Main Menu

बर्मेली दम्पती

  • घनश्याम ढकाल

(नेपाली प्रगतिशील साहित्यिक क्षेत्रमा एक नक्षत्रका रुपमा रहेका बितेका साहित्यकार घनश्याम ढकाल प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष पनि थिए । नेपाली क्रान्तिका लागि आफू मात्र होइन आफ्नो सम्पूर्ण परिवारलाई नै समेटेर अगाडि बढेका उनका एक छोरा जनयुद्धमा शहीद बने । २०१० सालमा स्याङ्जामा जन्मी कर्मथलो पोखरालाई बनाएका साहित्यकार घनश्याम ढकालले आफ्नो सम्पूर्ण जीवन साहित्य सिर्जना मार्फत् नेपाली क्रान्तिका लागि अर्पे । कविता, कथा, उपन्यास, विवेचना, समालोचना, संस्मरणलगायत गरी झण्डैझण्डै पुगनपुग दुई दर्जन कृति सिर्जना गरी प्रकाशित गराएका उनी जनयुद्ध दिवस मनाउन काठमाडौंको खुलामञ्चतिर लाग्दै गर्दा प्रदर्शनी मार्गमा मोटरसाइकलको ठक्करमा परी २०६८ साल फागुन १ गते निधन हुन पुगेका थिए । उनी प्रगतिवादी साहित्य सर्जक त छँदै थिए, साथै उनी समालोचक, चिन्तक र क्रान्तिकारी अभियन्ता पनि थिए । उनै साहित्यकार घनश्याम ढकालले सिर्जना गरेको जनयुद्ध र त्यसपछिका दिनहरुमा घटेका घटनाहरुलाई चित्रण गरिएको कथा ‘बर्मेली दम्पती’ यहाँ प्रस्तुत गरिन्छ । हामीले यो कथा ‘कथालय’ साहित्यिक–साँस्कृतिक पत्रिकाबाट साभार गरेका हौं ।–सम्पादक)

barmeli-dampati-story-ghanashyam-dhakal‘बाबु, एक पाथी चामल देऊ न ।’ बुढी आमैले पसलेसँग अनुनयको स्वरमा भनिन् । उनले विकासे मलको बोराबाट बनाइएको मैलो झोला बोकेकी थिइन् ।

‘पैसो छ कि छैन ?’ बसेको ठाउँबाट नउठी पसलेले सोध्यो ।

‘छैन बाबु ।’ बुढी आमाका नजर तल झुके । ‘तीन चार हजार उधारो भइसक्यो, अब काँबाट दिनु ? मैले नि किनेरै ल्याउने हो ।’

‘यति छ, तिरम्ला नि चाँडै नै ।’ उनले मैलो चोलाको खल्तीबाट दुई सय रुपैयाँ झिकेर पसलेको हातमा राखिदिइन् ।

‘खोइ, काँबाट ल्याएर तिर्छ्यौ ?’

‘केही नलागे जग्गा बेचेर पनि तिरम्ला तिम्रो पैसा खाएर मरम्ला त !’

‘पैसा कमाउनेहरुले सहरबजार ताकिसके, त्यो पाखो कसले किन्छ ?’

सबै सहरबजाराँ काँ जालान् र ?’ याँ बस्नेलाई जग्गा चाहिन्न र ? खसालेर लिन पाए तिम्ले न लिने थियौ ।’

‘दुई पोको नून देऊ न बाबु, मैले त भुसुक्कै बिर्सेकी ।’

‘ए साँच्चै तिमेलाई त सर्खारले पैसा दिएको छ रे नि त । जाँदैनौ लिन ?’ नूनका पोका दिँदै पसलेले भन्यो ।

‘हाम्लाई केको पैसा दिनु ?’ बुढी आमाले अपत्यारिलो स्वरमा भनिन् ।

‘हो मैले साँच्चै सुनेको हो । लडाइँका बेलाँ मरेकालाई दिएका छन् रे । अझ तिम्रा त छोरो र छोरी दुईटा……..।’ पसलेले पछिल्लो वाक्य पूरा गरेन ।

