Main Menu

के नेवारहरु जनजाति हुन् ?

  • प्रा. माणिकलाल श्रेष्ठ

काठमाडौँ, काठमाडौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरूको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरू गरिसकेका छन् । यस्ताखाले अनुसन्धानहरु अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरू स्पष्ट रूपमा थाहा हुन सकेको छैन । त्यसकारण मलाई लागेको कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु ।

सरसरर्ती हेर्दा अरू जातिहरूभन्दा नेवार जातिहरूको विशेषता फरक देखिन्छ । जस्तो – तामाङ्ग, गुरूङ, मगर, लिम्बूहरू सबै नश्लमा आधारित जाति हुन् । तामाङ्गहरू सबैको एउटै रगत छ, राईहरू सबैको र त्यस्तै अरूअरू पनि एकै नश्ल वा रगतका हुन् । त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरू पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भएता पनि उनीहरू सबै हुन् आर्य रगतका हुन् । तर नेवारहरूमा त्यस्तो छैन । कोही नेवारहरू आर्यन्, कोही नेवारहरू मङ्गोल र कोही अष्टोद्रविड नश्लका छन् । संसारका तीनैवटा नश्लहरू नेवारहरूमा छन् । हुन त ९० प्रतिशतभन्दा बढी नेवारहरू तिब्बेतो वर्मन अथवा मंगोल छन् । नेवारका पनि ९० प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका (तिब्बती-बर्मी समूहका) हुन्, तर यहाँ अरु आगन्तुकहरु पनि नेवार बनेका छन् । नश्ल मात्र होइन, धर्मको हिसाबले पनि नेवारहरू थरीथरीका छन् । धर्मका हिसाबले पनि अहिले नेवारहरू शैव र बौद्ध धर्म मान्नेहरू छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिले शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरू थिए । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाईहरू सबैलाई ‘देश छाडेर जानू, नजानहरूलाई मार्नू’ भन्ने आदेश दिए । त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरू भारत पसे, धेरैजसो बेतिया शहरमा गएर बसे । नजानेहरू सबैलाई फाँसी दिइयो र मारियो । त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरू नै हराएर गए । अहिले फेरि इसाई धर्म मान्ने नयाँ नेवारहरू उत्पन्न भएका छन् । नेवार मुसलमानहरू भने ज्यादै थोरै भएको हुनाले उनीहरू खस अथवा पहाडी मुसलमानहरू र तराईका मुसलमानहरूसँग मिसिन गए ।

नेवारहरूको संरचनाको हिसावले हेर्ने हो भने विभिन्न ठाउँहरूबाट आएका र विभिन्न जातिका मानिसहरू एक आपसमा विलय भएर बनेको जाति हो नेवार ।

यसरी नेवारहरूको रगत, धर्म अलगअलग रहेको छ । अनुहारै हेर्दा पनि सबै नेवारहरूको एउटै जाति छैन । कुनै नेवारहरूको नाक थेप्चो भएको अनुहार दैखिन्छ भने कुनै नेवारहरूको चुच्चो नाक देखिन्छ । त्यसकारण मेरो विचारमा नेवार भनेको कुनै एक Ethnic समुदाय नै होइन, यो त एउटा भाषा वा जातिको समुदाय हो (ethnic नभई linguistic community) ।

जो नेपाल भाषा बोल्छन्, उनीहरूलाई नेवार भनिन्छ । नेपाल भाषा के हो भन्ने बारेमा मूल्याङ्कनमा विस्तृत रूपमा आइसकेको छ । त्यहाँ मैले के भनेको थिएँ भने नेपाल भाषा भनेको पुरानो किराँत भाषामा लिच्छवीहरूले बोल्ने संस्कृत मूलको भाषा (त्यतिबेला मैले किरात भाषामा मैथिली भाषा मिलेर नेपाल भाषा बनेको थियो भनेको थिएँ । तर मैथिलीभन्दा अलि गल्ती होलाजस्तो लाग्यो, किनभने अहिलेको मैथिली भाषाभन्दा लिच्छवीहरूले त्यतिबेला बोल्ने भाषा फरक थियो) मिसिएर बनेको नयाँ भाषा हो । नेपाल भाषा बन्नुभन्दा पहिले त नेवारहरूको र तामाङ्गहरूको एउटै भाषा थियो । तामाङ्गहरूले पुराने भाषा बोलिरहे । नेवारहरू भने नयाँ भाषा बोल्न थाले ।

