Main Menu

पार्टी नजिक हुन ‘प्रगतिशील लेखक संघ’ छँदैछ नि ! – विष्णु भण्डारी [अन्तर्वार्ता]

(गत माघ ११ गते साहित्यकार विष्णु भण्डारीले फेसबुकमार्फत् नेकपा माओवादी केन्द्र र त्यससँग सम्बद्ध सबै संघसंस्थाहरुसँगको आवद्धता त्यागेको घोषणा गरेको अन्तर्वार्ताको पहिलो खण्ड गत माघ १६ गते प्रकाशित गरेका थियौं । अर्का साहित्यकार कला अनुरागीले लिनुभएको सो अन्तर्वार्ताको बाँकी एवं अन्तिम खण्ड सम्पादन गरी संक्षेपमा यहाँ प्रस्तुत गरिन्छ ।– सम्पादक)

bishnu-bhandari-interview-part-2

एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनाव लडे र जिते पनि अब उनीहरु पार्टी नै एकता गर्ने प्रक्रियामा छन् । अब त मुलुक विकासको गतिमा जाला नि !

– एमालेसित माओवादी केन्द्रको एकता भएर देशमा उन्नति हुन्छ भनेर साथीहरुलाई जुन लागिराखेको छ, विगतमा उनीहरुले देखाएको चरित्र र व्यवहारलाई हेर्ने हो भने साथीहरुले आशा गरेको गतिमा मुलुकको विकास होला भन्ने मलाई लाग्दैन । उहाँहरुले केही गर्नु नै भयो भने ती एकाध सुधारात्मक काम मात्र हुन्छन् । जस्तो, उहाँहरुले वृद्धभत्ता १ हजार बढाउनुहोला, २० हजार बढाउनुहोला, कसैकसैलाई केही नियुक्तिहरु दिनुहोला । उहाँहरुले त्यस्तो सुधारात्मक काम गर्नुभयो भने पनि हामीले समर्थन चाहिँ गर्ने हो । त्यस्तो काममा हाम्रो टाउको दुखाइ हुनुपर्ने के छ र ? देश विकासका राम्रा कामहरु उहाँहरु गर्नुहुन्छ भने हामी अन्यथा सोच्दैनौं । उहाँहरुले राम्राराम्रा काम गर्दै जानुभयो भने त्यस अवस्थामा हामी आफै गल्तीमा रहेछौँ भनेर निष्कर्षमा पुगौंला । हिजो उहाँहरुको पार्टी एकतामा जो अविश्वास व्यक्त गर्यौं, वास्तवमा त्यो गल्ती रहेछ है भनेर हामी लेखौंला, हामीले गल्तीहरु स्वीकार गरेर फेरि सुधार पनि गरौँला । तर, अहिलेको स्थितिमा त त्यस्तो भन्ने ठाउँ म देख्दिनँ ।

तपाईंहरुले ‘समाजवादी लेखक संघ’ को नाममा जुन छुट्टै संगठन र अभियान थाल्नुभएको छ, यो अलि हतारो र अपरिपक्व भएन र ? यसले साहित्यकारहरुलाई कसरी समेटेर लान सक्छ त ?

