Main Menu

लेनिनको जीवनी

फेब्रुअरी क्रान्तिको तयारीमा लेनिन

(गत बुधवार सोभियत समाजवादी क्रान्तिको शतवार्षिकीको सन्दर्भलाई लिई त्यसका नायक महान लेनिनको संक्षिप्त जीवनी प्रकाशन सुरु गरेका थियौं । आज हामी त्यसकै बाँकी दोश्रो खण्ड प्रकाशित गर्दैछौं । पहिलो खण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु होला ।-सम्पादक)

एक कदम अगाडि दुई कदम पछाडि

अप्रिल १९०२ मा लेनिन बेलायत सरे । यस बसाइको क्रममा लेनिन त्यहाँको मजदुर आन्दोलनसँग परिचित भए । उनले बेलायती सर्वहारावर्गको जीवनपद्धतिको गहन अध्ययन गरे र मजदुर सभाहरुमा सहभागी भए । सन् १९०३ मा लेनिन लन्डनबाट जेनेभा प्रस्थान गरे । जुलाइ १९०३ मा रसियाली सामाजिक जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन भयो । प्रारम्भमा महाधिवेशन ब्रसेल्समा सुरु भएको थियो । पछि बेल्जियमको पुलिसले शंका गर्न थालेपछि महाधिवेशन लन्डनमा सारियो । महाधिवेशनमा सर्वहारा ‘इस्क्रा’वादी क्रान्तिकारीहरु बाहेक त्यससँग फरक मत राख्नेहरु पनि थिए । लेनिनका अनुसार उनीहरु अवसरवादी तथा मध्यमार्गीहरु थिए ।

महाधिवेशनमा बहुमतले ‘इस्क्रा’ को सम्पादकमण्डलले तयार गरेको क्रान्तिकारी कार्यक्रम पारित गर्यो । त्यसबेला विश्वमा यही मात्र एक पार्टी थियो, जसले राज्यसत्तामा सर्वहारा अधिनायकवाद स्थापना गर्ने लक्ष्य लियो । लेनिन लडाकु पार्टी गठन गर्न चाहन्थे, जसका हरेक सदस्यले क्रान्तिकारी संघर्षमा सक्रिय भाग लेओस् र पार्टी अनुशासनको पालना गरोस् । पार्टी सदस्य बन्न पार्टी लेवी (नियमित निश्चित आर्थिक सहयोग) तिर्ने र पार्टी संगठनमा रहेर काम गर्नुपर्ने लेनिनको विचार थियो । तर, महाधिवेशनमा उनको विचार पारित हुन सकेन । पारित प्रस्तावमा पार्टी सदस्य बन्न पार्टी कार्यक्रमलाई मान्यता र पार्टीलाई आर्थिक सहायत गर्नु नै पर्याप्त भएको कुरा राखियो । पार्टी संगठनमा बाँधिनु र पार्टी अनुशासन पालना गर्नु अनिवार्य भएन । लेनिनको पार्टी संगठनसम्बन्धी विचारमा अर्का नेता माल्टोभले फरक मत राखेका थिए भने त्यसलाई अर्का नेता ट्राटस्कीले साथ दिएका थिए । केन्द्रीय समिति र पार्टी मुखपत्रको सम्पादकमण्डलमा लेनिनको विचारका समर्थकहरुले बहुमत पाए । ‘इस्क्रा’ले पार्टीको मुखपत्रको रुपमा मान्यता पायो । त्यसै बेलादेखि लेनिनको बिचारका समर्थकहरु बोल्सेभिक (बहुमतवादी) र अरुहरु मेन्सेभिक (अल्पमतवादी ) भनिन थालिए । र, त्यसपछिका दिनहरुमा क्रान्ति र पार्टी संगठनका सिद्धान्तहरुको मुद्दामा बोल्सेभिक र मेन्सेभिकहरुबीच लगातार विवाद तथा द्वन्द्वहरु चले । त्यसै सन्दर्भमा बोल्सेभिक विचारलाई सही भएको र मेन्सेभिकहरुको विचारबाट पार्टी र क्रान्तिलाई ठीक दिशामा नलाने तर्क प्रस्तुत गर्दै लेनिनले ‘एक कदम अगाडि, दुई कदम पछाडि’ शीर्षकको पुस्तक लेखे । त्यो पुस्तक सन् १९०४ मा प्रकाशित भयो । त्यसमा उनले सर्वहारावर्गको नेतृत्वको पार्टीबिना न समाजवादी क्रान्तिले विजय प्राप्त गर्न सक्छ न त साम्यवादी समाजको निर्माण गर्न सकिन्छ भन्ने मार्क्सवादी शिक्षालाई विकसित तुल्याए । रुसका बहुसंख्यक पार्टी समितिहरुले बोल्सेभिकहरुलाई साथ दिए । बहुसंख्यक पेशागत क्रान्तिकारीहरु र पार्टीका मजदुर सदस्यहरुले लेनिनको विचारलाई समर्थन गरे ।

