Main Menu

आपसमा गालीगलौज गर्ने कि आन्दोलनधाराबारे बहस गर्ने ?

batlari-article-1

राजनीतिलाई मुक्तियात्राको रुपमा नलिनेहरुका निम्ति राजनीति एक व्यबसाय, व्यापार र धन्दा मात्र हो । मुक्तियात्राको महत्वपूर्ण अङ्गको रुपमा राजनीतिमा क्रियाशील म जस्ताका लागि धन्दावालहरुको पकडको अहिलेको राजनीति निकै कष्टकर छ । तर, सोच्छु यो राजनीति फेर्न त म राजनीतिमा छु र, फेरि अघि बढ्छु ।

“राजनीतिमा बिकृतीकरणको बारेमा मेरो अभिब्यक्ति हाम्रो पार्टी वा पार्टीको कुनै निर्णयको सन्दर्भमा नभएर हाम्रो पार्टी सहित समग्र राजनीतिको सन्दर्भमा हो । नयाँ संबिधान र राजनैतिक परिबर्तन निष्ठावान एवं स्वच्छ नेतृत्व बिना सार्थक रुपमा लागु हुनै सक्दैन । त्यसैले राजनीतिको सफाई अनिबार्य छ ।”

माथिका यी भनाइहरु नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफ्नो फेसबुक पेजमा पोखेका अभिव्यक्तिहरु हुन् । यी अभिव्यक्तिहरुले वर्तमान नेपालको समग्र राजनीतिको निराशाजनक चरित्रलाई उजागर गर्न खोजिएको भए पनि उनले मूलतः माओवादी आन्दोलनधारामा विकसित विकृत राजनीतिक चरित्रहरुलाई औंल्याउन खोजेको बुझिन्छ ।

माओवादी आन्दोलनधारा समाजवादी दिशा उद्घोष गर्दै सामन्तवाद र साम्राज्यवादविरुद्ध उठान गरिएको जबरजस्त क्रान्तिकारी युद्ध अभियान थियो । अर्थात् त्यो नेपाली समाजको आधारभूत वर्गहरु श्रमिक वर्ग (किसान, मजदुर एवं निम्न आयका जनता) र उत्पीडित वर्ग (आदिवासी जनजाति, दलित, महिला, अल्पसङ्ख्यक समुदाय) हरुको मुक्तिको सपना बोकेको जनयुद्ध थियो । राणाकालदेखि नै मुलुकलाई अर्धउपनिवेशको पञ्जामा राख्दै आएका अङ्ग्रेज साम्राज्यवाद र भारतीय विस्तारवादबिरुद्धको त्यो राष्ट्रिय स्वाधिनताको युद्ध पनि थियो । त्यस युद्ध र अभियानमा २०३१ सालमा पुनर्गठित नेकपा (चौम) देखि लाग्दै आएका नेताहरुदेखि भर्खर जुँगाको रेखा पलाउन थालेका वा भर्खर गालामा लाली चढ्न थालेका लाखौं युवा (युवक/युवती) कार्यकर्ताहरु समेत संलग्न भए । हजारौंले ज्यान दिए । हजारौंले अङ्गभङ्गको स्थिति व्यहोरे । हजारौंले अभिभावक वा सन्तान गुमाएर पीडा व्यहोरे ।

माओवादी आन्दोलनधारा क्रान्तिकारी आन्दोलनधारा थियो र हो । मुख्य कुरो अहिले त्यस भित्रका पात्रहरु र त्यसलाई अगाडि बढाउन चाहनेहरु ज्युँदा रहेपनि त्यो आन्दोलनधाराको मृत्यु हुँदैछ भन्ने अनुभूति र त्यस सम्बन्धमा बहस हो ।

युद्धको सुरुवातमा त्यस आन्दोलनधारालाई सामन्तवादी राजतन्त्र र साम्राज्यवादीहरुको इशारामा राजतन्त्रसँग सत्तासाझेदारीमा रहेका संसदवादी राजनीतिक शक्तिहरुले ‘फू’ गर्दा निभ्ने फिलिङ्गो भनी अत्ताहास हाँसोमा उडाउन खोजे । उनीहरुलाई मुलुक त पूरै सुकेको घाँसे मैदान वा सुकेको जङ्गल भइसकेको पत्तै भएन । ‘फू’ गर्दा निभ्ने फिलिङ्गो भनिएको जनयुद्ध त हिजोभन्दा आज, आजभन्दा भोलि हुँदै दिन, हप्ता, महिना र वर्ष गरी समय बिते अनुसार झनपछि झन राँको बन्दै गयो । प्रतिक्रियावादी र संसदवादीहरुबीच खैलाबैला मच्चियो । एकले अर्कोलाई दोष दिन थाले । र, आआफ्नो वर्गीय स्वार्थले बाँधिएको उनीहरुबीचको एकताको डोरी बिस्तारै खुकुलिँदै पछि चुँडिन थाल्यो । सामन्तवादी राजतन्त्रीय राज्यसत्ताको केन्द्र दरवारभित्र पनि सत्ताका लागि एकले अर्कोलाई सफाय गर्ने योजनाहरु बुनिन थाले ।