– अहिलेसम्मको लामो अवधिमा मैले त्यहीँ पार्टीमा बसेर नै लेखन कर्म गरेको हुँ । ‘आलोचनात्मक चेतसहित लेख्नुपर्छ है । लेखकले नेतृत्वप्रति र सत्ताप्रति प्रश्न उठाउन सक्नुपर्छ ।’ मैले बारम्बार भन्दै आएका कुराहरु हुन् यी । सत्ताको अगाडि गएर लम्पसार पर्ने लेखक सही मानेमा लेखक हुन सक्दैन । उसले आफ्ना कुराहरु स्वतन्त्र ढङ्गले व्यक्त गर्न सक्दैन । अर्थात् जनताका कुराहरु, न्यायका कुराहरु, सत्य र सहीको पक्षमा उसले लेख्न सक्दैन भन्ने मेरो बुझाइ थियो र त्यही अनुसार मैले लेख्दै पनि आएको हुँ । तर, सधैंभरि एकै किसिमले नै लेख्नुपर्छ भन्ने कुरा चाहिँ होइन । जहिलेसम्म आफू बसेको पार्टी, आफू बसेको धरातल, आफू बसेको समाज प्रगतिशील रहिरहन्छ, त्यसबेलासम्म समर्थन गर्ने नै हो । त्यो जब अग्रगामीभन्दा पश्चगामी दिशामा अग्रसर हुन्छ भने त्यसलाई छोड्नु नै उपयुक्त हुन्छ । यो हतारो पनि हुनसक्ला । सुभेच्छुक साथीहरु, अथवा नजिकका साथीहरु, अथवा मलाई चिन्ने साथीहरुले यो हतारो गर्नुभयो कि भनेर मलाई बारम्बार भनिराख्नुभएको छ । उहाँहरुसँग म विनम्रतापूर्वक भन्छु, मैले केही कारणले हतारो गरेर यो राजिनामा अथवा यो घोषणा गरेको होइन । मैले जहिले पनि इमान्दारितापूर्वक काम गरेँ र त्यहाँबाट मैले धेरै कुराहरु सिकेँ । माओवादी आन्दोलनबाट, पार्टीबाट मैले धेरै

समाजवादी लेखन त्यस्ता लेखकहरुले गर्छन् अथवा गर्न सक्छन्, जो पूर्णकालीन लेखक भएर लेखन क्षेत्रमा क्रियाशील रहन्छन्, जो जीवन निर्वाहका लागि आत्मनिर्भर रहन्छन् ।

कुराहरु सिकेँ । माओवादीहरुले जनयुद्धमा गरेका धेरै कुराहरु पनि मैले त्यहीँबाट सिकेँ । धेरै साथीहरुले मलाई सहयोग गर्नुभयो । त्यो माओवादी पार्टीकै देन हो । त्यसलाई मैले नकार्न सक्दिनँ र म माओवादी जनयुद्धलाई गाली गर्दै हिँड्ने पक्षमा पनि छैन । कोही साथीहरुले मलाई गाली गर्नुभयो भने पनि उहाँहरुलाई म विनम्रतापूर्वक भन्छु, ‘विष्णु भण्डारीलाई पढ्नुहोस् । नपढीकन कसैलाई आलोचना गरेर, गाली गरेर केही पनि प्राप्त हुँदैन’ । देशभरका लेखक साथीहरुलाई थाहा छ, काठमाडौँका अधिकांश पार्टी सदस्यहरुलाई थाहा छ, माओवादी आन्दोलनमा लामो समयसम्म काम गर्दा मैले कहिल्यै पनि पार्टीबाट एक पैसा पनि लिएर खाएको छैन । मैले एकदम इमान्दारीपूर्वक आफ्नै घरको मानो खाएर आफ्नो बाइकमा आफै पेट्रोल हालेर निःस्वार्थ काम गरेको छु । मैले पार्टी काम स्वेच्छाले गरेँ र स्वेच्छाले नै पार्टीबाट केही नलिएको हुँ । पार्टीले मलाई केही दिएन, मलाई नियुक्ति दिएन, मलाई सम्बोधन गरेन भनेर मैले राजिनामाको घोषणा गरेको होइन । पार्टीमा बस्दै गरेको भए अझै पनि मेरो लागि केही राम्रा सम्भावनाहरु हुन्थे होलान् । म पार्टीको केन्द्रीय समितिको सदस्य पनि भएकै हुँ । जनसाँस्कृतिक महासंघका उपाध्यक्ष पनि मलाई बनाइएकै हो । मलाई त्योभन्दा बढी जिम्मेवारी पार्टीले के नै दिनुपर्यो र ? मलाई जिम्मेवारी त दिइएकै हो त ! जिम्मेवारी नपाएर, रिसले, आवेगमा मैले पार्टी छोडेको होइन । मेरा सम्पूर्ण सुभेच्छुक साथीहरुलाई म के भन्छु भने ‘मैले केही नपाएर पार्टी छोडेको’ हुँदै होइन । म लेखकहरुले नियुक्ति खानुपर्छ भन्ने पक्षमा कहिले पनि छैन ।