लेनिनको आग्रहमा लेखे गोर्कीले पुस्तक

९ जनवरी, १९०५ को दिन पिटर्सवर्गमा पत्नी र बालबच्चासहित आफूले खेप्नु परेको समस्या सुनाउन शान्तिपूर्वक गइरहेका मजदुरहरुमाथि जारको आदेशअनुसार गोली चलाइयो । र, महिला तथा केटाकेटीलगायत थुप्रै प्रदर्शनकारीहरुको निर्मम हत्या भयो । जारशाही शासनको यस क्रूर दमनले सिङ्गो रुसलाई ब्युँझायो र जारशाहीविरुद्ध मजदुर आन्दोलन थुप्रै सहरहरुमा फैलियो । वार्सा, लोदज, बाकु, ओडेसाजस्ता औद्योगिक केन्द्रहरुमा ठूल्ठूला हडतालहरु भए । यस आन्दोलनले रुसी ग्रामीण क्षेत्रलाई पनि प्रभाव पार्यो र किसानआन्दोलन उठ्यो । जारशाही शासनको सामरिक जग बनेको सेना पनि ढलमल गर्न थाल्यो । जुन सन् १९०५ मा कृष्णसागर फ्लिटको सामरिक जहाज पाच्योम्किनमा विद्रोह भयो ।

क्रान्तिको अपिल गर्दै लेनिन ।

क्रान्तिको अपिल गर्दै लेनिन ।

लेनिनले सशस्त्र विद्रोहको आवश्यकतामाथि जोड दिन थाले । कलकारखानाहरु, पोस्ट अफिस र टेलिग्राफ अफिस र टेलिग्राफ अड्डाहरु बन्द भए । आन्दोलनको रापले तर्सिएको जारशाही सरकारले १७ अक्टोबरको दिन घोषणापत्र जारी गर्दै जनतालाई व्यक्तिगत स्वतन्त्रता, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, भेला हुने स्वतन्त्रता तथा अन्य नागरिक अधिकारहरु प्रदान गरिने आश्वासन दियो । तर, लेनिनले जारको आश्वासनमाथि विश्वास नगर्न चेतावनी दिँदै क्रान्ति अगाडि बढाउन जनततासँग अपिल गरे । र, तत्कालीन अवस्थामा सशस्त्र विद्रोहको लागि तयारी गर्नु नै सर्वहारावर्गको एक मात्र कर्तव्य भएको विचार राखे ।

अप्रिल १९०५ मा लन्डनमा रसियाली सामाजिक जनवादी मजदुर पार्टीको तेस्रो महाधिवेशन भयो । लेनिन महाधिवेशनको अध्यक्षमा निर्वाचित भए । सशस्त्र विद्रोहको तयारी नै पार्टीको आधारभूत र अत्यावश्यक कार्यभार हो भन्ने कुरा ठम्याउँदै महाधिवेशनले समस्त पार्टी संगठनहरुलाई सर्वहारावर्गलाई हतियारबन्द गराउन ठोस कदमहरु चाल्ने, सशस्त्र विद्रोहको योजना तयार गर्ने र यसको नेतृत्व गर्ने अभिभारा सुम्प्यो ।

