Main Menu

आहुतिको चिन्ता र सरोकार

परम्परा, स्वाद र संस्कृति

विराटनगरमा बिद्यार्थीहरु देउसी खेलदै । फोटो : ourbiratnagar.com

विराटनगरमा बिद्यार्थीहरु देउसी खेल्दै । फोटो : ourbiratnagar.com

साहित्यकार तथा संस्कृति चिन्तक आहुतिले देउसी भैलोबारे आफ्नो फेसबुक भित्तामा status लेखेर परम्परा, संस्कृति र राजनीतिलाई एकसाथ जोड्ने प्रयत्न गरेका छन् । उनको status प्रति कतिपय साथीभाइले तीखो टिप्पणी गरेका छन् । उनको status यस्तो छ,

‘जतिसुकै फूलबुट्टा भरेर कार्यक्रम गर्नोस् ,समुदाय आफैले खेल्ने कुराबाहेक ,संगठित संस्थाहरूले आयोजना गर्ने देउसी-भैलो बुझेर वा नबुझेर , अन्जानमा वा नियतपूर्वक गैरहिन्दूलाई हिन्दूकरण गर्ने पञ्चायती रणनीतिकै निरन्तरता हो र ती संगठित संस्थाहरू धर्मनिरपेक्षताको नीतिप्रति पटक्कै गंभीर छैनन् भन्ने कुराको प्रमाण पनि हो !’

आहुतिले यहाँ संगठित संस्था भनेर युवा क्लब, बिद्यार्थी संगठन, सरकारी तथा गैर सरकारी संस्थाहरुदेखि सांस्कृतिक संस्था एवं राजनीतिक पार्टीहरुसम्मलाई इंगित गर्न खोजेको बुझ्न सकिन्छ । त्यस्तै गरी समुदाय भनेर उनले जनताको तहलाई देखाउन खोजेको देखिन्छ ।

पक्कै पनि समाजका अगुवाहरुले जनताको तहलाई बुझ्न सक्नुपर्दछ । समाज वर्ग बिभाजित छ । समाजलाई डोर्याउने मुख्य चालक शक्ति भनेको राज्यसत्ता हो । राज्यसत्ता निरवर्गीय छैन । समाज भित्रको बलियो वर्गले राज्यसत्ता आफ्नो मुठ्ठीमा पारेको हुन्छ । मानव समाजको बिकासको इतिहास हेर्ने हो भने राज्यसत्ता जहिल्यै कुनै वर्गले अर्को वर्गलाई दवाएर राखी आफ्नो स्वार्थ अनुकूल समाजको गतिलाई अगाडि बढाउनका लागि प्रयोग गरेको देखिन्छ । शिकारी जीवनबाट पशुपालन र खेतिपातीको तहमा उक्लेदेखि मानव समाज वर्ग बिभाजनमा प्रवेश गरेको इतिहास छ । वर्ग बिभाजनले समाजमा श्रम गर्ने र श्रम चोर्ने समुदायहरुको खेमाबन्दी सुरु भयो । श्रम चोर्नेले श्रम गर्नेलाई कमजोर पार्न समाजलाई आफ्नो बुध्दि प्रयोग गरी नियमन गर्ने र नमान्यलाई बाध्य पार्न बल प्रयोग गर्ने गर्यो ।  र, यसरी नै वर्ग बिभाजन सँगसँगै समाजमा राज्यको जन्म भएको देखिन्छ । इतिहासदेखि वर्तमानसम्म बलशाली श्रमचोर वर्ग सत्तामा र कमजोर श्रमिक वर्ग जनताको तहमा रहँदै आएको छ । इतिहासका बिभिन्न कालखण्डहरुमा राज्यसत्ता हात पार्ने र शासित बनी जनताको तहमा रहने वर्ग फरकफरक हुँदै आए पनि जहिल्यै श्रमचोरहरू सत्तामा र श्रमिक समुदाय जनताको तहमा रहँदै आएका छन् । प्राचिन कविला समाजमा वर्ग बिभाजन थिएन । त्यहाँ सबै श्रमिक हुन्थे । शासक र शासित हुँदैनथे त्यहाँ । त्यहाँ सबै नै जनता । मानव समाज श्रम चोर्ने तहमा जब उक्ल्यो, त्यही बेलादेखि शासक र शासित हुन थाले, राज्यको कुरा आउन थाल्यो । यसको दृष्टान्तका लागि अतितको टाढा समयसम्म जानै पर्दैन, अझै लुगै नलगाई प्राचिन स्तरको जीवन जिइरहेका दक्षिण अमेरिकाको अमेजन, अफ्रिकाका, प्रशान्त महासागरीय टापु पपुवा न्युगिनीका बिभिन्न जङ्गलभित्र रहेका कविला समाजलाई हेर्दा पुग्दछ । त्यहाँ श्रम चोर्नेहरु छैनन् । सबका सब श्रमिक छन् त्यहाँ । त्यहाँ राज्य छैन । त्यहाँ शासक छैन, सबका सब जनता । त्यसैले आधुनिक समाजको बोलीचाली भाषामा राज्यभित्रका सबै तह र तप्कालाई जनता एवं समुदाय भनिए पनि यथार्थमा बहुसंख्यक शासित श्रमिक वर्ग र तप्का मात्र जनता हुन् । जनताका यी वास्तविक चरित्र र पहिचानलाई चिनेर मात्र जनतामा रहेका परम्परा र संस्कृतिलाई बुझ्न सकिन्छ ।

