Main Menu

राजतन्त्रको अवसानबाट संस्कृतिको क्षेत्रमा पर्ने प्रभावहरु

पूर्वराजा ज्ञानेन्द्र शाह ।

(समालोचक निनु चापागाईं संस्कृतिका शास्त्रीयदेखि आधुनिक अवधारणासम्मका ब्याख्याता हुन् । नेपालमा शाहवंशीय राजतन्त्र पृथ्वीनारायण शाहले गोरखाबाट आई काठमाडौं उपत्यकालगायत पूर्व र पश्चिमका बिभिन्न सानासाना राज्यहरुलाई आफ्नो राज्यमा जोडेपछि सुरु भएको थियो । राजतन्त्र सामन्तवादको प्रतिनिधि राज्यव्यवस्था हो । पृथ्वीनारायण शाहले आफ्नो मौजा विस्तारको क्रममा नै आजको नेपालको आकार सिर्जना हुन सुरु भएको हो । अहिलेको नेपाल राज्य बन्नुभन्दा पहिले पनि यहाँ सामन्ती शासन व्यवस्था, अर्थव्यवस्था र संस्कृति विद्यमान थिए । झण्डै २ सय ५० वर्षसम्म चलेको शाहवंशीय सामन्ती राजतन्त्रले राजनीति, अर्थव्यवस्था र संस्कृतिमा सामन्तवादलाई अझ मजबुत बनायो । तर, गणतन्त्र आइसकेको अहिलेको अवस्थामा अब ती कुराहरुमा परिवर्तन आएको छ र यो क्रम जारी रहनेवाला छ । मुख्यतः संस्कृतिको क्षेत्रमा यो कुन रुप र गतिमा परिवर्तन हुन्छ त ? यस विषयमा समालोचक निनु चापागाईंले मूल्याङ्कन मासिकको पूर्णाङ्क १६२ मा आफ्नो बिचार प्रस्तुत गर्नुभएको थियो । त्यही बिचार अहिले पनि सान्दर्भिक भएकोले झण्डै दश वर्षपछाडि त्यस बिचार रचनालाई समय सन्दर्भमा केही परिमार्जित गरी यहाँ प्रस्तुत गरिन्छ ।– सम्पादक)

समालोचक निनु चापागाईं ।

राजालाई राज्यको पर्याय मानेर हिजो राजाले गर्ने गरेका कामहरु गरी सामन्ती संस्कृतिलाई अवलम्बन गर्नेहरु नेपाली समाजमा अहिले पनि विद्यमान छन् ।
लगभग सोह्र सय वर्षअघिदेखि नेपाली समाजमा जरा गाडेर बसेको वंशानुगत राजतन्त्र ढलेको छ । नेपालको सन्दर्भमा राजतन्त्र आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकास वा प्रगतिमा एउटा मुख्य बाधक तत्वका रुपमा विद्यमान थियो । यसको अन्त हुनु भनेको निश्चय नै नेपालको आर्थिक सामाजिक, राजनीतिक एवं सांस्कृतिक विकासको मार्गमा रहेको बाधा व्यवधान हट्नु हो । हामी सबैलाई थाहा नै छ, राजतन्त्र वास्तवमा सामन्तवादको गढ र यसको प्रतिनिधि तथा प्रतीक संस्था हो । त्यसैले यसको अन्तको अर्थ सामन्तवाद अन्तर्गतका चिन्तन, सोच, परम्परा, संस्कृतिको अन्तका लागि मार्ग प्रसस्त हुनु हो । तर, हामीले के कुरा बिर्सनुहुन्न भने सांस्कृतिक रुपान्तरण रातारात हुने कुरा होइन ।

सामन्तवादसितको नेपाली जनताको संघर्ष धेरै अघिदेखि, झन्डै सुगौली सन्धिकै समयदेखि हुँदैआएको छ । यही समयदेखि ने सामन्तवादी संस्कृतिका विरुद्ध पनि संघर्ष चल्दैआएको हो र बुर्जुवा संस्कृतिको जग हाल्ने प्रयास भएको हो । राजतन्त्रको अन्त हुनासाथ नेपाली समाजमा विद्यमान सामन्ती संस्कृति एक्कैचोटि समाप्त हुने होइन, यसका लागि निरन्तरको सांस्कृतिक एवं वैचारिक संघर्ष अनिवार्य हुनेछ । राजतन्त्रको अवसान भए पनि सामन्ती संस्कृतिका संवाहकहरुको अन्त भने भैसकेको छैन । राजाका सांस्कृतिक पक्षहरुलाई यथावत् राख्नुपर्छ भन्नेहरु, राजालाई राज्यको पर्याय मानेर हिजो राजाले गर्ने गरेका कामहरु राज्यप्रमुखका रुपमा गर्नेएहरुलगायत सामन्ती संस्कृतिलाई अवलम्बन गर्नेहरु नेपाली समाजमा अहिले पनि विद्यमान छन् । सामन्ती संस्कृतिको उन्मूलनका निम्ति यस खालका मानिसहरुको चिन्तन र व्यवहार दुवैलाई परास्त गर्नु आवश्यक छ र यसका लागि सांस्कृतिक एवं वैचारिक संघर्ष अनिवार्य छ ।

