोटाकाअनुसार जिल्लामा आवश्यक पर्ने ७५ प्रतिशत इँटा यहाँको उत्पादनले धानेको छ । बाँकी इँटा तराईका जिल्लाबाट आउने गर्दछ । यहाँ आउने कम गुणस्तरका (‘बि’ ग्रेडका) इँटासँग जिल्लामा उत्पादित उच्च गुणस्तर (‘ए’ ग्रेडका) इँटासँग दाज्ने गरेकाले पनि समस्या आउने गरेको सापकोटाले बताए । यहाँका सबै व्यवसायी मूल्य अभिवृद्धि करमा दर्ता छन् ।

संघका पूर्व अध्यक्ष विनोद श्रेष्ठकाअनुसार बालुवा नमिसिएको चिम्ट्याइलो माटो इँटाका लागि आवश्यक पर्दछ । त्यस्तो माटो नहुँदा यसैवर्ष एक उद्योग जिल्लाबाट विस्थापित हुनुपरेको बताउँदै उनले अर्को एक उद्योग नोक्सान धान्न नसकेर बन्द भएको बताए ।

श्रेष्ठकाअनुसार एउटा उद्योग खोल्न कम्तीमा २ करोड खर्च हुने गर्दछ । खर्च धान्न नसकेर नै ती उद्योग बन्द भएका हुन् ।

समयमा नै समस्या निराकरण गर्न नसके सबै उद्योग विस्थापित हुनसक्ने श्रेष्ठको चिन्ता छ । कुनै मौसममा अस्वभाविक हावाहुरी र वर्षाका कारण सुकेका इँट्टा पूर्णरुपमा क्षति हुँदा पनि ठूलो नोक्सान हुने गरेको व्यवसायीहरू बताउँछन् । जिल्लामा रहेका भट्टामा कम्तीमा १ सय ५० भन्दा बढी मजदूर आवश्यक पर्छन् । सम्पूर्ण मजदूर बाहिरी जिल्लाबाट झिकाउनुपर्ने हुन्छ । 

(Visited 2 times, 1 visits today)

टिप्पणी

comments