Main Menu

कृषि/चिकित्सा विज्ञान

आयुर्वेद र नेपालमा हर्बल उद्योग स्थापनाको सम्भाव्यता

 

  • डा. अतुल उपाध्याय

पृष्ठभूमि

इतिहासलाई पल्टाउँदा हर्बल औषधिको परापूर्वकालदेखि अधिक मात्रामा प्रयोग भएको पाइन्छ, जसको ज्वलन्त उदाहरण हामीसामु रहेका परम्परागत हर्बल औषधिहरु हुन् । धेरैजसो विकासोन्मूख राष्ट्रहरुमा जनसंख्याको करिब ८० प्रतिशत मानिस आफ्नो स्वास्थ्य रक्षाको पूर्ति यिनै परम्परागत उपचार पद्दति र औषधीय गुण भएका बोटबिरुवाहरुबाट गर्ने गरेका छन् । आधुनिक चिकित्सा र परम्परागत उपचार पद्दति एकै सिक्काको दुई पाटाजस्तो रहेता पनि विविध ऐतिहासिक र साँस्कृतिक महत्वका कारण हर्बल औषधिहरुले अझै पनि चर्चा पाइरहेकै अवस्था छ । आयुर्वेदको प्रमुख फाइदा भन्नु नै बिरामी केन्द्रित उपचार प्रणाली हो, जसमा उनीहरुको शारीरिक एवं सर्वाङ्ग उपचार गरिन्छ भने आधुनिक चिकित्सा प्रणाली रोग केन्द्रित मात्र हुन्छ ।

हर्बल औषधि बजारले विश्वको करिब १ सय अर्ब अमेरिकी डलर ओगटेको पाइन्छ र वार्षिक रुपमा ५–१५ प्रतिशत का दरले बृद्धि भएको अनुमान गर्न सकिन्छ, जुन सन् २०५० सम्ममा ५ खर्ब अमेरिकी डलर पुग्ने देखिन्छ । विश्वबजारको ६ प्रतिशत हिस्सा चीनमा मात्र र १ प्रतिशत हिस्सा भारतमा कारोबार हुन्छ । हर्बल उत्पादनहरु विकाशशील राष्ट्रहरुमा आजभोलि आर्थिकरुपमा बढी सहज भएको देखिन्छ । आज हर्बल उत्पादनका सामाग्रीहरुको व्यापार पुराना उपचार प्रणालीभन्दा भिन्न प्रयोजनका लागि हुन्छ, उदाहरणस्वरुप रातो च्याउ (Ganoderma) को प्रयोग दीर्घायुका लागि, त्यस्तै विभिन्न ओखतीय तेलको सम्मिश्रणबाट तयार पारिएको सन्चो शरीरका विभिन्न दुखाइहरुमा प्रयोग हुन्छ ।

नेपाल सन्दर्भ

त्रिभुवन विश्विद्यालयको आयुर्वेद शिक्षण अस्पताल

नेपालमा परापूर्वकालदेखि आयुर्वेदिक पद्दतिसँग सम्बन्धित प्राकृतिक औषधिहरुको प्रयोग भएको पाइन्छ । विभिन्न रोगहरु जस्तै ज्वरो, मधुमेह, उच्च रक्तबोझ (उच्च रक्तचाप) र कलेजोको संक्रमण (जण्डिस) आदिको निदान परम्परागत तवरबाट हुने गरेको छ । विश्वभर हुने यस्ता पुराना जडीबुटी उपचार पद्दतिहरुमा विशेषतः चिनियाँ, जापानी र भारतीय औषधिहरु पर्दछन् । आज आएर, यूरोपियन यूनियन र उत्तर अमेरिकाजस्ता शक्तिशाली राष्ट्रहरु हर्बल औषधिप्रति आकर्षण देखाउँदैछन्, जुन पुराना उपचार पद्दतिको रहस्य र सो बुझ्ने इच्छाको प्रतिफल हो । यस्ता उत्पादनलाई आज वैकल्पिक, परिपूरक, समग्र र एकीकृत उपचार प्रणालीको संज्ञा दिइएको छ ।