जङ्गली युगदेखि नै मानव जीवन चुनौतिपूर्ण रहँदै आएको छ । जङ्गलमा हिँस्रक जन्तुबाट भय मात्र होइन कमजोर जीउ रहेका मानव प्रजातिलाई खाना खोज्ने र वातावरणीय अनुकूलताको लागि पनि ठूलो कठिनाइ ब्यहोर्नुपर्यो । तर, जनावरभन्दा भिन्न मानव प्रजातिमा मस्तिष्कको बिकास हुँदा ती कठिनाइहरुलाई सामना गर्न उनीहरुले कृत्रिम वस्तु तथा औजारहरुको आविष्कार गर्न थाले । प्रकृतिमा बनिबनाउ नभएका वस्तुहरुको आविष्कार गर्ने क्षमताको बिकास सँगसँगै नै मानव सँस्कृतिको जन्म भयो । यसैबाट मानव प्रजाति प्राकृतिकबाट साँस्कृतिक बन्न थालेको थियो । जनावरहरु प्राकृतिक हुन्, मानव चाहिँ साँस्कृतिक, यी दुई बीचको भेद यति नै हो ।

त्यसैले प्रकृतिमा भएका बनिबनाउ चीजबीज तथा घटना परिघटनाबाहेक मानव जातिले आफ्नो बुध्दि, विवेक, सिप र बल लगाएर निर्माण गरेका सम्पूर्ण वस्तु, आचार, बिचार, बानी-ब्यहोरा, प्रवृत्ति, कला, साहित्य, परम्परा आदि सबै नै सँस्कृतिभित्र आउने कुराहरु हुन् । जनताको तहमा हुने यी सबै कुरा जनताको सँस्कृतिअन्तर्गत पर्दछन् ।

यो विश्वब्रम्हाण्डमा कुनै पनि कुरा स्थिर छैन । कुनै पनि कुरा निरपेक्ष छैन । सबै चलायमान अर्थात् गतिशील छन् । सबै सापेक्ष छन् । यानि कि सत्य स्वयं पनि अस्थिर र सापेक्ष छ । अरु नभए पनि समय एउटा त निरपेक्ष छ नि भनेर सोचिन्थ्यो । वैज्ञानिक आइन्स्टाइनले समय पनि निरपेक्ष नभई सापेक्ष भएको प्रमाणित गरिदिए । अब त निरपेक्ष भन्ने चीज बाँकी नै के छ र ? स्थिर भन्ने चीज नै बाँकी के छ र ? छ नै भन्नुपर्ने हो भने स्थिर एवं निरपेक्ष भन्ने एउटै मात्र बाँकी छ, त्यो हो कुनै पनि चीज स्थिर र निरपेक्ष छैन भन्ने कुरो । सबै कुरो अस्थिर अर्थात् गतिशील र सापेक्ष छ भन्ने कुरो । सबै कुरा अस्थिर र सापेक्ष हुन्छन् भने सँस्कृति मात्र कसरी स्थिर र निरपेक्ष हुन्छ ? सँस्कृति अस्थिर र सापेक्ष हुन्छ भने अनि हाम्रा आचार, बिचार, बानी-ब्यहोरा, प्रवृत्ति, कला, साहित्य, परम्परा मात्रै कसरी स्थिर र निरपेक्ष हुन्छन् ? अनि यति कुरा भइसकेपछि हाम्रा चाडबाड, आहारबिहार, थकाइ मार्ने मेलो, मनोरञ्जन शैली, आस्था, बिश्वासजस्ता कुराहरु हिजो जस्ता थिए त्यस्तै भइरहनु पर्छ भनी आग्रह बोक्ने र त्यसकै मापदण्डमा व्यक्ति र बिचारको मूल्याङ्कन गर्नु सही हुन्छ र ?