राजतन्त्रको अन्तले नेपालको राजनैतिक अधिकारको क्षेत्रमा मात्र होइन, संस्कृतिको क्षेत्रमा पनि अति दूरगामी प्रभाव पार्ने छ । सामन्तवादमा राजा कुनै खास जातिको, वंशको, लिङ्गको, धर्मको व्यक्ति मात्र हुन पाउँथ्यो । अब नेपालको राष्ट्रपति बन्न न धर्मको, न वंशको, न जातको, न लिङ्गको कुनैको पनि बन्देज छैन । यो चानचुने कुरो होइन । यो सांस्कृतिक सवाल पनि हो । यसरी हेर्दा संस्कृतिको क्षेत्रमा राजतन्त्रको ढलाइले जीवनका विविध क्षेत्रमा धेरै नै गहिरो प्रभाव पर्ने देखिन्छ ।

यस्तो प्रभाव जीवनशैली, आचरण, चिन्तन, मनोविज्ञान आदिआदिमा पर्ने कुरा पनि प्रस्ट नै छ । यसको अन्त्यको प्रभावस्वरुप अब कतिपय सांस्कृतिक रुपहरुको अस्तित्व नै रहने नै छ । कतिपयमा सुधार आउनेछ र कतिपयमा माथि भनिएजस्तै सामन्ती संस्कृतिको ह्रास र बुर्जुवा संस्कृतिको विकासमा तीव्रता र द्रुतता आउनेछ ।

एकताका काष्ठमण्डपलाई बाह्रथरी थक्क जुजु (टोले राजा वा ठकुरी राजा) राजकुलहरुको थलोका रुपमा मानिन्थ्यो । यट्खा, बटु, लगनजस्ता टोलेराजाहरुको सांस्कृतिक अस्तित्व अहिले पनि एकथरीले मान्दै आएका छन् । काठमाडौं अर्थात् खड्गको आकारमा रहेको सहरको सुरक्षाका लागि बाह्रबाह्र वर्षमा पचलीभैरव र भद्रकालीमा राजाले तिनीहरुसित खड्ग साट्ने परम्परा थियो । अब यो र यस्ता अनावश्यक परम्पराको अन्त हुनु स्वाभाविक छ । यद्यपि माथि भनिएझैं केही संस्कृतिको सुरक्षाका नाममा राष्ट्रप्रमुख वा राष्ट्रपतिले यसलाई निरन्तरता दिने वा अर्कै रुपमा यसलाई मान्यता दिने क्रम अझै जारी छ । यो फट्याईंलाई यहाँ निरन्तरता दिने प्रयत्न नहोला भन्न सकिन्न । तथापि यो राजासित सम्बन्धित प्रथा भएको कारणले यसलाई निरन्तरता दिइनुको कुनै औचित्य छैन । यसलाई अन्त्य गरिनुपर्छ ।

यसरी नै राजाको अनिवार्य उपस्थिति मानिएको मछिन्द्रनाथको जात्रा, भोटोजात्रामा पनि अब राजाको उपस्थिति हुनेछैन । राष्ट्रप्रमुखका नातामा सुरुमा गणतन्त्र आएपछिको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो उपस्थिति जनाए । तर, त्यहाँ परम्परागत रुपमा अनिवार्य उपस्थिति चाहिँ राजाको हुन्थ्यो । राजतन्त्रकै अन्त भैसकेको अवस्थामा यसलाई निरन्तरता दिनुको औचित्य देखिँदैन ।

सामन्ती संस्कृतिका पक्षपोषकहरुले जीवित देवी भनेर मान्ने गरेको र राजाहरुको इष्टदेवी कुमारीको चयनमा पनि राजाको संलग्नता अनिवार्य मानिन्छ । सत्तारुढ राजाको चिनासित कुमारीको चिना मिल्नैपर्ने कारणले रजश्वला भएपछि विस्थापित गरिने कुमारीलाई राजा परिवर्तन हुनासाथ विस्थापित गरेर अर्कै कुमारीको चयन गर्ने परम्परा थियो । अब राजाको अस्तित्व नै नभएको अवस्थामा यो परम्पराको अन्त हुनु स्वाभाविक छ ।