नेपालमा केही वर्षयता आधुनिक चिकित्साको बढ्दो प्रयोग भएता पनि जनसंख्याको ठूलो अनुपातले अझैपनि पुराना उपचार पद्दतिको नै प्रयोग गरेको अनुमान छ, जुन नेपालको विशुद्ध साँस्कृतिक र धार्मिक पृष्ठभूमिको उपज मान्न सकिन्छ । आदिवासी र स्थानीय समुदायहरुले आजपनि शताब्दीदेखि चलिआएका स्थानीय नियम, संस्कार र रीतिरिवाजकै आधारमा पुराना मान्यतालाई आत्मसात गर्दछन् । विकट समुदायहरुमा आयुर्वेद चिकित्सकको माग बढ्दो छ, जसको कारण हो औषधिद्वारा हुने आधुनिक स्वास्थ्य सुविधाको अभाव र यसको बढी खर्चालु प्रवृत्ति । स्थानीय धर्मसंस्कार र चालचलनप्रतिको प्रगाढ विश्वासका कारण पनि पुराना उपचार प्रणाली यथावत् नै छ । शहरी क्षेत्रमा मानिसहरुमा आयुर्वेदप्रतिको विश्वास र अन्य एलोपेथिक औषधिको तुलनामा यस उपचार पद्दतिले न्यून वा शून्य साईड इफेक्टस् (उपचारपश्चात् असर) गर्ने छाप भएको हुँदा आयुर्वेद चिकित्सा नै खोज्छन् । विज्ञहरुको भनाइअनुसार पनि दीर्घरोगी, जसले आधुनिक चिकित्सा/उपचारबाट हार खाएका हुन्छन्, तिनीहरु आयुर्वेद औषधिलाई नै नयाँ आशा मान्दछन् । सरकारले आयुर्वेद र होमियोपेथी (यूनानी चिकित्सासमेत) स्वास्थ्य सेवा प्रणालीलाई प्रस्तुत एवं प्रदान गरेको पाइन्छ, जसमध्ये आयुर्वेद सेवा प्रदानकर्ताको सबैभन्दा ठूलो सञ्जाल र पहुँच छ । सारांशमा नेपाली स्वास्थ्य उपचार प्रणालीमा आयुर्वेदको ठूलो योगदान रहेको छ र उपचारका दृष्टिले पनि हालसम्म सफल नै देखिन्छ ।

नेपालका हर्बल उद्योगहरु

नेपाली हर्बल उद्योगबाट मूलतः जडीबुटी र ओखतीय तेल निर्यात हुने गर्दछ, जुन अरु विभिन्न उपभोग्य वस्तु उत्पादनका कच्चा पदार्थ हुन् । सिंहदरबार वैद्यखाना नेपालको एकमात्र सरकारी स्वामित्व भएको आयुर्वेद औषधि उत्पादन र प्रशोधन ईकाइ हो । नेपालबाट वर्षेनी करिब ६ हजार टन हर्बल उत्पादनहरु भारत, चीन, सिंगापुर र यूरोपियन राष्ट्रहरुमा निर्यात हुने गर्दछन् । निर्यातित यस्ता उत्पादनहरु कच्चा, पूर्ण उत्पादित वा अर्द्ध –उत्पादित अवस्थामा हुने गर्दछन् । सन् २०१२–१३ मा नेपालले हर्बल उत्पादनबाट १२.७ लाख अमेरिकी डलर आर्जन गरेको छ, जुन विश्वबजारको ०.०१ प्रतिशत मात्र हो । धेरैजसो यी उत्पादनमा वनस्पतिजन्य तेल हुन्, विशेषतः लेमनग्रास (Cybopagon flexuosus),  क्यालामस (Acaras calamus), दालचिनी (Cinnamomum tamala), तुलसी (Ocimum basilicum), सिट्रोनिला (Cymbopogon winterianus), आदि पर्दछन् । हर्बल उत्पादनसँग सम्बन्धित करिब ५० औषधालय र ३ सय तालिम कम्पनीहरु देशमा स्थापित छन् । धेरैजसो यी संस्थाहरु चिराइतो (Swertia chirayita), लौठ सल्ला (Taxus spp.), मजिठो (Bubico cordifolia), हर्रो (Terminalia chebula), पिप्ला (Piper longum) जस्ता वनस्पतिमा संलग्न छन् । अझ भन्नुपर्दा, केही व्यक्तिगत आयुर्वेदिक क्लिनिक, अस्पताल र मेडिकल कलेजहरु पनि बिस्तारै चर्चामा आइरहेका छन् । मूलतः आधुनिक औषधिबाट असन्तुष्ट बिरामी जो दैनिक आचरणका र दीर्घरोग जस्तै क्यान्सर, मधुमेह र उच्चबोझ जस्ता समस्याबाट ग्रसितहरुका लागि खोलिएका हुन् । यस्ता अस्पतालबाट आयुर्वेदिक औषधिहरु सेवनका लागि निर्देश भएको कारणले पनि हर्बल उत्पादनको स्वदेशभित्रै पनि माग उच्च रहिआएको छ ।

