Main Menu

मृत्युपछि के हुन्छ ?

  • नील डिग्रास टाइसन

afterlife-neil-degrasse-tysonहुन त म मृत्युपछि के हुन्छ भन्ने प्रश्नको कुनै अखण्डनीय कुराको दाबी गर्न सक्छु । तर, हुने चाहिँ यस्तो हो : तपाईं बाँचुन्जेल खाना खानुहुन्छ । हामीले खाने खानामा क्यालोरी हुन्छ । क्यालोरी भनेको ऊर्जा मापन गर्ने एकाइ हो । तपाईं खाना खानुहुन्छ, र तपाईंको शरीरमा ऊर्जा उत्पादन हुन्छ । त्यो ऊर्जालाई तपाईं प्रयोग गर्न सक्नुहुन्छ । आधारभूत रुपमा भन्नुपर्दा हाम्रो शरीरको तापक्रम स्थीर रहनुको कारण नै यही हो । हाम्रो शरीरको तापक्रम हरेक समय ९८.६ डिग्री फरेन्हाइट हुन्छ ।

कुनै पनि चीजको तापक्रम वायुमण्डलको तापक्रमभन्दा माथिको तापक्रममा कसरी स्थीर राख्न सकिन्छ ? पक्कै पनि तपाईंको शरीरले ऊर्जा उत्पादन गरिरहेको हुन्छ र त्यही ऊर्जाले शरीरको तापक्रम स्थीर हुन मद्दत गर्ने हो । स्थीर किन राख्नुपर्यो त ? किनभने, जैविक रुपमा हाम्रो शरीरलाई आफ्ना कार्यहरु गर्नको लागि त्यति तापक्रमको आवश्यकता पर्छ । त्यति मात्र होइन, तपाईंलाई हिँड्नको लागि, यताउता चल्नको लागि पनि ऊर्जाको खाँचो पर्छ । त्यसैले हामी खाना खान्छौँ ।

अब कुरा आउँछ हाम्रो मृत्युपछि के हुन्छ त ? हाम्रो मृत्यु हुँदा हाम्रो शरीरले ऊर्जा उत्पादन गर्न सक्दैन (किनभने, ऊर्जा उत्पादनको लागि हाम्रो शरीरले खाना खाएको हुँदैन, खानाबाट ऊर्जा उत्पादन गर्नको लागि खानासँग प्रतिक्रिया गर्नको लागि अक्सिजन शरीरभित्र छिरेको हुँदैन र अक्सिजन हरेक कोष–कोषमा पुर्याउनको लागि रक्तसंचार क्रियाशील हुँदैन) । त्यसैले शरीरको तापक्रम घट्न थाल्छ । कतिसम्म घट्छ त ? वायुमण्डलको तापक्रम जति छ, त्यतिसम्म । यदि तपाईंले मृत्यु भइसकेको व्यक्तिको हात छुनुभयो भने तपाईंको पहिलो प्रतिक्रिया हुन्छ, ‘शरीर त चिसो छ !’ होइन ! शरीर चिसो हुँदैन ! शरीरको तापक्रम त वायुमण्डलको तापक्रम जति छ, त्यति नै हुन्छ । तर, तपाईंको आफ्नो हात त ९८.६ डिग्री फरेन्हाइटसम्म तातो छ नि त ! 