छोराछोरीको प्रसंगले बुढीको छातीभित्र कसैले सियोले घोचेजस्तो भयो । भक्कानिँदै गरेको छातीलाई एउटा हातले बलपूर्वक थिचिन् र अर्को हातले झोलाको फिता टाउकोमा गलाइन् । उमेरले सत्तरी वर्ष काटिसकेकी थिइन् । कपाल सेतै फुलेको थियो । अग्लो कद हुनाले उनका हातखुट्टा मुरलीबाँसको लामो तरी जस्ता देखिन्थे ।

उनलाई चिनाउने गाउँघरको नाम थियो —बाटामुनिकी जेठी । उनका लोग्ने जेठो भएर नै उनी पनि जेठी भएकी थिइन् । जेठाको नाम जगतलाल थियो । उनी अहिले पचहत्तर वर्षका छन् । दुबै आँखामा मोतीविन्दु हुनाले राम्ररी देख्न सक्दैनन् । बिस वर्षको उमेरमा उनी पैसा कमाउन भनी बर्मातिर गएका थिए । अर्को बिस वर्ष बिना चिठीपत्र त्यतै हराए । यता घरतिर दाजुभाइले आश मारिसकेका थिए र छुट्टीभिन्न हुँदा उनलाई अंश पनि राखेका थिएनन् । बिस वर्षपछि एक्कासि घर आउँदा एकातिर सबै दंग परे भने अर्कातिर अंशवण्डामा खैलाबैला भयो । जगतलालका बारेमा अनेकथरि अनुमान गरिए । कसैले उनलाई बर्मामै स्वास्नी छोराछोरी छोडेर आएको भन्ने गर्दथे भने कसैले सरकारले लखेटेर आएको भन्दथे । ऊ आफैले त्यहाँको सरकारले नेपालीलाई बस्न नदिएको र कमाएको पनि केही ल्याउन नदिएको बताउँथे । त्यसैले होला, त्यतिका वर्ष बसे पनि उनले पैसो ल्याउन सकेनन् ।
२०१९ सालतिर जगतलाल नेपाल फर्केका हुन् । त्यतिबेला बर्माबाट धेरै नेपालीहरु लखेटिएका थिए । उताबाट आउनेलाई पुनर्वासका लागि तराईतिर जमिन पनि उपलब्ध गराइएको थियो । जगतलाल भने त्यता गएनन् । र, यतै आफूले अंशमा पाएको जग्गामै गुजारा गरेर बस्ने निधो गरे । अब उनी बाटामुनिका जेठाबाट बर्मेली जेठा भएका थिए भने बुढी बर्मेल्नी जेठी । यिनको खास नाम भने तुलसा थियो । उनी बालविधवा थिइन् । बर्मेली जेठाले कसैले भनेको सुनेनन् र विधवा विवाह गर्न हुन्छ भनेर तुलसालाई बिहे गरेका थिए । तुलसाले सात ओटा सन्तान जन्माए पनि आखिरको छोरो महेश र छोरी निरजा मात्र बाँचेका थिए । महेश जनयुद्द सुरु हुनुभन्दा पहिले नै पार्टी पूर्णकालीन कार्यकर्ता बनिसकको थियो भने निरजा युद्द सुरु भएको तिन वर्षपछि मात्र छापामारमा सामेल भएकी थिई ।

जगतलाल पहिले निकै खाइलाग्दो अग्लो जिउडाल र लाम्चो अनुहार भएका व्यक्ति थिए । अहिले भने बस्दाखेरि उनका खुट्टा सारसका जस्ता देखिन्छन् । आँखाको समस्या नभएको भए हिँड्डुल गर्न अझै पनि दरा थिए । अहिले उनका घरमा कोही फर्कंदैन । छोराछोरी हुँदा आउने जाने मानिसहरुको लेखो हुँदैनथ्यो । उनी आफै फरासिला मात्र थिएनन् विद्रोहका समर्थक पनि थिए । त्यसैले उनकै प्रभाव र प्रेरणाबाट छोराछोरी विद्रोहमा सरिक भएका थिए । आउने मान्छेहरु उनीबाट प्रभावित भएर फर्कन्थे ।

