Main Menu

मार्क्सवादमा आधारित पहिलो समाजवादी क्रान्ति गर्ने

लेनिन जसले विश्व हल्लाए

(यो वर्ष २०१७ ले रुसमा भएको विश्वको पहिलो समाजवादी क्रान्तिको शतवार्षिकी मान्दैछ । अर्थात् सन् १९१७ मा भएको रुसी क्रान्तिले एक सय वर्ष पार गर्दैछ । त्यस क्रान्तिको नेतृत्व महान लेनिनले गरेका थिए । मार्क्सवादमा आधारित भई गरिएको त्यस क्रान्ति नै बीसौं शताब्दीभर चलेको विश्वभरको मार्क्सवादी आन्दोलनको प्रेरक घटना र पथप्रदर्शक बन्यो । समाजवादी क्रान्तिको शतवार्षिकीको सन्दर्भमा यहाँ उनै महान लेनिनको जीवनी संक्षिप्त रुपमा प्रकाशित गरिन्छ । – सम्पादक)

“कुनै मुलुकको साँस्कृतिक स्तर कस्तो छ भन्ने कुराको अनुमान लगाउन त्यहाँको पुस्तकालय हेरे पुग्छ ।”
यो भनाइ विश्वमा प्रथम पटक समाजवादी क्रान्तिको नेतृत्व गरी सफलता हासिल गर्ने महान लेनिनको हो । लेनिनको नेतृत्वमा रुसी बोल्शेविक पार्टीले सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गर्यो । त्यो क्रान्तिले माक्र्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको स्थापना गर्ने प्रयत्न गर्यो । लेनिनले वैज्ञानिक समाजवादी राज्यसत्ताका लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्त प्रतिपादन गरे ।

लेनिनले क्रान्तिपश्चात रुसमा भव्य पुस्तकालय स्थापना गर्ने सपना साँचेका थिए । नभन्दै क्रान्ति सम्पन्न भएपश्चात रुसले पुस्तक र पुस्तकालयसम्बन्धी धेरै काम पनि गर्यो । तर, क्रान्तिकालमा लेनिनले कति पुस्तक पढे, कसरी पढे ? यो कुरा पनि कम्ती रोचक र ज्ञानवर्धक छैन । लेनिन कति पढ्थे भन्ने कुरा ‘रुसमा पुँजीवादको विकास’ भन्ने किताब लेख्नको लागि उनले ५ सय ८३ थान किताब पढेकोबाट थाहा पाउन सकिन्छ । तर, कसरी निकाल्थे उनले त्यत्रो पुस्तक पढ्ने समय ? जबकि उनी त कहिले जेल परे, कहिले निर्वासित भए । हो, उनले त्यहीबेला सबैभन्दा धेरै पुस्तक पढे । जेलमा हुँदा उनका लागि आवश्यक पुस्तक उनकी बहिनी आन्नाले बाहिरबाट किनेर, पुस्तकालयबाट खोजेर लगिदिन्थिन् । निर्वासनमा हुँदा त उनी पुस्तालयमै अधिकांश समय बिताउँथे ।
यसरी उनले रुसका लागि क्रान्तिकारी बचार निर्माण गरे, रुसी क्रान्तिको अगुवाइ गरे ।

लेनिन आफ्नो अध्ययन कक्षमा काम गर्दै ।

उपन्यासले पो प्रभावित 

लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।

लेनिनकी आमा मारिया अलेक्सान्द्रभ्ना डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै बिदेशी भाषाका ज्ञाता थिइन् । त्यस्तै साहित्य र सङ्गितप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील बिचार राख्ने व्यक्ति थिए । उनले रुसी जनसाधारणका बीचमा शिक्षा प्रचार गर्ने, गाउँहरुमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनीहरुका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । उल्यानोभ दम्पतीले आफ्ना सन्तानहरुलाई बहुपक्षीय शिक्षा दिए । यसका साथसाथै उनीहरुले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्वपूर्ण योगदान गरे ।

संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि गएर क्रान्तिकारी बने केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली वर मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरुलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरुमा उनीहरुलाई सहयोग गर्न अग्रसर हुन्थे ।

सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र टल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा बिरोधी नेर्निसेभ्स्कीको ‘के गर्ने ?’ उपन्यासले उनलाई प्रभावित पारेको थियो ।

कसरी हेलिए क्रान्तिको मार्गमा ?