त्यही क्रममा राजा बिरेन्द्रको वंश नै नाश हुने गरी दरबार हत्याकाण्ड मच्चाइयो । २००७ सालमा राणा शासनबिरुद्ध जनआन्दोलन एवं सशस्त्र युद्ध सुरु हुँदा राजा त्रिभुवन भागेर भारत पुगेका थिए । त्यस अवस्थामा आफ्नो शासन टिकाउन राणाहरुले बालक ज्ञानेन्द्रलाई राजगद्दीमा राखेका थिए । बिरेन्द्रको वंश नाश हुने गरी दरबार हत्याकाण्ड भएपछि २०५८ सालमा त्यही ज्ञानेन्द्र शाह पुनः राजा हुन पुगे । दरबार हत्याकाण्ड कसले गराए भन्ने सवाल त अझै इतिहासको गर्भमै बन्द छ, तर जनयुद्धले मुलुकमा ल्याएको राजनीतिक सागरको छालबाट धक्का खाएको सत्ताधारी वर्गमा उत्पन्न अन्तरविरोधको कारण त्यो हत्याकाण्ड भएको हो भन्ने कुरामा कुनै दुविधा हुनु जरुरी छैन ।

माओवादी आन्दोलनधारा अब सरल रहेन । यसलाई हिजोको जनयुद्धकालीन आँखाबाट हेर्न सक्ने स्थितिको अन्त्य भएको छ ।

बिरेन्द्र शाह मारिएकोले उनीप्रति सहानुभूति राख्ने क्रान्तिकारी भनाउँदा राजनीतिज्ञहरु पनि देखिए । तर, उनीहरुले २०४६ सालको जनआन्दोलनलाई दबाउन बिरेन्द्रले गरेको नरसंहारलाई किन बिर्से वा उनीहरु त्यो लुकाउन किन खोज्छन् भन्ने सवाल अहिले पुनः उठ्न जरुरी छ । जे होस् बिरेन्द्र शाह मारिए र उनी जिउँदै भएको भए गणतन्त्र आउँथ्यो वा आउँथेन भन्ने बहस अब फजुल कुरा भइसक्यो । सत्ताधारी वर्गहरुबीच द्वन्द्व चर्किंदा राजा ज्ञानेन्द्रले संसदवादी पार्टीहरुलाई लात्तीले हानी सडकमा पुर्याए । त्यही क्रममा नै ती पार्टीहरु पनि अस्तित्व रक्षार्थ राजतन्त्र फाल्न माओवादी आन्दोलनधारापछाडि उभिन आए ।

भन्नलाई त सात पार्टी र माओवादीको संयुक्त संघर्ष भनेर भनियो, तर यथार्थमा माओवादीको नेतृत्वमा अरुलाई पनि संलग्न गराई गरिएको जनआन्दोलन थियो ०६२/०६३ को जनआन्दोलन । माओवादी आन्दोलनधारा र जनयुद्धका पनि कमीकमजोरी प्रशस्तै भए । त्यो छुट्टै बहसको विषय हो । कम्युनिस्ट आन्दोलनलाई अब नयाँ शिराबाट उत्थान गर्नका लागि त्यसको बहस छलफल र समीक्षा गर्ने बेला आएको चाहिँ हो । तर, गणतन्त्र प्राप्तीको आन्दोलनको कुरा गर्दा त्यही आन्दोलनधारा र जनयुद्धले थिल्थिल्याएपछि नै सामन्तवादी राजतन्त्रात्मक राज्यसत्ता जरैबाट कमजोर भएको यथार्थलाई कसैले पनि भुल्न पाउँदैन । र, राजतन्त्रको कमजोर जरालाई उखेल्न ०६२/०६३ को आन्दोलनले सफलता प्राप्त गर्यो ।