इन्द्रजात्रा सम्भवतः नेपालको सबैभन्दा पुरानो जात्रा हो । एकताका एकथरी संस्कृतिविद्हरु इन्द्रलाई देवराज मान्ने गर्दथे । राजालाई इन्द्रको भौतिक प्रतिमूर्तिका रुपमा मानेर हुनुपर्छ, राजाको उपस्थिति वा संलग्नता इन्द्रजात्रामा आवश्यक मानिन्थ्यो । अब यो परम्पराको निरन्तरता पनि अनावश्यक छ ।

बौद्ध धर्मका एकथरी अनुयायीहरुले सम्यक पूजाका रुपमा बौद्ध महिलाले राजाको खुट्टा पखाल्ने र त्यो पानी खाने परम्परा छ । महिलालाई खुट्टाको पानी खुवाउने त्यो निन्दनीय परम्पराको पनि निश्चित रुपमा अन्त हुनेछ ।
हिन्दू धर्मका कट्टर अनुयायीहरुले राजालाई आफ्नो निकटको अभिभावक वा संरक्षक मान्दछन् र राजाहरुको मृत्युमा कपाल काट्ने, श्राद्ध आदिमा राजालाई तर्पण दिने, पिण्ड दिने कार्य अहिले पनि गर्दै आएका छन् । राजाको अतित्व नै नरहेको अवस्थामा यो चलन हट्नु अनिवार्य छ । मान्छेलाई मान्छेको मासु र हाड खुवाउने घृणित काट्टोप्रथाको अस्तित्व अब रहने छैन ।

फुलपाती उत्सवको पनि अब औचित्य छैन । फुलपाती उत्सव विशेषगरी काठमाडौं हनुमान ढोका राजदरबारमा मनाइन्छ । टुँडीखेलमा फुलपाती लिन हनुमानढोकाबाट एउटा सरकारी टोली गोरखा दरबार जाने र पैदल मार्गबाट फुलपाती जमलमा ल्याइपु¥याएपछि त्यहींबाट फुलपाती जुलुस निकाल्ने परम्परा छ । यस जुलुसमा पुरोहित, सरकारी अधिकृत, गुरुजुको पल्टन, अन्य दरबारी कर्मचारी, कलस्यौली आदि सामेल हुन्छन् । यो विशेषतः शाह राजाहरुको परम्परासित संवद्ध छ ।
वसन्त श्रवणको पनि अब अन्त हुनेछ ।

अब तोप—संस्कृति पनि समाप्ति हुनेछ । दशैंको टीका, भाइटीका, जनैपूर्णे आदि अवसरमा राजाले टीका र जनै लगाएपछि तोप पड्काउने प्रचलन हराउने छ । राजाले टीका लगाएपछि मात्र टीका लगाउन खोज्ने प्रथा वा घरमा टीका लगाउनुअघि दलानमा राजाका नाममा टीका टाँस्ने प्रथा रहनेछैन ।

गोर्खाली शासकहरुले आफ्नो शक्तिवृद्धिमा गोरखनाथ वा पशुपतिको भूमिका स्वीकारेअनुरुप श्री पशुपतिनाथले रक्षा गरुन् ! भनेर पशुपतिनाथलाई खुसी पार्नुका साथै नेपालका सम्पूर्ण जनताको मूली र अभिभवाक आफूलाई मानेर नयाँ वर्षदेखि हरेक ठूला चाडपर्वहरुमा दिने गरेका राजाका सम्बोधनहरु अब हामीले सुन्नुपरेन ।

यी समाप्ति भएका र हुने दिशामा रहेका संस्कृतिका केही पक्ष हुन् । अब त्यस्ता सबै कुराहरुमा सुधार आउनेछ, जहाँ, राजा र राजपरिवारलाई वशेष सुविधा, विशेषाधिकार दिइएको थियो र आम नागरिकलाई बन्देज लगाइएको थियो । उदाहरणका रुपमा २०६५ सालको जेठ महिनामा तत्कालीन एमाओवादीका नेताहरु प्रचण्ड र बाबुराम भट्टराईले आम नागरिकलाई निषेध गरिएको गोर्खा दरबारको एउटा कक्षमा प्रवेश गरे । यस्ता अनेकौं घटनाहरु अब सुनिँदै जानेछन् ।

