Main Menu

दुई कविता – अनामिका गौतम

anamika-gautam-two-poems

  • अनामिका गौतम

अनामिका

पछ्यौरीमा बेरिएको मेरो परिचय
आदिम युग बोकेको काँध
रुमल्लिएका अस्पष्ट भावबिहीन ऊर्जाहरु
अनि रेलबाट उसले हल्लाइरहेको हात ।
चित्कार्छु,
म नाम नभएकी स्त्री ।।

झुम्कामाथि अडिएको मेरो प्राण,
लिलामभित्र चोरिएको रहर
साँघुरो क्षितिजमा अस्ताएको मानस – पटल
अनि, उसले गाजिरहेको हृदय ।
विज्ञापनमा,
म नाम नभएकी स्त्री ।।

रुपान्तरण

निस्पट्ट यो अँध्यारोमा, बिलाएको स्वप्न सरि,
कालो घना बादलभित्र गुम्सिएको कठै बरि !
सबै खोज्छन् मिठो फल, सबै रोज्छन् ऐश -आराम
कुल्चिएर, थिचिएर, निसासियो गहभरि !

घृणा मात्रै हृदयमा, कतै मृत्यु अकालमै
कतै बोट माथि फलने, पाकेको छ बिष सरि !
फैलाएर हस्तरेखा, माथमाथि, कालो छाया
कठै ! बुडो गरिबको, जीवन झुत्रे थैलो सरि !

कुप्रिएका, झुत्रिएका, दिनमाथि दशा सबका
बाहीरि हॉसो अमृत पोख्ने, भित्र पोल्ने राप सरि !
अहम्,  कस्तो अभिमान ? आत्मा मारी देह हाँस्ने
गन्हाउने जीवन बाच्छन्, मान्छे भए पशु सरि !

खोक्रिएको रुखभित्र, काटिएका हाँगामाथि,
बसाउन खोज्ने सहर, च्यापिएका रहरमाथि !
साँघुरियो, बस्ती यहाँ, टुक्रिसक्यो मानव जाति
खडेरीमा बाँझो खेत, पट्ट पट्टी फूटे सरि !!

चित्रकला – कवयत्री आफै

 

(Visited 51 times, 1 visits today)

टिप्पणी

comments