संविधानसभाबाट राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना हुँदादेखि अहिलेसम्मको समयमा माओवादी पार्टीमा तत्कालीन नेकपा (एकता केन्द्र मसाल) मात्र होइन, अन्य कयौं कम्युनिस्ट पार्टीहरु सम्मिलित भइसकेका छन् । जनयुद्ध गर्दा नेकपा (माओवादी) नाम भएको पार्टी एकीकृत नेकपा (माओवादी) भई अहिले नेकपा (माओवादी केन्द्र) मा नामाकरण भइसक्यो । सिङ्गो समूह वा पार्टी हुँदै आएकाबाहेक व्यक्तिगत रुपमा अन्य पार्टी छाडी यस पार्टीमा जोडिन आएका हजारौं नेता कार्यकर्ताहरु पनि छन् । यही पार्टीबाट फुटेर गई यसकै घटकका रुपमा अन्य पार्टीहरु बनाई पुनः यसमा विलय हुन आएका पार्टी तथा नेता–कार्यकर्ताहरु पनि भइसके । अझै यसकै घटकका रुपमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा अलगअलग अस्तित्वमा रही गतिविधि गर्दैछन् । लामो समय पार्टीका उपाध्यक्ष र एक पटक मुलुककै प्रधानमन्त्री भइसकेका डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीका नाममा बुर्जुवा बिचारधाराको राजनीतिक दल खोलेर आफ्नो छुट्टै अस्तित्व देखाइरहेका छन् । यी कुराहरु जेजस्ता भए पनि सबै नै माओवादी आन्दोलनधाराका उपजहरु हुन् । र, अहिले आकार एवं प्रभावको कोणबाट माओवादी आन्दोलनको मूलधार भनेको नेकपा (माओवादी केन्द्र) नै भएकोमा दुविधा हुनु जरुरी छैन ।

यहाँ उल्लेख गर्न खोजिएको कुरो यो छ कि माओवादी आन्दोलनधारा अब सरल रहेन । यसलाई हिजोको जनयुद्धकालीन आँखाबाट हेर्न सक्ने स्थितिको अन्त्य भएको छ । यस भित्रका नेता कार्यकर्ताहरुको व्यक्तिगत बिचार, चाहना, प्रवृत्तिलाई अब एकै तहमा राखेर हेर्न सक्ने स्थितिको अन्त्य भएको छ ।

समग्रमा भन्ने हो भने संसदीय राजनीतिमा प्रवेशसँगसँगै माओवादी आन्दोलनधारा संसदीय फोहरको दलदलमा फसेको छ । अब त्यो फोहर सफा गर्ने हिम्मत नेतृत्व तप्कामा रहेको अनुभूति नगर्ने तल्ला तहका नेता–कार्यकर्ताहरुको सङ्ख्या बढ्न थालेको छ । अध्यक्ष प्रचण्ड स्वयंले नै पार्टी कम्युनिस्ट चरित्रमा नरहेको स्विकारेको कुरा बाहिर आएको धेरै समय भइसक्यो । त्यसैको परिणाम स्वरुप नै ४ हजारको केन्द्रीय समिति बनेको कुरामा दुविधा हुनेहरु अब सायदै होलान् ।

संसदीय राजनीतिमा प्रवेशसँगसँगै माओवादी आन्दोलनधारा संसदीय फोहरको दलदलमा फसेको छ । अब त्यो फोहर सफा गर्ने हिम्मत नेतृत्व तप्कामा रहेको अनुभूति नगर्ने तल्ला तहका नेता–कार्यकर्ताहरुको सङ्ख्या बढ्न थालेको छ ।

अझ गत असोज १७ गते अप्रत्याशित रुपमा नेकपा (एमाले) सँग चुनावी तालमेल मात्र होइन पार्टी एकता नै गर्ने घोषणा गर्दै त्यही मुताविक अहिले प्रक्रियाहरु अगाडि बढाइरहँदा अब माओवादी आन्दोलनधाराले विश्राम लिन थालिएको कुरा गर्नेहरुको सङ्ख्या बढ्न थालेको छ । नेता आहुति, लोकेन्द्र विष्ट मगर, गोपाल किरातीलगायतका नेताहरु मात्र होइनन् कयौं युवा कार्यकर्ताहरु र लेखक साहित्यकारहरु समेत अहिले माओवादी केन्द्रबाट अलग भएको घोषणा गर्दैछन् ।