समस्याहरु

उचाइको फराकिलो भिन्नताले  विकास भएको अलौकिक जैविक विविधता एवं भिन्न हावापानीका कारण नेपालमा जड औषधीय महत्व बोकेका वनस्पतिहरुको विकास गर्न मद्दत गरेको छ । हालैको आर्थिक सर्वेक्षणले देशको पूर्वी, मध्यपश्चिम र सुदूरपश्चिमका क्षेत्रहरुमा जडीबुटीको बाहुल्य देखाएको छ । यी क्षेत्रहरुमा मरमसला र हर्बल उत्पादनको बजारीकरणबाट ठूलो मात्रामा आम्दानी भएको छ । यद्यपि, यस आयआर्जनमा केही व्यक्तिगत समूह मात्र सिमित छन् र एक वा थोरै जडीबुटीलाई मात्र उपयोग गरेको पाइन्छ । भारत, चीन र जापानजस्ता मुलुकहरुमा माथि उल्लेखित पुराना चिकित्सा र शैलीहरु पूर्णरुपमा वा अर्द्धरुपमा व्यापारीकरण भएका छन् भने नेपालको यो अवस्था अझै दयनीय छ । अझ मापदण्डरहित जडिबुटीको निर्यात, अवैध बजारीकरण र जडीबुटीको अवैज्ञानिक टिपाइका कारण समस्या झन् बिकराल बन्दै गएको छ । विशेषगरी, सरकारको उदासीनता, प्रचारप्रसारमा कमी र रोकावट, अपर्याप्त लेखाजोखा र अभिलेखीकरण, पूर्वाधारको अभाव र वैज्ञानिक तथ्यहरुको कमीका कारण पनि यस्तो अलपत्र अवस्था रहिआएको छ ।

अर्को प्रमुख समस्या, विवेकपूर्ण धनको अधिकार (Intellectual Property Rights, IPRs) हो, जुन एक निहीत व्यक्ति वा संस्थाको औषधिजन्य वनस्पतिको सम्भाव्य प्रयोगको अनुसन्धान गरेबापत् पाउनुपर्ने वैधानिक अधिकार हो । जडीबुटीसम्बन्धी ज्ञान कुनै स्थानीय भाषा बोल्ने परिवार, छुट्टै मूल वा संस्कृति भएको समाजमा मात्र सिमित भएको र आनुवांशिकरुपमा हस्तान्तरण हुने हुँदा यसको वैज्ञानिकरुपमा लेखाजोखा हुन सकेको छैन । पुरातात्विक ज्ञान नभएको व्यक्ति वा समूहमा उक्त अधिकार निहीत हुनसक्ने समस्या पनि महत्वपूर्ण देखिन्छ । पुर्ख्यौली ज्ञान नभएका मानव जमातमा लाभांश बाँडफाँड नभएको खण्डमा समस्या अझ जटिल बन्दछ । भारतीय भूमिमा उब्जेका वनस्पतिलाई अमेरिकी पेटेन्ट अधिकार दिइएको उदाहरणलाई हेर्ने हो भने नेपालको अवस्था पनि नाजुक देखिन्छ ।