‘म बर्माका करिन विद्रोहहरुसँग काम गरेको मान्छे हुँ । उनीहरु मकहाँ आइरहन्थे ।’ पार्टीका मानिसहरुसँग बर्मेली बुढाले भन्दथे र करिन छापामारहरुका अनेकों कौशलहरु सुनाउँथे । उनी माओका खुला प्रशंसक थिए ।

‘राम्रो हो नि नयाँ जनवाद, चिनमा माओले ल्याएको । स्वदेशी र विदेशीहरुले कसैलाई चुस्न नपाउने व्यवस्था ।’ जगतलाल भनिरहन्थे । ‘हाम्ले पनि त्यस्तै व्यवस्था ल्याउन खोजेको हो ।’ बहसमा सरिक हुनेको जवाफ हुन्थ्यो ।

‘आफ्नै किसिमले गर्न खोजे त सफल होला, चिनको नक्कल गर्न खोज्दा धेरै ठाउँका लडाईँहरु असफल भएर तुहेका छन् ।’ बुढा सुझाव दिन पछि पर्दैनथे ।

पीडा भरिएको मन लिएर बुढी घर आइपुगिन् । झोला पिँढीको डिलमा राखेर आफू पनि थचक्क पिँढीमै बसिन् ।
‘आइपुगिस् ?’ खाटमा टुक्रुक्क बसेका बुढाले सोधे ।

‘हो, आइपुगेँ ।’ रुन्चे स्वरमा बुढीले भनिन् । ‘के भयो फेरि ? कतै लोटिस् र हो ?’ ‘केही भको छैन ।’ यस बेला त बुढीको डाँको फुट्यो ।

‘यसलाई आज अवश्य केही न केही भएको छ ।’ मनभित्र कुरा खेलाउँदै बुढी भएका ठाउँमा पुगेर बुढाले उनको टाउको मुसारे । बुढाको छातीमा टाउको राखेर बुढी झन् भक्कानिएर रोइन् ।

‘भन् त भन्, के भयो ?’

‘हाम्रो अवस्था देखेर रुन मन लागेको हो । अब त दुई छाक जुटाउन पनि गाह्रो हुन थाल्यो । तिमी आँखा देख्दैनौ, मेरो मनले हरेस खान थालेको छ । हिँड्दा गोडा लगलग काम्छन् ।’

‘तँ भन्दा म अघि जान पाए त हुन्थ्यो नत्र भने……’ रुन्चे स्वरमा बुढीले भनिन् ।

‘जस्तो भए पनि बेहोर्नुपर्छ, हेर्ने नभएपछि……’ केही क्षण रोकिएर बुढाले फेरि अगाडि भन्न थाले…..’ अब त नातिनातिनाका औंला समातेर हिँड्ने बेला हो ।’

‘त्यो त पुछिइसक्यो ।’

‘अहिलेसम्म अलिअलि हातखुट्टा चल्दै छन्, चल्न छोडेपछि जे त होला ।’ यसपटक बुढाले धैर्य बटुल्दै भने ।

‘पार्टीले हेर्छ भन्थ्यो छोराले ।’ घुँक्कघुँक्क गर्दै बुढीले पुराना कुरा सम्झिन् ।
महेश छँदै बा आमाका बारेमा कुरा नचलेको होइन । पटकपटक युद्धको परिणामका बारेमा पनि छलफल चलेको हो ।

‘लडाइँको के भर हुन्छ र ? दुश्मनले फेला नपार्ने बेलासम्म मात्र हो, फेला पारेपछि……’ एकपटक घर आउँदा महेशले बाआमासँग भनेको थियो ।

‘त्यस्तो अलच्छिनी कुरो नगर बाबु ।’ तुलसाले भनिन् ।

‘यो सत्य हो आमा, त्यसलाई सहने क्षमता अहिलेदेखि नै विकास गर्नुपर्छ ।’ महेशले सम्झायो ।

‘तैंले यस्ता कुरा गर्छस्, हाम्रो के हालत होला ?’

