Main Menu

पूँजीवादी मिडिया व्यवस्थासँग के सिक्नुपर्छ, के सिक्नु हुन्न ?

‘प्रगतिशील’ मिडिया खोइ ?

प्रत्युष वन्त

प्रत्युष वन्त

करिब पाँच वर्षअगाडि मूल्यांकनमा नारायण गोपालबारे एउटा वहस प्रकाशित भएको थियो । धेरै नेपाली मार्क्सवादीहरुका गुरु (तर हालका वर्षहरुमा वैचारिक दृष्टिकोणले प्रायः चुपचाप बसेका) गोविन्द भट्टले नारायण गोपाल नेपाली बुर्जुवा संगीत तथा गायन संसारका हिरो त भए तर उनले ‘जनताको गीत’ गाउन सकेनन् भन्ने विचार व्यक्त गरेका थिए । ‘जनताको गीत’ गाउन अभिप्रेरित गर्ने काम नेपाली ‘प्रगतिशील’ संगीत तथा गायन क्षेत्रबाट हुनसकेको भए नारायण गोपालले पनि ‘जनताको गीत’ गाउने थिए भन्ने विचार भट्टको थियो । ‘जनताको गीत’ भन्ने वस्तुको सार व्याख्यापट्टि नगई सोही बहसमा अर्का नेपाली मार्क्सवादी गुरु खगेन्द्र संग्रौलाले प्रश्न सोधेका थिए– नारायण गोपालका जुन गीतहरुलाई नेपालीहरुले मन पराए, तिनमा के त्यस्तो तत्व थियो, जसले गर्दा गायक नारायण गोपाल नेपाली संगीत तथा गायन फाँटमा विशाल व्यक्तित्व बन्न सफल भए ? अर्थात् ‘जनताको गीत’ भनेर मन्त्र जप्ने नेपाली प्रगतिशील कलाकर्मीहरुले नारायण गोपालको ख्याती र नेपालीहरुले उनलाई मन पराउनुको कारणको जगमा के छ, बुझ्न आवश्यक छ भन्ने संग्रौलाको तर्क थियो । नयाँ अप्ठ्यारा प्रश्न सोधी एमाले आनन्ददेव भट्ट र माओवादी प्रचण्डसम्मलाई आफ्नो लेखन र विचारपट्टि ध्यान आकर्षित गर्न सफल भएका संग्रौलाको यो प्रश्न भने पाँच वर्षसम्म अनुत्तरित नै छ । शुरुमा त म अलि छक्क परेको थिएँ । विचार, प्रवाह र बहस प्रगतिशील लेखन तथा कला फाँटका मुख्य आधार हुन् भन्ने भ्रमबाट अलि बढी ग्रसित नेपाली मार्क्सवादी संसारका सिकारु अध्येता चारपाँच वर्षअगाडि संग्रौलाको प्रश्नमाथि अरु कसैले केही नबोलेको देख्दा केही छक्क पर्नु त्यति अस्वभाविक त होइन । आज चाहिँ म छक्क पर्न छोडेको छु । आखिर बुझ्दै जाँदा नेपाली प्रगतिशील लेखन तथा कलाक्षेत्र पूँजीवादीहरुलाई सबैथरिका पगरी लगाई दिन अति च्याम्पीयन तर आफ्नै हिसावले सार्थक विकल्पहरु निकाल्न असक्षम रहेछ भन्ने निष्कर्ष निकाल्नुपर्ने अवस्थामा पुगियो ।

हाल म काम गरिरहेको मिडिया क्षेत्रबाट एक दुई उदाहरण पेश गर्दा पनि यो कुरा प्रष्ट हुन्छ । नेपाली ‘प्रगतिशील’हरुले दुईथरिका मिडियाहरुको प्रशस्त आलोचना गरेका छन्– ठीकठीक कारणहरुको लागि । पहिलो राष्ट्रको नोकरशाही मिडिया र दोस्रो स्वतन्त्र बजार व्यवस्थामा आधारित पूँजीवादी मिडिया । गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा पंचायती र ‘बहुदलीय’ तर सरकारमा बसेको पार्टीको भक्ति सम्झदा राष्ट्रको नोकरशाही मिडियामाथि ‘प्रगतिशील’हरुको प्रहार ठीक लाग्छ । त्यस्तैगरी जोखिम उठाउन नचाहने र सधैं आफ्नो व्यापारिक उद्देश्यको सुरक्षाबाट अभिप्रेरित नेपाली पूँजीवादी प्रिन्ट मिडियामाथिको ‘प्रगतिशील’ प्रहार पनि ठीक ठाउँमा छ । तर, ‘प्रगतिशील’हरु भनाउँदाले चाहिँ के विकल्प पढ्ने त भनेर हेर्दा मिडिया क्षेत्रमा त्यस्ता विकल्प देखा पर्दैनन् ।