हर्बल उद्योग स्थापनाको सम्भाव्यता

नेपालको सम्पन्न जैविक प्रणालीले आयआर्जनको प्रबल सम्भावना बोकेको छ । तसर्थ, जडीबुटीहरुको गुण र महत्वलाई संरक्षण गर्नु आर्थिक दृष्टिकोणबाट पनि प्रभावकारी हुन्छ । विविध पुर्ख्यौली एवं साँस्कृतिक महत्वका ज्ञान, जस्तै तयार गर्ने विधि, वनस्पतिका विभिन्न भागहरुको प्रयोगजस्ता पुरातात्विक महत्व बोकेका ज्ञान र सिपको संरक्षण हुन अत्यावश्यक छ । अन्य मुलुकको तुलनामा नेपालमा हर्बल औषधि उद्योग धेरै हदसम्म पिछडिएको छ । यसर्थ, भविष्यको मागलाई मध्यनजर गर्दै जडीबुटीको अर्ध वा पूर्ण स्केलको बीजारोपण गर्नुपर्दछ । हर्बल उत्पादनको बढ्दो विश्व बजारीकरणले गर्दा लगानी गर्न  उपयुक्त वातावरणको सिर्जना भएको छ । फलस्वरुप एक बहुआयामिक मैत्रीपूर्ण लगानीको आवश्यकता देखिन्छ, जसमा पुराना कृषि शैलीको आधुनिकीकरणदेखि लिएर प्रशोधित हर्बल उत्पादनको उत्पादन प्रकृया एवं बजारीकरणसम्मका विषयहरु समावेश गरिनुपर्ने हुन्छ ।

हर्बल उद्योग स्थापनाका लागि विचार गरिनुपर्ने पक्षहरु

१) नियमन (कार्यान्वयन) का विषयहरु

हर्बल औषधिको नियमन (कार्यान्वयन) पक्ष यी उत्पादनको प्रयोग र अनुभवमा सोझै सम्बन्ध राख्ने हुनाले ज्यादै अप्ठ्यारो र चुनौतिपूर्ण हुन्छ । केही राष्ट्रहरुमा हर्बल औषधिका कडा मापदण्डहरु तोकिएका छन् । तर, सबैतिर यो लागु हुँदैन । जर्मनीमा हर्बल उत्पादनहरु “फाइटोमेडिसिन” अन्तर्गत विक्री हुन्छन् । र, यिनीहरु अन्य औषधिजन्य उत्पादनको जसरी नै सुरक्षा, गुणस्तर र मापदण्डसँग जोडिन्छन् । संयुक्त राज्य अमेरिकामा प्रायःजसो हर्बल उत्पादनहरु “खाद्यपूरक” का रुपमा बजारीकरण हुन्छन् । यो एक यस्तो उत्पादन समूह हो, जसलाई माथिका मापदण्डसँग कुनै पनि किसिमको पूर्वस्वीकृति आवश्यक हुँदैन । आयातित वस्तुहरुमा यस्ता मापदण्डहरु अंग्रेजीमा नै पूर्ण उल्लेखित हुनु ऐनअन्तर्गत पर्दछ । स्वास्थ्य मन्त्रालय अन्तर्गत खटिएको ईकाइले हर्बल औषधिको विक्री वितरणको नियमन (कार्यान्वयन) पक्षको जिम्मेवारी लिने गर्दछ, जसले यी उत्पादनहरु प्रयोग गर्नका लागि पूर्णतयाः सुरक्षित छन् भन्ने विश्वास दिन सक्नुपर्दछ । सुरक्षित हर्बल उत्पादनका लागि सुरक्षाका वैधानिक मापदण्डहरु “लेबलिङ्ग” मा उल्लेखित हुनुपर्दछ र कार्यान्वयनको पक्ष संगठित र कार्यविधि समेटिएको हुनुपर्दछ ।

वनस्पतिको प्रशोधन र निर्यात सम्बन्धी राष्ट्रको आ–आफ्नै नीति हुने गर्दछ । नेपालमा केही वनस्पति संकलन एवं निर्यातका लागि प्रतिबन्धित छन्, जस्तै, पाँचऔंले (Dactylorhiza hatagirea), ओखरको बोक्रा (Juglans regia), कुट्की (Picrorhiza scrophulariiflora), आदि । अरु वनस्पति बिना प्रशोधन निर्यात गर्न प्रतिबन्ध छ, जस्तै – जटामशी (Nardostachys grandiflora), सर्पगन्धा (Rauvolfia serpentina), झ्याऊ (Lichen spp.), आदि । यसैगरी, केही वनस्पतिको रुख काट्न, ओसारपसार र निर्यातमा रोक लगाइएको छ, जस्तै – चाँप (Michelia champa), खयर (Acacia catechu), साल (Shorea robusta), सिमल (Bombax ceiba), ओखर (J. regia) आदि ।

२) जडीबुटीको बृद्धि 

हर्बल उद्योग सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भन्नु नै कुनै पनि क्षेत्रमा हुने सबैभन्दा क्षमतावान वनस्पतिको छनौट हुने गर्दछ । निश्चित वनस्पति कुनै पनि तोकिएको धरातल र हावापानीमा सप्रिएर उम्रन्छ ।

