Main Menu

अन्तर्वार्ता

वर्तमान नेतृत्वबाट सामन्तवादविरोधी संघर्षलाई अगाडि बढाउन सम्भव भयो – आहुति [अन्तर्वार्ता]

(‘जनताको बहुदलीय जनवाद’ लाई नेपाली क्रान्तिको सिद्धान्त मानी २०४६ सालको आन्दोलनपछि पुनर्स्थापित राजा सहितको बहुदलीय संसदीय व्यवस्थाभित्रको राजनीतिमा नै गन्तब्यलाई पूर्ण बिराम गरिसकेको नेकपा (एमाले) र जनयुद्ध गर्दै जनआन्दोलनको आँधीबेहरी सिर्जना गरी गणतन्त्र स्थापनासम्म सफलता हासिल गरेको तत्कालीन नेकपा (माओवादी) को विरासतमा परिवर्तित नेकपा (माओवादी केन्द्र) बीच गत प्रदेश र संघीय संसदको निर्वाचनमा चुनावी गठबन्धन मात्र होइन अब पार्टी एकता नै गर्ने भनी घोषणा र तयारी थालिएपछि नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ बहसको सिर्जना भएको छ । के अब माओवादी आन्दोलनको अवसान भएको हो ? के माओवादी नेतृत्वले क्रान्तिको बाटो छाडी यथास्थितिको राजनीति समातेको हो ? के त्यो नेतृत्वले हिजो आफैले निर्धारण गरेका जनवादी एवं वैज्ञानिक समाजवादका एजेन्डाहरुलाई त्यागेको हो ? के त्यसले आफ्नो वर्ग आधारलाई फेरेको हो ? त्यसो भए के नेताहरु अब कम्युनिस्ट क्रान्ति वा सर्वहारा वर्गीय क्रान्तिका अभियन्ताहरु रहेनन् ? यदि त्यस्तो हो भने नेपाली श्रमजीवि वर्ग र सर्वहारा वर्गीय बिचार, क्रान्तिको भविष्य के हुन्छ त ? यी प्रश्नहरु एकैसाथ अहिले कम्युनिस्ट क्रान्तिकारीहरुको दिमागमा आइरहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का एक प्रखर व्यक्तित्व यसका एक नेता आहुति हुन् । साहित्य, दलित एवं जनजातीय आन्दोलन र समग्र कम्युनिस्ट आन्दोलनको विषयमा उनले आफूलाई एक अब्बल लेखक, बिचारक, विश्लेषकका रुपमा मात्र होइनन् एक अभियन्ता, आन्दोनकारी र नेताका रुपमा स्थापित गरेका छन् । अहिले उनी एमाले र माओवादी केन्द्रबीचको एकताको सवालमा मात्र होइन नेपाली कम्युनिस्ट आन्दोलनलाई अब नयाँ चरणमा र नयाँ शिराबाट पुनरउत्थान गर्ने भनी लागीरहेका छन् । वैधानिक रुपमा अझै उनी नेकपा (माओवादी केन्द्र) का एक केन्द्रीय नेता भए पनि अब आफूलाई त्यो परिचयबाट अलग गर्न अनुरोध गर्दछन् । यसै परिपे्रक्षमा एमाले माओवादी एकता, नेपाल र विश्व कम्युनिस्ट आन्दोलनको भविष्य र नेपाली कम्युनिस्ट क्रान्तिकारीहरुको दायित्वको सन्दर्भमा मूल्याङ्कन अनलाइनका लागि पत्रकार तुल्सीदास महर्जनले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिन्छ । पूरा अन्तर्वार्ता हेर्न यहाँ क्लिक गर्नुहोस् । –सम्पादक)

aahuti-interview-part-1

प्रश्न – तपाईं माओवादी केन्द्रका केन्द्रीय नेता हुनुहुन्छ । तर, पार्टीको निर्णयलाई नमानी एमालेसँगको एकतामा नगई छुट्टै पार्टी बनाउने भनेर हिँडिराख्नुभएको छ नि ! के यो तर्क सङ्गत भयो र ?

