Main Menu

मतपेटिकाको सुरक्षा गर्न अध्यक्ष केपी ओलीको निर्देशन

मंसिर १७, माडी, चितवन

ballot-box-security-oli-ordersनेकपा एमालेका अध्यक्ष ओलीले मतपत्रको सुरक्षा गर्न एमाले र माओवादी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

चितवनको माडीमा आयोजित विशाल चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले मतपत्र र पेटिकाबाट ‘आँखा झिमिक्क’ हुन नदिन निर्देशन दिएका हुन् ।

“तपाईहरू सचेत हुनुहोस । मतपेटिकाबाट आँखा झिमिक्क हुन नदिनुस,” अध्यक्ष ओलीले भने, “ढुक्कसँग मतदान गर्नुस्, कसैले केही गर्न सक्दैन । एमाले र माओवादी एकसाथ छन । निर्वाचनमा केही तलमाथि गर्न खोज्नेले केही गर्न सक्दैन ।”

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको माडीको बसन्तपुरमा आयोजित सभामा अध्यक्ष ओलीले देशको स्वाभिमानका लागि, समृद्धि, विकास र लोकतन्त्रका लागि विगतका सबै कुरा बिर्सेर एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको निर्णय भएको बताए ।

“यो समृद्धिको महाअभियान हो ।” अध्यक्ष ओलीले भने, “यो अभियानमा सबै सक्रिय भएर लाग्नुस्, एक-दुई घण्टा हैन, रातदिन खटिनुस् ।”

अध्यक्ष ओलीले चितवन र माडीको विकासमा आफू सधै प्रचण्डको साथमा रहने बताए ।

“माडीलाई चितवनको मणि बनाउने प्रचण्डजीको घोषणा छ । त्यसमा म पनि साथमा छू,” उनले भने, “नाकाबन्दीको कठीन समयमा यो क्षेत्रले नै राजधानीलाई पालेको हो । तपाईंहरू ढुक्क हुनुस, चितवन र देशको विकासको गतिलाई अब कसैले रोक्न सक्दैन ।”

नेपाली काँग्रेसले प्रतिगामी राप्रपा पार्टीका उम्मेदवारलाई समर्थन गरेको टिप्पणी गर्दै अध्यक्ष ओलीले आम काँग्रेसका कार्यकर्तालाई अग्रगमनको पक्षमा मत दिन अनुरोध गरे ।

“तपाईंहरुलाई लोकतन्त्रको चिन्ता छ, समृद्धिको चिन्ता छ, विकास र जनताका समस्याको चिन्ता छ भने तपाईंको पार्टीले चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवार नउठाएकोमा दुःख नमान्नुस् । तपाईंका सबै अपेक्षा हामी पूरा गर्छौं, धक नमानी भोट दिनुस् ।”

(Visited 15 times, 1 visits today)

टिप्पणी

comments