राजा र सामन्तहरुले धर्मलाई सामन्तवादलाई टिकाउने आधारस्तम्भका रुपमा मानेका थिए । राजालाई विष्णुको अवतार मान्ने, ईश्वरको अंश मान्ने र अरु सबैलाई उसको सेवकको रुपमा लिने परिपाटी मात्र त्यहाँ थिएन, धर्म र अध्यात्मवादको प्रचार प्रसार गरेर आमजनतालाई शोषण—उत्पीडन गरिरहने दाउ पनि थियो । तर, अब मानिसले राजतन्त्रको अवसानसँग त्यसमा विचार गर्न थाल्नेछन् । विष्णुको अवतार वा ईश्वरको अंश भए त्यसको अवसान किन भयो ? अब मानिसले अध्यात्मवादमा होइन, भौतिकवादमा विश्वास गर्न थाल्नेछन् । भाग्यवाद र रुढीवादका बारेमा अब तीव्रताका साथ प्रश्न उठ्नेछ । यसको एउटा झल्को हामीले संविधानसभामा सभासदहरुको शपथग्रहणको अवसरमा समेत देख्यौं । पहिलेपहिले सबैले ईश्वरको नाममा शपथ लिइन्थ्यो, अब त्यस्तो रहेन, ईश्वरको नाममा शपथ लिन नचाहनेहरुको लागि पनि आवश्यक व्यहोरा त्यसमा समावेश गरियो । यो भौतिकवादलाई बढावा दिने परिपाटीको थालनी हो । यो बुर्जुवा संस्कृतिको विकासको एउटा लक्षण हो ।

सामन्तवादले मानिसलाई हिजो अन्धविश्वासमा बस्न प्रेरित गरेको थियो । ऊ मानिसहरुसित विश्वास र समर्पणको मात्र आकांक्षा राख्दथ्यो । कसैले पनि तर्क नगरुन्, प्रमाण नखोजून्, बिनापरीक्षण बिनाप्रयोग सबै कुरा अन्धताका साथ शिरोपर गरुन् भन्ने चाहन्थ्यो । अब कुनै कुरालाई स्वीकार्न वा अस्वीकार्न मानिसहरुले तर्क—बुद्धि, प्रमाण, परीक्षण र प्रयोग गर्न थाल्नेछन्, सत्य र तथ्यको आधारमा जोख्न थाल्नेछन् । जीवन जगतलाई विज्ञानका आधारमा बुझ्न थाल्नेछन् अर्थात् तर्क, अनुभव विकास धर्मनिरपेक्षता र सार्वभौमिकतामा आधारित नयाँ मूल्यहरुलाई आत्मसात गर्नेछन् ।

धर्म विज्ञानविरोधी हुन्छ । धर्मले मानिसको स्वतन्त्र एवं वैयक्तिक विचारहरुलाई मान्दैन र मानिसको आफ्नो पृथक अस्मिता स्थापित गर्ने प्रयासलाई महत्व दिँदैन । मानिसलाई तार्किक वा बुद्धिवादी बन्न यसले रोक्तछ । बुद्धिवादी हुनु भने लौकिकता, विज्ञान र सुखसुविधाको आकांक्षालाई स्वीकार्नु हो । यसो गर्नु भनेको भौतिकवादलाई स्वीकार्नु, यथार्थलाई मान्यता दिनु र सत्यको पक्षमा उभिनु हो । राजतन्त्रको अन्तले यसलाई विशेष प्रश्रय दिनेछ । अब कसैले पनि कसैले भनेकै मात्र आधारमा केही कुरालाई पनि मान्नेछैन । भाग्यवाद—रुढीवाद तथा अन्धविश्वासमा तीव्र रुपमा ह्रास आउने बाटो निर्माण भएको छ ।

धर्मनिरपेक्षताको संस्कृतिले अबका दिनहरुमा प्रश्रय पाउनेछ । सामन्तवादविरोधी व्यक्ति आफ्नो सामाजिक व्यवहारमा धर्मनिरपेक्ष हुन्छ । उसले कुनै पनि धार्मिक परम्परालाई स्वीकार गर्दैन । ऊ धार्मिक सत्ताबाट मुक्त हुन्छ । धर्मनिरपेक्षताको वास्तविक अर्थ यही हो । तर, विडम्वनाको कुरो, नेपालमा भने धर्मनिरपेक्षताको अर्थ यसको ठीक उल्टो अर्थात् धर्मप्रति सम्मानभाव प्रदर्शन गरिनुपर्दछ भन्ने अर्थमा लगाउने गरिएको छ । धर्मले हजारौं वर्षदेखि वर्गहरु र वर्णहरुमा विभाजित समाजको आध्यात्मिक कवचको काम गर्दै आएको छ । धर्मले एउटा त्यस्तो सत्यको उपलब्धिको दाबी गर्दछ, जुन बुद्धि, ज्ञानेन्द्रीय र भाषाको सीमाभन्दा पर छ । यसले सन्देहको होइन, विश्वासको माग गर्दछ । यसले स्वतन्त्र विचारको होइन, समर्पणको माग गर्दछ । कुनै पनि व्यक्ति धार्मिक र धर्मनिरपेक्ष एकै पटक भैरहन सक्तैन । कुनै पनि धार्मिक व्यक्ति वा व्यक्तिहरुको समूह सर्व—धर्म समभावको अर्थमा धर्मनिरपेक्ष किन हुन सक्तैन भने धमै मान्ने व्यक्तिको आफ्नै एउटा धर्म हुन्छ र अरु धर्म बिराना हुन्छन् ।

