Main Menu

चालु आर्थिक वर्षभित्रै ६० प्रतिशत घर बन्ने

पुस २५, पोखरा

60-percent-houses-reconstruction-current-fiscal-yearराष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले चालु आवभित्रै ६० प्रतिशत निजी घर निर्माण सम्पन्न हुने बताएका छन् ।

उनले टिम्बर कपोरेसनमाफत घर बनाउन आवश्यक काठको व्यवस्था हुने पनि बताए । साथै ढुंगा, गिट्टी र बालुवाजस्ता पदार्थ स्थानीय तहमार्फत निःशुल्क वा सहुलियत दरमा उपलब्ध गराउने वातावरण मिलाइएको उनको भनाइ थियो ।

‘आगामी असार मसान्तभित्र ६० प्रतिशत घर बनाउने गरी काम अघि बढाएका छौं,’ भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्बन्धमा आयोजित अन्तक्रियामा उनले भने, ‘सरकारले एउटा टोकनका रूपमा मात्र सानो रकम छुट्याएको हो । यसको सदुपयोग गरी छिटोभन्दा छिटो घर बनाउन म आग्रह गर्छु ।’

७ लाख ६७ हजार ७ सय ५ निजी आवास बनाउनुपर्नेमा अहिलेसम्म ८२ हजार ८ सय ८३ घर बनिसकेका र २ लाख १५ हजार ५ सय ७० घर बन्दै गरेको प्राधिकरणले जनाएको छ ।

भूकम्पपीडितलाई २ प्रतिशत व्याजदरमा ऋण दिने कुरा अझै नटुंगिएको तर कुराकानीकै क्रममा रहेको उनले बताए ।

कोही पीडित लाभग्राही सूचीमा नपरेको भए त्यसलाई सच्याइने र कसैले बदमासी गरी सरकारी रकम लगेको पाइए फिर्ता गरिने उनले बताए । पारदर्शी हिसाबले मन, वचन र कर्मले पुनर्निर्माणमा जुट्न उनले सरोकारवालासमक्ष आग्रह गरे । प्राविधिकहरूलाई स्थानीय तहअन्तर्गत रहेर पुनर्निर्माणको काममा लाग्न पनि उनले निर्देशन दिए ।

‘मानवीय सेवा नै ठूलो धर्म हो । यसबाट आफ्नो करियर वृद्धि पनि गर्नुपर्छ,’ उनले भने ।

प्राधिकरणका उपसचिव मनोहर घिमिरेले भूकम्पले बढी क्षति निजी आवासमा गरेकाले पुनर्निर्माणमा पनि त्यसैमा बढी केन्द्रित रहेको बताए ।

कान्तिपुर दैनिकबाट

(Visited 8 times, 1 visits today)

टिप्पणी

comments