Main Menu

‘सुन्दरी प्रतियोगिता’को नियत र यसको विरोधको सार के ?

  • निनु चापागाईं

(हरेक वर्षझैँ यो वर्ष पनि जेष्ठ १९ गते ‘मिस नेपाल’ प्रतियोगिता हुँदैछ । विभिन्न ‘सुन्दरी प्रतियोगिता’हरुमध्ये राष्ट्रिय स्तरको यो प्रतियोगितामा ‘विजयी’ हुने प्रतियोगीले ‘मिस वर्ल्ड’मा सहभागी हुने मौका पाउँनेछिन् । तर, यस्ता ‘सुन्दरी प्रतियोगिता’हरुको विरोध पनि हुँदै आइरहेको छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा । यस्ता प्रतियोगिताहरुको विरोध गर्नेहरु किन विरोध गर्छन् ? विरोधको सार के हो ? ‘मिस नेपाल’ प्रतियोगिता आयोजना हुन लागेको अवस्थामा करिब ८ वर्षअगाडि ख्यातिप्राप्त प्रगतिवादी चिन्तक निनु चापागाईंले लेख्नुभएको र ‘मूल्याङ्कन मासिक’ को पूर्णाङ्क १६३ मा प्रकाशित यस लेख वर्तमानमा पनि सान्दर्भिक हुने महसुस गरी आवश्यक सम्पादनसहित पाठकमाझ प्रस्तुत गरेका छौँ । – सम्पादक)

beauty-pageant-purpose-protest-essenceविश्वसुन्दरी प्रतियोगिताको एउटा अंग वा एकाईका रुपमा नेपालमा पनि गत दश वर्षदेखि यता कथित सुन्दरी प्रतियोगिता हुँदै आएको छ । यस वर्ष पनि आउँदो जेष्ठ ज्ञढ गतेका दिन काठमाडौँमा नेपाल सुन्दरी प्रतियोगिता २०१७ हुँदैछ । र, हरेक वर्ष यो कथित प्रतियोगिता पनि सम्पन्न हुन्छ । यसरी थेचरो ढंगले किन यो भइरहेको छ ? यसको उद्देश्य के हो ? र देशको एउटा खास समुदाय र सरकारले किन यसको प्रचारप्रसारमा जोड दिँदै आएको छ ? यी सबैका बारेमा सचेत रहनु प्रवुद्ध नागरिकहरुको दायित्व हो ।

सुन्दरी प्रतियोगिताका विरोधीहरु सौन्दर्यका विरोधी होइनन् । उनीहरु त सौन्दर्य प्रतियोगिताका निहुँमा हुने गरेका कुरुप दृष्टिकोण र क्रियाकलापका मात्र विरोधी हुन् । वास्तविक र सही सौन्दर्यको खोजी गर्नु वा सुन्दरतालाई उत्प्रेरित गर्नु सुन्दरी प्रतियोगिताको मूल उद्देश्य नै होइन । यो पूर्ण रुपमा राजनीतिक र आर्थिक गतिविधि हो र यसमा विशेष किसिमको साँस्कृतिक राजनीतिले भूमिका खेलेको छ । विश्वव्यापी रुप लिएको खुला बजार अर्थतन्त्र, उदारिकरण, ढाँचागत समायोजन, वित्तीय पुँजीको खेल र यसले विकसित गर्ने गरेको राजनीति र उपभोकतावादी सँस्कृतिसँग यो नराम्ररी जेलिएको छ । नारीहरुमा ‘सुन्दर’ हुने होडबाजी चलाएर आफ्नो सत्ता, शोषण र आर्थिक–साँस्कृतिक स्वार्थ पूरा गर्ने शासक वर्गको यस कार्यलाई नेपालबाहिर हिजोआज ‘सुन्दरताको राजनीति’ भन्ने नाम दिइने गरेको छ । १९६० को दशकपछि नारीवादी र नारीमुक्तिवादीहरुको संघर्षको परिणामस्वरुप युरोप र अमेरिकाका नारीहरु घरको चुलोचौकोबाट बाहिर निस्केर सार्वजनिक कार्यमा संलग्न हुन थालेपछि त्यहाँका शासकहरुले नारीहरुलाई नियन्त्रण गर्न अघि सारिएको यो नयाँ किसिमको हतियार थियो । त्यसैले सुन्दरी प्रतियोगितालाई ‘सुन्दरताको हतियार’ पनि भन्ने गरिन्छ । नारीलाई कुनै न कुनै किसिमले नियन्त्रण गर्न स्वार्थ मिलेका व्यवसाय, राजनीति र सुन्दरताका व्यापारीहरुको त्रिकोणात्मक सम्बन्धलाई यस किसिमका देशका सरकारहरुले प्रोत्साहन दिँदै आउनुमा यही कारण रहेको छ । नेपालमा पनि भएको यही नै हो । सुन्दरी प्रतियोगिताका विरोधीहरुमाथि सरकारले किन आक्रमण गर्दछ र यसका आयोजक प्रायोजकलाई किन संरक्षण प्रदान गर्दछ भन्ने कुराले पनि यस तथ्यलाई राम्ररी नै प्रष्ट पार्ने गरेको छ ।