जहाँसम्म ‘समाजवादी लेखक संघ’को कुरा छ, त्यस सम्बन्धमा म के भन्छु भने समाजवादी लेखन त्यस्ता लेखकहरुले गर्छन् अथवा गर्न सक्छन्, जो पूर्णकालीन लेखक भएर लेखन क्षेत्रमा क्रियाशील रहन्छन्, जो जीवन निर्वाहका लागि आत्मनिर्भर रहन्छन् । पर निर्भर नभएकाहरु नै सत्ताप्रति प्रश्न उठाउन सक्ने हिम्मतका साथ लेखकीय आन्दोलनमा आउँछन् । त्यस्ता साथीहरुले मात्र समाजवादी लेखनको अगुवाइ गर्न सक्छन् । ‘छोरो पाऊँ’ भनेर मन्दिरमा गएर टिको पनि लगाउने, श्रीमतीलाई कुट्ने, अलिकति पायो भने भ्रष्टाचार पनि गरिहाल्ने, र पायो भने खुट्टा पनि काट्ने, तान्ने, सकेन भने फेसबुकमा फेक आइडी बनाएर भए पनि आफ्ना हितैसीहरुलाई सत्तोसराप गर्ने, त्यस्ता मानिसहरु, त्यस्ता साहित्यकारहरु यो समाजवादी आन्दोलनको अगुवा हुन सक्दैनन् । त्यही भएर हामीले बनाएको ‘समाजवादी लेखक संघ’ जुन छ, त्यहाँ अहिले थोरै साथीहरु मात्र हुनुहुन्छ । हामी सबैले समाजवादी लेखनको प्रतिबद्धता व्यक्त गरेका छौं । हामीले इमान्दारीपूर्वक भनेका छौं, ‘यो संक्रमण काल हो, अहिले जे संरचना बनाइयो यो पूर्ण र अन्तिम होइन’ । यो तदर्थ कमिटी मात्र हो । यसले केही समयसम्म अन्तरक्रिया, बहस, छलफल गरेर त्यस्ता लेखक साहित्यकारहरु, जो बाहिर बसेर यथास्थितिको विरुद्धमा अथवा अग्रगमनको पक्षमा लेखिरहनुभएको छ, उहाँहरुसँग अन्तरक्रिया गरेर जोड्ने, समेट्ने अगुवाइ गर्नको लागि हामीले यो ‘समाजवादी लेखक संघ बनाएका हौँ ।

अहिले हामीले कसैलाई यस संघमा रहन ‘तँ पार्टीमा सदस्य हुनै पाउँदैनस्, पार्टीमा आबद्ध हुनै हुँदैन, तँ सम्पूर्ण रुपमा पार्टीभन्दा बाहिर भएको व्यक्ति नै हुनुपर्छ, अनि मात्र बल्ल तँ समाजवादी लेखक संघमा आउन सक्छस्, नभए ढोका बन्द छ’ भन्ने त्यस्तो कडा नीति बनाएका छैनौं । तर, कम्तिमा मार्क्सवादी चाहिँ त हुनै पर्यो ।

भनेपछि यो संघलाई कुनै पार्टीसँग नजिक हुनुपर्ने अथवा तपाईंहरुलाई त्यस्तो केही आवश्यकता परेन । लेखनबाट नै यसको मापन हुने भयो ।