आमाले सुस्केरा काढ्दै भनिन् । छोराको माया मान्दै उनले उसको मृत्युको असहज कल्पना गर्न पुगिन् ।

‘क्रान्ति सम्पन्न नहुने बेलासम्म सहिद परिवारलाई पार्टीले हेर्छ, त्यसपछि सरकारको दायित्व हुन्छ ।’ उसले सम्झायो । यसोभन्दा त्यहाँ असजिलो मौनता छायो । केही बेरसम्म कसैले बोल्ने रुचि देखाएनन् ।

‘पहिले त्यतिका मान्छे आउँथे पार्टीका, अहिले त खै…………’ बुढाले लामो सास ताने ।

‘उतिबेला त छोरो थियो, छोरी थिई, तिनलाई कजाउन पाइन्थ्यो र पो आउँथे । अहिले किन आउँथे ? हामीसँग लिने फाइदा लिइसके । अब हामीसँग के छ र दुःख भन्दा । हामीले उनीहरुलाई खुवाउन पाल्न सक्दैनौं ।’

‘त्यसो भन्नु हुँदैन, जे भए नि छोराछोरीले रगत बगाएको पार्टी हो ।’ बुढाले सम्झाउने प्रयास गरे ।

‘अँ साँच्चै लडाइँमा मारिएका परिवारलाई सर्खारले पैसा दिएको छ रे । दोकानदारले त्यसै भन्थ्यो ।’ बिर्सेको कुरा सम्झे झैं बुढीले भनिन् ।

‘कहाँ दिएको रैच ?’

‘जिल्लाको सिडिओकोमा ।’

‘खै, कोसँग बुझ्ने ? त्यतै जानुपर्ला ।’ जगतलालले भन्यो ।

भोलिपल्ट बिहानै बर्मेल्नी बुढीले खाना तयार बनाइन् । सात बज्दा नबज्दै तिनीहरु भात खाएर हिँडिसकेका थिए । घुर्मैलो देखे पनि जगतलाल फटाफट हिँड्न सक्दैनथे, बुढीको सहारामा हिँड्नुपथ्र्यो । बलियो मान्छेलाई त्यहाँबाट सदरमुकाम पुग्न दुई घण्टा लाग्दथ्यो । तर, ती दम्पती त्यसरी हिँड्न सक्दैनथे । उनीहरु सदरमुकाम पुग्न पूरा छ घण्टा लाग्यो । उनीहरु जिल्ला कार्यालय पुग्दा एक बजिसकेको थियो ।

‘यहाँ पीडितलाई सर्खारले सहायता बाँडेको छ रे ।’ उनीहरुले त्यहाँको एउटा कर्मचारीसँग कुरा राखे । ‘हो, बाँडेको छ, तपाईंहरुको के भएको हो ?’ कुरा सुन्ने कर्मचारीले भन्यो ।

‘हाम्रा छोरा र छोरी दुवै सर्खारबाट मारिएका हुन् ।’ बुढाले बेलीबिस्तार लगाए ।

‘ती मर्ने तपाईंका छोराछोरी हुन् भनेर नाता सम्बन्ध प्रमाणित गरेर आउनुपर्छ ।’

‘महेश र निरजा हामै्र छोराछोरी हुन् । हाम्ले ढाँटौंला त ? महेशलाई समातेर मारेका हुन् । निरजा बेनी हो कि कता हो मारिएकी हो ।’ बुढीले भनिन् ।

‘तपाईंहरुले भनेका कुरामा हाम्रो अविश्वास छैन, तर तपाईंहरुलाई हामी चिन्दैनौं । न ती मारिएका व्यक्तिहरु तपाईंहरुका छोराछोरी नै हुन् भन्ने जानकारी छ । त्यसैले गाविसबाट ती मारिएको प्रमाणपत्र र नातासम्बन्ध प्रमाणित गरी लिएर आउनुपर्छ । तबमात्र पैसा दिन मिल्छ ।’ कर्मचारीले फेरि पनि अथ्र्यायो ।