सुन्दरी प्रतियोगिताको भित्री तहमा सम्पूर्ण साम्राज्यवादी–पुँजीवादी आर्थिक प्रणाली क्रियाशील रहेको हुन्छ । पुँजीपतीहरुले उत्पादन गरेका सामग्री बढीभन्दा बढी विक्रि गर्नका लागि बजार र बजार विस्तारको आवश्यकता हुन्छ, बजार विस्तारका लागि विज्ञापन गर्नुपर्ने हुन्छ र विज्ञापनका लागि मोडलको आवश्यकता पर्दछ । सुन्दरी प्रतियोगिताको वास्तविक उद्देश्य यही मोडल उत्पादन गर्नु मात्र हो । त्यसैले यसमा नाफाखोरहरुको नाफाको उद्देश्य लुकेको हुन्छ, नारीको आत्मविश्वास, करियर निर्माण, मानवीय सौन्दर्यको प्रतिनिधित्व खोजीसँग यसको केही चासो हुँदैन । उल्टै, यस्ता प्रतियोगिताले सुन्दरता सम्बन्धि विकृत धारणा विस्तारित गर्दछन्, सौन्दर्यको भ्रम खडा गरेर समाजको ठूलो भागमाथि जबरजस्ती थोपर्ने काम मात्र गर्दछन् । मोडल उत्पादनलाई सुन्दरी प्रतियोगिता भनेर ढाँटछल गरेबाट नै आयोजक–प्रायोजकको वास्तविक स्वार्थलाई बुझ्न नसकिने होइन ।

साँच्चै भन्ने हो भने सुन्दरी प्रतियोगितामा विजयी हुने युवतीले सर्वश्रेष्ठ सुन्दरी भएका कारणले मुकुट लुकाउन पाएकी हुन्न । एउटै सचेत नारी भएका कारणले होइन, विकेको माल बनेको कारणले उसले यो पाएकी हो । उसले यो मुकुट खासमा निश्चित पुँजीपतीको हातमा एक साल वा निश्चित समयावधिका लागि बेचिएको कारणले पाएकी हुन्छे । सुन्दरी प्रतियोगितामा सहभागी हुने युवतीले निश्चित अवधिका लागि वा तोकिएको संख्यामा आयोजक–प्रायोजकको विज्ञापनको मोडल सित्तैमा बन्ने र उसकै निर्देशन अनुरुप चलखेल गर्ने र विजयी भएमा निश्चित अवधिसम्म विवाह नगर्ने शर्तलाई पहिले नै सकारेपछि मात्र यसमा भाग लिन पाउँछे । त्यसैले सुन्दरी प्रतियोगितामा पहिलो हुनु भनेको निश्चित समयका निम्ति बेचिएकी मोडल हुनु हो, बाधा बन्नु हो । मान्छे बेच्ने यस्तो परिपाटीलाई विवेकशील कसैले पनि समर्थन जनाउन सक्तैन ।