अप्रिल १९०६ मा लेनिन रसियाली सामाजिक जनवादी मजदुर पार्टीको चौथो (एकता) महाधिवेशनमा भाग लिन स्टकहोम प्रस्थान गरे । लेनिनले कृषि समस्या, वर्तमान अवस्था र सर्वहारावर्गको वर्गीय कर्तव्य राजकीय दुमा (जारशाही शासनको संसद्) प्रतिको दृष्टिकोण, सशस्त्र विद्रोह र संगठनात्मक प्रश्नहरुबारे गहकिला विचारहरु राखे । महाधिवेशनमा बोल्सेभिक र मेन्सेभिकहरुबीच चर्को बहस भयो । कृषिको प्रश्नमा गम्भीर विवाद भयो । बोल्सेभिकहरुले बिर्ताजग्गाहरु बिनामुआब्जा जफत गर्ने र सम्पूर्ण जमिन राष्ट्रियकरण गर्ने अर्थात् जमिनमाथि व्यक्तिगत स्वामित्व बदर गरेर सरकारी स्वामित्व कायम गर्ने माग राखे । तर, मेन्सेभिकहरु जमिन राष्ट्रियकरण गर्ने प्रस्तावको विरोधमा उत्रे ।

सम्मेलनमा भाग लिँदै लेनिन (बीचमा)

अप्रिल १९०७ मा लन्डनमा भएको रसियाली सामाजिक जनवादी मजदुर पार्टीको पाँचौं महाधिवेशनमा लेनिन सहभागी भए । यस महाधिवेशनले बोल्सेभिकहरुले अपनाएको नीतिको औचित्य स्वीकार गर्यो । सन् १९०५ मा सुरु भएर करिब साढे दुई वर्षसम्म लम्बिएको पहिलो रुसी क्रान्ति विफल भयो । तर, यस क्रान्तिको रुसको जारशाही निरंकुश शासनमा ठूलो प्वाल पार्यो ।

जनवरी १९०८ मा लेनिन स्विट्जरल्यान्डको जेनेभा सहरमा आए । त्यहाँ उनी नयाँ जोश र शक्ति सँगालेर पार्टीको काममा लागे । जेनेभा आएको वर्ष लेनिन त्यहाँबाट लन्डन गए र त्यहाँको ब्रिटिस म्यूजियमको पुस्तकालयमा बसेर एक महिनासम्म निरन्तर अध्ययन गरे ।

अप्रिल १९०८ मा सर्वहारावर्गका महान् लेखक एवं प्रसिद्ध साहित्यकार म्याक्सिम गोर्कीको अनुरोधमा उनीसँग भेट्न लेनिन इटालीको काप्री द्वीप आइपुगे । लेनिन र गोर्कीबीच रुसको तत्कालीन अवस्थाबारे धेरै छलफल भयो । लेनिनले बडो ध्यानपूर्वक गोर्कीको बाल्यावस्था र जवानीबारे, उनको घुमन्ते जीवनबारेका वर्णनहरु सुने र यी सब कुरामा लेख्न अनुरोध गरे । गोर्कीले आफ्ना कृतिहरु मेरो बाल्यावस्था, मानिसहरुको बीचमा र मेरो विशवविद्यालयमा यी कुराहरु उल्लेख गरेका छन् । लेनिनसँग भएको वार्तलापले गोर्कीमाथि ठूलो प्रभाव पर्यो ।

लेनिन (दायाँ) र म्याक्सिम गोर्की (बायाँ) ।

उनी भाषण पनि लेखिदिन्थे

सन् १९१० मा रुसमा फेरि मजदुरआन्दोलन चर्किन थाल्यो । पिटर्सवर्ग, मास्को र अन्य सहरहरुमा हडताल, प्रदर्शन, सभा र अन्य राजनीतिक सक्रियताहरु बढ्न थाले । किसान, स्थलसेना र जलसेना पनि संघर्षप्रति आकर्षित हुन थाले । लेनिनको नेतृत्वको बोल्सेभिक पार्टी यस व्यापक क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै थियो । सन् १९११ मा लेनिनले पार्टी संगठनहरुका भूमिगत मजदुर कार्यकर्ताहरुलाई पढाउनको लागि पेरिस नजिकको लोन्झुयुमो बस्तीमा पार्टी स्कुल खोले । सन् १९१२ मा प्रागमा अखिल रसियाली पार्टी सम्मेलन भयो । सम्मेलनमा लेनिनले पेश गरेको ‘वर्तमान अवस्था एवं पार्टी कार्य’ शीर्षकको राजनीतिक प्रतिवेदन पारित भयो ।