उत्तर – पहिलो कुरा के रहेको छ भने आजभन्दा साढे दुई वर्षअगाडि नै हाम्रो पार्टी नेकपा माओवादी केन्द्र कम्युनिस्ट पार्टीको रुपमा रहेन र नेपालमा सङ्गठित रुपमा कम्युनिस्ट पार्टी अहिले छैन भनी सार्वजनिक रुपमा नै एउटा श्रृङ्खला लेखेको थिएँ । मैले त्यो लेखेपछि पार्टीमा के सल्लाह भयो भने ‘पार्टी बिग्रेको छ, वर्गच्युत पनि हुन पुगेको छ, आत्मनिर्णयको अधिकार पनि गुमाउन थालिएको छ, साङ्गठनिक पद्धति प्रकृया पनि भताभुङ्ग भएको छ, त्यसकारण यो पार्टीलाई आजको आवश्यकता अनुसारको कम्युनिस्ट पार्टी बनाउनका लागि एक महावहसको आवश्यकता छ,’ भन्ने कुरामा सबैको सहमति रहे पनि संविधान निर्माणको कामलाई टुङ्गोमा पुर्याउनुपर्ने भएकोले पहिले त्यसैलाई फोकस गर्ने कुरा भयो । किनभने, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अधिकारहरुलाई संस्थागत गर्नका निम्ति संविधान निर्माणको कामलाई थाती राख्नु हुन्नथ्यो ।

त्यसैले संविधान निर्माणको कार्यभार पूरा गरी त्यसलाई लागुगर्ने प्रकृया सुरु भएपछि पार्टीभित्र महावहस सृष्टि गर्ने र त्यसमा अरु पार्टीहरुमा भएका क्रान्तिकारीहरुलाई पनि जोडेर महाधिवेशनको तयारी गर्ने भन्ने कुरामा हाम्रो सहमति भयो । र, त्यही प्रकृयाबाट मार्क्सवादको विकासको प्रयत्नसहित नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण गर्ने आधिकारिक समझदारी पार्टीभित्र भएको थियो । यी कुराहरु दस्ताबेजीकरण पनि भएका छन् । चाहिएको बेला जो कसैले पनि हेर्न सकिन्छ ।

यही कारणले मैले आफूलाई यो पाँच वर्ष सरकार सदन कहिँ पनि नजाने बरु बैचारिक रुपमा आफूले जति योगदान दिन सकिन्छ त्यस अनुसारको भूमिका खेल्ने होला भनी त्यही हिसाबमा मानसिकता बनाएको स्थिति थियो । तर, मंसिरपछि वहस गर्ने भन्ने कुरा हुँदाहुँदै कुनै पनि कमिटीको औपचारिक बैठक र निर्णय नगरी अचानक रुपमा केही नेताहरुले एमाले पार्टीसँग सल्लाह गरेर पार्टी एकता गर्ने भन्ने निर्णय लिएर आउनुभयो । एमालेले त त्यसलाई आफ्नो पार्टी पंक्तिमा सर्कुलर पनि गर्यो । यता हाम्रो पार्टीमा कसैलाई केही थाहा थिएन । निर्वाचनमा ककसलाई टिकट दिने भन्ने एजेन्डामा छलफलका लागि बोलाइएको ‘टिकट सिफारिस कार्यदल’ को बैठकमा एक्कासी एमालेसँग एकता गर्ने निर्णय सुनाइयो । त्यो बैठकमा केन्द्रीय सचिवालयका दुईचारजना कमरेडहरुलाई पनि डाकिएको रहेछ ।

नेताहरुले एमालेसँग पार्टी एकताको निर्णय अकस्मात ल्याउनुभयो । एमाले र माओवादीभित्र बिसौं तिसौं वर्षदेखि आआफ्नै ढङ्गले कार्यकर्ताहरुलाई जसरी प्रशिक्षित गर्दै आइएको छ, त्यसलाई केही नसच्च्याईकन वा कार्यकर्ताहरुलाई एक रात पनि सोच्न नदिईकन ‘एकता गर्ने’ भन्ने निर्णय जुन सुनाइयो, त्यो चाहिँ मैले जानेसम्म विश्व कम्युनिस्ट आन्दोलनमा कार्यकर्ताहरुमाथि यति ठूलो अपमान कहिँकतै भएको छैन । र, यस्तो खालको सर्वहारा जनवादको उल्लङ्घन कहिँकतै भएको मैले पढेको छैन । त्यो बिलकुल गलत कुरा थियो ।
एमालेसँग पार्टी एकताको निर्णयमा पुग्ने भन्ने सवाल माओवादी पार्टीलाई बिसर्जन गर्ने कुरा थियो । तर, त्यो घटना यस्तो बेला घट्यो, जुन बेला प्रदेश र संसदको निर्वाचन मंसिर १० र २१ गते हुने भनी भर्खर घोषणा गरिएको स्थिति थियो । चुनाव भाँडियो भने संविधान लागु नहुने स्थिति आउने खतरा थियो । चुनाव रोकेर संविधानलाई असफल बनाउन चाहने शक्तिहरु क्रियाशील छँदैथिए । यता नेताहरुको निर्णयले पार्टी बिसर्जनको स्थिति आयो । हामी अलि अक्कनबक्क भयौं । तर, चुनाव सम्पन्न गरी