युवा अवस्थाका लेनिनको चिन्तनशैलीमा परिवार, वरिपरिको वातावरण, प्रगतिशील रुसी साहित्यले निकै ठूलो प्रभाव पारेको थियो । रुसमा पुँजीवादी शोषणका साथसाथै सामन्ती उत्पीडन कायम थियो, जसले सहरिया मजदुर र गाउँले किसानहरुको जीवन दयनीय तुल्याएको थियो । जारशाही अत्याचार, जमिनदार र पुँजीपतिहरुको दमन, मजदुर र किसानहरुको पददलित अवस्थाले किशोर लेनिनको हृदयमा शोषकहरुप्रति घृणा र शोषितहरुप्रति सहानुभूति पैदा गरेको थियो । जिम्नेसियम बसाइको क्रममै लेनिनको हृदयमा क्रान्तिकारी भावनाहरु पैदा भैसकेका थिए । लेनिनको परिवारिक बनोट नै क्रान्तिकारी किसिमको थियो । लेनिन आफ्नो दाजु अलेक्जेन्डरको व्यक्तित्वबाट निकै प्रभावित थिए । लेनिनका दाजु अलेक्जेन्डर पिटस्वर्ग विश्वविद्यालयको बिद्यार्थी छँदा जारशाहीबिरुद्ध क्रान्तिकारी संघर्षमा सक्रिय रुपमा सहभागी हुन्थे । आफ्ना जेठा दाजुबाट नै लेनिनले मार्क्सवादी साहित्यको प्रारम्भिक ज्ञान हासिल गरेका थिए ।

सन् १८८६ मा लेनिनका पिताको अकस्मात निधन भयो । परिवारले यो पीडा बिर्सन नपाउँदै मार्च १८८७ मा उनका दाजु अलेक्जेन्डर पिटर्स्वर्गमा गिरफ्तार भए । उनलाई तत्कालीन रुसी जारशाही शासक अलेक्जेन्डर तृतीयको हत्याको षडयन्त्रमा संलग्न भएको आरोपमा त्यसै वर्षको मे महिनामा स्लिसेल्बर्ग किल्लमा फाँसी दिइयो । त्यसले लेनिनलाई ठूलो चोट पुर्यायो । उनले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गरे । क्रान्तिकारी कामको लागि आफूलाई तयार गर्दै किशोर लेनिनले सामाजिक विज्ञानहरुको गम्भिरतापूर्वक अध्ययन गरे । स्वर्ण पदकसहित जिम्नेसियमको आफ्नो अध्ययन सकेपश्चात् अगस्ट १८८७ मा उनी काजान विश्वविद्यालयको कानुन विभागमा भर्ना भए ।

मार्क्सवादको गहन अध्ययन

डिसेम्बर १८८७ मा अठार वर्षीय लेनिन जारशाहीबिरुद्ध क्रान्तिकारी संघर्षमा होमिएका कारण विश्वविद्यालयबाट निष्कासित हुनुका साथै गिरफ्तार पनि भए । उनी काजान गुबेर्नियाको कोकुसकिनो गाउँमा निर्वासनमा पठाइए । बिस्तारै–बिस्तारै लेनिनको गतिविधिमाथि प्रशासनले कडा निगरानी राख्न सुरु गर्यो । निर्वासनकालमा उनी विहान उठेदेखि बेलुका सुत्ने बेलासम्म पढ्थे । उनको निर्वासनकाल एक वषर्को थियो । काजान बसाइको क्रममा उनी रुसी क्रान्तिकारी नि.ए. फेदोसेएफले गठन गरेको समूहको सदस्य बने । त्यो बेला सामाजिक क्रान्तिका लागि जर्मन दार्शनिक तथा क्रान्तिकारी नेता कार्ल मार्क्सले जर्मनीकै अर्का दार्शनिक फ्रेडरिक एङ्गेल्ससँगको सहकार्यमा प्रतिपादन गरेको दर्शन तथा सिद्धान्तहरुबारे चर्चा सुरु भएको समय थियो ।