त्यसैले धर्मनिरपेक्षताको धारणा सिधै धर्मको विरोधमा विकसित भएको पाइन्छ । अर्को लोकको कल्पनालाई नकार्नु र यो लोक वा यथार्थलाई यसैका नियमहरुका आधारमा व्याख्या गर्नुलाई इहलोकीकरण (सेक्युलराइजेशन) भनिन्छ । यस अर्थमा धर्मनिरपेक्षता पनि विज्ञान र बुद्धिवादका आधारमा विकसित हुन्छ, यसले अनुभव, तर्क र प्रयोगमाथि जोड दिन्छ र धार्मिक चिन्तनको अबौद्धिक पारलौकिकतालाई निषेध गर्दछ । धर्मनिरपेक्षताले राज्यको एक गुणका रुपमा धर्मलाई व्यक्तिको सरोकार मान्दछ, सामाजिक सम्बन्धहरुबाट धर्मलाई अलग्गयाउँछ र धर्मको आधारमा कसैलाई विशेषाधिकार प्रदान गर्दैन । राज्य र राज्यका प्रमुख व्यक्तिहरु धार्मिक क्रियाकलापबाट स्वतन्त्र हुन्छन् । यसको अर्थ धर्मनिरपेक्ष राज्यले आफ्नो विचारधारा निर्मित र प्रचारित गर्दछ, बुद्धि र तर्कलाई प्रोत्साहन दिन्छ र धार्मिक चेतनाका आग्रहहरुलाई अनुचित बनाउँदै जान्छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिसकेर पनि गिरिजाप्रसाद र रामवरणजस्ता व्यक्तिहरुले ठीक विपरित काम गरे । र, अहिले विद्यादेवी भण्डारीले पनि त्यस्तै संविधानभन्दा विपरित काम गरिरहेछिन् । राजाले हिजो गरेका धार्मिक काममा आज पनि उनीहरु संलग्न रहेका छन् । राजाले गरेका काम हामीले किन नगर्ने ? भन्ने चिन्तन धर्मनिरपेक्ष चिन्तन होइन, सामन्तवादी सोच हो ।

म मात्र जान्दछु, तँ केही जान्दैनस्, त्यसैले मैले भनेको तंैले मान्नैपर्छ भन्ने सोच सामन्तवादी सोच हो । अरुको विचारलाई निषेध गर्ने र आफ्नो विचारलाई जबर्जस्ती थोपर्ने राजतन्त्रको विशेषता हो । बुर्जुवा व्यवस्था यसभन्दा अलिकति फरक छ । त्यसमा बुर्जुवाले सामन्तले झैं ममात्र जान्दछु त्यो लागु गर त भन्दछ, तर यसले तेरो कुरामा छलफल हुन सक्तछ भन्ने समेत मान्दछ । यहाँनिर जबर्जस्ती भए पनि अर्काको कुरो सुन्ने प्रवृत्ति विद्यमान छ । राजतन्त्रको अन्तले यही प्रवृत्तिमा द्रुतता ल्याउनेछ । अब विभिन्न विचारहरु सतहमा पहिलेभन्दा बढी आउनेछन् र बुर्जुवाविरोधी चिन्तन र विचारहरुले पनि ठाउँ पाउनेछन् । यस्तो हुनु भनेको विचार स्वतन्त्रताले प्रश्रय पाउनु हो ।
सामन्तवादको अर्को विशेषता समाजलाई विभिन्न तह र खुड्किलामा विभाजित गरेर तिनलाई असमान र कम सुविधा र मौका दिई सामन्त जमिन्दारले विशेष सुविधा र अवसर हात पार्नु हो । वर्ण व्यवस्था त्यसैको एउटा उल्लेखनीय उदाहरण हो । तर, अब मानिसले वर्ग, वर्ण, जाति, लिङ्ग आदिमा विभाजित गरेर अवसरहरुबाट वञ्चित गर्ने परिपाटीको तीव्रताका साथ विरोध गर्नेछन् र समानताको आन्दोलनलाई अघि बढाउनेछन् ।