मृत शरीरमा ऊर्जा उत्पादन हुने कार्य भइरहेको हुँदैन । शरीरका हरेक अणुहरुमा ऊर्जा सञ्चित भएर बसेको हुन्छ । मृत शरीरलाई जलाइयो भने उक्त सञ्चित ऊर्जा तापमा परिणत हुन्छ र उक्त तापले हावालाई तताउने काम गर्छ । सो तातो हावा अन्तरिक्षमा जान्छ । तर, मेरो मृत्युपछि म चाहन्छु कि मेरो मृत शरीरलाई गाडियोस् । मेरो शरीरलाई गाडियो भने मेरो शरीरका अणुहरुले जीवनभर सञ्चित गरेको ऊर्जा सूक्ष्म किटाणुहरुले प्रयोग गर्छन्; ब्याक्टेरिया तथा अन्य किटाणुहरुले मेरो मृत शरीरको ऊर्जा आफ्नो जीविका चलाउन प्रयोग गर्छन् । त्यसैले मेरो शरीर पृथ्वीकै जीवजन्तुमा फर्कन्छ । र, जीवनको एक चक्र समाप्त हुन्छ । मलाई थाहा छ कि त्यस्तो हुनेवाला छ, किनकि मेरो शरीरमा सञ्चित ऊर्जा कहाँ जान्छ भन्ने कुरा हामी मापन गर्न सक्छौँ ।

तर, मेरो चेतनालाई के हुन्छ त ? अब मेरो चेतना कहिल्यै फर्किनेवाला छैन । चेतना फर्किन्छ भन्ने कुराको कुनै प्रमाण छैन । वास्तवमा अब ‘म’ नै हुन्नँ । तर, के त्यो त्यति अनौठो छ र ? आफू जन्मिनुभन्दा अगाडि तपाईंको केही चेतना थियो र ? मेरो मतलब, जन्मिनुभन्दा अगाडि के तपाईं ‘म अहिलेसम्म पृथ्वीमा किन जन्मिनँ ? मलाई पृथ्वीमा जन्म लिनु छ ! म कहाँ छु ?’ भनेर कतै बसेर चिच्याइरहनुभएको थियो र ? पक्कै थिएन । त्यो त सिर्फ गैरअस्तित्वको अवस्था थियो ।

तर, अब म जन्मिसकेको छु र मलाई आफ्नो अस्तित्वको आभाष भइसकेको छ । यो स्थितिमा पक्कै पनि मलाई आफ्नो गैरअस्तित्वको अवस्थाको बारेमा विचार गर्दा केही अनौठो पक्कै लाग्छ । हामी सबैलाई मृत्युदेखि डर हुन्छ, किनकि हामीले आफू जन्मिएको पलदेखि जीवनभर अनुभव गर्ने भनेको जीवन हो । तर यसमा म अलि भिन्न तरिकाले हेर्न चाहन्छु । यदि सम्भव हुने भए के म अमरत्व चाहन्थेँ त ?

पक्कै पनि अमरत्वको बारेमा सोच्नु निकै रमाइलो हुन्छ । तर, म यसलाई यसरी हेर्छु : मेरो मृत्यु निश्चित छ भन्ने कुराको ज्ञानले नै म बाँच्नमा केन्द्रित हुन्छु, जीवनमा केही उपलब्धि पाउनुपर्छ भन्ने कुराको मलाई महसुस हुन्छ, माया व्यक्त गर्नुपर्छ भन्ने महसुस हुन्छ; त्यो पनि अहिले नै, पछि होइन ! यदि हामी सधैं बाँचिरहने भए बिहान ओछ्यानबाट किन उठ्नुपर्यो र ? किनकि, भोलि त सधैं आउँछ नि ! म त्यस्तो जीवन बाँच्न चाहन्न । मलाई मृत्युको डर छैन; डर छ त त्यस्तो जीवन बाँच्ने जहाँ मैले केही उपलब्धि हासिल गर्न सक्थेँ, तर गरिनँ । मलाई मृत्युको डर छैन ।

अमेरिकी टेलिभिजन तथा रेडियो होस्ट ल्यारी किङ्गलाई दिएको अन्तरवार्तामा आधारित
प्रस्तुति : आकाश महर्जन

नील डिग्रास टाइसन अमेरिकी खगोलभौतिकशास्त्री, लेखक तथा विज्ञान सम्प्रषक हुन् ।

(Visited 285 times, 1 visits today)

टिप्पणी

comments