मंसिरपछि वहस गर्ने भन्ने कुरा हुँदाहुँदै कुनै पनि कमिटीको औपचारिक बैठक र निर्णय नगरी अचानक रुपमा केही नेताहरुले एमाले पार्टीसँग सल्लाह गरेर पार्टी एकता गर्ने भन्ने निर्णय लिएर आउनुभयो । एमालेले त त्यसलाई आफ्नो पार्टी पंक्तिमा सर्कुलर पनि गर्यो । यता हाम्रो पार्टीमा कसैलाई केही थाहा थिएन ।

प्रश्न – जनयुद्द गरेर आएको पार्टीलाई तपाईं ‘कम्युनिष्ट पार्टी’ नै रहेन भन्दै हुनुहुन्छ यो कसरी ठीक भयो त ?

उत्तर – कम्युनिष्ट पार्टी भनिसकेपछि त्यसले मार्क्सवादका आधारभूत सिद्दान्तलाई पक्रनु, त्यसका आधारमा आजको समयअनुसार विचारधारा, रणनीति, कार्यनीतिजस्ता कुराहरुको विकास गर्नुपर्यो । त्यही अनुकूलको पद्धति र मूल्यमान्यता स्थापित गर्नुपर्यो । जनयुद्दको समयमा र जनआन्दोलनको समयमा आफ्ना कयौं कमीकमजोरीका बाबजुद यस पार्टीले आधारभूत रुपमा श्रमिक एवं गरिब जनताको पक्षमा, उत्पीडित राष्ट्रहरुको पक्षमा काम गर्यो । त्यसैले त्यो समयमा यो आधारभूतरुपमा कम्युनिष्ट पार्टी नै थियो । तर, शान्ति प्रक्रियामा आइसकेपछि नेतृत्वको दफाले तीनवटा ठाउँमा त्रुटि गर्न थाल्यो । एक ‘बी’ वर्गीय तथा प्रतिक्रान्तिकारी वर्गीय प्रतिनिधिहरुसँग यसको नेतृत्व दफाले अनिवार्य रुपमा सहकार्य गर्नुपर्ने वस्तुगत परिस्थिति सृजना भइदियो, त्यो नियतको कुरा थिएन ।

शान्तिप्रक्रियामा आइसकेपछि भने उहाँहरुको श्रमिकवर्गसँग सम्बन्ध टुट्यो । हरेक दस्तावेजहरुमा सहिद परिवारसँग, तल्ला कार्यकर्ताहरुसँग, बेपत्ता परिवारसँग सम्बन्ध टुटेको उल्लेख गरियो ।

त्यसले ‘र’ को प्रतिनिधिसँग पनि भेट्नुपर्ने, सिआइएसँग पनि भेट्नुपर्ने, भारतीय, चाइनिज, अमेरिकन राजदूत, ज्ञानेन्द्रका दूतहरुसँग पनि भेट्नुपर्ने वस्तुगत परिस्थिति सिर्जना भयो । साथै उनीहरुसँग खानपिन गर्नुपर्ने, आफूलाई पनि उनीहरुको जस्तो भौतिक जीवन बनाउनुपर्ने भयो । उनीहरु कारमा जान्छन् भने आफू ट्याम्पुमा गएर त बैठक हुन सक्दैनथ्यो । त्यो स्वभाविकै थियो र आवश्यक पनि थियो ।

उहाँहरु निम्नमध्यमवर्गको बीचबाट कम्युनिष्ट आन्दोलनमा आउनुभएको हो । त्यसपछि उहाँहरुले मार्क्सवाद पढ्नुभयो । र, मार्क्सवादको प्रभावले उहाँहरुलाई क्रान्ति गर्न मन लाग्यो । क्रान्ति गर्न तल्लो वर्गका श्रमिकहरुसँग एकता नगरीकन क्रान्ति हुँदैन भन्ने कुरा उहाँहरुले मार्क्सवादबाट शिक्षा लिनुभयो ।