ओखतीय महत्व भएको जडीबुटीको बृद्धि र विकासमा त्यसको माटोको भौतिक–रासायनिक विशेषताहरुको ठूलो हात हुन्छ । तसर्थ, तोकिएको क्षेत्रको लागि गरिने वनस्पतिको छनौट औद्योगिक प्रयोजनको दृष्टिले धेरै महत्वपूर्ण हुने गर्दछ । अझ महत्वपूर्ण पक्ष त वनस्पतिलाई त्यसकै प्राकृतिक धरातलमा सप्रिन दिने हो भने मात्र हामीले हर्बल उत्पादनमा इच्छित फलोत्पादि पाउन सक्छौं । हर्बल उद्योगहरुसँग भरपूर खुल्ला जमिन/भूमि हुन जरुरी हुन्छ, जसले गर्दा प्रशोधनका निम्ति कच्चा पदार्थको सहज आपूर्ति गर्न सकियोस् ।

३) गुणस्तरीय उत्पादन

कुनै पनि प्रशोधन उद्योगका लागि गुणस्तरीय उत्पादनको महत्व सदैव हुन्छ । अझ हर्बल उत्पादन सिधै मानव स्वास्थ्यको सरोकारको विषय भएका कारण उत्पादित वस्तुको गुणस्तरमा विशेष निगरानी राख्न जरुरी हुन्छ । हर्बल उत्पादनको गुणस्तर त्यसको नीति, नियम, मापदण्ड निर्धारण र व्यवहारिक पक्षहरुमा भर पर्दछ । भारत र चीनजस्ता राष्ट्रहरुले हर्बल उत्पादनको मापदण्डहरुलाई बढावा दिइसकेको छ । एक वा सोभन्दा बढी जडीबुटीको उचित मात्रा मिलाएर बनाइने हर्बल सम्मिश्रणबाट हर्बल उत्पादन तयार गरिन्छ । नेपालबाट मापदण्ड नभएका कच्चा पदार्थहरु निर्यात गरिन्छ भने भारतले मापदण्डरहित कच्चा पदार्थको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

४) हर्बल उत्पादनको उपभोग 

हर्बल उत्पादनहरु विविध तवरले उपयोग भइरहेका छन्, जस्तै, दवाइ पसल (over the counter medicine), स्व-उपचार (self-medication), घरेलु उपचार, पूरक खाद्य सामाग्री, स्वास्थ्यवर्द्धक खाना, (functional foods वा phytoprotectant) । कुनैपनि उद्योग स्थापनाको सबैभन्दा महत्वपूर्ण पक्ष त्यसबाट गर्नसकिने आम्दानी नै हो । विगतका केही दशकदेखि हर्बल उत्पादनको उपभोगमा बिस्तारै सुधार देखिएकाले भविष्यमा यसले राम्रो बजार लिनसक्ने सम्भावना पनि कायम रहेको पाइन्छ ।

५) विकासका लागि खोज तथा अनुसन्धान (Research for Development, R4D)

त्रिभुवन विश्विद्यालयअन्तर्गतको आयुर्वेद रिसर्च सेन्टर

हर्बल उद्योग दिगो विकासका निम्ति खोज एवं अनुसन्धानको ठूलो भूमिका रहन्छ । हाल कृषि क्षेत्रमा भइरहेका खोज र अनुसन्धान “विकासका लागि कृषि” मा केन्द्रित छ । जुन दुबै अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गरेर गर्न सकिन्छ । “विकासका लागि कृषि”का तत्कालीन योजनामा (क) उत्पादनको सुरक्षा, सामर्थ्यता/प्रभावकारिता र गुणस्तरमा प्रतिबद्धता, र (ख) दाबी गरिएका मामिलाहरुमा वैज्ञानिक तथ्यको व्यवस्था पर्छन् । अर्कातिर यसका दीर्घकालीन योजनाहरु निम्न प्रयोजनाका लागि बनाइएका छन् –

(क) हर्बल उद्योगलाई विश्वबजारसम्म पुर्याउन मद्दत गर्न,

(ख) स्थानीय जडीबुटीबाट नौला र अद्भूत औषधिको उत्पादन, र

(ग) गुणस्तरीय कच्चा पदार्थ र हर्बल वनस्पतिको सहज र निरन्तर आपूर्तिको सुनिश्चितताको लागि

