Main Menu

म चुलबुले कुल्ली – निर्मल लामा

निर्मल लामा

निर्मल लामा

ती हाम्री चेलीलाई म ‘फुपू फुपू’ भन्थें । धेरै वर्षपछि परार साल (…..) मैले उहाँलाई अचानक अस्पतालमा भेटें । उहाँ विरामी पर्नुभएको रहेछ । उहाँको छोरा ड्राइभर छन् । ऊ मकहाँ आयो र आमा विरामी भएको कुरा बतायो । म ज्यादै बेफुर्सदी थिएँ । मैले सुकन (सुकन्या) लाई ‘जाऊ’ भनें । सुकन र उनकी बहिनी, जो मेरा भाइबुहारी पनि हुन्, दुवै गएर विरामी फुपूलाई पाँचपाँच सय रुपियाँ दिएर आए । तर, दुईतीन दिन पछि नै फुपूको मृत्यु भयो ।

यो भयो मेरो पुर्खाको गाउँको कथा । अब फेरि म मेरो बाल्यकालतिर जान्छु ।
मेरी आमातर्फको बज्यै हुनुहुन्थ्यो । उहाँहरुको घर हाम्रोभन्दा अलि तल जङ्गलको बीचमा थियो, जहाँ जम्माजम्मी दुईवटा घरहरु थिए । एउटा मगर झाँक्रीको घर थियो । उसलाई साहिँला झाँक्री भनिन्थ्यो । अर्काे मेरा मामाको घर थियो । मामापट्टिको बज्यै हुनुहुन्थ्यो, मैले बाजे देखिनँ । त्यहाँ रक्सी बनाउन सजिलो थियो । त्यहाँ ‘एक्साइज’ (कि एक्ससाइज) प्रायः पुग्दैनथ्यो । बज्यैले रक्सी बनाइदिन्थिन् । त्यहाँबाट म ४०–५० मिनेट तल पर्ने बजारमा रक्सी बेच्न जान्थें । फर्कंदा उक्लनुपर्ने भएकोले मलाई पूरा एक घण्टा लाग्थ्यो ।

घिटीमा पानी बोक्ने उमेरमा मैले अर्काे एउटा पनि काम गर्ने गरेको थिएँ । त्यो हो थली गोड्ने । त्यहाँ घाँसपात निकाल्ने, चियाको बुटामा झ्याउ लागेको हुन्छ, भित्र उन्यूहरु एकदम कडा भएर रहेका हुन्छन्, तिनलाई खन्ती लिएर ठोकेर हातले सबै सफा गर्ने काम गर्नुपथ्र्यो ।

यस्ता कामहरु गरेर नै मेरो मीनपचास बिदा बित्थ्यो । यसले परिवारलाई केही सहयोग पुग्थ्यो ।
अर्को कुरा, स्कुल लागेकै बेला थुप्रै अङ्ग्रेज फौजहरु आउँथे । अहिले बुभ्mदा त्यो दोस्रो विश्वयुद्ध चलिरहेको समय थियो । सायद ती अङ्ग्रेज फौजहरु बिदा मनाउनका लागि आएका थिए । प्रत्येक अङ्ग्रेजको घरमा पाँचसात–पाँचसातजना सिपाहीहरु राखिन्थ्यो । ‘स्टेसन’ बाट मैले काम गर्ने चियाबगानका जोन भन्ने अङ्ग्रेज मेनेजरकहाँ आइपुग्न उनीहरु करिब डेढ किलोमिटरजति हिँड्नुपथ्र्याे । मैले उनीहरुको गुण्टा बोक्ने काम गरें । म चार आना ज्याला पाउथें । उनीहरु फर्कंदा पनि मैले यसरी नै उनीहरुको गुण्टा बोकें ।

त्यस्तै चारपाते चियाको एउटा बाक्सा स्टेसनसम्म बोकेर पु¥याउँदा गोरा (अङ्ग्रेज)को भए चार आना र अरुको भए दुई आना ज्याला पाइन्थ्यो । मैले त्यो काम पनि गरें । बिहान, बेलुकी र स्कुलमा विदा भएको समयमा म त्यो काम गर्थें । काम गरेर पाएको सबै पैसा मैले आमालाई दिन्थें ।