जतिसुकै बौद्धिकताको कुरा गरेतापनि सुन्दरी प्रतियोगितामा सुन्दरताको कसौटी भाग लिने युवतीको बाहिरी रुप वा यौवनलाई बनाइन्छ, जुन युवतीले आफ्नो शारीरिक बनोटका आधारमा बढीभन्दा बढी पुरुषहरुलाई आकर्षित गर्न सक्तछे र जुन युवती सबैभन्दा कामोत्तेजक लाग्दछे, त्यही युवतीले विज्ञापन गरेको सामग्री बढी विक्तछ र धेरै नाफा आर्जन गर्न सकिन्छ भन्ने पुँजीपतीको आशयालाई नै निर्णायकहरुले यस्ता प्रतियोगितामा अन्तिम रुप दिने गर्दछन् । नारीहरुको ईज्जत, गरिमा र हैसियतलाई कमजोर पार्ने, अपमान गर्ने, तल्लो स्तरमा खसाल्ने र उनीहरुको परिचयलाई शरीरमा मात्र सीमित गर्ने यस्ता प्रतियोगिताहरुको विरोध नारीसमानता र स्वतन्त्रताको पक्षमा रहेकाहरुले गर्नु अश्वभाविक होइन । उनीहरुको विरोध नै आधुनिकताको नाममा नारी सौन्दर्यलाई शरीर र अनुहारलाई सीमित गर्न खोजिएकोमा, बजारमा बेचिने सामानहरुको अनुकुल सुन्दरतालाई परिभाषित गर्न खोजिएकोमा, नारीलाई भोगविलाशको, यौनको साधन र पुरुषको सेविकाका रुपमा हेर्ने सामन्ती मनोवृत्तिलाई नयाँ तरिकाले प्रश्रय दिने प्रयत्न गरिएकोमा हो । उत्पट्याङ प्रश्नहरुको उत्तर हाजिरजवाफीका रुपमा दिनुले ‘स्वद्देश्य सौन्दर्य’ वा बौद्धिकताको प्रतिनिधित्व गर्दैन । यो बौद्धिकताको उपहास मात्र हो । कुनै व्यक्तिको बौद्धिकताको परिक्षण एकाध मिनेट हुन सक्छ भन्ने ठान्नु बौद्धिक टाटपल्ट्याई मात्र हो । जसले आफ्नो छाती, नितम्ब र तिघ्राको नाप दुरुस्त पार्न समय लगाउँछ, त्यसले फलाक्ने आदर्श र समाजसेवाको बाचा बकवास बाहेक केही हुनै सक्तैन । पुँजीपतिको सामान विक्रिको साधनभन्दा व्यक्तित्व विकास भएको देख्ने र आफ्नो मानवीय मुल्य आफ्नो यौन आकर्षण एवम् बाहिरी अनुहारमा छ भनेर घोषणा गर्ने प्रतियोगीलाई कसरी सुन्दरी मान्न सकिएला ? एकजना व्यक्तिले कुनै व्यवसाय भेट्टाउनुलाई सम्पूर्ण नारीको विकास ठान्ने दृष्टिकोण पनि एकदमै गलत छ ।

सुन्दरी प्रतियोगिताको अर्को अति नकारात्मक पक्ष यसले संसारभर फैलाउने साँस्कृतिक आक्रमण र अतिक्रमणसमेत हो । ‘विश्व सुन्दरी’, ‘ब्रम्हाण्ड सुन्दरी’का नाममा हुने गरेका सुन्दरी प्रतियोगिता, तिनको अंगको रुपमा हुने र तिनकै सिको गर्दै विभिन्न देशमा गर्ने सुन्दरी प्रतियोगिताले एकातिर सौन्दर्य र सुन्दर वस्तुका बारेमा गलत र भ्रामक विचारहरु फैलाउने काम गरिरहेका छन् भने अर्कातिर पश्चिमा, त्यसमा पनि खासगरी अमेरिकी उच्च वर्गको खास रुप र मापदण्डलाई सारा संसारमा एकमात्र सौन्दर्य हो भनेर थोपर्ने काम गर्दछन् । अझ शारीरिक श्रम नगरेको, अनुभवहीन ठेला नउठेको, दुःख नपाएको, पाउडर, लिप्स्टिकले छाला छोपेको, बच्चा नजन्माएको, उन्मत्त यौवन भएको, १९ देखि २४ वर्षको नारी शरीर मात्र सुन्दर हुन्छ भन्ने चिन्तन आफैमा कुरुप र विकृत चिन्तनको परिणाम हो । विशुद्ध करिअर र पैसाको थुप्रोद्वारा जीवन सपार्ने गहिरो उपभोक्तावादी चिन्तन सुन्दरी प्रतियोगिताको विशेषता हो । यसले भूमण्डलीकरण गरिएको साम्राज्यवादी सँस्कृतिका बेरोकतोकको छाडापन, जीवनको उद्देश्यहीनता, सामाजिक समस्याप्रतिको उदासिनता, चरम आत्मकेन्द्रीततालाई नै प्रश्रय दिने काम गर्दछ । यसले जीवनका हरेक पक्ष, मनुष्य, उसको शरीर र मानवतासमेत उपभोग्य वस्तु मात्र देख्तछ । मानिस सुन्दर हुनका लागि शारीरिक सुगठन भएर मात्र पुग्दैन, उसमा आत्मिक (बौद्धिक) समृद्धि, नैतिक शुद्धता र समाजका लागि उपयोगी हुने व्यवहारिक गतिविधि पनि चाहिन्छ । कुनै युवती बाहिरी रुपमा दृष्टिले त सुन्दर देखिन्छे, तर न्याय र अन्याय, राम्रा काम र नराम्रा काम, सदाचार र दुराचार जस्ता विषयहरुमा सही पक्षमा उभिन्न भने ऊ कदापी सुन्दर हुन सक्तिन । ऊ सुन्दर हुन बाहिरी सौन्दर्य मात्र पर्याप्त हुँदैन, आन्तरिक सौन्दर्य पनि अपरिहार्य हुन्छ । अझ भनौँ, बाहिरी हेराइमा सुन्दर नदेखिने महिला आन्तरिक सौन्दर्यले सम्पन्न छ भने ऊ शारीरिक सुगठन मात्र भएकी महिलाभन्दा कता हो कता बढी सुन्दर मानिन्छे ।

