Main Menu

म किन राजनीतिमा लागेँ ? कसरी लागेँ ? र कहिलेदेखि लागेँ ?

शम्भुराम श्रेष्ठ

शम्भुराम श्रेष्ठ

राणा शासनको अन्तिम दशकको पहिलो र दोस्रो वर्षको, अर्थात् वि.सं.१९९७/९८ सालतिरको कुरा हो । नेपालमा राणाहरुको फौजी शासन (Oligarchic rule) चलिरहेको थियो र हालका भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका आदि मुलुकहरु समाहित दक्षिण एशियाली उपमहाद्वीपमा औपनिवेशिक राज गरिरहेको अंग्रेज साम्रााज्यवादले सन् १८१४ मा एक्कासी नेपालमाथि लाखौंको सेनाले आक्रमण गरेबाट शुरु भएको नेपाल र बृटिश–भारत बीचको युद्धको परिणामस्वप सन् १८१६ मा सुगौली सन्धि भएदेखि सुतेको नेपाल मस्त निद्रामै थियो र ब्युँझिसकेको थिएन । राणाहरु सिङ्गो नेपाललाई आफ्नो निजी बिर्ता ठान्दथे र नेपाली जनतालाई रैती सरह व्यवहार गर्दथे । नेपाली जनतालाई राजनैतिक अधिकारहरुबाट मात्रै होइन, सामान्य नागरिक अधिकारहरुबाट समेत बञ्चित गरिएका थिए :– यहाँसम्म कि युवा दम्पतिहरु सँगसँगै साँझ–बिहान टुँडिखेलमा टहल्नसमेत पाउँदैनथे । त्यस समय सम्पूर्ण नेपालमै दुईटा मात्रै हाइस्कुलहरु – रानीपोखरी छेउको दरबार हाइस्कुल र पाटन हाइस्कुल थिए भने एउटा मात्र उच्च शिक्षालय थियो, त्रि–चन्द्र कलेज । यसबाट राणाहरु कहाँसम्म शिक्षाविरोधी थिए भन्ने कुरा प्रस्ट हुन्छ । त्यस समय, नेपालमा एउटा मात्र अखवार थियो – सरकारी अखबार “गोरखापत्र” । राणा शासनका उच्च भारदारहरुले बाहेक, अरु कसैले आफ्नो घरमा रेडियो राख्न र खबर सुन्न पाउँदैनथे । बिदेशबाट राजनीतिक विषयका पुस्तकहरु देशमा झिकाउन, बेच्न र पढ्न सख्त मनाही थियो । सारा काठमाडौं उपत्यकामै राणा शासक मण्डलीको मुख्य फौजी ताकत र हातहतियारहरु केन्द्रित भएको कारणले नै होला काठमाडौं उपत्यकाबाट बाहिर जिल्लाहरुमा जान र जिल्लाहरुबाट उपत्यकामा आउनलाई पनि नेपाली जनताले राहदानी (passport) लिन अनिवार्य गराइएको थियो । यसबाहेक काठमाडौं उपत्यकाका तीनवटै शहरहरु काठमाडौं, पाटन र भक्तपुरमा बाह्रै महिना राती ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हुन्थ्यो । त्यस अवधिभरमा कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनथ्यो । यसबाट बाहिर हेर्दा राणा शासक मण्डली जतिसुकै शक्तिशाली देखिए तापनि भित्रभित्रै सधैँ कसैले केही गर्छ कि भनेर बिल्कुलै त्रस्त र भयभित हुँदा रहेछन् भन्ने जाहेर हुन्छ । जनसमर्थन नभएका र षडयन्त्रबाट सत्ता हत्याउनेहरुको मानसिक अवस्था यस्तै हुने गरेको हुन्छ । त्यस समय कतैबाट र कसैबाट राणा शासनको बिरोधमा चूँ आवाज निस्किएको सुनिंदैनथ्यो । तर पनि देशमा सर्वत्र वातावरण एकदमै उकुसमुकुस र गुम्सिएको थियो । जो वास्तवमा पहिले कहिल्यै नसुनिएको नसोचिएको कुनै उथलपुथल हुने घटनाको सङ्कृेत थियो । नभन्दै वि.सं. १९९७ को प्रारम्भतिरै (खास महिना र तिथि याद भएन) देशमा राजनैतिक उथलपुथल ल्याउने पहिलो घटना घट्न गयो उक्त घटना बारेको संक्षिप्त विवरण यहाँ दिइन्छ ।