६) दवाइका नचाहिने नकारात्मक असरहरु

नेपालमा औषधि र स्वास्थ्यसम्बन्धी उत्पादनहरुको व्यवस्था स्वास्थ्य मन्त्रालयद्वारा गरिन्छ । तर, कहिलेकाहिँ अन्य प्रतिकुल उत्पादनहरु पनि उपभोक्तामाझ उपलब्ध हुने हुँदा ती वस्तुहरु डाक्टर वा औषधि बिक्रेताको निगरानी बिना नै किन्ने चलन पनि छ । यो केही आपत्तिजनक छ । कुनैकुनै जडीबुटीहरुमा केही सक्रिय पदार्थको प्रयोग गरिएको हुन्छ, जसले उपभोक्तामा नकारात्मक असरहरु देखाउन सक्छ । यसकारण, उपभोक्ताहरुले आधिकारिक व्यक्तिको निगरानीमा मात्र यस्ता उत्पादनहरु किन्नुपर्ने हुन्छ, जसले गर्दा उपभोक्ताहरु आफ्नो अवस्थाका बारेमा यकिन जानकारी र सुझाव पनि पाउन सक्छन् । उत्पादित वस्तु नियन्त्रण गर्नुपर्ने नभएता पनि त्यसमा उपयुक्त सूचनाहरु सम्बन्धित स्थानमा राखिनुपर्छ । कहिलेकाहीँ अनुपयुक्त प्रिन्टीङ्ग र साना अक्षरका कारण उपभोक्ताले सूचनाहरु पढ्न र देख्न नसकेको विज्ञहरुको धारणा छ ।

७) आयातित जडीबुटी र वर्तमान बजारको अवस्था 

नेपालमा आयता भएका जडीबुटीहरुको अवस्था भयावह छ । वर्तमान बजारको अवस्था हेर्दा स्थानीय बजारमा भएको आपूर्तिको कमीले आयात हुने जडीबुटीको माग बढ्दो छ । भारतीय आयुर्वेदको अत्याधिक प्रचार र पतञ्जली, डाबर, हिमालय, हमदर्द, वैद्यनाथजस्ता भारतीय कम्पनीहरुको नेपाली बजारमा रहेको विशेष प्रभावका कारण नेपालको अर्थको ठूलो हिस्सा यी क्षेत्रहरुमा खर्चिनुपरेको छ ।

८) मूल्य निर्धारण 

जडीबुटीको दीर्घकालीन माग र प्रयोगमा मूल्यको भूमिका अहम् हुन्छ । अनुसन्धानबाट बजारहरुको क्षमताको आधारमा धेरैभन्दा धेरै बोटानिकल केन्द्रहरुको स्थापना हुन जरुरी देखिए तापनि यसको लागत ठूलै हुन आउँछ । यद्यपि, सक्रिय हर्बल तत्वहरुको सम्मिश्रण नै उत्तम सिद्ध भएको छ ।

९) प्रविधि 

नेपाल अरु राष्ट्रको तुलनामा हर्बल औषधिको प्रविधिमा निकै नै पछाडि छ । विभिन्न उपलब्ध प्रविधिहरुमध्ये प्रशोधन र उत्खनन् प्रविधिको हर्बल उद्योग स्थापनामा विशेष भूमिका रहन्छ । प्रभावकारी प्रशोधन र उत्खनन् विधिले ‘Phytopharmaceuticals’ को क्षति रोक्नमा मद्दत पुर्याउँछ ।

१०) मानव श्रोतसाधन 

जडीबुटीको क्षेत्रमा दक्ष र सक्षम जनशक्तिको तत्काल र पेशागतरुपमा सम्बोधन हुनुपर्ने देखिन्छ । नेपाल सरकारको यस कार्यमा अहम् भूमिका रहन्छ । नेपाल सरकारबाट खोज तथा अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन दिइरहेको भए पनि, नेपाल अझै प्रतिस्पर्धिहरु, मुख्यतः आफ्ना छिमेकीहरुको तुलनामा पछि नै परेको छ ।