एक अर्थमा यसको प्रतिविम्वन हामी अहिलेकै प्रतिनिधिसभामा समेत देख्न पाउँछौं । हिजोसम्म पददलित मानिएका महिलाहरुको तेतीस प्रतिशतको उपस्थिति त्यहाँ छ, दलितहरु आफ्नो जनसंख्याको अनुपातमा पुगेका छन्, त्यसरी नै जनजातिहरु पनि । यो पर्याप्त नहोला, तर हिजोको प्रतिनिधिसभा वा त्यसभन्दा अगाडिको राष्ट्रिय पञ्चायतभन्दा त कता हो कता फरक छ । अब भेदभाव गरिएकाहरुको समानताको आवाजलाई हिजोजस्तो उपेक्षा गर्न सहज छैन । अब दलितहरु, महिलाहरु किसानहरु, ज्यामीहरु, विविध भाषाभाषीहरुको आवाज झन् शक्तिशाली हुनेछ र तिनको संस्कृतिलाई हिजोजस्तो दमनमा राख्न सकिनेछैन ।

सेना र प्रहरीको सुरक्षामा रहेको सामन्तवादको गढ, विष्णुको अवतार भनेर आफूलाई दावी गर्ने राजालाई पनि जनता संगठित भए परास्त गर्न सकिने रहेछ भन्ने मनोविज्ञान र चेतनाले पिँधमा रहेका वर्ग, वर्ण, जाति र लिङ्गका जनसमुदायलाई स्वतन्त्रता र समानताको स्वाभिमानको आन्दोलनमा संगठित हुन (भ्रातृत्वको सम्बन्ध विकसित गर्न) सक्रिय हुन र आफ्नोे आवाजलाई मूर्त पार्न अझ बढी प्रेरणा दिनेछ भने यसले सामन्ती शासक वर्गको मनोविज्ञानमा, अहंकारमा क्षति पु¥याउनेछ । अब रक्त, कुल र हैकमका आधारमा मानिसका विचारलाई, आग्रहलाई सुन्ने परिपाटीको सट्टामा टाठाबाठाहरुको, बुद्धिविवेकको कुरा सुन्ने र लागु गर्ने चलनमा तीव्रता आउनेछ । घरको, परिवारको, गाउँको मूली वा मुखियाका आधारमा तिनले भनेका कुरालाई अब मान्यता दिइने छैन । सोचमा धेरै ठूलोे परिवर्तन आउनेछ । यसले जीवनशैलीमा मात्र होइन, दैनिक घरायसी व्यवहारमा समेत असर पार्नेछ ।

यदि ईश्वर छ भने मनुष्य स्वतन्त्र छैन भन्ने फ्रान्सेली साहित्यकार एवं दार्शनिक सात्र्रको भनाइ थियो । यो भनाइ किन एकदमै सही छ भने ईश्वरवादीहरुका अनुसार मानिसको आदि र अन्तको सम्पूर्ण कार्यक्रम ईश्वरले निर्धारण गरेको हुन्छ ।

राजतन्त्रको अन्त भएको अबको नेपालमा यही स्वतन्त्र मानिसको मानवतावादी संस्कृतिले बढी प्रश्रय पाउनेछ । ईश्वर वा कुनै अदृश्य शक्तिलाई होइन, मानिसलाई संसारको सर्वोत्तम प्राणीका रुपमा उच्चतम् मूल्य दिने र मानिसको स्वतन्त्रता र उसको चौतर्र्फी विकासको धारणालाई पक्षपोषण गर्ने चिन्तनलाई हामी मानवतावाद भन्दछौं । सब थोक मानिसको नाममा र मानिसको हितमा भन्ने यसको मुख्य आशय रहने गरेको छ ।

मानवगरिमा तथा मानवअधिकारहरुको सम्मान, व्यक्तिको आदर, मानवकल्याण मानिसको सर्वतोमुखी विकास, मानिसका लागि आवश्यक पर्ने सामाजिक जीवनका परिस्थितिहरुको निर्माणप्रति विश्वास राख्ने र त्यसका निम्ति चासो र चिन्ता व्यक्त गर्ने विचारहरुको समष्टि नै मानवतावाद हो । मानवतावाद सबै खालका मतान्धता, निग्रहवाद, असहिष्णुता, अरुका विचारहरु र ज्ञानलाई सम्मान नगर्ने भावनाका विरुद्ध छ । वैयक्तिक स्वतन्त्रताको उद्घोषण, धार्मिक व्यक्तित्ववादको विरोध, आनन्दानुभूति र लौकिक आवश्यकताको पूर्तिलाई मानवअधिकारका रुपमा स्वीकृति दिनु यसका विशेषता हुन् । स्वतन्त्रता, समानता तथा भातृत्व र आफ्नो स्वाभाविक प्रकृतिलाई स्वतन्त्र रुपबाट विकसित गर्ने मानिसहरुको अधिकारको पक्षपोषण यसले गर्दछ । सारमा मानवतावाद सामन्ती र धार्मिक प्रभावबाट मुक्त संस्कृति हो । अबको नेपालमा विकसित हुने संस्कृति यही किसिमको हुनेछ ।

