Main Menu

अमेरिकामा नारीवादी कला

  • दिपमाला महर्जन

लिन्डा नक्लिन

“तर वास्तवमा, हामी सबैलाई थाहा भएकै कुरा हो कि अन्य सयौँ विधाहरूमा झैँ कलामा पनि गोरो छाला लिएर, मध्यम वर्गीय परिवारमा र विशेषतः पुरुष भएर जन्मिने ’सौभाग्य’ नपाएका महिलाहरूको लागि जीवनका सबै कुराहरू दमनकारी, उत्पीडक र निरुत्साहीपूर्ण रहे । दोष हाम्रो भाग्यको होइन, न त दोष हाम्रो हर्मोन, हाम्रो महिनावारी वा शून्य चित्तको हो । दोष त हाम्रो सामाजिक संस्थाहरुको हो, हाम्रो शिक्षाको हो – शिक्षा भन्नाले अर्थपूर्ण संकेत तथा प्रतीकहरुको, यो संसारमा हामी प्रवेश गर्ने बित्तिकैदेखि हामी जे जति भोग्छौँ, ती सम्पूर्ण कुराहरु ।”
– लिन्डा नक्लिन

सन् २०१४ को चिसो मौसममा आफ्नो स्नातकोत्तर उपाधिका निम्ति प्रस्तुत गर्नुपर्ने शोधका लागि आवश्यक सामाग्रीको खोजिका क्रममा म क्याम्पसको पुस्तकालय पुगेकी थिएँ । मैँले भएभरका सम्पूर्ण कला इतिहासका पुस्तकहरुका शिर्षक तथा भित्री सामग्री सरसर्ती नियालेँ । तर, मलाई चाहिएको विषयका सामाग्री मैँले भेटाइनँ । म त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय पुगेँ । मोटा–मोटा पाश्चात्य कला इतिहासका पुस्तकहरु ओल्टाई–पल्टाई हेरेँ, तर पनि मलाई चाहिएको र चाहिए जतिको सामाग्री मैँले फेला पारिनँ । म त्यस्तो दुर्लभ कुरा खोजिरहेकी रहेछु, मलाई थाहै थिएन । म पाश्चात्य कला इतिहासका महिला कलाकारहरु खोजिरहेकी थिएँ । अघिल्लो वर्षको शोधका क्रममा मैँले नेपाली महिला कलाकारहरुका विषयमा खोजिरहँदा पनि यस्तै समस्या भोगेकी थिएँ, तर पाश्चात्य कलाका सन्दर्भमा पनि यस्तै होला भन्ने मलाई लागेको थिएन । हुन त मैँले कला इतिहास पढ्न थालेदेखि नै महिला कलाकारहरुको खासै कतै पनि चित्तबुझ्दो रुपमा उल्लेख भएको पाइनँ । तर, महिला कलाकारहरु यो हदसम्म गुमनाम छन् भन्ने कल्पनासम्म पनि गरेकी थिइनँ । यो सत्यको साक्षात्कारपछि म आफ्नो शोधको विषयप्रति अझ दृढ भएँ र अध्ययनको अन्त्यसम्ममा आइपुग्दा म पाश्चात्य महिला कलाकारहरु नभई पाश्चात्य जगतका प्रखर नारीवादी कला तथा कलाकारहरुका विषयमा लेख्दैथिएँ ।

मानव इतिहासको वैज्ञानिक अध्ययन गर्ने हो भने आदिम साम्यवादी समाजमा बाहेक इतिहासका प्रत्येक कालखण्डहरुमा महिलाहरु उत्पीडनमा पर्दै आएको कुरा कसैबाट लुकेको छैन । इतिहासको वैज्ञानिक अध्ययनसँग सम्बन्धित कुनै पनि पुस्तक पढ्दा यो कुरा हामी सजिलै थाहा पाउन सक्छौँ । तर यदि विश्वको ठूला–ठूला राजनीतिक परिवर्तनका इतिहास पल्टाउने हो भने यस तथ्यसँग विरोधाभाषपूर्ण रुपमा हामी के पाउँछौँ भने ती प्रत्येक परिवर्तनहरुमा महिलाहरुको त्यति नै महत्वपूर्ण भूमिका थियो जति पुरुषको रहन्थ्यो । दासयुग, सामन्तवादी युग, पुँजीवादी युग प्रत्येक कालखण्डको विभेद र उत्पीडनविरुद्ध पुरुष सरह नै महिलाहरुले पनि संघर्ष गरे र बलिदानी पनि दिए, तर बिडम्बना के हो भने महिलाहरुले प्रत्येक पटक आफ्नो बलिदानको बदलामा पुनः विभेद र उत्पीडन नै पाए ।