समालोचक तथा चिन्तक चैतन्य मिश्रका अनुसार (मूल्याङ्कन मासिक) छोरीलाई पनि पैत्रिक सम्पत्तिको हक हुने भएपछि भाइटिका पर्वको महत्व र आस्थामा परिवर्तन आउनेछ । नेपालको सम्विधान २०७२ ले छोरीलाई पनि पैत्रिक सम्पत्तिको हक प्रदान गर्ने कानुन बनाउन बाटो खोलेको छ । अब यो कानुन बनी कार्यान्वयनको तहमा ओर्लिएपछि विद्यमान चाडबाड, परम्परा र समग्रमा सँस्कृतिमा कस्तो परिवर्तन ल्याउनेछ त्यो हेर्न बाँकी छ । तर, यसको लागि केही समय अझै कुर्नुपर्ने छ ।

नेपाली समाज बिकासको इतिहास जान्ने जो कोहीलाई पनि देउसी भैलोको परम्परा प्राचिन नेपाली समाजको कुनै एक कालखण्डमा सुरु भएको हो भन्ने कुरा सिकाइरहनुपर्ने कुरा होइन । प्राचिन समाज सामन्तवादी थियो । प्राचिन राज्य सामन्तवर्गको हातमा थियो । र, सत्ताधारी वर्गले परम्परा र सँस्कृति आफ्नो स्वार्थ अनुकूल नै बनाएकोमा समाजशास्त्र बुझ्ने सामान्य बिद्यार्थीलाई जानकारी हुने कुरो हो । यति कुराको लागि कलेज गई समाजशास्त्र पढ्नु पर्दैन । राजनीतिमा लागेकाहरु त्यसमाथि पनि मार्क्सवादी राजनीतिका सामान्य कार्यकर्ताले सहजै बुझ्ने कुरा हो यो । अहिले राज्य सामन्तवादी छैन । गणतन्त्रले सामन्ती राज्यलाई समाप्त गरेको कुरामा फरक मत राख्नेहरु सायद अब बाँकी छैन । अहिलेको नेपाली आर्थिक राजनीतिक चरित्र पनि सामन्तवादी छैन । राज्यको चरित्र फेरिने, समाजको आर्थिक राजनीतिक चरित्र फेरिने अनि साँस्कृतिक परम्परा मात्र जिउँका त्युँ राखिनुपर्छ भनी आग्रह बोक्नु कसरी सही हुन सक्छ ? यस्तो सोच परम्परावादी एवं यथास्थितिवादी नभए अरु के होला त ? अर्को कुरा यो परम्परा आम प्रचलनको पनि होइन भन्ने कुरा नेपाली समाजको विविधता थाहा पाउने सबैलाई थाहा भएकै हो ।