निम्नमध्यमवर्गबाट आएको भए पनि उहाँहरुले श्रमिकवर्गसँग एकता गर्नुभयो । तर, उहाँहरु रुपान्तरणमा चाहिँ जानु भएन । उहाँहरु मार्क्सवादी सिद्दान्त बुझेका र कार्यक्रम भएका हुनुहुन्छ । प्रतिक्रान्तिकारी कित्ताबाट आएका पनि हुनुहुन्न । त्यसैले उहाँहरुबाट क्रान्तिकारी काम अगाडि बढाउन सम्भव भएको हो । त्यस्तै गरी सामन्तवादविरोधी संघर्षलाई कमीकमजोरीका बाबजुद पनि सानदार ढंगले अगाडि बढाउन सम्भव भयो र आधारभूत रुपमा सामन्तवाद अन्त गर्ने ठाउँसम्म उहाँहरु पुग्नुभयो । तर, शान्तिप्रक्रियामा आइसकेपछि भने उहाँहरुको श्रमिकवर्गसँग सम्बन्ध टुट्यो । हरेक दस्तावेजहरुमा सहिद परिवारसँग, तल्ला कार्यकर्ताहरुसँग, बेपत्ता परिवारसँग सम्बन्ध टुटेको उल्लेख गरियो । आधारभूत वर्गबाट टाढा भयो भनेर आफैले स्वीकार गरेको कुरो भयो । एकातिर प्रतिक्रान्तिकारी वर्गहरुसँगको लगातार उठबस गर्नुपर्ने वस्तुगत आवश्यकता, अर्कोतिर श्रमिकवर्गसँगको सम्बन्ध विच्छेड, यी दुई कुराले गर्दा उहाँहरुको वर्गमा अब कता जाने भन्ने कुरा प्रश्न आयो ।

यही बीचमा नेपाली कम्युनिष्ट आन्दोलनमा पहिलेदेखि नै ठूलो रोगको रुपमा रहँदै आएको प्रवृत्तिलाई उहाँहरुले झन बढावा दिनुभयो । त्यो के हो भने व्यक्तिगत र पार्टीगत आर्थिक जीवन अपारदर्शी ढंगले चलाउने । यदि शान्तिप्रक्रियामा आइसकेपछिको स्थितिमा आर्थिक गतिविधिको सम्बन्धमा पार्टीभित्र पारदर्शीता कायम गरिदिएको भए उहाँहरुको वर्ग भड्किन पाउँदैन थियो । निम्नमध्यमवर्गको वर्गीय आधार भड्किन पाउँदैन थियो । एकातिर प्रतिक्रान्तिकारीहरुसँगको उठबसको आवश्यकता, अर्कोतिर श्रमिकवर्गसँगको सम्बन्ध विच्छेड गर्नुपर्ने अवस्था र आर्थिक अपारदर्शीताको कार्यशैलीले अनिवार्यरुपमा उहाँहरुको वर्ग भड्किँदै गयो । यही क्रममा नै अन्ततः उहाँहरु नोकरशाही पूँजीपतिवर्गको हैसियतमा पुग्नुभयो । अब नोकरशाही वर्गले कम्युनिष्ट आन्दोलन चलाउँछ भन्ने कुरा त भएन ।

आजको समयले नयाँ युगमा प्रवेश गरिसक्यो । त्यसको संश्लेषण गर्नुपर्ने आवश्यकता भइक्यो । यस अवस्थामा मार्क्सवादको रक्षा गर्नुपर्ने स्थिति छ । तर, यहाँ भने नेतृत्व वर्ग भड्किएर नोकरशाहीवर्गमा रुपान्तरण भइसक्यो ।

aahuti-interview-part-1

प्रश्न – तपाईंले वस्तुगत आवश्यकताको जुन कुरा गर्नुभयो, त्यो त अब कसैको नियन्त्रणमा रहेन नि ! तर, मजदुर वर्गसँगको सामिप्यताबाट टाढा भएको भन्ने कुरो र आर्थिक अपारदर्शीताको सवाल त आफैले महसुस गरी सुधार्ने कुरा हो नि ! ती किन हुन सकेनन् ?