म त्यतिखेर सेन्टअल फनसस इङ्लिस हाइस्कुलमा पढ्थें । स्कुलको ठीक तलतिर ‘हिलकार्ट रोड’ भन्ने मूलसडक थियो । हिलकार्ट रोड भनेको गोरुगाडा चल्ने पहाडको सडक हो । एउटा गोरुगाडाबाट बोकाएर काठ फ्याक्ट्रीसम्म पु¥याउन १२ आना, १४ आना पैसामा ठेक्कामा दिइन्थ्यो । म एक बयल गोरुगाडाले झारेको पूरै काठ दुईअधाइ घण्टामा बोकेर फ्याक्ट्रीमा पु¥याउँथें । त्यसबाट आएको १२ आना, १४ आना पैसा जम्मै आमालाई बुझाउँथें । यसरी बुझाएकोमध्येबाट प्रत्येक हप्ता शनिवारको दिन आमासँग चार आना माग्थें । मैले माग्नासाथ आमाले खुरुक्क दिनुहुन्थ्यो ।

त्यो चार आना पैसामध्येबाट नौ पैसा खर्च गरी म ‘हाफ् टिकट’ काटेर सिनेमा हेर्न जान्थें । हाफ् टिकट भनेको केटाकेटीले आधा मूल्य तिरेर पाउने टिकट हो । सिनेमा हेरिसकेपछि बाँकी पैसाको खाजा खान्थें । चार पैसाको आधा प्याला मःमः पाइन्थ्यो । आधा प्यालामा ठूल्ठूला चारवटा मःमः हुन्थ्यो । म त्यही खान्थें । म प्रत्येक हप्ताको एकचोटि आमासँग चार आना पैसा लिई त्यसरी सिनेमा हेर्न जान्थें ।

एकचोटि चौथीको केही समयअगाडि ‘फुटबल म्याच’ थियो । म्याच खस्र्याङ ‘भर्सेज्’ सुकियापोखरीको थियो । उतापट्टिको ‘टिम’ का हर्ताकर्ता खस्र्याङ्गे माइला थिए । उसको खास नाम सन्तवीर लामा हो । पछि नेपालमा आएर ऊ अञ्चलाधीश पनि बन्यो । ऊ चर्चामा थियो ।

हामी गाउँका ठिटाहरुले त्यो म्याच हेर्न हुल बनाएर जाने तयारी गर्यौं । म्याचमा काँक्रो खुब बिक्थ्यो । हामी त किनेर खान सक्ने अवस्थामा थिएनौं । त्यसैले, हामीले ठाउँठाउँका बारीहरुमा काँक्रा चोर्ने ‘प्रोग्राम’ बनायौंं । त्यता ठूल्ठूला काँक्रा फल्थ्यो । अलि कालोकालो फलामेकाँक्रा पनि फल्थ्यो । त्यो खुब मीठो हुन्थ्यो ।

साथीहरुले मलाई त त्यही जोन साहेबको बगैंचाको काँक्रा चोर्ने जिम्मा दिए । त्यो बगैंचा मेरोबाट नजिक पथ्र्यो ।
म बिहानै काँक्रो चोर्न गएँ । वास्तवमा अँध्यारोमै पुग्नुपथ्र्याे । तर, म उज्यालो भएपछि मात्र ब्युँझें । बगैंचामा पुगेर मैले एउटा लामो काँक्रो बटारेर चुडालें । अर्काे पनि चुडालें । तर, तेस्रो चुडाल्न खोज्दा माथिबाट मान्छे करायो । जोन साहेबले देखेछन् । म स्वाट्ट बार नाघेर भागिहालें । तर, घरमा चाहिँ गइनँ । बिहानको शीतले मेरो पूरै लुगा भिजिसकेको थियो ।
मैले ‘हाफ् पाइन्ट’ लगाएको थिएँ । त्यो पनि पूरै भिज्यो । म अलि तल रहेको एकजना साथीको घरमा गएँ । साथीका बाबु त्यही चियाबगानका ‘हेड् क्लर्क’ थिए । त्यो साथीको नाम हेन्डेन मोक्तान हो । ऊ मेरो स्कुलको साथी थियो । तर, ऊ मभन्दा दुई वर्ष ‘सिनियर’ थियो । उसलाई मैले सो घटना सुनाएँ र कसैलाई पनि नभन है भनें । तर, त्यो कुरो उसको बाबुले सुनेछ । उसले लगत्तै अङ्ग्रेजीबाट ‘जोन साहेब, जोन साहेब, तपाईंको काँक्रो चोर यहाँ आएको छ’ भनेर ठूल्ठूलो स्वरमा करायो । म त्यहाँबाट तुरुन्त भागें ।