देउसी भैलो मूलत: हिन्दू परम्परा हो । सबै नेपाली हिन्दू होइनन् । त्यसैले यो परम्परा आम नेपालीको होइन भन्ने कुरामा तर्क गरिरहनुपर्ने जरुरी नहोला ? हिजो राज्य हिन्दू थियो र उसले यो सबै नेपालीको भनी लाद्न खोज्यो । अर्को कुरा, हिजोको सामन्ती शासक वर्गले राज्यलाई किन हिन्दू बनायो त ? प्रष्टै छ हिन्दू दर्शन र परम्पराले सामन्ती राज्यलाई बलियो बनाउन मद्दत गर्थे । अहिले नेपाली समाजले सामन्ती राज्यलाई फालिसकेको छ । तर, सामन्तवर्गमा पुन: राज्यसत्ता हात पार्ने चाहना मरिसकेको छैन । यो कुरो सत्य हो कि विश्वको कुनै पनि देशमा ढलिसकेको सामन्ती राज्यसत्ता पुनर्स्थापित भएको छैन । नेपाल मात्रै अपवाद बन्ने सम्भावना पनि छैन । किनकि अहिले नेपालमा बिकसित भइरहेको पुँजीवादी आर्थिक राजनीतिक समाज पछाडि फर्कनु भनेको उडाइसकेको सूर्य पुन: पूर्वको क्षितिजमा डुब्नका लागि उतैतिर सरेर जानु भनेजस्तै हो, जुन कुनै हालतमा पनि सम्भब छैन । त्यसैले अहिले पराजित सामन्त वर्गले फेरि सामन्ती राज्य फर्काउने सपना लामो समयसम्म देखिरहन सक्दैन । फेरि अहिले बाँकी सामन्त वर्ग पनि स्थिर हुँदैन नि ! पुँजीवादी अर्थ-राजनीतिको बिकास सँगसँगै उनीहरु क्रमश: पुँजीजीवि वर्गमा परिणत हुन पुग्छन् र उनीहरुको परम्परा र सँस्कृति पनि बिस्तारबिस्तारै पुँजीवादी बन्दै जान्छन् ।

मानिसले कुनै पनि क्रियाकलापलाई तत्कालीन अबस्थामा फाइदा र आनन्दको आधारमा अङ्गाल्ने गर्दछ । एउटै क्रियाकलाप लामो समयसम्म दोहोर्याइरहँदा त्यो बानीको रुपमा बिकसित हुन्छ । धेरै मानिस वा समुदायले एउटै क्रियाकलाप बानीको रुपमा बिकास गरी एउटा सामुहिक आचरण बन्छ भने त्यो परम्परा बन्न पुग्दछ । परम्परालाई सामाजिक नियमको रुपमा स्विकार्दा त्यसले सँस्कृतिको रुप लिन्छ । चुरोट पिउने सिकारुले सुरुमा आनन्दको लागि पिउँदछ । कोहीकोहीले चुरोट खाँदा दु:ख केही छिनको लागि भए पनि भुल्ने अनुभव गरी त्यसैको प्रयोजनको लागि पिउन सुरु गर्दछ । तर, धेरै पटक चुरोट खाने क्रियाकलापपछि मान्छेमा चुरोट खाने बानी पर्दछ र उसलाई पछि चुरोट छाड्न गाह्रो पर्छ । रक्सी सुरुसुरुमा मान्छेले आनन्दको लागि पिउँछ । पिउने क्रम बढ्दै गएपछि मान्छे त्यसको स्वादमा कैद बन्न पुग्दछ । चुरोट र रक्सी सेवनको मात्रा बढेपछि मान्छेको शरीरमा बिभिन्न रोगले सताउन थाल्दछ । डाक्टरले चुरोट र रक्सी छाड्न सल्लाह दिन्छन् । रोगीलाई अब आफूले ती चीजहरु खानु घातक हुन्छ भन्ने कुरा थाहा हुन्छ, तर स्वादमा कैद भइसकेको हुनाले उसलाई छाड्न गाह्रो हुन्छ । कति पटक छोड्न खोज्छ तर उसलाई सजिलो हुँदैन । धेरै नै हिम्मत गर्नेले लगातारको पीडा सहितको प्रयत्न पछि मात्र सफलता प्राप्त गर्दछ । अझ छोडिसकेपछिको अवस्थामा पनि कुनै अनपेक्षित घटनाका कारण पुन: चुरोट र रक्सी खाने बानी बिकास हुने खतरा बाँकी रहेको हुन्छ ।

परम्परा र सँस्कृतिको कुरा पनि चुरोट रक्सीको बानीजस्तै हो । चुरोट र रक्सीबाट शरीरलाई हानी हुन्छ भन्ने जानकारी नपाएकाहरु त्यसैमा मगनमस्त भएजस्तै पुराना परम्परा र सँस्कृति समयसापेक्षतामा मेल नखाने भई उसको जीवनमा काम नलाग्ने भइसकेपछि पनि  त्यसलाई च्यापेर बस्ने दुस्सहास गरिरहेको हुन्छ । जसलाई पुराना परम्परा अब सान्दर्भिक रहेन भन्ने त थाहा छ तर स्वाद बसिसकेकोले उसले छोड्न सकेको हुँदैन, त्यो मान्छे रक्सी चुरोटले हानी गर्ने थाहा पाएर पनि स्वादको लटले गर्दा रक्सी चुरोट छोड्न नसकेको मान्छेजस्तै प्रकारको हुन्छ ।