इतिहासको नियमअनुसार विभेद र उत्पीडन उत्कर्षमा पुगेपछि त्यसको विरुद्धमा जोड्दार आवाज उठ्छ र त्यसको अन्त्यसँगै नयाँ युगको सुरुवात हुन्छ । पाश्चात्य जगतको कुरा गर्ने हो भने पुँजीवादको उदयसँगै उत्पन्न भएको चरम महिला उत्पीडनको विरुद्धमा यहाँका महिलाहरुले उन्नाइसौं शताब्दीको अन्त्यतिरबाट सुरु गरी बीसौँ शताब्दीको उत्तरार्द्ध सम्ममा जोड्दार आवाज उठाए र चरण–चरणमा गरी सफलता पनि पाए, जसबाट पाश्चात्य दर्शन तथा सामाजिक सिद्धान्तमा नयाँ धारको जन्म र विकास भयो । त्यस नयाँ धारको सिद्धान्तलाई ‘फेमिनिज्म’ अर्थात् ‘नारीवाद’ भनियो । यही सिद्धान्तलाई आधार मानेर अरु क्षेत्रमा जस्तै कला क्षेत्रमा पनि महिला कलाकारहरु जोड्दार रुपमा अगाडि आए, जसलाई ‘फेमिनिस्ट आर्ट’ अर्थात् ‘नारीवादी कला’ भनियो । यसले पाश्चात्य राजनीतिक, सामाजिक तथा सांस्कृतिक इतिहासमा पनि महत्वपूर्ण छाप छोड्यो । केही महत्वपूर्ण उपलब्धी र परिवर्तनहरु पनि भए । तर संघर्षपूर्ण सय वर्ष र केही उपलब्धीहरुका बाबजुद आज पनि पाश्चात्य जगतमा, जहाँ पूर्वमाभन्दा बढी समानताको अधिकार भएको हामी पाउँछौँ, महिलाहरु आफ्ना हक अधिकारका लागि आ–आफ्नो क्षेत्रबाट निरन्तर लडिरहेका छन् । यहाँ म अरु क्षेत्रमा भन्दा पनि कला क्षेत्रमा पाश्चात्य महिलाहरुले गरेका संघर्षहरुका विषयमा संक्षिप्त रुपमा लेख्दैछु ।

पाश्चात्य जगतमा भएका महिलामुक्तिका संघर्षलाई प्रायः जसो तीन भागमा विभाजन गरी व्याख्या गरिन्छ, ‘पहिलो लहर’ (First Wave) : उन्नाइसौँ शताब्दीको अन्त्यतिरको समयदेखि बीसौं शताब्दीको सुरुवातसम्म; ’दोस्रो लहर’ (Second Wave) : बीसौँ शताब्दीको ६०, ७० र ८० को दशक; र ’तेस्रो लहर’ (Third Wave) : बीसौँ शताब्दीको अन्तिम दशकदेखि आजसम्म । महिला अधिकार प्राप्तिको आन्दोलनको ‘पहिलो लहर’मा महिलाहरु विशेषगरी आफ्नो मतदानको अधिकारका लागि लडेका थिए भने ‘दोस्रो लहर’मा समान ज्याला, बलात्कार, घरेलु हिंसा, मिडीया क्षेत्रमा भएका लैंगिक विभेद तथा प्रजनन् अधिकार आदिजस्ता मुद्दाहरुमा संघर्ष गरेका थिए । त्यसैगरी, ‘तेस्रो लहर’मा आएर भने यो आन्दोलन रंगभेद तथा वर्गभेदमा केन्द्रित भयो । हुन त विभिन्न इतिहासकारहरु तथा व्याख्याकारहरुले यस घटनाक्रमलाई आ–आफ्नो ढंगले फरक–फरक भागमा विभाजन गरी व्याख्या गरेका छन्, तर सबैको एकमत चाहिँ कहाँ देखिन्छ भने महिला अधिकारको यस चरणबद्ध आन्दोलन राजनीतिक अधिकार, शिक्षा एवं रोजगारीका अवसर र प्रजनन् तथा पुनरुत्पादनसम्बन्धी स्वतन्त्रता सहितको व्यक्तिगत अधिकार प्रप्तिमा लक्षित रहेको छ । यस सन्दर्भमा बीसौँ शताब्दीको ६० को दशकदेखि कला क्षेत्रले यी आन्दोलनहरुलाई निकै सघाएको देखिन्छ ।