‘जाऊँ त अब, मिल्दैन भनेपछि ।’ बुढाबुढी त्यहाँबाट हिँडे । दिन ढल्कंदै गएको थियो । सिमसिम पानी पर्न थालेको थियो । बुढाबुढी ढुकुरको चल्ला रुझेझैं निथ्रुक्क भिजेर जाडोले लगलग काम्दै राती नौ बजेमात्रै घरमा आइपुगे ।

अँध्यारोमा सुनसान उभिएको रित्तो घरले तिनीहरुलाई पर्खिरहेको थियो । जाडो कक्रक्क परेका हातले बुढी आमाले बल्लबल्ल साँचो खोलेर ढोका उघारिन् । त्यसपछि दुई हातले छाम्दै अँगेनामा पुगिन् । बिहान खरानी घुसारेको मुढोमा आगो ज्युँदै रहेछ । त्यसलाई ठोसेर आगो सल्काएर दाउरा हालिन् । एकैछिनमा आगो ह्वारह्वार्ती बल्न थाल्यो । भोकतिर्खा बिर्सेर बुढाबढीले आगो ताप्न थाले ।

भोक र थकाइले ती दुबै आक्लान्त थिए । भोकले जति आत्तिए पनि झटपट उठेर खाने कुरा पकाउने ताकत कसैमा थिएन । अघिपछि बुढीले उज्यालैमा भात पकाउँथिन् । साँझ परेपछि जिउ त्यसैत्यसै भारी हुन्छ, उठ्नै सक्तिनथिए् । आज त झन् दिनभरि हिँडेर थाकेको जिउ, उठेर केही गर्ने आँट नै भएन । तैपनि नउठी हुँदैन । आफू मात्रै भए घुत्रुक्क पल्टन्थिन् । बुढाका आँखा बसेपछि उनलाई पस्केर खान दिने कोही भएन, न त एक खेप पानी ल्याइदिने मान्छे नै ।

‘यिनै बुढा हुन् सहारा, यी पनि भएनन् भने…………’ बुढाको मायाले उनलाई केही श्क्ति दियो । बिस्तारै हात टेकेर उठिन् । डालीमा कोदाको पिठो थियो । त्यसैको पुवा बनाइन् र नून पिधिन् । तिनीहरुले आज पुवा र पानीले छाक टारे ।

‘भोलि सिफारिस बनाउन जान प¥यो ।’ बुढाले भने ।

‘त्यहाँ पनि के के झमेला लगाउने हुन् ।’ बुढीलाई सिफारिस पाइएला भन्ने कुरामा विश्वास थिएन ।

‘बुढी मेरो त पेट काट्या कटक्क, दिसा जान पर्ला जस्तो पो भयो ।’

‘लौ मा¥यो, अँध्यारो छ, कसरी जाने हो ?’ बुढीका मुखबाट एकाएक निस्कियो र तिनले फेरि भनिन्, ‘लौ हिँड ।’
अँध्यारोमा खुट्टाको सारले बुढालाई डो¥याएर चर्पीतिर लाँदै थिइन् । बाटो अग्लो कान्लाको डिलबाट थियो ।

बुढाका खुट्टा चिप्लिएर शरीरको सन्तुलन बिग्रियोे । बुढीले धान्न सकिनन् र बुढा तल लड्न पुगे ।

‘लौ न नि गुहार, गुहार’ हँसले ठाउँ छोड्यो र उनी जोडले चिच्याउन थालिन् ।

‘ए, के भयो हँ ?’ नजिकको छिमेकी बुढीको हारगुहार सुनेर आइपुग्यो ।

‘बर्मेली बुढा लडेछन् ।’ उसले अरुलाई बोलायो र सबै मिलेर बुढालाई माथि ल्याए । देखिने चोटपटक केही लागेको रहेनछ ।