चुरोट र रक्सी खाद्यवस्तु हुन् । तर, परम्परा र सँस्कृति भनेका मानिसको जीवन जिउने ब्यबहारहरु हुन् । त्यसैले यसका वर्गीय चरित्र हुन्छन् । खास वर्गको हितानुकूल समाजमा खडा गरिएका परम्परा र सँस्कृति बाँकी अन्य वर्गका लागि उपयोगी हुन्छ नै भन्न सकिन्न । त्यसैले वर्गीय चिन्तन (जतिसुकै स्वतन्त्र भनिए पनि वास्तबिकतामा कुनै पनि चिन्तन निर्वर्गीय हुनै सक्दैन ।) गर्नेहरुले कुन परम्परा, कुन सँस्कृति कुन वर्गको हितार्थ प्रयोग भइरहेछ र हुन सक्दछ भनी जाँचपरख गरी हेर्नु सही हुन्छ । देउसी भैलोको सन्दर्भमा पनि यो कुरो लागु हुन्छ ।

विद्यमान परम्परा र सँस्कृति त हिजोका समाजहरुको अमानत हुन् । प्रगतिशील चिन्तन बोक्नेहरुले नयाँ परम्परा र सँस्कृतिको सिर्जना र बिकासको दृष्टि राख्नु सही सोच हो । पुराना समाजहरुका परम्परा र सँस्कृतिलाई नयाँ ज्ञान, दर्शन, बिचार र निचोडहरुको जालीमा राखी छान्ने र त्यस जालीबाट छानिएर आएकालाई मात्र निरन्तरता दिनु ठीक हो । पुराना परम्परालाई जस्ताका तस्तै गर्ने गरी त्यसको वकालत गर्दै हिँड्नु सही होइन । यदि त्यस्तै गर्ने हो भने नयाँ ज्ञान, दर्शन, चिन्तन, बिचार र निचोडहरुको कुनै अर्थ रहँदैन । अर्को कुरा, नयाँले पुरानालाई बिस्थापन गर्ने कुरा त प्राकृतिक नै भयो नि ! पुरानो हराउन थालियो भनी गिड्गिडाउनुको कुनै अर्थ छैन । यो प्राकृतिक नियमलाई कसैले पनि रोक्न सक्दैन ।

संगठित संस्थाहरु जस्तै युवा क्लब, बिद्यार्थी संगठन, सरकारी तथा गैर सरकारी संस्थाहरुदेखि सांस्कृतिक संस्था एवं राजनीतिक पार्टीहरुमा रहेका मानिसहरु पनि यही समाजका सदस्यहरु हुन् । त्यसैले उनीहरुसँग हिजोको समाजले लट लगाएका परम्परा र साँस्कृतिक स्वादहरु नहुने कुरै भएन । ती स्वादहरुमा उनीहरु आनन्दित पनि भइहाल्छन् । रह्यो ज्ञानी तथा श्रमिक वर्गीय चिन्तन बोक्नेहरुको कुरो । त्यस्ताहरुले पुराना परम्परा र सँस्कृतिका कुराहरुलाई आँखा चिम्ली निरन्तरता दिने कुराको वकालत गर्दछन् भने कि तिनीहरु सोचेजस्ता ज्ञानी र वर्गीय चिन्तन बोक्नेहरु होइनन् कि त तिनीहरु स्वादिलो विषमा लट लागेका अज्ञानीहरु हुन् । त्यसैले देउसी भैलोको सन्दर्भमा आहुतिजीले संगठित संस्थाका नेता कार्यकर्ताहरुलाई लिएर जे निराशा पोखे त्यो सान्दर्भिक त छ तर भावावेग पोखिहाल्नु ठीक होइन । ब्यक्ति र सँस्थाको स्तर एवं वास्तबिकता बुझ्न भने देउसी र भैलोको बेला उनीहरुले देखाउने ब्यबहारले मद्दत गर्दछ ।

 

(Visited 129 times, 1 visits today)

टिप्पणी

comments