साहित्यको क्षेत्रमा भाटसाहित्यको रचना सामन्तवादको विशेषता हो । भाटका रुपमै प्रकट नभए तापनि राजतन्त्रको भोगविलास र सामन्तवादको हितअनुकूल आफूलाई र आफ्ना क्रियाकलापलाई सञ्चालित गर्नु पनि सामन्तवाद र राजतन्त्रकै पक्षमा उभिनु हो । नेपालमा माधव घिमिरेलगायतका तत्कालीन समयमा राजा ज्ञानेन्द्रका क्रियाकलापमा सरसहयोग पुर्याउने, त्यसको विरोध नगर्ने र प्रज्ञा प्रतिष्ठानको संरक्षकत्व राजाले लिनुपर्छ भन्नेहरु यही कित्ताका स्रष्टाहरु हुन् । श्रमजीवी र आम विपन्न जनताका समस्याहरुबाट पर भाग्न निर्माण गरिएका विभिन्न साहित्यिक चिन्तनहरुलाई मान्यता प्रदान गर्ने, साहित्यलाई स्वान्त सुखाय ठान्ने र शास्त्रीयतावादको वरिपरि घुम्ने साहित्यकारहरु वास्तवमै सामन्तवादका पृष्ठपोषक हुन् ।

शास्त्रीयतावाद(classicism) निरंकुशतावादको आरम्भिक कालमा यूरोपेली कलाको विशेषता थियो । थालनीमा यसको अन्तर्वस्तु राष्ट्रिय हितहरुको गुन गाउनु र मानिसका मनोवृत्तिहरुमाथि ध्यान केन्द्रित गर्नु थियो भने पछि गएर दरबारको अभिजाततन्त्रीय संस्कृतिको संकीर्ण वर्गगत स्वरुपलाई प्रश्रय दिनु र खासगरी जनताको जीवनलाई हीन मानेर त्यसलाई पूर्णतः उपेक्षा गर्नु हुनपुगेको थियो । जीवनका व्यवहारिक पाटाहरुको लेखाजोखा गर्न वस्तुगत आन्दोलनलाई निरीक्षण गर्न असफल भएको कारणले शास्त्रीयतावाद समयको भावनाभन्दा पछि पर्दैगयो । शास्त्रीयतावाद क्रमशः पुरानो व्यवस्थाका दृढ समर्थकहरुको झण्डा बन्दै गयो र शास्त्रीयतावादीहरु समाजको परिवर्तनका विरुद्ध अर्थात् सामन्ती सत्ताको रक्षाका निम्ति अरु सबै कुरा स्वीकार गर्न तयार भए । पुरानो व्यवस्थालाई कायम राख्ने शर्तमा उनीहरु आधुनिकताका कतिपय विचारहरुप्रति सम्झौता गर्न पनि तयार भए ।

नेपालका शास्त्रीयतावादका विशिष्ट कवि लेखनाथ पौड्यालको पछिल्लो कृतिमा प्रकट भएका कतिपय आधुनिकजस्ता लाग्ने विचार यही सम्झौतापरस्त चिन्तनका परिणाम हुन् । स्वच्छन्दवाद र यर्थाथवाद यही शास्त्रीयतावादी रचनादृष्टि र विधिका विरुद्ध संघर्षका क्रममा प्रकट भएका हुन् । पहिले सामन्तवाद र पछि पूँजीवाद स्थापना भएपछिको स्थितिमा पनि मानवका लागि ती व्यवस्था उपयुृक्त छैनन् भनेर तिनको आलोचना गर्ने कार्यमा स्वच्छन्दतावादले नेतृत्व लिएको थियो तापनि पछि परिस्थिति यथार्थवादलाई ठाउँ छाड्नुपर्ने परिस्थिति सृजना भयो । साहित्यिक विधि र धाराका हकमा अबको नेपालका पनि यी अभिन्न पक्ष हुनेछन् । नेपालको विविध यथार्थलाई साहित्यमा प्रतिविम्वन गर्नु, कुनै पनि समस्यालाई उत्पीडित नेपाली जनताको दृष्टिबिन्दुबाट हेरेर चित्रण गर्नु सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्नु यसको विशेषता हुनेछ ।