मलाई घर गए आमा–बाबुले पिट्छन् भन्ने खुब डर लाग्यो । म घर गइनँ । अरु सबै साथीहरुले काँक्रो चोरेर ल्याए । मै मात्र असफल भएँ । फुटबल म्याच दुई बजे सुरु हुनेवाला थियो । खेल हुने ठाउँसम्म पुग्न हामीले कमसेकम दुईअढाइ किलोमिटर बाटो हिँड्नुपथ्र्याे । हामी बजारतिरबाट हिँड्न तरखर गर्दै थियौँ, आमा आउनुभयो । म भाग्न खोजें ।

‘ए पाराङ नभाग् नभाग्’ भनेर आमा कराउनुभयो ।

घरमा मेरो नाम पाराङ थियो । तामाङ भाषामा पाराङको अर्थ माइला हुन्छ । म टक्क अडिएँ । नजिक आएर आमाले मेरो हातमा दुई आना पैसा थमाइदिनुभयो । “विहानदेखि केही खाएको छैनस् । तँ फुटबल नहेरी छोड्दैनस् । मःमः खाएर जा”, आमाले पैसा दिँदै भन्नुभयो । पैसा पाएपछि पसलमा गएर मैले भटाभट मःमः खाएँ, सुप खाएँ । पेट टन्न भइहाल्यो । अनि फुटबल हेर्न हिँडे ।

यस्तै चौथीकै बेला थियो । हामी नासपाती चोर्न गयौं । तीन फिटजति चौडा बाटो थियो । एकातिर चारपाँच फिटको पर्खाल थियो । पर्खालको माथिल्लो सतहसँगै मिलेको जमिनमा ठूल्ठूला दाना फलिरहेको नासपातीको बोट थियो । मैले बाँसको लामो लठ्ठीले नासपाती झार्न सुरु गरें । तर, घरपतिले थाहा पायो र ऊ कराउँदै आयो । म तल के झर्दै थिएँ, उताबाट अर्काे साथी हुत्तिएर आयो र मेरो नाकमा उसको टाउको ड्याम्मै ठोकियो । मेरो नाकबाट तरर… रगत बगिहाल्यो । दुईतीनजना साथीहरुले मलाई घरमा ल्याए । अब के गर्ने ? आमाले थाहा पाउनुभयो भने त मारिहाल्नुहुन्थ्यो !

हाम्रो घरमा मातृप्रधान समाजको जस्तै चलन थियो । सम्पूर्ण कुरो आमाबाटै चल्थ्यो । हामी बाबुदेखि डराउँदैनथ्यौं, आमादेखि डराउँथ्यौं । त्यसैले, मैले साथीहरुलाई मेरी आमालाई ‘लडेर घाउ भएको’ भन्न लगाएँ । म त दुईतीन दिन थला नै परें । मलाई चिया बगानकै डाक्टरले औषधि गरे । तीन दिनपछि मात्र म स्कुल जान सकें ।

(निर्मल लामाको आत्मकथा ‘सर्वहारा राजनीति’ बाट साभार)

(Visited 210 times, 1 visits today)

टिप्पणी

comments