उत्तर – मूल समस्या नै यही हो । शान्तिप्रक्रियामा आउनुभन्दा पहिले पार्टीमा एक किसिमको आन्तरिक कार्यनीति थियो । त्यस अवस्थामा आर्थिक पारदर्शिताको कुरो गौंण रह्यो । क्रान्तिको लागि खर्च भैराखेको हुन्थ्यो, त्यसैले त्यसलाई त्यही किसिमले मान्न सकिन्थ्यो । तर, शान्तिप्रक्रियामा आइसकेपछि उहाँहरुले आर्थिक गतिविधिलाई नीतिगतरुपमा नै प्रस्तुत गर्नुपर्ने थियो । हजारौं हजार कार्यकर्ताहरुलाई सदरमुकाम एवं राजधानीमा थुपारेपछि, दर्जनौं दर्जन नेताहरुलाई राजधानीमा थुपारेपछि उनीहरुका आर्थिक व्यवस्थापनको डिजाइन के हो त ? नीति के हो त ?, स्रोत के हो त ? र, खर्च गर्ने तरिका के हो ? यसमा पारदर्शीता के हो ? भन्ने सवाललाई सम्वोधन गर्ने स्पष्ट नीति बनाउनुपथ्र्यो । त्यसो हुन सकेन । यसको सट्टामा बरु उहाँहरु भइपरी आउने जसरी पनि जाने भन्नेतिर जानुभयो । यसरी भइपरी आउने जसरी पनि जाने भैसकेपछि त अपारदर्शी हुने नै भयो नि ! त्यसमाथि पार्टीभित्र पहिलेदेखि नै गुटबन्दी थियो । ती गुटहरुलाई उहाँहरुले आ-आफ्नो आर्थिक धन्दातिर लगाउनुभयो ।

यसरी नै माओवादीभित्र गुटहरु थरिथरिको आर्थिक समूहका रुपमा विभाजित हुनपुगे । अहिले माओवादीभित्र विभिन्न गुट उपगुट जुन छन् ती सबै यथार्थमा आर्थिक समूहहरु हुन् । एमालेभित्र पनि विभिन्न गुटहरु यथार्थमा आर्थिक समूहहरु हुन् । गुटले त राजनीतिक साहारा लिन्छ । त्यसले षडयन्त्रकारी कार्यशैलीद्वारा सत्ता कब्जा गर्ने हो । तर, उहाँहरुसँग फरक राजनीति केही पनि छैन । व्यक्तिपिच्छे गुट चाहिँ छ । उहाँहरुको गुट राजनीतिक नभई आर्थिक समूहहरु हुन् ।

प्रश्न – विश्व कम्युनिष्ट आन्दोलनलाई सबैतिरबाट हेर्दा कम्युनिष्ट क्रान्तिकारीको रुपमा आउनेहरु निम्नमध्यमवर्गबाट नै आएका देखिन्छन् । जीवनको उत्तराद्र्धमा आएर उनीहरुमा वर्गीय बिचलन आउने र क्रान्ति प्रतिक्रान्तिमा पतन हुने भइरहेछ भन्ने भनाइ रह्यो । नेपालमा पनि त्यही नै भयो भनेपछि तपाई आफै त्यही वर्गबाट आएका नेता हुनुहुन्छ, यहाँको नेतृत्व पनि त्यही दुष्चक्रमा फस्यो भन्नुहुन्छ, तपाईंसँग यसको समाधान के छ त ?

उत्तर – पहिलो कुरो व्यक्तिको नियतको हो । व्यक्तिगत विषयका कारण यस्तो हुने होइन । हामीले हरेक कुरा विचारधाराको आधारमा हेर्नुपर्ने हुन्छ । हामीले सम्झना गरौं, माओले निरन्तर क्रान्ति सिद्धान्तको कुरा गर्नुभएको छ । माओकै सिद्धान्तलाई आत्मसात गर्दै हामीले नेपाली कम्युनिष्ट आन्दोलनमा के भन्यौं भने सर्वहारा सांस्कृतिक क्रान्ति भनेको क्रान्तिपछि गर्ने होइन, त्यसलाई अहिलेदेखि नै क्रान्तिको अभिन्न अंग बनाएर लानुपर्दछ । त्यो भनेको निजी सम्पत्तिजन्य (निजीत्व) मानसिकतालाई न्यूनीकरण गर्ने अभियान चलाउने हो । यो अभियान र सांस्कृतिक क्रान्ति भनेको विचारधारा परिवर्तनको आन्दोलन हो । विचारधारा परिवर्तनको आन्दोलनलाई जीवनको अभिन्न अंग बनाएर लानुपर्छ ।