दिउँसो ३–४ बजेको होला । राजधानी काठमाडौंको प्रख्यात व्यापार केन्द्र इन्द्रचोकस्थित ढुङ्गे शिव मन्दिरको अलि फराकिलो पेटीमा अमर शहीद शुक्रराज शास्त्री अध्यक्ष रहनु भएको भूमिगत संगठन, अर्थात, “नेपाली नागरिक अधिकार समिति”को तत्वावधानमा श्रीमद्भागवत् गीताको कर्मयोगबारे विवेचनात्मक प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो । त्यस कार्यक्रमको प्रमुख वक्ता शुक्रराज शास्त्री स्वयं हुनुहुन्थ्यो र व्यवस्था भएअनुसार अर्को वक्ता हुनुहुन्थ्यो कवि केदारमान “व्यथित” । शास्त्रीजीले कर्मयोगको व्याख्या गर्नुहुँदै भन्नुभयो, “कर्मयोगको मर्म, अर्थात गुह्य अर्थ के हो भने मानिसहरुले आफूहरुमाथि हुने गरेको अन्याय र अत्याचारहरुलाई चुपचाप सहेर बस्न हुँदैन र आफ्नो शक्तिले भ्याएसम्म तिनीहरुको डटेर बिरोध गर्नुपर्दछ र त्यसको साथसाथै आफ्नो हक एवम् हितहरुको प्राप्तिका लागि सबै मिलेर सशक्त संघर्ष गर्नुपर्दछ ।” उहाँले घुमाउरो पाराले राणाहरुको हुकुमी शासनबिरुद्ध श्रमजीवि जन समुदायहरुलाई राजनैतिक जागरण फैलाउनका साथसाथै संयुक्त रुपले संघर्ष छेड्ने आवश्यकतामा जोड दिनुभयो । उहाँको सशक्त र सारगर्भित भाषण उपस्थित श्रोताहरुले मन्त्रमुग्ध भएर सुने र बीचबीचमा तालीको गड्गडाहटद्वारा समर्थन गरे । उहाँको भाषणले श्रोताहरुमा ठूलो प्रभाव पारेको थियो । पूरै इन्द्रचोक बजार हजारौं श्रोताहरुले टम्म भरिएको थियो र तील राख्ने ठाउँसम्म पनि खाली थिएन । श्रोताहरुको भीडमा प्रहरीहरु र तिनका अधिकृतहरु पनि थुप्रै थिए । तिनीहरु बिल्कुलै किंकर्तव्यमूढ थिए, किनकि नेपालमा त्यो आफ्नै खालको पहिलो आमसभा थियो त्यही कारणले घण्टौंसम्म सो कार्यक्रम चलिरहे तापनि, प्रहरीहरुको तर्फबाट कुनै अवरोध खडा गरिएन । व्यवस्था गरिए मुताविक प्रवचन अथवा भाषण दिने पालो कवि केदारमान “व्यथित” को थियो । उहाँ मञ्चमा उभिनुभयो तर भाषण दिनुभएन – बडो अनौठो कुरो थियो । उहाँले एक बिडा पान हातमा लिएर श्रोताहरुलाई सो पान देखाउँदै र उहाँहरुलाई नै हाँक दिँदै भन्नुभयो, “यहाँ कोही माइकालाल छ ? छ भने, यहाँ मञ्चमा आएर मेरो हातको पान चपाउँदै यस सभामा उपस्थित जनसमुदायहरुलाई सम्वोधन गर्दै देशको वर्तमान राजनैतिक स्थितिबारे आफ्नो बिचार राखिदिनु होला । छ, कोही यहाँ त्यस्तो माइकालाल उपस्थित हुनुभएको ?”

