Main Menu

सडकमा बिरोध प्रदर्शनीका साथ

डोनाल्ड ट्रम्पको शपथ ग्रहण

राष्ट्रपति पद तथा गोपनियताको शपथ लिने क्रममा बाइबलमाथि हात राख्दै डोनाल्ड ट्रम्प । फोटो : theguardian.com

माघ ८, काठमाडौं । विश्वभर अत्यन्तै ब्यग्रताका साथ लिइएको नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको वाशिङ्टन समयअनुसार शुक्रवार बिहान साढे ९ बजे अर्थात् नेपाली समयअनुसार हिजो शुक्रवार बेलुकी पौने ११ बजे पद तथा गोपनियताको शपथ लिई पदभार सम्हालेका छन् । उनलाई अमेरिकी उच्च अदालतका प्रधानन्यायाधीश जोन रबर्टले शपथ खुवाएका थिए । शपथपछि अमेरिकाको ४५ औं राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले २० मिनेट लामो संक्षिप्त भाषण दिएका थिए ।

विवादास्पद छवि बनाएका राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोह यसअघिका राष्ट्रपतिहरुको भन्दा भिन्न रह्यो । ७० वर्षे ट्रम्पलाई अधिकांश मध्यम वर्गीय अमेरिकी मतदाताहरुले राष्ट्रपतिको रुपमा हेर्न चाहेका थिएनन् । मतदाताको जनमतलाई हेर्ने हो भने राष्ट्रपति ट्रम्पले प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनभन्दा २९ लाख कम मत ल्याएका थिए । तर, अमेरिकी संविधान अनुसार राष्ट्रपतिमा विजयी हुन आम जनताको मत (पपुलर मत) लाई नभई इलेक्ट्रोल मतमा प्रतिद्वन्द्वीलाई उछिन्नुपर्छ । हिलारी क्लिन्टनले आमजनताको बढी मत पाएर पनि इलेक्ट्रोल मतमा ट्रम्पलाई पछि पार्न सकिनन् ।

जनमतको हिसाबमा आमजनता डोनाल्ड ट्रम्पको विपक्षमा छन् । त्यसैले हिजो भित्र अमेरिकी क्यापिटोल दरबारमा एकातिर अर्बपति व्यापारी डोनाल्ड ट्रम्पले ४५ औं अमेरिकी राष्ट्रपतिको रुपमा शपथ लिँदै गर्दा बाहिर वाशिङ्टन डिसि शहरका सडकहरुमा ट्रम्पविरोधी जुलुस प्रदर्शनहरु भइरहे । यस्तो शपथ ग्रहण दृश्य विश्वमै विरलै मात्र देख्न पाइन्छ ।

शपथ ग्रहणपछिको संक्षिप्त भाषणमा राष्ट्रपति ट्रम्पले अमेरिकालाई एउटा समस्यामा रहेको देशको रुपमा ब्याख्या गरे । ट्विटरमार्फत् करिब १ महिनाअगाडि नै आफैले तयार पारेको भनी दावी गरिएको उक्त भाषणमा ट्रम्पले अब विश्वमा अमेरिका प्रथम भइरहने अवस्थालाई कसैले रोक्न नसक्ने घोषणा गरे । उनले भाषणमा भने, ‘आजबाट अब अगाडिका दिनहरुमा केबल अमेरिका नै प्रथम हुँदैछ ।’

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएअनुसार राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा यसअघिका राष्ट्रपतिहरुका समारोहहरुमा भन्दा सानो सङ्ख्यामा मानिसहरुको उपस्थित देखियो भने सहभागी हुनेहरुमा पनि अधिकांश गोराहरु मात्र थिए । अश्वेत जातिका अमेरिकीहरुको सङ्ख्या अत्यन्त न्यून मात्र रह्यो ।

वाशिङ्टन डिसिमा निस्किएको ट्रम्पबिरोधी जुलुस प्रदर्शनी

उता ट्रम्पको विरोधमा शनिवार स्थानीय समय अनुसार बिहान १० बजे वाशिङ्टनको सडकमा लाखौं महिलाहरुलाई उतार्ने कार्यक्रम महिला अधिकारवादीहरुले राखेका छन् । ह्वाइटहाउसभन्दा केही माइल टाढाबाट सुरु हुँदै गरेको उक्त वृहद् महिला जुलुस प्रदर्शनीमा प्रख्यात अधिकारकर्मी एन्जेला डाभिस, महिलावादी नेतृ ग्लोरिया स्टिनेम तथा सिसिली रिचार्डसले उक्त जुलुसपछि हुने सभामा सम्वोधन गर्ने कार्यक्रम राखिएको समाचारमा उल्लेख छ ।

जुलुसमा सहभागी महिला अश्वेत नेतृ मेलानी क्याम्पबेल भन्छिन्, ‘म आशा गर्छु, उनले(ट्रम्पले) आमजनताका राष्ट्रपति हुन प्राथना गर्नेछन् । हामी हाम्रा अधिकारहरु कसैलाई पुुनः बन्धकमा राख्न दिन्नौं ।’

जुलुुसका आयोजकहरुले सहभागीहरु दुईदेखि अधाइलाख पुग्ने दावी गरेका छन् । सहभागीहरुमध्ये अधिकांश महिला हुने भए पनि सहभागिताका लागि नाम दर्ता गराएका पुरुषहरु पनि उल्लेखनीय रुपमा उपस्थित हुने आयोजकहरुको भनाइ रहेको छ ।

शुक्रवार ट्रम्पको शपथ ग्रहण कार्यक्रममा निवर्तमान राष्ट्रपति बाराक ओवामा र ट्रम्पका निकटतम प्रतिद्वन्द्वी हिलारी क्लिन्टन तथा उनका पति एवं पूर्वराष्ट्रपति विल क्लिन्टनको पनि उपस्थिति थियो । डेमोक्रेटिक पार्टीका ६० वर्ष उमेर काटेका केही संसद सदस्यहरुले ट्रम्पको शपथ ग्रहण समारोह वहिष्कार गर्ने योजना बनाएको समाचार पनि बाहिर आएको थियो । तर, उनीहरु पनि सो समारोहमा उपस्थित भएको बताइन्छ ।

(Visited 51 times, 1 visits today)

टिप्पणी

comments