दोस्रो कुरो क्रान्तिकारी आन्दोलनमा विचारधाराले मात्रै पुग्दैन, त्यसलाई व्यवस्थित गर्न अनिवार्य रुपमा एउटा निश्चित संरचनामा ढाल्नुपर्ने हुन्छ । हरेक चीजलाई निरन्तर पुनरउत्पादन गरिराख्नका लागि, निरन्तर नयाँनयाँ उचाइमा पुर्याई राख्नका निम्ति कुनै खास संरचनाको आवश्यकता हुन्छ । जस्तो कि पार्टीभित्र आजको दोहोरो स्रेस्ता प्रणालीअनुसार, आजको विकसित लेखाशास्त्रअनुसार हरेक कमिटीले हिसाब राख्नैपर्ने, नराखेमा त्यो कमिटी विघटन हुने भन्ने नियम बनाएको हुन्थ्यो भने, केन्द्रीय कमिटी पनि त्यही नियमभित्रमा विघटन हुन तयार हुन्थ्यो भने, पार्टीको मुख्य शर्त पार्टीभित्र आर्थिक पारदर्शीता र वैज्ञानिक हिसाब प्रणाली हुन्थ्यो भने त्यसले हामीलाई क्रान्तिकारी आन्दोलनको गन्तव्यमा पुर्याउने हुन्थ्यो । यहाँ निरन्तर क्रान्ति गर्ने त भनियो, तर हाम्रो आन्दोलनमा त्यस्तो संरचना बनेन । हिसाब त याक चुरोटको बट्टामा लेख्न थालियो । विचारलाई निरन्तर संगठनको जीवन बनाइसकेपछि त्यसको संरचना पनि त्यस्तै बनाउनुपर्थ्यो ।

हाम्रो कम्युनिष्ट आन्दोलनमा कस्तो अभ्यास हुन पुग्यो भने, पार्टीका कोहीलाई काठमाडौंबाट पोखरासम्म जानुपर्यो भने ठ्याक्क पोखरा पुग्नेसम्मको मात्र भाडा दिएर पठाउने गरियो । बीचमा गाडी बिग्रियो भने के गर्ने ? यसबारे केही सोचिएको र व्यवस्था गरिएको हुँदैन । पार्टी जीवनमा त्यस्ता थुप्रै परिघटनाहरु घटेका छन् ।

हवाईजहाज उडाउँदा तेल कति हाल्ने भन्ने कुराको एक निश्चित सिद्धान्त हुन्छ । यहाँबाट पोखरा जाने, पोखराबाट यहाँ आइपुग्ने र फेरि चौथाइ बाटोसम्म उड्न मिल्ने मात्राको तेल हालिन्छ, आपतकालीन अवस्थाका लागि । कारणवश पोखरामा अवतरण गर्न नसक्ने स्थिति आइपर्यो भने पुनः त्यतिकै काठमाण्डौं फर्कन मिल्ने र साथै काठमाण्डौको एरपोर्ट पनि तत्काल विमान अवतरणका लागि तयारी अवस्थामा रहेन भने एकछिन माथि नै उडिराख्न सकियोस् भनेर त्यति समससम्म उड्न पुग्ने इन्धन तेल विमानमा राखिएको हुन्छ ।

हाम्रो कम्युनिस्ट आन्दोलनमा पनि यो सिद्धान्त लागु गनुपर्ने थियो । तर, यहाँ के भइदियो भने कार्यकर्ताहरुलाई ठ्याक्क पोखरासम्म पुग्नलाई मात्र भाडा दिई पठाइदिइयो । यदि केही गरी बीच बाटोमा अलपत्रमा पर्यो भने ऊ समस्यामा पर्ने भयो । यो चाहिँ आर्थिक व्यवस्थापनलाई निश्चित संरचनामा नढालेको स्थिति थियो ।

आर्थिक होस् या वैचारिक हरेक कुरालाई संरचनामा ढाल्नुपर्दछ । संरचनामा ढाल्यो भने जुनसुकै वर्गबाट आएको भएपनि यदि मान्छेमा सिद्धान्त छ, विचारधारा छ, राजनीति छ, संगठन छ, र उसलाई व्यवस्थित गर्ने संरचना छ भने ऊ आनन्दित भएर अगाडि बढिरहन्छ, नत्र भने हरेक कुरा बाध्यामत्क ढङ्गले राजनीति चल्न थालेपछि मान्छे कुनै न कुनै ठाउँमा खुट्टा चिप्लिन्छ । अर्थात् संरचनाविना नै चल्न थालेपछि त्यस्तो स्थिति आउँदछ । स्वविवेकले मात्रै मान्छे धानिन सक्दैन । स्वविवेकपनलाई जति धेरै घटाइयो त्यति धेरै अनुसाशित हुनपुग्छ । अनुसाशन सामुहिक विषय बन्न पुग्छ ।