मार्क्स र एङ्गेल्सद्वारा प्रतिपादित दर्शन तथा सिद्धान्तलाई मार्क्सवाद भनिन्छ । नि.ए. फेदोसेएफ रुसका प्रथम मार्क्सवादी थिए । उनीबाटै प्रभावित भई लेनिनले पनि काजानमा मार्क्सवादको अध्ययन सुरु गरे । मार्क्सवादको अध्ययनबाट लेनिनले सर्वहारा श्रमिक वर्गलाई पुँजीपति वर्गको शोषणबाट मुक्ति दिलाउन पुँजीवादी राज्यसत्तालाई ध्वंश गरी समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्ने कुरा सिके । (कार्ल मार्क्सका अनुसार निजी सम्पत्तिको नाममा केही नभएका, काम गर्ने औजारसमेत पनि आफ्नो नभएका औद्योगिक मजदुरहरु नै सर्वहारा श्रमिक हुन् ।) जुनबेला लेनिन क्रान्तिकारी आन्दोलनमा उत्रिँदै थिए, पश्चिम युरोपको मजदुर आन्दोलनमा मार्क्सवादी बिचारधाराले ठाउँ लिइसकेको थियो । र, त्यो क्रमशः रुसतिर फैलिँदै थियो । गेओर्गो प्लेखानोभ रुसमा मार्क्सवादका पहिलो प्रमुख प्रचारक थिए । लेनिनले मार्क्सको प्रमुख कृति ‘पुँजी’को गहन अध्ययन गरे । युवा उमेरमा नै आफ्नो वाक्पटुताले अरुलाई आकर्षित गर्ने र विश्वास दिलाउने क्षमता लेनिनमा थियो ।

तर्कबाज वकिलको रुपमा

मे १८८९ तिर लेनिन आफ्नो परिवारसहित काजानबाट सामरा गुवेर्निया आए र सामरा बसाइको क्रममा उनले मार्क्स र एङ्गेल्सका कृतिहरुको कठोर अध्ययन जारी राखे । उनले ल्याटिन ग्रिक, जर्मन, फ्रेन्च र अंग्रेजी भाषाको गम्भीर अध्ययन गरे । यसै समयमा उनले मार्क्स र एंङ्गेल्सले संयुक्त रुपमा लेखेका महत्वपूर्ण कृति ‘कम्युनिस्ट घोषणापत्र’लाई जर्मन भाषाबाट रुसी भाषामा अनुवाद गरे ।

वकिलको रुपमा लेनिन ।

तर, लेनिनले घरमै बसेर विश्वविद्यालयको चार वर्षे अध्ययन पूरा गरे । सन् १८९१ मा उनले पिटर्सवर्ग विश्वविद्यालयको कानुन विभागमा प्राइभेट जाँच दिए । उनी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भए । र, वकिल बने । त्यही क्रममा सन् १८९२ बाट लेनिनले सामराको जिल्ला अदालतमा वकालत गर्न सुरु गरे । उनी गरिब किसानहरुको पक्षमा वकालत गर्थे । सन् १८९२ मा लेनिनले सामरामा पहिलो मार्क्सवादी अध्ययन मण्डल खोले । तेइसवर्षे युवक लेनिनमा सरलता, सहृदयता र उत्साहका साथै गम्भीरता, गहन ज्ञान, कठोर तर्कशीलता, स्पष्ट र उत्कृष्ट विवेकशक्तिको गजवको समिश्रण पाइन्थ्यो ।