हिजै मात्र माओवादी केन्द्र सम्वद्ध अखिल नेपाल लेखक संघका अध्यक्ष एवं जन साँस्कृतिक महासंघका उपाध्यक्ष विष्णु भण्डारीले फेसबुक पेजमा प्रत्यक्ष श्रव्यदृश्य प्रसारण गर्दै आफू माओवादी केन्द्रबाट अलग भएको घोषणा गरे । र, उनले फेसबुक स्टाटसमा लेखेका छन्, “जति गरियो मन लागेर गरियो । इमान्दारिताका साथ गरियो । पार्टी र लेखक सङ्घमा रहेर निकै कुरा सिक्ने अबसर मिल्यो । निकै नजिकबाट आन्दोलनलाई बुझ्ने र पढ्ने मौका पाइयो । कुरा सिद्धान्तको हो । सपनाको हो । मलाई माओवादीले उठाएका मुद्दा र विषयले आकर्षित गरेका थिए । विषय र वस्तुलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छन् । माओवादी केन्द्रले समाज रूपान्तरणमा अहिलेसम्म जेजति भूमिका निभायो त्यसप्रति कसैले पनि असहमति जनाउनु पर्ने देख्दिनं । अब भने उसले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सक्दैन भन्ने लागेको छ । म गलत पनि हुन सकूँला । केही साथीलाई मैले लिएको निर्णय गलत लाग्न सक्ला, कसैलाई ठिक । जसलाई जस्तो लागे पनि अबका दिनमा माओवादी केन्द्रमा बसेर सँगै हिँड्न नसकिने निस्कर्षमा पुगेको छु । पार्टीबाट अलग हुँदा कसैलाई गालीगलौज गर्नुपर्ने पनि छैन । ‘हिजोसम्म हिरा आज किरा’ भन्नुपर्ने पनि छैन । यो बीचमा मलाई सहयोग गर्ने, सँगै मिलेर काम गर्ने साथीहरूलाई धन्यवाद दिँदै माओवादी केन्द्रको केन्द्रीय सदस्य, जनसांस्कृतिक महासङ्घको उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घको अध्यक्षको जिम्मेबारीबाट अलग्गिएको घोषणा गर्दछु ।”

यो आलेखको सुरुमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको भनाइ उल्लेख गरियो । उनले माओवादी आन्दोलनधारामा विकसित विकृत चरित्रलाई उजागर गर्न चाहेको पनि बताइयो । ती विकृतिसँग लड्न अझै राजनीतिमा क्रियाशील रहने उनको उद्घोष रहेको उनको फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ ।

वर्गविहीन समाजको स्थापना गर्ने लक्ष्यसहितको आन्दोलन र अभियानमा हिँडेकाहरुले संविधानमा समाजवादको लवज राखेकै भरमा दङ्ग परेर बस्नु भनेको मार्क्सवादी दर्शन, सिद्धान्त र बिचारलाई धोका दिनु हुनेछ ।

माओवादी आन्दोलनधारा क्रान्तिकारी आन्दोलनधारा थियो र हो । मुख्य कुरो अहिले त्यस भित्रका पात्रहरु र त्यसलाई अगाडि बढाउन चाहनेहरु ज्युँदा रहेपनि त्यो आन्दोलनधाराको मृत्यु हुँदैछ भन्ने अनुभूति र त्यस सम्बन्धमा बहस हो । नेपालको संविधानको प्रस्तावनामा समाजवाद उन्मुखताको लवज राख्न नेपाली कम्युनिस्टहरु सफल भएकै हुन् । तर, शब्दैले मात्र हुने त केही होइन । समाजवादको कुरा त हिटलर, नेहरु र बिपिले पनि गरेकै हुन् । फेरि समाजवादको कुरा मार्क्सवाद आएपछि मात्र आएको कुरा पनि होइन । त्यसैले वर्गविहीन समाजको स्थापना गर्ने लक्ष्यसहितको आन्दोलन र अभियानमा हिँडेकाहरुले संविधानमा समाजवादको लवज राखेकै भरमा दङ्ग परेर बस्नु भनेको मार्क्सवादी दर्शन, सिद्धान्त र बिचारलाई धोका दिनु हुनेछ ।

नेता नारायणकाजी श्रेष्ठको अभिव्यक्तिले उनी माओवादी केन्द्र पार्टीभित्र मार्क्सवादमा आएको बिचलनबिरुद्ध अझै लडभिड् गर्ने मुडमा छन् भन्ने देखिन्छन् । उनी कतिको सफल होलान् नहोलान् त्यो भविष्यले नै बताउला, तर उनको प्रयत्नलाई अहिले नै दुत्कार्ने स्थिति बन्यो भन्नु ठीक नहोला ।

माओवादी आन्दोलनधारा क्रान्तिको बाटोबाट साम्यवादसम्म पुग्ने लक्ष्य बोकी सुरु भएको थियो । अमूक पार्टी रहला नरहला, अमूक नेता कार्यकर्ता रहलान् नरहलान्, तर त्यो आन्दोलनधारा जिउँदै रहने आशा गर्ने नयाँ पुस्ता हुने नै छ । तसर्थ, यस्तो आशा गर्ने अमूक पार्टीभित्र रहेका नेता कार्यकर्ताहरुले यस्तै आशा गर्दै हिँडेका पार्टी बाहिरका मान्छेहरुलाई र पार्टीबाहिर रहेकाहरुले पनि उही आशाका साथ पार्टीभित्र रहेकाहरुलाई नकारात्मक व्यवहार गर्ने वा गालीगलौज गर्ने प्रवृत्तिलाई बन्द गरिनु जरुरी छ । बरु मित्रवत बहस, छलफल, अन्तरक्रिया र सहकार्यको सुरुवात गर्नु उत्तम हुनेछ ।

  • बाटलरी
(Visited 423 times, 1 visits today)

टिप्पणी

comments