शहीद गंगालाल पनि श्रोताहरुकै माझ हुनुहुँदोरहेछ । कवि केदारमानको उक्त हाँकलाई स्वीकार गर्दै उहाँ मञ्चमा उक्लिनु भयो । आमाको बर्खी वारिरहेको हुनाले उहाँले चलनअनुसार सेतो कमीज–सुरुवाल र सेतै कोट लगाइरहनु भएको थियो । बर्खी बारेको बेलामा पान खान नहुने भए तापनि, कवि व्यथितको हाँकले गर्दा उहाँले सो पानको बिडा लिएर खाँदै उपस्थित जनसमुदायहरुलाई जोशिलो एवम् उत्तेजनात्मक भाषण गर्नुभयो । शुक्रराज शास्त्रीजीले घुमाउरो पाराले जहानियाँ राणा शासनको विरोधमा बोल्नुभयो भने गंगालालजीले राणा शासनको ठाडै विरोध गर्दै त्यसको विरुद्ध र प्रजातन्त्रको निम्ति तमाम नेपाली जनता एकजुट भएर संघर्षमा लागीपर्न आग्रह गर्नुभयो । उहाँको भाषण पूर्णतः ओजपूर्ण प्रभावशाली र मान्छेको लासलाई पनि जुरमुराउने खालको थियो । उहाँको त्यही इन्द्रचोकमा दिएको भाषण नै अन्ततः उहाँलाई शहादत प्राप्त गराउने वास्तविक मूल कारण बन्न गयो । किन ? त्यसो हुनाको कारण के हो ? नियम कानुन अनुसार उहाँकै समकक्षका अर्थात एकै दिन एकै साथ नेपाल प्रजापरिषदमा सामेल हुने गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठलाई १८/१८ वर्षको जेल सजाय दिने र उहाँलाई मात्रै ज्यान सजाय दिने–के यो ज्यादती होइन ? उहाँलाई मात्रै ज्यान सजाय दिनुको खास कारण के हो त ? खास कारण के थियो भने गंगालालजीलाई राणा शासक मण्डलीले पछि ठूलो खतरा ल्याउनसक्ने ठम्याएका थिए ।

इन्द्रचोकको उक्त प्रवचन भाषण भएको भोलिपल्ट नै शुक्रराज शास्त्रीलाई काठमाडौं वाङ्गेमुढास्थित उहाँकै घरबाट पक्राउ गरी लगियो र उहाँको मुद्दा हेर्न गठित इजलासले माथि उल्लेखित प्रवचन–भाषण दिए वापत उहाँलाई दुई वर्ष कैद सजाय सुनायो । त्यसपछि सेन्ट्रल जेल चलान गरियो । गंगालालको नाममा वारेण्ट जारी गरियो तर उहाँ पक्राउमा पर्नु भएन ।