सन् १९१२ मा पिटर्सवर्ग सहरका मजदुरहरुको तत्परतामा र लेनिनको सहयोगमा वैधानिक दैनिक पत्रिका बोल्सेभिक ‘प्राभ्दा’ निस्कन थाल्यो । लेनिनले पोल्यान्डको मजदुरआन्दोलन र त्यहाँ रहेका सामाजिक जनवादीहरुसँग अझ आत्मीय सम्बन्ध स्थापित गर्दै उनीहरुलाई सहयोग गरे । ‘प्राभ्दा’ मा लेनिन आर्थिक पछौटेपनबारे लेख्थे । जनतालाई गरिबी, गुलामी र अन्धकारमा जाक्ने शोषक वर्गहरुको भण्डाफोर गर्थे । सन् १९१२ मै चौथो राजकीय दूमाको लागि चुनाव भयो । ‘चुनावमा भाग लिनाले जनसमूहसँग पार्टीको सम्बन्ध दरिलो बन्नेछ, पार्टी संगठनहरुको कार्यमा सक्रियता ल्याउनेछ’ भन्ने कुरामा लेनिन विश्वस्त थिए । बोल्सेभिकहरुले चुनावमा तीन मुख्य माग अघि सारेका थिए : लोकतान्त्रिक गणतन्त्रको स्थापना, आठघण्टे कार्यदिनको निर्धारण र समस्त बिर्ताहरु जफत गर्ने । चुनावी परिणामले लेनिनलाई उत्साहित पार्यो । देशका ६ वटा मुख्यमुख्य औद्योगिक प्रान्तहरु जहाँ रुसी सर्वहारावर्गको ४—५ हिस्सा केन्द्रित थिए, त्यहाँबाट मजदुरहरुको तर्फबाट राजकीय दूमामा बोल्सेभिकहरु चुनिए । लेनिन बोल्सेभिक डेपुटीहरु(प्रतिनिधिहरु) लाई निर्देशन दिन्थे । महत्वपूर्ण राजनीतिक विषयहरुमा उनीहरुको भाषण मस्यौदा तयार गर्थे । डेपुटीहरुलाई क्रान्तिकारी प्रचारको लागि कसरी दूमाको मञ्च प्रयोग गर्नुपर्छ भन्ने कुरा सिकाउँथे ।

क्रान्तिअघिको जारशाही रुसको प्रतिनिधिसभा ‘दूमा’ ।

विश्वचर्चित क्रान्तिको अगुवाइ

सन् १९१४ मा साम्राज्यवादी प्रथम विश्वयुद्ध सुरु भयो । यस युद्धमा एकातर्फ जर्मनीको नेतृत्वमा अस्ट्रिया, हंगेरी, टर्की र बुल्गेरिया थिए भने अर्कोतिर बेलायतको नेतृत्वमा फ्रान्स र रुस थिए । पछि यस युद्धमा अमेरिका, जापान र इटालीलगायत अन्य देशहरु सहभागी भए । यसले पछि प्रथम विश्वयुद्धको रुप लियो । यो युद्ध श्रमिकवर्गको हितमा नभएको तर्क राखी लेनिनले त्यसको चर्को विरोध गरे । बोल्सेभिक पार्टीले युद्धविरुद्ध निणार्यक संघर्ष सुरु गर्यो । राजकीय दूमाका बोल्सेभिक प्रतिनिधिहरुले मजदुरहरुको बीचमा क्रान्तिकारी प्रचार गरे । जारशाही सरकारले बोल्सेभिकहरुमाथि भयंकर दमन नीति अपनायो । आफ्नो क्रान्तिकारी क्रियकलापका लागि राजकीय दूमाका बोल्सेभिक प्रतिनिधिहरु साइबेरिया निर्वासित भए । दमनको पर्वाह नगरी लेनिनले युद्धविरुद्ध संघर्ष जारी राखे । उनले सर्वहारा र श्रमिक जनतालाई नयाँ क्रान्तिको लागि तयार गर्दै थिए । लेनिनले बामपन्थीहरुलाई एकजुट पार्र्न र अवसरवादीहरुविरुद्ध संघर्ष गर्नको लागि जिमरवाल्ड (सेप्टेम्बर, १९१५) र किनटल (अप्रिल, १९१६) मा भएका समाजवादी अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिए ।

यसैबीच सन् १९१६ मा लेनिनकी ममतामयी आमा मारिया अलेक्सान्द्रभ्ना उल्यानोभको निधन भयो ।