सधैं बसेरै उठेर यताउति गर्ने बुढा भोलिपल्ट बिहान अबेलासम्म पनि उठेनन् । बुढी आफ्नै धन्दामा थिइन् । उनी पकाउने तरखरमा लागिन् तैपनि बुढा उठेका थिएनन् ।

‘थाकेका बुढा निदाउनु न ।’ पहिला त उनले उठाउन चाहिनन् तर मन मानेन ।

‘उठ्ने होइन ?’ बुढालाई घच्घचाइन् ।

‘म त उठ्न सकिन, देब्रे खुट्टो चलाउनै हुँदैन ।’ कहराउँदै बुढाले भने । बुढीले हेरिन् घँुडो सुन्निएको रहेछ ।

‘हे भगवान्, आँखा त यसै बसेका थिए, अब खुट्टा पनि नचल्ने भए…..’ पार लगाउन नसक्ने विपत आइलागेको देखेपछि बुढी अत्तालिइन् ।

‘सन्चो हुन्छ औषधीमूलो गरेपछि ।’बर्मेली बुढाले बुढीलाई ढाडस दिए ।

‘खै, केले औषधी गर्ने हो ? अनि कसले लगिदिन्छ ?’

‘पिर नगर, घरगाउँको दबाई गरौंला ।’ बुढा एक किसिमले ढुक्क थिए । उनी चार पाँच दिनसम्म ओछ्यानमै थलिए । उठेर दिसापिसाब गर्न जानसम्म पनि सकेनन् । भूईचम्पा पिँधेर बुढीले घुँडामा छापिदिइन् । घिउ खोजेर ल्याइ सुप, चम्सुर र चौछाजोरको जरो मिसाएर पुवा बनाएर खान दिइन् । सात दिनपछि बुढा पहिला जस्तै हिँड्न सक्ने भए । बर्मेलीको मनमा खुसीको सीमा नै रहेन ।

‘बाबु, हामीलाई महेश र निरजाको नाता प्रमाणित गरेको कागज बनाइदिनुप¥यो ।’ बुढाबुढी दुबैले गाउँ विकास समितिको कार्यालयमा गएर सचिवसँग आग्रह गरे । सचिव भरर्खरको युवा तन्नेरी थियो ।

‘बर्मेली बा, किन चाहियो सिफारिस ?’

‘सर्खारले राहत दिन्छ रे ।’

‘सिफारिस लगेर पैसा पनि झिकिसके, तपाईंहरुलाई खबर गरेनन् ?’

‘गरेनन् बाबु, कसले लग्यो सिफारिस ?’

‘तपाईंहरुकै बुहारी र जुवाइँले नि, अरु कसले लान मिल्छ र ?’

बुढाबुढी छाँगाबाट खसेजस्तै भए, केही बोल्न सकेनन् ।

‘बिहे त भएको थियो, होइन र ?’

‘भएको थियो ।’

‘मृतकका सबैभन्दा नजिककालाई सहयोग गर्ने नियम छ । श्रीमान् श्रीमती नै अरुभन्दा नजिकका नातेदार हुन् । त्यसैले उनीहरुले नै सहयोग पाएका हुन् ।’ सचिवले बुढाबुढीको चित्त बुझाउन खोज्यो ।

‘पार्टीमै बिहें गरें, टाढा भएर बोलाउन सकिन, पछि बुहारी लिएर आउँछु ।’ महेशले बाबुआमालाई खबर गरेको थियो । बिहेमा जान नपाएर बुढाबुढी दुःखित भएनन् बरु हर्षविभोर बनेका थिए । आफ्नो बिहे भएको एक वर्षपछि जिरनाको पनि महेशले पार्टीभित्रै बिहा गरिदिएको थियो । बुढाबुढीले त न बुहारीलाई चिन्न पाएका थिए न जुवाइँलाई । कतैबाट पनि बच्चाबच्ची हुन पाएका थिएनन् । पछि जुवाइँले अर्को बिहा गरे र बुहारीले पनि । त्यसैले उनीहरुको खोजीनीति गर्न बुढाबुढीले जरुरी ठानेनन् ।

