Main Menu

विभिन्न जिल्लाका एनसेल टावरमा आक्रमण

१ फागुन, 

attack-in-ncell-towers-of-different-districtsपूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ ।

रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो ।

विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उनले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।

प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्ड नराखेका कारण सुरक्षा समस्या देखिएको बताए ।

घटनापछि आफूले पूर्वी क्षेत्रमा रहेका अधिकांश बिटिएस निरीक्षण गर्दा सुरक्षाको व्यवस्था सम्बन्धित कम्पनीले नगरेको पाइएको उनले बताए ।

नुवाकोटको विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ ।
साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ । एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट रु. १५ लाख बराबरको क्षति पुगेको छ । आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।
रोल्पा–सोमबार राति माडी गाउँपालिका–६ कोर्चवाङमा शक्तिशाली बम प्रहार गरी एनसेलको टावर क्षतिग्रस्त गराइएको छ । राति करिब १२ बजे बम विस्फोट गराइएको प्रहरीले बताएको छ । बम विस्फोटबाट मिनहीमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिए । ठूलो आवाजमा बम विस्फोट भएपछि आफूहरु त्रसित भएको स्थानीयवासीले बताएका छन् ।

बम विस्फोटको जिम्मेवारी यो समाचार तयार पार्दासम्म कसैले लिएको छैन । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै यसअघि नेकपाले यस्तै प्रकृतिको घटना गराएकाले यस पटकको विस्फोटमा पनि सोही पार्टीकै हात हुनसक्ने आशंका गरिएको छ । 

(Visited 36 times, 1 visits today)

टिप्पणी

comments