दूधले लेखेको किताव

पिटर्सवर्ग बसाइका क्रममा ठूलो स्फूर्ति र अभिलाषासहित लेनिन क्रान्तिकारी कार्यमा संलग्न भए । उनी क्रान्तिकारी मजदुरहरुका राजनीतिक पार्टी खोल्नतिर लागे । त्यही क्रममा सन् १८९५ मा लेनिनले पिटर्सवर्गका मार्क्सवादी अध्ययन मण्डलहरुलाई एउटै राजनीतिक संस्थाको रुपमा संगठित गरे । पछि गएर यस संस्थालाई मजदुरवर्गको मुक्तिसंघर्ष संघ नाम दिइयो । सन् १८९६ मा त्यस संघले पिटर्सवर्गका कपडा कारखानाहरुका मजदुरहरुको विख्यात हड्तालको नेतृत्व गर्यो । उक्त हड्तालमा ३० हजारभन्दा बढी मिल मजदुरहरुले भाग लिएका थिए । यस संघले सम्पूर्ण रुसमा क्रान्तिकारी आन्दोलनको विकासका लागि प्रेरणा र मजदुरवर्गको मार्क्सवादी पार्टीको गठन गर्ने वातावरण तयार गर्यो । आन्दोलनका कारण भयभित भएको जारशाही सरकारले डिसेम्बर १८९५ मा लेनिनसहित संघका बहुसंख्यक कार्यककर्ताहरुलाइ गिरफ्तार गर्यो ।

लेनिनले पिटर्सवर्गको जेलको एकान्त कोठामा चौध महिनाको कठोर जीवन बिताए । जेलमा रहँदै उनले मार्क्सवादी पार्टीको पहिलो कार्यक्रमको मस्यौदा तयार पारे र यस कार्यक्रमको व्याख्या गरे । रोचक तथ्य यो छ कि लेनिन आफ्ना क्रान्तिकारी लेखहरु, किताब र पत्रिकाहरुका हरफहरुको बीचमा दूधले लेख्थे । यसरी लेखिएका अक्षरहरु देखिँदैनथे, तर कागज तताएपछि यी अक्षरहरु पढ्न सकिन्थ्यो । जेलमा रहँदै लेनिनले आफ्नो प्रख्यात कृति ‘रुसमा पूँजीवादको विकास’ लेख्न सुरु गरे । लेनिन जेलमा अनुशासनको कडा पालना, कडा परिश्रम र सुत्नुअगाडि नियमित रुपमा व्यायाम गर्थे । पिटर्सवर्गमा लेनिन मजदुरवर्गका नेता र संगठनकर्ताको रुपमा देखापरे । उनले क्रान्तिकारी आन्दोलनको सैद्धान्तिक व्याख्या गरे र रुसमा सर्वहारा पार्टी गठन गर्न जग तयार गरे ।

साइवेरियामा लेखे चर्चित पुस्तक

लेनिनको क्रान्तिकारी क्रियाकलापद्वारा त्रसित जारशाही सरकारले लेनिनलाई १३ फ्रेबुअरी १८९७ मा तीन वर्षको लागि पूर्वी साइबेरियामा गई बसोबास गर्नुपर्ने निर्वासनको सजायँ दियो । साइबेरियाको निर्वासनका बेला उनले गोप्य रुपमा गाउँका गरिब किसानहरुका पक्षमा वकालत गर्न थाले । एकपल्ट उनले सुनखानीको एक मजदुरलाई खानीको मालिकविरुद्धको मुद्दा जित्न मद्दत गरे ।