११) सञ्चार 

नेपालमा हर्बल उद्योगको स्थापनामा टेवा पुर्याउन सञ्चारको त झनै महत्वपूर्ण योगदान रहन्छ । विशेषरुपमा सहभागितामूलक कृयाकलापलाई बढावा दिने सञ्चारमाध्यमहरुबाट राम्रो नतिजाको आशा गर्न सकिन्छ । सञ्चारमाध्यमहरुले सक्रियरुपमा जनचेतना फैलाउन, ज्ञानको आदान–प्रदान गर्न र अभिलेखीकरण (वृत्तचित्रको माध्यमबाट) एवं ज्ञानको संग्रहमा भूमिका खेल्दछन् । सञ्चार भनेको यस्तो चीज हो, जसको माध्यमबाट अनपढ मानिसले पनि धेरै शिक्षा लिन सक्छ; यो खुल्ला किताबजस्तै हो ।

तत्कालीन मागहरु (अत्यावश्यक मागहरु) 

(क) विवेकपूर्ण धनको अधिकार (Intelectual property rights, IPRs)

देशमा IPRs र पेटेन्ट (सर्वाधिकार) हकको सुनिश्चित गर्ने प्रभावकारी प्रणालीको स्थापना हुन जरुरी छ । IPRs मौलिक ज्ञानलाई कानुनी हक दिलाई व्यक्तिको विचार, सिर्जना र कृयाकलापहरुलाई प्रोत्साहन दिई थप ज्ञानको सञ्चारमा मद्दत पुर्याउँछ । त्यसैगरी, जडीबुटीमूलक वनस्पतिहरुको संरक्षण गरी श्रोत र साधनहरुको दीर्घकालीन समायोजन, उत्पादन र मुनाफा बढाउन समेत यसले सहयोग पुर्याउँछ । विश्वभर पाइने ७ हजार प्रजातिको जडीबुटीहरुमध्ये करिब ३ सय प्रकारका जडीबुटीहरु नेपालमा नै विशेषतः पाइने भएकोले पनि यस्ता वनस्पतिहरुको IPRs दिलाउन सम्बन्धित सरोकारवालाहरुको तुरुन्त ध्यानाकर्षण हुन जरुरी छ ।

(ख) Pocket उद्योग

वर्तमान सन्दर्भमा लेखकद्वारा नेपालको पूर्वीय र पश्चिमी पहाडी जिल्लाहरुमा गरिएको संरक्षणले निम्नस्तरका उद्योगहरुको स्थापनासम्बन्धी नवीन धारणा उजागर भएको छ । ताप्लेजुङ्ग जिल्लामा अत्याधिकरुपमा पाइने चिराइतो छिमेकी मुलुक भारतमा न्यून मूल्यमा विक्री गरिन्छ । तसर्थ, यस जिल्लामा सानो स्तरको चिराइतो प्रशोधन उद्योग स्थापना गर्न जरुरी छ । यसले जडीबुटी प्रशोधन र मापदण्ड निर्धारणमा केन्द्रित रहेर दोहोरो फाइदा पुर्याउँछ । प्रथमतः हजारौं जडीबुटीहरु कच्चा पदार्थको रुपमा ओसारपसार हुने क्रम घटी प्रशोधित पदार्थहरुको मात्र बिक्री हुन्छ । फलस्वरुप मापदण्डयुक्त प्रशोधनबाट हुने आम्दानी कच्चा पदार्थबाट हुने आम्दानीभन्दा कैयौं गुणा धेरै हुन्छ । यस्ता निम्नस्तरका उद्योगहरुले निर्धारित क्षेत्रहरुमा जडीबुटीहरुको थप उत्पादनमा मद्दत पुर्याई आम्दानीको आयाम पनि बढाउँदछ ।

(ग) मानव श्रोत साधन (Human Resources)