उपरोक्त घटना भएको लगत्तै पछि भने जस्तै नेपाल प्रजापरिषदले राणा जहाँनिया शासनको विरोध गर्दै त्यसलाई खतम गरी प्रजातन्त्र ल्याउनका लागि समस्त नेपाली जनतालाई संघर्षमा उत्रन अपील गर्दै काठमाडौँ, पाटन र भक्तपुर तीनवटै शहरहरुमा पर्चाहरु छर्यो । ३–४ नम्बर सम्मका पर्चाहरु के छरेको थियो नेपाल प्रजापरिषदका सबका सब नेताहरु र कार्यकर्ताहरु गिरफ्तार गरिए, एकजना पनि बचेन । यहाँसम्म कि प्रजापरिषद आन्दोनसित बिल्कुलै सम्बन्ध नभएको चन्द्रमान मास्केजस्ता महान कलाकार, चित्तधरजस्ता नेपाल भाषाका महाकवि, युगकवि सिद्धिचरण श्रेष्ठ र कवि केदारमान व्यथितलगायत महाबीर स्कुलका संस्थापकहरु एवं सञ्चालक चिनियालाल सिंह र फत्तेबहादुर सिंहजस्ता शिक्षाप्रेमीहरुलाई समेत राणा शासक मण्डलीले बाँकी राखेनन् । उहाँहरुमध्ये केहीलाई ६ वर्षको र केहीलाई १२ वर्षको कैद र सिंह दाजुभाइ दुईजनालाई जन्मकैद तथा संर्वस्वहरणको सजाय दिइयो । जहाँसम्म शुक्रराज शास्त्रीलाई दिइएको सजायको सवाल छ, उहाँले इन्द्रचोकमा श्रीमद्भागवत् गीताको कर्मयोगगबारे प्रवचन दिए वापत आफूलाई दिइएको २ वर्षे कैद सजाय सेन्ट्रल जेलमा भोगिरहनुभएको थियो र उहाँ माथि अर्को थप आरोप पनि लगाइएको थिएन । तर, प्रजापरिषद आन्दोलनबारे मुद्दा हेर्न र निणर्य गर्न गठित इजलासले उहाँलाई ज्यान सजाय दिने फैसला गर्यो । र, फैसला गरेको केही दिनपछि नै अर्थात् वि.सं. १९९७ माघ १० गते मध्य रातमा हाल नेशनल ट्रेडिङ्ग रहेको टेकुको सडक छेउको रुखमा झुण्ड्याएर हत्या गरियो । त्यसको २ दिनपछि अर्थात् माघ १२ गतेको मध्य रातमा पशुपति जाने कालोपुलपारी सिफलको सडक छेउको रुखमा झुण्ड्याएर नेपाल प्रजापरिषदका उपाध्यक्ष धर्मभक्त माथेमाको हत्या गरियो । र माघ १६ गतेको मध्य रातमा नेपाल प्रजापरिषदका महासचिव दशरथचन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवती मन्दिरनेर विष्णुमती र भद्रमतीको दोभानमा गोली ठोकेर हत्या गरियो । नेपाल प्रजापरिषदका अध्यक्ष टंकप्रसाद आचार्य, चुडाप्रसाद शर्मा, रामहरि शर्मा र गोविन्दप्रसादहरु उपाध्याय बाहुन भएको कारणले उहाँहरुलाई जनै चूँडाली चारपाटे मोडेर जन्मकैदको सजाय दिएर जेल चलान गरियो । राणा शासक मण्डलीले ती चारजना अमर शहीदहरुको पार्थिव शरीरलाई नेपाली जनतालाई तर्साउने विचारले र त्यस उप्रान्त कसैले पनि जहाँनियाँ राणा शासनको विरोधमा चूँ बोल्न पनि आँट नगरोस् भन्नाको खातिर उहाँहरुको हत्या गरेको भोलिपल्ट दिनभर नै प्रदर्शन गरिराख्यो । तर, त्यसबाट नेपाली जनतामा कुनै असर परेन, बरु उल्टै राणाशाही विरुद्ध उनीहरुमा प्रचण्ड आक्रोश मात्र पैदा हुनगयो । त्यस समय म पाटन हाइ स्कुलमा ९ कक्षामा पढ्दै थिएँ । मलाई राजनीतिबारे बिल्कुलै केही पनि थाहा थिएन । थाहा होस् पनि कसरी ? एक त, म एउटा सामान्य हाइस्कुलमा पढ्ने केटो थिएँ र दोस्रो त्यस समय त्यस अनूकुलको स्थिति नै थिएन । तर पनि राणा शासक मण्डलीले जुन क्रूरताले अमानवीयपनले नेपाल प्रजापरिषदको आन्दोलनलाई दमन गर्यो, त्यसले गर्दा ममा राणा शासनसँग त्यसको बदला लिने भावना प्रवलरुपले पैदा भयो र मैले राणा जहाँनियाँ शासनलाई खतम नगरिनछाड्ने अठोट गरी राजनीतिमा लाग्ने निर्णय गरेँ । अनि त्यसको निम्ति सक्रियरुपले काम गर्ने साथीहरु खोज्न थालेँ । सबभन्दा पहिले त मैले आफ्नै घर–छिमेकका आफ्नो लंगौटिया साथीहरुसँग कुरा चलाएँ । त्यसपछि मैले स्कुलका सहपाठीहरुसँग कुरा चलाएँ । तिनीहरुले मलाई समर्थन त गरे, तर सक्रिय भएर काम गर्न मानेनन् । त्यस बखत म एकदमै असमञ्जस्यमा परेँ । तर पनि निराश त भइनँ । नयाँ साथीहरु खोज्ने प्रयासमा लागेँ ।

साभार : मेरो राजनैतिक जीवनका संस्मरणहरु

नोट : बितेका शम्भुराम श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दाेलनका एक चर्चित नेता हुनुहुन्थो । उहाँको निधन २०६२ माघ १९ मा भएको थियो ।

(Visited 258 times, 1 visits today)

टिप्पणी

comments