उक्त पर्फरमेन्स कलामा एकले मिनिलिज्म कला र अर्कोले फेमिनिज्म कलालाई प्रतिनिधित्व गर्दै कुस्ती खेल्दै गरेको प्रस्तुत गरेका थिए । यस पर्फरमेन्स कलाको शिर्षक ‘प्लिज सिङ् अलङ्’ (Please Sing Along) राखिएको थियो ।

कला जीवनकै प्रतिनिधित्व गर्ने एक माध्यम हो । यसले तत्कालीन समाजका विचार तथा अनुभवहरुलाई प्रतिबिम्बित गर्दछ । पाश्चात्य इतिहासको अध्ययन गर्ने हो भने हामी के पाउँछौँ भने समयको गतिसँगै कलाले तत्कालीन विचारहरुलाई संप्रेषण गर्दै समाजमा भएका परिवर्तनहरुको चित्रण गरेका छन् । तर, कला हर समय आफ्नो स्वभावमा खरो भने उत्रेन । बीसौँ शताब्दीको उतरार्द्ध मा अमेरिकामा भियतनाम युद्धलगत्तै शान्ति पक्षीय प्रदर्शनीहरु सँगसँगै नागरिक अधिकार, सामाजिक समानताका अधिकार, महिला तथा समलैंगिक अधिकार आदिका लागि पनि थुप्रै प्रदर्शनी तथा संघर्षहरु भए । तर, त्यस समयमा प्रचलित कला ‘मिनिमलिज्म’ भने यी सम्पूर्ण वास्तविकतासँग धेरै पर रहेको पाइन्छ । ‘मिनिमलिस्ट’ कला सामाजिक चेतनाको परिवर्तनसँग पूर्णरुपमा बेखबर थियो । यसको एक मात्र उद्देश्य भनेको वस्तुको न्यूनतम प्रकृतिलाई चित्रित गर्नु थियो । यसबाट तत्कालीन समयका युवा महिला कलाकारहरु जो भर्खरै ग्रेजुएट भएका थिए, उनीहरुमा एक प्रकारको उद्विग्नता तथा असन्तुष्टि उत्पन्न भयो, किनभने उनीहरु ‘मिनिमलिज्म’मा प्रशिक्षित थिए भने उनीहरुकै सम्मुख तीव्र विकसित भइरहेको महिलामुक्ति आन्दोलनले उनीहरुमा नयाँ खालको भाव तथा विचार संचारित गर्दै थियो, जसलाई ‘मिनिमलिज्म’द्वारा व्यक्त गर्न सकिँदैनथ्यो । यस तथ्यलाई पहिलो पटक सन् १९७४ मा कलाकारहरु नान्सि बुचानन् र बारबरा टि. स्मिथले आफ्नो पर्फरमेन्स कलामार्फत् प्रस्तुत गरेका थिए । उक्त पर्फरमेन्स कलामा एकले मिनिलिज्म कला र अर्कोले फेमिनिज्म कलालाई प्रतिनिधित्व गर्दै कुस्ती खेल्दै गरेको प्रस्तुत गरेका थिए । यस पर्फरमेन्स कलाको शिर्षक ‘प्लिज सिङ् अलङ्’ (Please Sing Along) राखिएको थियो । (पर्फरमेन्स कला भनेको कलाकारले स्वयं आफ्नै शरीरलाई अभिव्यक्तिको माध्यमको रुपमा प्रयोग गरी आफ्नो विचार संप्रेषण गर्ने कला हो । यसमा नाटकको झल्को पनि देखिन्छ, तर यसमा नाटकमा झैँ संवाद, पात्र र पूर्वाभ्यास हुँदैन ।)