‘उनीहरुले बिहे गरेपछि पनि हाम्रा छोराछोरीको नजिक भइराख्छन् कि क्या हो ?’ बुढीको आक्रोश थियो ।

‘पछि बिहे गरेको प्रमाण हामीसँग छैन ।’ ‘बेइमान कहीँका , हाम्रा छोराछोरीको नाममा आएको पैसा लिने भएपछि त हाम्लाई पाल्न पनि त प¥यो नि ।’ बुढीले फेरि भनिन् ।

‘भो नकरा बुढी छोराछोरीको ज्यान त गयो भने जाबो पैसा जसले खाए पनि खाऊन् ।’ विरक्त भावमा बर्मेली बुढाले भने ।

‘त्यसो भनेर कहाँ हुन्छ ? अन्याय मास्ने भने पो छोराछोरीले ज्यान अर्पेका हुन् । झन् उनीहरुकै नाममा अन्याय ?’ बुढी पनि भावुक बनिन् ।

‘सहिद र सहिद परिवार खोलो तरेपछिका लौरा हुन्, तिनहरुलाई बिर्सन्छन् अरुले । हाम्रो बोली कहाँ बिक्छ र ? भो हिँड् जाऊँ घर ।’

दुवै बुढाबुढी गाविस कार्यालयबाट बाहिर निस्के । सचिवले उनीहरु गएतिर ट्वाल्ल परेर हेरिरह्यो ।

दुई वर्ष अरु बिते । यस बिचमा पार्टीको तर्फबाट बर्मेली दम्पतीलाई भेट्न कोही आएनन् । कोही आउँछन् भन्ने आशा पनि उनीहरुले गरेका थिएनन् ।

पुस महिनाको पाहारिलो दिन थियो । बुढाबुढी आँगनमा बसेर घाम तापिरहेको थिए । त्यसैबेला एउटा युवक र युवती टुप्लुक्क आइपुगे ।

‘नमस्कार बा, आमा । हामी महेश र निरजाका साथी ।’ उनीहरुले आफ्नो परिचय दिए ।

‘साथी रे ।’ बुढाबुढी एकछिनसम्म त अक्क न बक्क भए । बुढी आमैका नयनबाट आँसुका धारा बगे । बुढा पनि सुरुमा त थामिन सकेनन् । आगन्तुकहरु छोराछोरीका साथी थिए थिएनन् कुन्नि तर बुढाबुढीलाई भने धेरै वर्षपछि छोराछोरी घर फर्केर आएको जस्तो भयो ।

‘नरुनोस् हामी पनि तपाईंहरुकै छोराछोरी हौं ।’

‘कहाँ छौ त आजभोलि ?’

‘पार्टीमै छौं ।’

‘पार्टीले त सर्खार बनाएको, सबै मोजमस्तीतिर छन् रे नि त ।’ बुढाले भने ।

‘कोही मोजमस्तीमा पनि छन् तर हामीले पार्टीमै काम गरिरहेका छौं ।’

‘नपाएर त होला नि, पाएपछि कसले छोड्छ र ?’ बुढी आमाको भनाइ थियो

‘त्यसो होइन आमा, हामी आफूले मात्र पाउने प्रयास गरेनौ । जनक्रान्ति पूरा भएको छैन, सहिदका सपना बाँकी नै छन् । हामीले केही पाउनुभन्दा जनक्रान्ति सम्पन्न हुनुपर्छ । यो अभियान रोकिनु हुँदैन ।’

‘अझै पनि मान्छे बाँकी रहेछन् ।’ थोरै भए पनि बर्मेली बुढालाई सन्तोष लाग्यो ।

‘बाबुहरु भोकै छौ होला ?’ बुढी आमाले सोधिन् ।

‘होइन आमा, हामीले खाएर आएका हौ ।’ महिलाले जवाफ दिइन् बर्मेलीको मन हलुंगो भयो । कथंकदाचित भोकै छौं भनेका भए उनीसँग खाना खान दिनका लागि केही थिएन ।