are-newar-indigenousनेवारको श्रमिक वर्ग, जस्तो – नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरू, ज्यापूहरू सबै तिब्बेतो वर्मन वा मंगोल मूलका छन् । नेवारहरुमा यिनीहरूको संख्या ९० प्रतिशतभन्दा बढी छ । नेवार जातिभित्रका केही अरू परिवारहरूको उदाहरण लिऔँ । जस्तो कि : नेवारहरूमा श्रेष्ठहरू छन् । श्रेष्ठहरूमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन् । ७ सय वर्षसम्म मल्लहरूको राज्य चल्दा उनीहरूले सरकारको ठूलाठूला पदहरू अथवा भारदारहरूमा विभिन्न मानिसहरूलाई नियुक्ति गरे । उनीहरू जुनजुन पदहरूमा नियुक्त भए, त्यही पदअनुसार उनीहरूको थर निर्धारण भयो । जस्तो : मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको दुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनेलाई जोशी भनियो । उनीहरूका सन्तानहरूलाई अहिले पनि अमात्य, प्रधान , राजभण्डारी र जोशी नै भनिन्छ । ती सबै भारादार समूहको सामूहिक नामलाई श्रेष्ठ भनिन्छ । श्रेष्ठ भनेको एउटा जात होइन, यो त पद भयो । यो जातमा कोही मंगोल होलान्, कोही आर्यन होलान् कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान् ।

एउटा उदाहरण लिऔँ । नेपालको इतिहासमा हरिसिंहदेवको नाम आउँछ । हरिसिंहदेव तिरहुतको सिमरौन गढका राजा थिए । सिमरौनगढ नेपालको बारा जिल्लामा पर्दछ । त्यस आक्रमणबाट उनी भागेर नेपाल उपत्यकाको भक्तपुरमा शरण लिन आउन खोजेका थिए । तर तिनी बाटैमा मरे । उनका छोराले भक्तपुरको दरवारमा शरण लिए । उनीहरूको थर राजपूत थियो । नेवारीमा ‘रा’लाई ला भनिन्छ । त्यसैले उनीहरूको थर लायपू भयो । हरिसिंहदेव लायपूका सन्तानहरू श्रेष्ठमा मिल्न गए । मल्ल राजा भूपतीन्द्र मल्लको समयमा भारतको गुजरातबाट एकथरि वैद्यहरू आएका थिए । उनीहरू दरवारमा गएर राजाको वैद्यको रूपमा काम गर्न थालेकाले उनीहरूलाई राजवैद्य भन्न थालियो । तिनीहरूसँगै आएका वैद्यहरू तर दरवार नपुगेकाहरू श्रेष्ठ नभई अरू जातमा विलिन भए । बाहुनहरूमा पनि बाहिरबाट  देवकोटा, रिमाल, आचार्य, सुवेदी यी विभिन्न थरका उपाध्याय ब्राम्हणहरू ६/७ सय वर्ष पहिले नेपाल उपत्यकामा आएर बसेकाहरूले नेवारी बोले, उनीहरूलाई राजउपाध्याय भनिन्छ वा नेवारबाहुन पनि भनिन्छ । त्यस्तै, तराईबाट पनि तिरहुते (झा, ओझा, मिश्र थरका) बाहुनहरू पनि यहाँ आएर नेवार भाषा बोलेर नेवार बाहुन बने । यसरी ८/९ सय वर्षपहिले आएर काठमाडौँ उपत्यकामा बसेर नेवार भाषा बोलेपछि उनीहरूलाई नेवार भन्न थालियो । यसरी नेवारहरूको संरचनाको हिसावले हेर्ने हो भने विभिन्न ठाउँहरूबाट आएका र विभिन्न जातिका मानिसहरू एक आपसमा विलय भएर बनेको जाति हो नेवार ।

शासकहरूको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरू जनजाति नै हुन् ।

संस्कृतिकै हिसावले हेर्ने हो भने पनि नेवारहरूको संस्कृति विश्वकै संस्कृतिभन्दा अगाडि देखिन्छ । यहाँका कला र कलाकारका बारेमा रूसका एकजना ठूला इतिहासकार डा. बन्दरेब्स्कीले भनेका छन् – ” विश्वमा पुनर्जागरण सबभन्दा पहिला इटालीमा आएको भनिन्छ, तर यो कुरा गलत हो । त्यहाँ पन्ध्रौँ शताब्दीमा पुनर्जागरण आएका थियो, नेपालमा एघारौँ शताब्दीमा नै ठूलाठूला विश्वप्रशिद्ध मन्दिर र चित्रहरू बनाइसकिएका थिए ।” त्यस्तै गरेर, मल्लकालमा यहाँ आयुर्वेदमा पनि ठूलो विकास भएको थियो । यो कुरा कोरियामा पनि उल्लिखित छ । ती पुस्तकहरूमा नेपालको ठूलो राजवैद्यले बनाएको औषधिको बारेमा चर्चा गरिएको छ । यसरी एकपटक मल्लकालमा नेवारहरू निक्कै धेरै विकसित भएका थिए र विश्वमै प्रशिद्धि कमाएका थिए ।