क्रान्तिकारी आन्दोलनमा विचारधाराले मात्रै पुग्दैन, त्यसलाई व्यवस्थित गर्न अनिवार्य रुपमा एउटा निश्चित संरचनामा ढाल्नुपर्ने हुन्छ । यहाँ निरन्तर क्रान्ति गर्ने त भनियो, तर हाम्रो आन्दोलनमा त्यस्तो संरचना बनेन । हिसाब त याक चुरोटको बट्टामा लेख्न थालियो ।

त्यसैले एउटा मुख्य कुरो चाहिँ विचारधारामै हल गर्ने हो । मार्क्सवादी ढङ्गले लगातार वैचारिक काम गरेको गर्यै, गरेको गर्यै गर्ने हो । निश्चित संरचनामा ढाल्ने हो । अर्को, श्रमिक जनतासँगको स्वार्थमा, श्रमिक जनतासँगको एकाकारमा निरन्तर जुटिरहने हो ताकि ऊ त्यहाँबाट अलग हुन नपरोस् । तेस्रो कुरो भनेको पार्टीको निश्चित संरचना हो । यी सबै कुरालाई एकसाथ समग्रतामा सम्बोधन गर्यो भने मात्रै हामी सर्वहारावर्गबाट या गैरसर्वहारावर्गबाट आएका सबैलाई पनि निरन्तर क्रान्तिकारी बन्न सघाइरहेका हुनेछौं । सर्वहारावर्गबाट आएको भन्दैमा त्यत्तिकै इमान्दार हुने त होइन, त्यसलाई त कम्युनिष्ट विचारबाट सिंचित गरी कम्युनिष्ट इमान्दारीतामा पुर्याउने हो ।

काँग्रेस पार्टीमा पनि त गरिब मान्छेहरु छन् नि । ती त सर्वहारा मात्रै हुन्, सर्वहारावर्गका होइनन्क । सर्वहारावर्गका हुनलाई कम्युनिष्ट सिद्धान्तद्वारा संगठित हुनुपर्दछ । भौतिकवादी सिद्धान्तद्वारा ऊ संगठित हुनुपर्यो । त्यसपछि त्यो सर्वहारा वर्गको रुपमा आउँछ । त्यसैले जुनसुकै आर्थिक धरातलबाट आएको भए पनि विचारधारा, राजनीति, पार्टी, निश्चित संरचना र विधिभित्र ढालेपछि मात्र मान्छे सर्वहारा वर्गमा रुपान्तरण हुने हुन्छ ।

प्रश्न – मान्छेहरुको त निजी चाहना, इच्छाहरु त हुन्छन् नि ?

उत्तर – व्यक्ति भएपछि निजी चाहना र इच्छा नहुने हुँदैन । कतिपय मान्छेहरु व्यक्तिवादको उन्मुलन कुरा गर्छन् । तर, व्यक्तिगत कुरा भन्ने कुरा त संसारमा कहिले पनि अन्त्य हुँदैन । व्यक्ति रहेसम्म व्यक्तिवादको अस्तित्व पनि रहिरहेको हुन्छ । तर, कति हदसम्म रहने ? मुख्य सवाल यो हो । व्यक्तिवाद समाजमाथि हावि हुने हो कि, व्यक्तिवाद पार्टीमाथि हावि हुने कि वा पार्टी र समाज व्यक्तिमाथि हावि हुने हो महत्वपूर्ण कुरा यो हो । व्यक्तिवादलाई न्यूनीकरण गर्नुपर्छ र समाजमाथि यसलाई हावि हुन दिनु हुँदैन ।

प्रश्न – व्यक्तिवादमा पुर्याउने व्यक्तिको निजी चाहना खालि आर्थिक उपार्जन प्राप्तीको चाहना मात्र हो कि अरु पनि हुन्छ ? जस्तो कि आन्दोलनमा लागेको मान्छे आर्थिक रुपमा खतमै भए पनि उसको चाहना आफू ठूलै नेता हुने भन्ने पनि हुन सक्छ । भोलि मेरो सालिक ठडोस् वा भोलि मेरो पनि मार्क्स, एंगेल्सको जस्तो भोलमका भोलम किताबहरु निस्कियोस् भन्ने व्यक्तिवादी चाहना पनि नेता कार्यकर्ताको हुन सक्छ । यसको लागि उसले पार्टी र आन्दोलनभित्र बिभिन्न टिकडम र चलाकी गरेको हुन सक्छ नि ! उसले आफ्ना सहकर्मीहरुको खुट्टा तान्नेजस्ता खराब काम पनि गरेको हुन सक्छ । यसमा तपाईं के भन्नुहुन्छ ?