यी महिला नवकलाकारहरु प्रचलित कला सिद्धान्त मात्र नभई कला सृजनाका प्रकृया तथा कला प्रदर्शनीका संरचनासँग पनि असन्तुष्ट थिए । म्युजियम तथा ग्यालरीहरुमा महिला कलाकारहरुको उपस्थिति शून्य प्रायः थियो । यसबाट उनीहरुले परम्परागत कला सृजनाका माध्यमहरु चित्रकला तथा मूर्तिकला, जसमा पुरुषहरुले आफ्नो ‘श्रेष्ठता’ स्थापित गरेका थिए, र म्युजियम तथा ग्यालरीहरु, जहाँ ’श्रेष्ठ’ पुरुषहरुको कला मात्र प्रदर्शन हुन्थ्यो, यी दुवैलाई त्यागेर नयाँ विकल्पहरुको सृजना गरे । यसबाट पर्फरमेन्स आर्ट, इन्स्टलेसन आर्ट, भिडियो आर्ट, ल्याण्ड आर्ट आदि जस्ता वैकल्पिक माध्यमहरुको सृजना गरे । त्यसैगरी यी कलाकारहरुले म्युजियम तथा ग्यालरीहरुको भर नपरी वैकल्पिक स्थानहरुमा स्वतन्त्र रुपमा प्रदर्शनीहरु गरे ।

पर्फरमेन्सको अन्त्यसम्ममा आइपुग्दा ओनो लगभग नग्न अवस्थासम्म आइपुगेको देखिन्छ, तर पनि पर्फरमेन्सभरि ओनो भावहीन भएर बसिरहेको देखिन्छ ।

सन् १९६४ मा जापानी मूलका अमेरिकी कलाकार योको ओनोले एक पर्फरमेन्स कला प्रस्तुत गरेकी थिइन्, जसलाई प्रारम्भिक पर्फरमेन्स कलाको रुपमा व्याख्या गरिन्छ । यस पर्फरमेन्समा कलाकार ओनो स्टेजमा घुँडा टेकी बसेकी थिइन् । उनको अगाडि एउटा कैंची राखिएको थियो र दर्शकहरुलाई एकएक गरी स्टेजमा आई त्यस कैंचीले ओनोले लगाएका लुगाको कुनै पनि भाग काटेर आफूसँगै लैजान भनिएको थियो । यसको भिडीयो हेर्दा पर्फरमेन्सको अन्त्यसम्ममा आइपुग्दा ओनो लगभग नग्न अवस्थासम्म आइपुगेको देखिन्छ, तर पनि पर्फरमेन्सभरि ओनो भावहीन भएर बसिरहेको देखिन्छ । यस पर्फरमेन्सको शिर्षक ‘कट पिस’ (Cut Piece) दिइएको थियो । यस कलाको बारेमा कलाकार स्वयंले कलाकारिता प्रतिको प्रतिबद्धता तथा चुनौतिको सामनाको रुपमा व्याख्या गरेकी छन् भने कला समीक्षकहरु यस प्रस्तुतिलाई हिंसा तथा युद्धविरुद्धको प्रदर्शनीको रुपमा व्याख्या गर्छन् । अझ विशेष गरी थुप्रै अवसरहरुमा यसलाई नारीवादी कलाको प्रारम्भिक कलाकृतिको रुपमा व्याख्या गरिन्छ ।