अब नेवारहरू आदिवासी हुन् कि होइनन् भन्ने बारेमा कुरा गरौँ । मेरो विचारमा नेवारहरू आदिवासी नै हुन् । किनभने ९० प्रतिशतभन्दा बढी नेवारहरू आदिवासी नै हुन् । अरू बाँकी प्रतिशतमात्रै पछि बाहिरबाट आएका हुन् । यसरी मिसिने कुरा त जुन जातिमा पनि हुनसक्छ । आदिवासी भन्नेबितिकै नेवारहरू शुरूदेखि नै नेपालमा बसेका हुन् त भन्ने प्रश्न पनि उठ्न सक्छ । संसारमा शुरुदेखि बसेका त कोही पनि छैनन् होला । मानव जातिको उत्पत्ति नै कोही चीनमा, कोही अफ्रिकामा भएको भनिन्छ । उनीहरू नै संसारभरि फैलिएका हुन् । त्यसैले आदिवासी भनेर तिनीहरूलाई भनिन्छ, जुन जातिहरू शासक जातिभन्दा पहिला आएर बसेका हुन् । अहिले नेपालका शासक जाति नेपाली वा खस भाषा बोल्ने बाहुन क्षेत्री ठकुरी हुन् । उनीहरू ४/५ सय वर्ष पहिले आएका हुन् भने नेवारहरू त्योभन्दा पहिला नै आएका हुन् । त्यसैले नेवारहरूलाई आदिवासी भन्नुपर्छ ।

अर्का, नेवारहरू जनजाति हुन् कि होइनन् भन्ने बारेमा पनि विवाद छ । नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली बृहद शब्दकोषमा जनजातिको परिभाषा ‘जंगल फाँडेर खनीखोस्री खाने, नागा, कोचे, कुसुन्डाजस्ता शिक्षा आदिमा पछिपरेका, नजिकको परिवेशसँग पनि प्रभावित नभएका पछौटे जाति’ भनेर दिइएको छ । यो परिभाषा अन्तर्गत नेवारहरू पर्दैनन् । यो परिभाषाअनुसार नेवारहरूलाई जनजाति भनियो भने नवारहरूको बेइज्जत हुन्छ भन्न थालियो । अन्तर्राष्ट्रिय श्रम संगठनले जनजातिको परिभाषा ‘देशको मुख्य शासक जाति जुन छ, त्यो जातिभन्दा अलग्गै भिन्दै भाषा, धर्म संस्कृति भएको जातिलाई जनजाति भनिन्छ’ भनेर दिएको छ । किनभने शासक जातिकोभन्दा अलग्गै भाषा, धर्म र संस्कृति उत्पीडित हुने गर्छ । नेवारहरूको भाषा कति उत्पीडित छ भन्ने कुरा त मूल्याङ्कनमा आइसकेको छ । त्यसकारण यो परिभाषाअनुसार नेवारहरू जनजाति नै हुन् भन्ने मलाई लाग्छ । यदि नेवारहरू जनजाति हुन् भने मैथिलहरू किन जनजाति होइनन् ? भन्ने प्रश्न पनि उठ्न सक्छ । मैथिलहरूको भाषा अलग्गै भएता पनि उनीहरू हिन्दू धर्म र आर्य संस्कृतिका हुन् । उनीहरूको धर्म र संस्कृति शासकहरूको धर्म र संस्कृतिसँग मिल्छ । त्यसैले उनीहरू जनजाति भएनन् । शासकहरूको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरू जनजाति नै हुन् ।

एकपटक शासक भइसकेका नेवारहरू कसरी जनजाति हुनसक्छन् ? भन्ने प्रश्न पनि उठ्न सक्छ । तर नेवारहरू कहिले पनि शासक जाति भएका छैनन् । मल्ल राजाहरूलाई नेवार राजा भनिए तापनि उनीहरू नेवारहरू नै होइनन् ठकुरीहरू हुन् । नेपाल भाषा बोलेर शासकहरू नेवार भएका थिए । उनीहरू शासक छँदा नेवारहरू अलग्गै थिए । पृथ्वीनारायण शाहले मल्लहरूको राज्य खोसेपछि मात्र मल्लहरू नेवारसँग मिल्न गएका थिए ।

(Visited 72 times, 1 visits today)

टिप्पणी

comments