साइवेरियामा निर्वासत जीवन बिताउँदै गर्दा पनि कडा अध्ययन गर्दै लेनिन ।

लेनिनको साइबेरिया निर्वासनको एक वर्षपछि रुसको क्रान्तिकारी आन्दोलनकी नेतृ क्रुप्स्काया साइबेरियाको सुसेन्सकोये गाउँ आइपुगिन् । उनीसँग आन्दोलनकै क्रममा लेनिनको यसअघि नै पिटर्सवर्र्गमा भेटघाट र चिनापर्ची भइसकेको थियो । आन्दोलनमा सँगसँगै हिँड्ने क्रममै लेनिन र क्रुप्स्कायाबीच प्रेमसम्बन्ध भइसकको थियो । उनीहरुले साइबेरियामै विवाह पनि गरे ।

निर्वासनमै लेनिनले सन् १८९९ मा आफ्नो पुस्तक ‘रुसमा पूँजीवादको विकास’ पूरा गरे । यस कृतिमा रुसको आर्थिक विकासबारे गहन वैज्ञानिक अनुसन्धान गरिएको थियो । यो पुस्तक छिटै प्रगतिशील बुद्धिजीवी, विद्यार्थी र मजदुर अध्ययन मण्डलहरुमा फैलियो । लेनिन निर्वासनमै रहेका बेला मार्च १८९८ मा मिन्स्क सहरमा भएको रसियाली सामाजिक जनवादी मजदुर पार्टीको पहिलो महाधिवेशनमा पार्टी स्थापना भएको घोषणा गरियो ।

लेनिन उपनाम कसरी रह्यो ?

निर्वासनबाट फर्केपछि लेनिन सन् १९०० भरि क्रान्तिकारी मजदुर पत्रिका अखिल रसियाली राजनीतिक पत्रिका प्रकाशनको तयारीमा लागे । मे १९०० मा पार्टी निर्माणको लागि पिटर्सवर्गको गोप्य भ्रमण गर्दा लेनिन गिरफ्तार भए, तर खानतलासीको क्रममा केही नभेटेपछि उनले छुटकारा पाए । जारशाही सरकार लेनिनलाई आफ्नो ठूलो शत्रु ठान्थ्यो । त्यसैले देशभित्र बस्ने अवस्था नभएपछि लेनिन १६ जुलाई १९०० मा जर्मनीतर्फ लागे । यही अवधिमा लेनिनले अखिल रसियाली क्रान्तिकारी पत्रिकाको रुपमा ‘इस्क्रा’ (फिलिङ्गो) को प्रकाशन प्रारम्भ गरे । लेनिन अखबारको मुटु थिए । यस पत्रिकामार्फत् उनले कसरी पार्टी गठन गर्नुपर्छ कसरी आम जनसमूहहरुलाई पार्टी कामतर्फ आकर्षित गर्ने हो भन्ने बारे लेखहरु प्रकाशित गरे । सन् १९०१ देखि भ्लादिमिर इल्यिचले आफ्ना केही लेखहरु लेनिन नामबाट छपाउन थाले । ‘इस्क्रा’ पत्रिकामा काम गर्दागर्दै लेनिनले साइबेरियाली नदी लेनाबाट आफ्नो उपनाम राखेका थिए ।

सन् १९०२ मा लेनिनको कृति ‘के गर्ने’ प्रकाशित भयो । उक्त पुस्तकमा लेनिनले सर्वहारा माक्र्सवादी पार्टीको निर्माणसम्बन्धी विस्तृत योजना प्रस्तुत गरेका थिए ।

त्यस्ता किसानहरुलाई पार्टी कार्यक्रम बुझाउने उद्देश्यले लेनिनले सन् १९०३ मा ‘गाउँका गरिबहरुलाई’ शीर्षकको लेख लेखे । उक्त लेखमा सरल र स्पष्ट भाषामा मजदुर पार्टीको उद्देश्य के हो र किन गरिब किसानहरु र मजदुरहरुबीच एकता कायम हुन आवश्यक छ भन्ने कुरा देखाइएको थियो ।

क्रमश: …………………………………

(Visited 2,137 times, 1 visits today)

टिप्पणी

comments