– पार्टीको नजिक हुनको लागि त ‘प्रगतिशील लेखक संघ’ छँदैछ नि ! कोटाबाट जाने हो नि त्यहाँ ! त्यहाँ बस्नका लागि लेख्नु नै पर्दैन । तर, ‘समाजवादी लेखक संघ’ मा कोही कोटाबाट आउँदैन । प्रलेसमा गयो भने प्राज्ञ पनि भइन्छ । त्यो अलग कुरो हो । तर, अहिले हामीले कसैलाई यस संघमा रहन ‘तँ पार्टीमा सदस्य हुनै पाउँदैनस्, पार्टीमा आबद्ध हुनै हुँदैन, तँ सम्पूर्ण रुपमा पार्टीभन्दा बाहिर भएको व्यक्ति नै हुनुपर्छ, अनि मात्र बल्ल तँ समाजवादी लेखक संघमा आउन सक्छस्, नभए ढोका बन्द छ’ भन्ने त्यस्तो कडा नीति बनाएका छैनौं । तर, कम्तिमा मार्क्सवादी चाहिँ त हुनै पर्यो । मार्क्सवादप्रतिको प्रतिवद्धता त हुनैपर्यो । मार्क्सवादप्रतिको प्रतिबद्धता भएपछि राजनीतिक दृष्टिकोण, वैचारिक दृष्टिकोण, लेखकीय प्रतिबद्धता, वैचारिक प्रतिबद्धताका कुराहरु त आउने नै भए । तर, कुरा के हो भने, एउटा राजनीतिक पार्टीको सदस्य भएपछि मात्रै प्रगतिशील लेखक संघमा आउन पाउने, वामपन्थी पार्टीको सदस्य हुनेबित्तिकै त्यो प्रगतिशील लेखक हुने, लेख्न चाहिँ जस्तो लेखे पनि हुने जुन अहिले भइरहेछ त्यस्तो प्रणाली हाम्रोमा हुँदैन । ‘समाजवादी लेखक संघ’मा आउनको लागि पार्टीमा सदस्यता भए पनि होस्, नभए पनि नहोस्, तर कम्तिमा पनि सत्तासँग, नेतृत्वसँग प्रश्न गर्न सक्ने होस्, नयाँ यथार्थको पक्षमा जुझारु लेखनलाई अङ्गिकार गर्न सक्ने होस्, त्यति भयो भने हाम्रो अभियान प्रारम्भ हुन्छ भन्ने हामीलाई लागेको छ ।

नेपालको सन्दर्भमा मार्क्सवादको नयाँ व्याख्या/विश्लेषण हुन्छ कि हुन्न ? कि पुरानै धारमा जाने हो ?

– अहिले हामीकहाँ मार्क्सवादको विकासबारे बहसहरु भैरहेका छन् । तत्कालीन नेकपा माओवादीले २०५८ सालदेखि नै २१ औं शताब्दीको जनवाद भनेर मार्क्सवादमा विकासको कुरा गर्दै आयो । अहिले त्यो पार्टी नेकपा माओवादी केन्द्रसम्म आइसक्दा पनि त्यही कुरा गर्दैछ । हाम्रो कुरा के छ भने अब पुरानै तरिकाले चल्न सक्दैन । यो हाम्रो निष्कर्ष हो । साहित्यको कुरा गर्दा मैले के उल्लेख गरेको छु भने नेपालको सन्दर्भमा आजको मार्क्सवादको बारेमा राम्रै बहस भएता पनि आजको समाजवादी यर्थाथको बारेमा, लेखनको बारेमा कमै बहस भएको पाइन्छ । केही समयपहिला नेपालको सन्दर्भमा समाजवादी यर्थाथको बारेमा निनु चापागाईंले लेख्नुभएका लेखहरु मैले पढेको छु । त्यो बाहेक यो विषयमा थप बहस भएको छ जस्तो मलाई लाग्दैन । अबको आन्दोलन भनेको नेपालको सन्दर्भमा समाजवादी लेखन कस्तो हुन्छ भन्ने हो र यसबारे बहस थालनी गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

(Visited 62 times, 1 visits today)

टिप्पणी

comments