नेपालको सामाजिक र आर्थिक विकासमा दक्ष जनशक्तिको कमीले बाधा पुर्याएको छ । जनशक्तिको कमी हुनुमा शिक्षित र बौद्धिक जनशक्तिको विदेश पलायन नै प्रमुख कारण हो । नेपालमा हाल आयुर्वेदको क्षेत्रमा कार्यरत वैद्य, डाक्टर र परम्परागत आरोग्यकर्ता प्रमुख छन् । साथै, यहाँ न्यून संख्यामा रहेका कृषि अनुसन्धान केन्द्रहरु, जस्तै – सरकारी स्तरमा नेपालमा कृषि अनुसन्धान केन्द्र (नार्क) तथा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गतका शैक्षिक संस्थाहरुले जडीबुटीको क्षेत्रमा मुलभूत खोज एवं अनुसन्धान गर्दछन् । खोजकर्ताहरुको प्रयासलाई प्रोत्साहन गर्नेखालका पर्याप्त लगानीको अभावले यो जनशक्तिको समूह पनि विदेशिने अवस्था देखिएको छ । यसैगरी, अनुसन्धानबाट प्राप्त तथ्यहरु रिपोर्ट प्रकाशनमा मात्र सिमित रहेको छ । यसको मुख्य कारण, कृषि वैज्ञानिक, परम्परागत आरोग्यकर्ता लगायतका आयुर्वेद सम्बद्ध व्यक्तित्व, Pharmacologists तथा बजार विश्लेषक बीचको प्रभावकारी सञ्चार र सहकार्यको अभाव नै हो । तसर्थ, व्यक्तिगत र सार्वजनिक स्तरबाटै जडीबुटीको क्षेत्रमा व्यवसायिकतालाई मद्दत पुर्याउने किसिमका बहुआयामिक अनुसन्धानमूलक सोचको विकास हुन तत्काल आवश्यक देखिन्छ । फलस्वरुप, भविष्यमा खोलिने संस्थाहरुलाई जोखिम बहन गर्नसक्ने क्षमता, आर्थिक समृद्धिको दीर्घकालीन योजना तथा रोजगारका नयाँ अवसरहरुको सिर्जना गर्न मार्ग प्रशस्त बन्न सक्दछ ।

(घ) विश्व बजारीकरण (International Marketing)

भौगोलिक दृष्टिबाट अत्यन्त अनुकूल नेपाल जैविक विविधतामा धनी छ । साथै, प्रदूषण र विकिरण न्यून भएका कारणले पनि नेपालका जडीबुटीहरुको विश्व बजारमा प्रचुर सम्भावना रहेको छ । विभिन्न देशहरुको हर्बल उत्पादनहरु अमेरिका र यूरोपका बजारमा उपलब्ध भए पनि अन्तर्राष्ट्रिय बजारमा नेपालका उत्पादनहरुको पहुँच सीमित र न्यून संख्यामा रहेको छ । हालै मात्र, नेदरल्याण्डमा रहेको महाऋषि यूरोपियन अनुसन्धान विश्वविद्यालयले संयुक्तरुपमा आयोजना गरेको आयुर्वेद काँग्रेसमा नेपालका जडीबुटीहरुको महत्वमाथि प्रकाश पारिएको थियो । यसले नेपालको जडीबुटीहरुलाई विश्व बजारमा आफ्नो स्थान दिएको छ । तसर्थ, सरकारी र सम्बन्धित निकायहरुले आफ्ना नीति तथा कार्यक्रमहरुमा यस विषयलाई विशेष स्थान र प्राथमिकता दिन जरुरी छ ।

सारांश

बृहद् जैविक विविधता, न्यून प्रदूषण र लगभग शून्य विकिरणका कारण आयुर्वेदिक सिद्धान्त अनुसार हर्बल उद्योगहरुको स्थापनाको सम्भाव्यता नेपालमा प्रचुर मात्रामा छ । कुनै हर्बल उद्योगको स्थापनापूर्व त्यसका विषयवस्तु, समस्याहरु र सम्भावित बजारको खोजी हुनुपर्दछ । यसका महत्वपूर्ण पक्षहरुमा नियमनका विषयहरु, हर्बल उत्पादनको उपभोग, विकासका लागि कृषि, अवधारणा, प्रविधि र मानव श्रोतसाधन आदि पर्दछन् । यसैगरी, क्षमतावान वनस्पतिको छनौट वैज्ञानिक एवं धरातलीय संरचनाको दृष्टिकोणबाट राम्ररी अनुसन्धान गरिनु पर्दछ । यस्ता विविध पक्षहरुलाई मध्यनजर गर्दै नेपालमा हर्बल उद्योग एक उच्च बृद्धिको सम्भावना बोकेको रणनीतिक उद्योग बन्न सक्दछ, जसले विकट क्षेत्रमा रहेका गरिब र निमुखाको आर्थिकस्तर उकास्नलाई ठूलो टेवा पुर्याउँछ ।

(लेखक विगत ८ वर्षदेखि नेपाली तथा विदेशी जडिबुटीमा अध्ययन एवं अनुशन्धान गर्दैछन् ।)

email: [email protected]

(Visited 666 times, 1 visits today)

टिप्पणी

comments