परजीवी वर्गको विशिष्ट नमुना हो राजतन्त्र । हुक्के, ढोके, पाले, भान्छे, धाइ आदि आदि मानिसहरुलाई शारीरिक श्रममा जोताएर आफू केही नगर्ने कामचोरहरुको नाइकेको पनि नाइके हो राजतन्त्र । त्यसैले यसले श्रम गर्नुलाई घृणाका दृष्टिले हेर्दछ । अब श्रमलाई हेलाँ गर्ने संस्कृतिका विरुद्ध श्रमलाई सम्मान गर्ने, श्रमिकहरुलाई सभ्यता र संस्कृतिको निर्माताका रुपमा हेर्ने संस्कृतिको विकास हुनेछ । हिजो शारीरिक श्रमलाई हेलाँ गर्ने दृष्टिकै आधारमा मानिसहरुलाई छुत अछूतमा विभाजित गर्ने कार्य भएको थियो । अब त्यो घृणित परिपाटीलाई बदल्ने प्रक्रियामा तीव्रता आउनेछ ।

क्षमता, योग्यता, उद्यमशीलता, सच्चरित्रता, सत्यता र इमानदारीका आधारमा मानिसको मूल्यांकन गर्नुको साटो आफ्नो चाकरी र सेवाका भरमा मूल्यांकन गर्ने परिपाटी सामन्तवादी संस्कृतिमा विद्यमान थियो । यो रोगबाट अबको संस्कृति मुक्त हुने प्रक्रियामा अघि बढ्नेछ । विभिन्न किसिमका भ्रष्टाचार, नातावाद, कृपावाद यसैका उपज थिए । अबको संस्कृतिमा तिनलाई ठाउँ दिनु भनेको पुरातनलाई नै निरन्तरता दिनु हो ।

सर्सर्ती आफूलाई लागेका केही कुराहरु यस सन्दर्भमा मैले यहाँ प्रस्तुत गरेको छु । यसमा विशेष छलफल र विचारविमर्श गरेको खण्डमा नौ हामी सही निष्कर्षमा पुग्न सक्नेछौं । त्यसका लागि यो प्रथम प्रयास मात्र हो ।
अन्तमा म के भन्न चाहन्छु भने बुर्जुवा संस्कृतिले मानवतावादी आदर्शहरुको आधार निजी सम्पत्ति र व्यक्तिवादलाई बनाएको कारणले गर्दा यी आदर्श आफ्ना सर्वोत्तम अभिव्यक्तिहरुसम्म मात्र सीमित रहने गरेका छन् । हामी सबैलाई थाहा छ व्यवहारमा विशुद्ध विवेक र विशुद्ध न्यायको शासन बुर्जुवा राज्यको आदर्श कल्पना मात्र हो । समानताको मागलाई खालि राजनीतिक अधिकारसम्म मात्र सीमित गर्नु र व्यक्तिहरुका सामाजिक स्थितिमा विस्तार नगर्नुको परिणाम समाजका लागि हितकर हुँदैन । समानताको सिद्धान्त देखावटी नभएर वास्तविक बनाइनुपर्दछ र सामाजिक तथा आर्थिक क्षेत्रमा समेत क्रियान्वयन गरिनुपर्दछ भन्ने शिक्षा यसले दिएको छ र नयाँ नेपालको संस्कृतिको निर्माणको सन्दर्भमा पनि यसलाई हामीले गम्भीर महत्व दिनुपर्ने हुन्छ । त्यसैगरी वर्गीय विशेषाधिकारहरुको अन्त मात्र होइन स्वयं वर्गभेदकै अन्त आवश्यक छ ।

अनि मात्र समानता र स्वतन्त्रताको व्यवहारमा नै क्रियान्वित हुने अवसर पाउँछन् । जहिलेसम्म प्रत्येक व्यक्ति स्वतन्त्र बन्न सक्तैन, त्यतिखेरसम्म समाज स्वतन्त्र हुन सक्तैन । यसका लागि उत्पादनको पुरानो प्रणालीमा तलदेखि माथिसम्म परिवर्तन हुनु र विशेषतः पुरानो श्रमविभाजनलाई समाप्त पार्नु अनिवार्य हुन्छ । यसका लागि कुनै व्यक्तिले उत्पादक श्रमको आफ्नो अंशलाई अर्कामाथि थोपर्न नपाउने र उत्पादक श्रम मानिसलाई पराधीन बनाउने साधन बन्न नसक्नेगरी उत्पादनलाई संगठित र संयोजित गरिनुपर्दछ । यस्तो भएमा त्यसले हरेक व्यक्तिलाई आफ्ना सम्पूर्ण शारीरिक तथा मानसिक क्षमताहरुको सर्वतोमुखी विकास गर्ने र पूर्ण प्रयोग गर्ने मौका दिन सक्तछ । यसरी श्रम मनुष्यहरुको मुक्तिको हुनेछ भन्ने महान् दार्शनिक फ्रेडरिक एंगेल्सको भनाइ हाम्रा लागि उपयुक्त सन्दर्भ हुन सक्तछ ।

  • निनु चापागाईं
(Visited 44 times, 1 visits today)

टिप्पणी

comments