आगन्तुकले घरभित्र र बाहिर हेरे । जताततै फोहोरको डंगुर थियो । तिनीहरुले आँखाले केही संकेत गरे र युवतीले भनी, ‘आमा, हामीले घर सफा गर्छौं है ।’

‘भो पर्दैन, हाम्रा लागि किन दुःख गर्छौ ?’ बर्मेली बुढीको मुखले इन्कारीको भाषा बोले पनि मनले गरिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो । केटाकेटी भने काममा लागिसकेका थिए । उनीहरुले काम गर्न थालेपछि बुढी उठेर सघाउन खोजिन् तर ‘बस्नोेस् पर्दैन, हामी गर्छौं’ भन्दै युवतीले रोकी । भित्र सफा गर्ने क्रममा तिनीहरुले भित्रका सबै भाँडाकुँडा हेरे । अन्नका नाममा चार पाथी जति कोदो थियो । चामलको गेडो थिएन । दुई माना जति पिठो हुँदो हो ।

युवकले बाहिर निस्केर कसैलाई फोन ग¥यो । युवतीले यताउति हेरेर दाउरा जम्मा पारी र साँझपख दुईजना अरु मानिस आए । तिनीहरुले चामल र खाने तेल ल्याएका थिए ।

‘के खान्छौ बाबु हो, कोदो पनि पिसेको छैन ।’ बुढी आमा फटफटिन थालिन् ।

‘आमा, पिर नगर्नोस् । तपाईं बस्नोस् । खाना हामी बनाउँछौं । खर्चको व्यवस्था भइसकेको छ ।’

खाना खुवाइसकेपछि आगन्तुकहरुले तत्काल गर्नुपर्ने कामको विषयमा छलफल गरे । उनीहरुले घरनजिकै एउटा चर्पी बनाउने, दाउराको व्यवस्था गर्ने, कपडा धोइदिने कुरालाई प्राथमिकतामा राखे । अनि यहाँ पार्टी सेल बनाउनुपर्ने आवश्यकता देखियो । त्यसो भएमा सहिद परिवारको रेखदेख गर्न सहज हुन्थ्यो ।

भोलिपल्ट बिहानैदेखि तिनीहरु काममा जुटे । युवती कपडा धुनतिर लागी भने युवकहरु चर्पीका लागि खाल्डो खन्न थाले । खाल्डो बनाउनुपर्ने ढक्कन हाल्ने र माथि छाना समेत बनाउनुपर्ने हुँदा चर्पीको कामले तिन दिन खायो । चौथो दिन उनीहरुले खरबारीको एउटा रुख काटेर दाउरा बनाए । पाँचौं दिनमा तिनीहरु त्यहाँबाट हिँड्न तरखरमा थिए ।

‘तपाईंहरुसँग पार्टी छ, हामी छौं एक्लै नठान्नुहोला ।’ हिँड्ने बेलामा एउटाले भन्यो ।

‘महेशले त्यसै भन्थ्यो. ।’ बुढा भावुक भए ।

‘अहिले बारीमा मकै रोप्नुपर्छ खनजोत गर्न हामी आउँछौं ।’ अर्कोले भन्यो ।

‘बाबुहरु आउँदै गर्नुहोला ।’ बर्मेल्नी बुढीले भनिन् ।

‘चिन्ता नगर्नोस् आइरहन्छौं , हामी फेरि संगठित भएका छौं ।’

‘लौ त, हामी जान्छौं, बस्नोस् है त । त्यस्तो अपर्झट केही परेछ भने यो खर्च गर्नुहोला ।’ एउटा युवकले बर्मेली बुढाको हातमा एक हजारको नोट थमाइदियो ।

अनि तिनीहरु त्यहाँबाट बिदा भए ।

उनीहरुले आँगन छोड्ने बित्तिकै बर्मेली बुढाले तिनीहरु छाया जस्तो आकृति पनि देख्न छोडे भने बर्मेल्नी बुढीले पर नछोपिने बेलासम्म तिनीहरुलाई हेरिरहिन् ।

(Visited 32 times, 1 visits today)

टिप्पणी

comments