‘प्रगतिशील’ लेखन तथा कलामा संलग्न व्यक्तिहरु सोझै वा परामर्शदाताको रुपमा संलग्न रहेका नेपाली कम्युनिष्ट पार्टीहरुमा मुखपत्रहरु वा वामपन्थी तथा प्रगतिशील पत्रिकाहरुभित्र घोर नोकरशाही संस्कृति हाबी छ । ती पत्रिकाहरुमा लेखन वा कलाको हिसावले थोरै सृजनात्मक ठाउँ छ, असहमत विचार राख्ने लेखकहरुलाई कति असहज छ भन्ने कुरा बुझेका व्यक्तिहरुले यो निष्कर्ष निकाल्नै पर्छ कि यो दर्जाका प्रकाशनहरु र राष्ट्रिय नोकरशाही मिडियाहरुको संस्कृतिमा खासै केही अन्तर छैन । उसो भनेर गैरपार्टी र गैरसरकारी मिडियामा ‘प्रगतिशील’ रेकर्ड कस्तो छ ? गैरपार्टी ‘प्रगतिशील’ हुन सकिन्छ भन्ने बारेमा नेपाली वामपन्थी आन्दोलनभित्रको अन्यौल विशाल छ र मिडियाको क्षेत्रमा यसको प्रयोग न्यून छ । गैरसरकारी भन्ने सुन्ने वित्तिकै नेपाली ‘प्रगतिशील’हरु ‘साम्राज्यवादी एजेन्ट’ तक्मा भिराउन आतुर हुन्छन्– त्यो क्षेत्रको मिडियाले दिन सक्ने पहुँचको बारेमा सोच्दै नसोची पूँजीवादी मिडियाबारे १२ पेज खण्डन गर्न सक्ने नेपाली ‘प्रगतिशील’हरुको झुण्ड झुण्डहरु रेडियो सगरमाथामा समय उपलब्ध हुँदा १२ मिनेटको प्रोगाम आउन अग्रसर नभएको कुराबाट पनि मेरो तर्क पुष्टि हुन्छ ।

पूँजीवादी मिडियाले बजारबारे जे भोग्दछ र त्यस व्यवस्थाअन्तर्गत सफल हुन व्यवस्थामा जे जे सीपहरु चाहिन्छन्– तिनको ख्याल राख्दै ‘प्रगतिशील’ विचार अगाडि बढाउन तम्सने अन्तर्क्रिया प्रकाशनले हालैका दिनहरुमा आफ्नो प्रकाशन संस्थालाई जुन दिशातर्फ जान खोजेको छ, त्यसबाट पनि ‘प्रगतिशील’ विकल्पहरुको सीमित घेरा नाप्न सकिन्छ । बजारलाई ख्याल राख्नुपर्छ– यी विकल्पहरुले पनि । त्यो अर्थमा पूँजीवादी मिडियामा व्यवस्थापन पक्षहरु नसिकी सुखै छैन (जसरी नारायण गोपालका गीतहरु किन पपुलर भए अनि नसोची सुखै छैन) । तर, ‘प्रगतिशील’ विकल्पहरुको फाँट अझ विस्तार हुन आवश्यक छ । गैरपार्टी, गैरसरकारी वा स्थानीय सरकारी स्वामित्वमा ‘प्रगतिशील’ प्रिन्ट र रेडियो चलाउन के कस्तो साँगठनिक स्वरुपका संस्थाहरु आवश्यक पर्छन्, तिनले पूँजीवादी मिडिया व्यवस्थासँग के सिक्नुपर्छ, के सिक्नु हुन्न आदि विषयहरुमा ‘प्रगतिशील’हरुबीच छलफल हुनुपर्ने देखिन्छ । यस्तो बहस हुन सकेमा मात्र सार्थक हिसावमा प्रगतिशील मिडियाहरु हामीसँग हुने थिए । नत्र ‘जनताको गीत’ गाउने नारायण गोपालको पर्खाई अलि लामो हुनेछ ।

(मिडियामा प्रगतिशील यानी कि वामपन्थी बिचारको बलियो उपस्थिति किन हुन सकेको छैन ? यो प्रश्न वाम आन्दोलनमा अझै ज्वलन्त प्रश्नको रुपमा उभेको छ । यसै कुरालाई लिई आजभन्दा १४ वर्षअगाडि वौध्दिक व्यक्तित्व प्रत्युष वन्तले तात्कालीन समयमा मूल्याङ्कन मासिकको लागि लेख्नुभएको यो रचना सान्दर्भिक ठानी पुनः प्रकाशित गरेका छौं । – सं.)

(Visited 423 times, 1 visits today)

टिप्पणी

comments