६० को दशकमा सुरु भएको महिला कलाकारहरुको चेतनालाई सन् १९७१ मा कला इतिहासकार लिन्डा नकलिनको ‘(इतिहासमा) महिला महान कलाकारहरु किन देखिँदैनन्?’ [Why are there no great women artist?] शिर्षकको निबन्ध प्रकाशित भएबाट गति प्राप्त हुन्छ । यस निबन्धमा ‘उत्कृष्ट कलाकारिताको सिद्धि प्राप्तिमा किन पुरुषहरु मात्रै सक्षम भए, महिलाहरु किन भएनन् ?’ भन्ने प्रश्न पहिलोपटक उठाइएको थियो । उनको निष्कर्ष थियो, ‘अहिलेसम्मको पितृसत्तात्मक संस्थागत सत्ता संरचनाले महिलाहरुका लागि त्यस खालको कलात्मक सिद्धि हासिल गर्न असम्भव प्रायः बनाइदिएको छ ।’

यस घरमा दराजबाट बाहिर निस्कँदै गरेकी महिलादेखि लिएर भित्ता र छतभरि स्तनाकारमा रुपान्तरित भएका अण्डाहरुले भरिएको भान्छासम्म प्रस्तुत गरिएको थियो ।

यस निबन्धको प्रकाशनसँगै महिला कलाकारहरुमा उत्साहको लहर थपिएको देखिन्छ । यस निबन्धले महिला कलाकारहरुलाई यी संरचनालाई भत्काउने हेतुले ‘अज्ञात स्थानमा छलाङ्ग’ लागाउन र ’आवश्यक जोखिम’ मोल्न प्रोत्साहित गरेको थियो । त्यस लेखले पहिलोपटक कला इतिहासको संशोधन गरी यसमा बढीभन्दा बढी महिला कलाकारहरुको उपस्थिति रहनुपर्ने कुरालाई अगाडि ल्यायो । यसलाई बेलायतमा कला समीक्षक रोजसिका पार्कर र ग्रीसेल्ड पोलकले पनि निरन्तरता दिएका थिए । सोही वर्ष कलाकार जुडी सिकागो र कलाकार मिरिम सपिरोले पहिलो नारीवादी कला कार्यक्रम सुरु गरे । सो कार्यक्रममा यी दुईको निर्देशनमा २१ छात्राहरुले एक जीर्ण घरलाई पुनः निर्माण गरे र त्यसलाई ‘वोमेनहाउस’ नाम दिए । यस घरमा उनीहरुले घरभरि स्थान–विशेष स्थापत्य कला (Site-specific installation art) हरुको सृजना गरे, जहाँ स्थानको विशेषतालाई ध्यानमा राखी त्यसै अनुरुप विभिन्न आवश्यक सामाग्रीहरुको समन्वयद्वारा कला सृजना गरिन्छ । यस घरमा दराजबाट बाहिर निस्कँदै गरेकी महिलादेखि लिएर भित्ता र छतभरि स्तनाकारमा रुपान्तरित भएका अण्डाहरुले भरिएको भान्छासम्म प्रस्तुत गरिएको थियो । यस घरमा अरु थुप्रै निकै भिन्न खालका कलाहरु प्रस्तुत गरिएका थिए, जसको एक मात्र उद्देश्य भनेको महिलाहरुको परम्परागत भूमिकामाथि प्रश्न गर्नु थियो ।

यसको ठीक २ वर्षपछि, अर्थात् सन् १९७३ मा कलाकार जुडी सिकागोले ग्राफिक डिजाइनर शीला लिभ्राँ डे ब्रेटभिल्ल र कला इतिहासकार अर्लेन राभेनसँग मिलेर नारीवादी कलाकारहरुका लागि सैद्धान्तिक र प्रयोगात्मक अभ्यासका लागि दुई वर्षे कार्यक्रम ‘नारीवादी स्टुडियो कार्यशाला’ (Feminist Studio Workshop – FSW) को सुरुवात गरे । यो कार्यक्रम लस एन्जलसमा अवस्थित नारीवादी कलाकारहरुले संचालन गरेको वोमेन्स बिल्डिङ (Women’s Building) को एउटा अंगको रुपमा संचालनमा आएको थियो । यस बिल्डिङमा महिलाहरुका लागि स्टुडियो, क्याफे, पुस्तक पसल, नारीवादी प्रकाशनका लागि कार्यालय आदि उपलब्ध गराइएको थियो ।

(क्रमशः)

(Visited 216 times, 1 visits today)

टिप्पणी

comments