उत्तर – यो भनेको पनि निजी सम्पत्तिबाट जन्मिएका विभिन्न बाइप्रडक्टहरु (सहउत्पादनहरु) हुन् । जस्तो कि निजी श्रीमती, निजी लोग्ने भन्ने कुराहरु पनि निजी सम्पत्तिकै कारणलेक जन्मेका हुन् । निजी बच्चाको अवधारणा, निजी सम्पत्ति हस्तारन्तरणबाट जन्मियो । निजी भन्ने चीज जे जति छन् निजीसँग जोडिएका मान, मर्यादा, अमर हुने सबै सामन्तवादबाट जन्मिएका हुन् । सामन्तहरुको धेरै जमिन, धेरै रैती राखेर बसेका, मोहीकिसान राखेर बसेका, उनलाई त म कहिल्यै नमरुन् भन्ने लाग्यो । भौतिक रुपमा त ऊ मर्छ नै, तर कहिल्यै नमर्न पाऊँ भन्ने ऊ कल्पना गर्न पुग्छ । यो सामन्ती चाहना र चिन्तन हो । सामन्तवाद अन्तरगतको अथाह निजी सम्पत्तिसँग सम्बन्धित छ यो । जे भने पनि निजी सम्पत्तिबाट जन्मिएको समग्र पर्यायवरण नै त हो समग्र वर्गसमाज । वर्गसमाजलाई निरन्तरता दिनको निम्ति जन्मिएका विचारहरु छन् त्यहाँ । हाम्रो आन्दोलन भनेको त्यसलाई पनि नियन्त्रण गर्ने, क्रान्तिमा समेट्ने एउटा विचारधारामा मार्क्सवादी बनाउँदै लाने हो, र निजी सम्पत्ति, निजी सम्पत्तिजन्य मानसिकता, विचार, सोच, महत्वकांक्षालाई सिंगो वर्गको हितमा, मातहतमा गाँस्ने हो ।

अर्को कुरो भनेको आन्दोलनलाई निश्चित संरचनामा ढाल्ने हो । विचार भएर पनि संरचना भएन भने टिक्दैन । त्यसैले आजको विज्ञानले, अर्थशास्त्रले, व्यवस्थापन शास्त्रले जसरी व्यवस्था गर्ने भनेको छ त्यो ढङ्गले पारदर्शीतालाई संरचनामा ढाल्नुपर्यो । मलाई हिसाब आउँदैन भनेर हिसाबै नराखेर त भएन नि ! हिसाबै नराखेपछि मान्छे इमानदारी छ छैन कसरी बुझ्ने ? हिसाब राख्न आउँदैन भनेर पुग्ने भएपछि उसले रकम कहाँबाट आएको हो लुकाउन पाइयो नि !

पारदर्शी ढङ्गले एक बैंक मेनेजरलाई जति तलब दिने भनिएको हुन्छ, त्यही हिसाबले पाँच लाख, दश लाख, दश हजार जति दिए पनि हुन्छ । मुख्य कुरो त्यो पारदर्शी ढंगले भएको हुनुपर्यो । तलब दिइसकेपछि उसले कर तिर्नुपर्यो । उसले जति खर्च गर्न मन लाग्छ गरोस् । तर, योभन्दा फरक त्यो बैंक मेनेजरलाई संचालक समितिले मन लागेका बेला दश लाख दिने, मन नलागेको बेला पाँच लाख, पचास हजार वा दश हजार दिन थाल्यो भने कहिले कति दियो भन्ने पारदर्शी हिसाब त रहन्न । एउटा तलब दिएर बाँकी लुकाउन पनि सकियो । त्यस्तो गरियो भने त अपारदर्शी भयो नि ! र, त्यस्तो अवस्थामा त्यो मेनेजर कि संचालक समितिको दास बन्नु पर्यो कि त उसलाई विद्रोह गरेर निस्किनुपर्ने हुन्छ 

क्रमशः…

(Visited 196 times, 1 visits today)

टिप्पणी

comments