सुन्दरी प्रतियोगिताका पक्षधरहरु आफ्नो देशको, आफ्नो समाजको र आम नेपाली नारीहरुको वास्तविकताप्रति वेवास्ता गरिरहेका छन् । देश वर्गीय, जातीय, लैङ्गिक शोषणमा मात्र होइन, विदेशी उत्पिडनको मारमा समेत छ । देशका नारीहरु सबैभन्दा बढी शोषित र पीडित छन् । उनीहरुले एकातिर सँस्कृति र धर्मको नाममा स्थापित अन्धविश्वासहरु, रुढीहरु र पुरुषप्रधान रिती र नीतिहरुका विरुद्ध आन्दोलन गरिरहनुपरेको छ भने अर्कातिर समानता र स्वतन्त्रताको लडाइँ लडिरहनुपरेको छ । तर यी कथित सुन्दरी प्रतियोगिताका आयोजक एवं कथित सुन्दरीहरु नारीहरुका यस्ता समस्या र आवाजलाई पिठ्युँ फर्काउने काम गरिरहेका छन् । सामाजिक दायित्वको उनीहरुको बहानाबाजी स्वाङ मात्र हो । सामाजिक असमानता र विभेद युद्ध समाप्त पार्ने काममा प्रत्यक्ष सहभागी हुन र राजनीतिक हस्तक्षेप गर्न उनीहरु कत्ति पनि तयार देखिँदैनन् ।

सारमा, सुन्दरी प्रतियोगिताले नारीलाई उपभोगको साधन ठानेर वस्तुमा परिणत गर्ने नारी भोगविलासको साधन हो भन्ने पुरानो मानसिकतालाई बलियो बनाई नारीको शोषण गर्ने कामलाई निरन्तरता दिने, नारीहरुमा हीन भावना उमारेर सौन्दर्यप्रसाधनप्रति हुरुक्क बनाउने, नारी व्यक्तित्वको आन्तरिक पक्षलाई उपेक्षा गर्ने, संसारभरि सौन्दर्यसम्बन्धी गलत साम्राज्यवादी चिन्तनलाई थोपर्ने र समाजमा गलत प्रभाव पार्ने काम गर्दैन, व्यक्तिलाई भ्रष्ट र विकृत बनाउने उपभोकतावादी सँस्कृतिको बाहक बनाउने कामसमेत गर्दछ । त्यसैले कथित सौन्दर्य प्रतियोगिता नारीसौन्दर्यको खोजबीन र प्रशंसाको काम नभएर नाफाखोरहरुको स्वार्थलाई लाभ पु¥याउने व्यापारको कुत्सित तर मनमोहन नाटक मात्र हो ।

वास्तवमा, सुन्दरी प्रतियोगिताले महिला र पुरुषहरुका साथै सम्पूर्ण मानिसहरुको समानता प्राप्तिको संघर्षविरोधि सँस्कृतिको प्रतिनिधित्व गरेको छ । यसले सबै मानवीय र सामाजिक सम्बन्धलाई व्यापारिकरण गर्ने व्यवस्थामाथि टिकेको शोषणकारी सँस्कृतिको प्रतिनिधित्व गरेको छ । त्यसकारण नाफाखोर साहुहरु र कम्पनीहरुको मात्र होइन, सुन्दरी प्रतियोगिताका क्रममा तिनीहरुसँग कमिसन खाने र तिनको सेवा गर्ने सरकारको विरोध पनि जरुरी छ । नारीहरुलाई आधुनिकताको नाममा पैसाको कुम्लो थुपार्न जे गर्नु पनि ठीक हुन्छ भन्ने मानसिकता र त्यसको चिन्तन राख्ने सामाजिक संघसंस्था एवं राजनीतिक पार्टीहरुका विरुद्ध आवाज उठाउनु पनि आवश्यक छ ।

(Visited 818 times, 1 visits today)

टिप्पणी

comments