Main Menu

अहिलेसम्म १ सय १९ को मृत्यु

मेक्सिकोमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

७.१ म्याग्निच्युडको भूकम्पले ध्वस्त बनाएको मेक्सिको शहरको एक भवन । फोटो : theguardian.com

असोज ४ । दक्षिणी उत्तर अमेरिकी देश मेक्सिकोमा गत भाद्र २३ गते ८.२ म्याग्निच्युडको महाभूकम्प गएको ११ दिनपछि मंगलवार ७.१ म्याग्निच्युडको पुनः शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु पुएब्ला राज्यको अटेन्सिङ्गो शहरबाट ८ किमि दक्षिणपूर्वमा परेको अमेरिकी भूगर्भ शर्भेक्षणले जनाएको छ । यो स्थान मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट करिब १ सय २० किलोमिटर दक्षिणपूर्वमा पर्दछ । र, भूकम्पको उद्गम बिन्दु जमिनमुनि ५१ किलोमिटर तल रहेको अमेरिकी भूगर्भ सर्भेक्षणले जनाएको कुरा बेलायती अनलाइन पत्रिका ‘दगार्जियन डटकम’ ले प्रकाशित गरेको छ । बिबिसिले जनाए अनुसार मेक्सिकोको स्थानीय समय अनुसार मंगलवार दिउँसो १ बजेर १४ मिनेट जाँदा अथवा नेपाली समय अनुसार मंगलवार राती ११ बजेर ५९ मिनेट जाँदा सो भूकम्प गएको हो ।

भूकम्पले बत्किएर पुरिएकाहरु निकाल्ने प्रयत्न गर्दै उद्वारकर्ताहरु ।

मंगलवार मात्रै मेक्सिको सिटीमा मानिसहरु सन् १९८५ मा गएको महाभूकम्पको सम्झनामा त्यसको २२ औं वार्षिकीका बिभिन्न कार्यक्रमहरु मनाउँदै थिए । कार्यक्रमहरुमा शहरबासीहरुलाई ठूला भूकम्प आउँदा कसरी जोगिने भनेर बिभिन्न तालिमहरु दिइँदै थिए । अचानक त्यहीबीच शक्तिशाली भूकम्प जाँदा मेक्सिको शहरभरि मानिसहरु ज्यान जोगाउन भागाभाग भएको जनाइएको छ । अचानक आएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म मेक्सिको सिटीमा ३० भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको त्यहाँका मेयरले बताएका छन् । देशभरि गरी अहिलेसम्म १ सय १९ जनाको ज्यान गएको रिपोर्ट आएको मेक्सिकाली अधिकारीहरुले बताएको ‘दगार्जियन’ ले जनाएको छ ।

समाचारहरुमा जनाइए अनुसार राजधानी मेक्सिकोमा मात्रै १७ वटा ठूला भवनहरु पूर्णतः ध्वस्त भएका छन् । सडक चिरा परेका छन् । भवन भत्किँदा सडकमा गुडिरहेका मोटरकारहरु कुचिएर त्यसभित्र सवार मानिसहरुको मृत्यु भएको छ । भूकम्पले केन्द्रबिन्द परेको पुएब्ला राज्यका बिभिन्न शहरहरुलाई सबभन्दा बढी क्षति पुर्याएको छ । भूकम्पको बेला शहरभरि खतराको साइरन लगातार बजाइएको थियो । जताततै मानिसहरु दौडादौड गर्दै गरेका, एम्बुलेन्सहरु साइरन बजाउँदै चारैतिर कुद्याकुद्यै गरेको, घाइतेहरुको चित्कार आदिबाट शहरहरु पूरै भयावह कोलाहलमा परिणत भएका थिए ।

भूकम्पले भत्किएको एक ठूलो भवन ।

मेक्सिको सिटीका धेरैजसो आवादी प्राचीन तालको पिँधमा बनाइएको कारणले पनि भूकम्पले बढी हल्लाएको र बढी क्षति हुन पुगेको विज्ञहरुको भनाइ रहेको छ । विज्ञहरुका अनुसार तलाउमाथि बनाइएको शहर भएको कारणले गर्दा भूकम्पल सयौं किलोमिटर टाढासम्म पनि शक्तिशाली भएर विनास लिला देखाउँदछ ।

(Visited 18 times, 1 visits today)

टिप्पणी

comments