लेनिनकी ममतामयी आमा मारिया अलेक्सान्द्रभ्ना उल्यानोभ ।

सन् १९१७ को फेबु्रअरी महिनामा बोल्सेभिक पार्टीको आह्वानमा पेट्रोगाड सहरमा दुई लाखभन्दा बढी पुरुष तथा नारी मजदुरहरुले आमहड्ताल गरे । यस हड्तालले ठूलो आन्दोलनको रुप लियो । बोल्सेभिक पार्टी केन्द्रीय समितिले घोषणापत्र निकाल्यो । यस घोषणापत्रमा जारशाहीको निरंकुश शासन उल्ट्याउने, अस्थायी क्रान्तिकारी सरकार गठन गर्ने, जनवादी गणतन्त्र खडा गर्ने, आठघण्टे कार्यदिन तोक्ने, बिर्ता जमिन्दारीहरु जफत गर्ने र युद्ध समाप्त गर्नेजस्ता मागहरु समावेश गरिएका थिए । जारशाही सरकारले सेनाको मद्दतबाट बढ्दो क्रान्तिकारी आँधी रोक्ने असफल प्रयास गर्यो । तर, यो कुरा उसको सामर्थ्यभन्दा बाहिरको भैसकेको थियो । सिपाहीहरुले समेत विद्रोही मजदुरहरुसँग मिलेर जारशाही शासनविरुद्ध आन्दोलनमा भाग लिन थाले । लेनिनको भविष्यवाणी साकार भयो । वास्तविक क्रान्तिकारी मार्क्सवादी पार्टीद्वारा निर्देशित मजदुर तथा किसानवर्गले विजय हासिल गरे । युगौंदेखि रुसी जनताको शोषण गर्दैआएको निरंकुश जारशाही शासनको अन्त्य भयो । मास्को तथा अन्य सहरहरुमा मजदुर तथा सिपाहीहरुले यस आन्दोलनको समर्थन गरे । आन्दोलनबाट जारका हाकिमहरु लखेटिए र जारशाही राजतन्त्रीय शासनव्यवस्था ढल्यो । र, आन्दोलनकारीहरुको अस्थायी सरकार गठन भयो । त्यस सरकारको नेतृत्व आन्दोलनकै एक नेता केरेन्स्कीले गरे । उनी बुर्जुवा (पूँजीवादी) विचारधाराका थिए । पछि यो क्रान्ति फेब्रुअरी क्रान्तिको रुपमा प्रख्यात भयो । तर, यस क्रान्तिले मजदुर तथा किसानवर्गको हित गर्ने राज्यसत्ता भने स्थापना गरेन । क्रान्तिपछि छोटो समयमै राज्यसत्तामा बुर्जवावर्गको वर्चस्व स्थापित भयो ।

फेबु्रअरी क्रन्ति सुरु हुनासाथ बोल्सेभिक पार्टी भूमिगत अवस्थाबाट बाहिर निस्कियो र आफ्नो शक्ति सञ्चय गर्न थाल्यो । लेनिनले अस्थायी सरकारलाई विश्वास नगर्न र उनीहरुको सत्ता मजवुत पार्न कदापि दिनुहुन्न भन्ने विचार व्यक्त गरे । र, उनले नयाँ राज्यसत्ता सोभियत (मजदुर तथा किसानप्रतिनिधि)हरुको हातमा सार्नको लागि समस्त शक्ति लगाउनुपर्छ भन्ने कुरामा जोड दिए । लेनिनले आमजनतालाई प्रतिक्रियावादी सत्ताको विकल्पमा समाजवादी क्रान्तिको लागि तयारी गर्ने सल्लाह दिए । अस्थायी सरकारविरोधी क्रान्तिको समर्थनमा एकपछि अर्को गर्दै सभाहरु हुन थाले । जूलुसहरु निस्कन थाले । त्यसबेला लेनिन स्विट्जरल्यान्डमा थिए । आन्दोलनको नेतृत्व गर्न उनले स्वदेश फकर्ने तयारी गरे ।

लेनिन क्रान्तिको नेतृत्व गर्न स्वीट्जरल्यान्डबाट पेट्रोगाद फर्कँदा रेल स्टेसनमा हजारौं मजदुरहरुले भव्य स्वागत गरे ।

१९१७, अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालझण्डा बोकेका हजारौं श्रमिकहरु फिनल्याण्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले ‘गार्ड अफ अनर’को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक, सैनिक तथा नौसैनिकहरुलाई नयाँ सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।

क्रमशः………………………….

 

(Visited 220 times, 1 visits today)

टिप्पणी

comments