Main Menu

जीवन र निरन्तर भौतिकवाद

चिन्तनको मूल क्षेत्र मस्तिश्क वस्तुत: भौतिक पदार्थ ने हो । चित्र : google image

चिन्तनको मूल क्षेत्र मस्तिश्क वस्तुत: भौतिक पदार्थ नै हो । चित्र : google image

धार्मिक तथा आध्यात्मिक चिन्तन राख्नेहरु अन्धविश्वास या परमात्माको भरोसामा आनन्दको अनुभूति गर्दछन् । त्यसैले आनन्द र आफ्नो अस्तित्वको लालसामा‌ पनि उनीहरु आध्यात्मवादी बाटो या व्यवहारमा लाग्दछन् ।

आफ्नो अस्तित्व मेट्न कोही चाहँदैनन् । मृत्यु साश्वत सत्य हो । त्यसले व्यक्ति मान्छेको अस्तित्वलाई समाप्त पारिदिन्छ, यो यथार्थ व्यहोर्न कोही पनि चाहँदैनन् । त्यसैले भौतिक यथार्थ थाहा पाउँदा व्यक्ति मान्छे बेचैन हुन पुग्छ । निजी अस्तित्वको लालसाले मनमनै सके आफूलाई ज्ञात भएको भौतिक सत्य असत्यमा परिणत भइदिए हुन्थ्यो भन्ने चाहना उसले राख्दछ । यही कारणबाट नै ब्यापक मान्छेलाई भौतिकवादी बनाउन विज्ञानसमेत अझै असफल भइरहेछ ।

विज्ञानले प्रकृतिका नयाँनयाँ रहस्यहरु उजागार गर्दै आइरहेको छ । विज्ञानले गर्दा हिजो अलौकिक र रहस्यमय ठानिएका थुप्रै कुराहरू आज सामान्यज्ञान का विषय बनिसके । अझै रहस्यमय रहेका कुराहरुलाई पनि भोलिका दिनमा विज्ञानले उजागर गरिदिने कुरामा कुनै द्वीविधा हुनु जरुरी छैन । शूक्ष्म कणदेखि विश्वब्रम्हाण्डको अरबौँ प्रकाशवर्ष टाढासम्मको अतिअति विराट विश्वको यथार्थतालाई विज्ञानले उजागर गरिदिइसकेको छ । विराट विश्वको इतिहास र भविष्यमा व्यक्ति मान्छेको कुनै मूल्य छैन । त्यसैले व्यक्ति मान्छेले आफ्नो चिर अस्तित्वको चाहना राख्नु हास्यास्पद हो । तर व्यक्ति मान्छेले सधैँ हास्यास्पद नै भए पनि आफ्नो चिर अस्तित्वको चाहना भने राखी नै रहन्छ । आध्यात्मवादी चिन्तन, सोच र व्यवहारको स्रोत नै यही हो । त्यसैले व्यक्ति मान्छेले सूचना जानकारीको तथा तर्क स्विकारोक्तिको आधारमा आफूलाई भौतिकवादी कित्तामा उभ्याए तापनि उसको चिन्तनशैली, व्यवहार र विचार नजानिँदो पाराले आध्यात्मवादी भइरहने सम्भावना रहिरहन्छ । ईश्वर मान्नु र नमान्नुले मात्र आध्यात्मवादी र भौतिकवादी छुट्टिँदैन । ईश्वरको धुँवाधार विरोधी पनि आधारभूत रुपमै आध्यात्मवादी हुने सम्भावना रहेको हुन्छ ।

आनन्द व्यक्ति मान्छेको जीवन जिउने ऊर्जा स्रोत हो । व्यक्ति मान्छेले जीवनका हरेक क्रियाकलाप आनन्द प्राप्तिका लागि नै गरेको हुन्छ ।

अज्ञानी आध्यात्मवादीहरु भ्रममा आनन्द प्राप्त गरिरहेका हुन्छन् । ज्ञानी आध्यात्मवादीहरु आफ्नो निजी अस्तित्वको चिरस्थायीको लालसामा जिन्दगीभर छटपटाई रहेका हुन्छन् । जीवनको अन्तिम क्षणमा उनीहरूलाई अतितमा आफूलाई थाहा भएका सम्पूर्ण भौतिक यथार्थको ज्ञान नै मिथ्या लाग्न थाल्छ र जतिजति ऊ मृत्युको नजिक पुग्छ उतिउति ऊ आध्यात्मवादी र ईश्वरवादी बन्न पुग्दछ ।

अज्ञानी भौतिकवादीहरु तर्क सूचनाको आधारमा आफूलाई भौतिकवादी कित्तामा उभ्याइरहेका हुन्छन् । त्यसैले उसका सबै व्यवहार तथा सँस्कृति विरासतबाट प्राप्त आध्यात्मवादको जगमा नै ठडिएका हुन्छन् । आध्यात्मवादको जगमा ठडिएको भौतिकवादी घर ज्वालामुखीमाथी बनाएको घरजस्तै हुन्छ । आध्यात्मवादी दैनिक व्यवहारको ज्वालामुखी फुट्नासाथ सिमेन्टेड र सुन्दर घरै भए पनि त्यो भौतिकवादी घर एकैचोटि गर्ल्याम्मै ढल्न पुग्छ । र, व्यक्ति मान्छे रातारात आध्यात्मवादी बन्न पुग्दछ ।

ज्ञानी भौतिकवादीहरु भौतिकवादका आधारस्तम्भ हुन् । तर, उनीहरुमा पनि सुशुप्त रुपमा निजी अस्तित्वको चिरस्थायीको चाहना रहिरहेको हुन्छ, वंशाणु हस्तान्तरणमा लुप्त गुणझैँ । समयको खास बिन्दुमा त्यो चाहना प्रबल भई अगाडि आउने सम्भावना जहिल्यै रहेको हुन्छ । खासगरी जीवनको उत्तरार्द्धमा जब शारीरिक रुपले उसलाई कमजोर महसुस हुन्छ, तब त्यो चाहनाले टाउको उठाउन थाल्दछ । यही चाहनाले ऊ अब छटपटिन थाल्दछ । र, बिस्तार बिस्तारै उसले भौतिकवादी यथार्थ सबै मिथ्या होस् भनी चाहना निर्माण गर्न थाल्दछ । उसलाई अब झनझन भौतिकवादी भइबस्नमा आनन्द नलाग्ने हुन्छ । जीन्दगी त आनन्दकै लागि हो । त्यसैले अब ऊ आनन्दको खोजीमा बिस्तारै आध्यात्मवादी व्यवहार र क्रियाकलापतिर आकर्षित हुन पुग्दछ ।

त्यसैले २१ औं शताब्दीका भौतिकवादीहरुले अब अज्ञानतामा होइन ज्ञानमा आधारित भई व्यक्ति मान्छेको अस्तित्वको अन्त्यको यथार्थतामा नै आनन्द प्राप्त गर्ने अभ्यासमा भौतिकवादको जग हाल्नुपर्छ । आफ्नो अस्तित्व एकदिन पूर्ण रुपमा नष्ट हुने यथार्थलाई आत्मसात गर्ने साहस गर्नुपर्छ । र, त्यसैभित्र आनन्द खोजी गर्ने हिम्मत जुटाउनु पर्छ । यसो हुन नसक्दासम्म हरेक पटक भौतिकवादको घर निर्माण गरेर रङ्गरोगन गरेपछि पूर्ण रुपमा गर्ल्याम्म गुर्ल्याम्मै ढल्ने घटना दोहोरी नै रहने हुन्छ ।

 

(Visited 294 times, 1 visits today)

टिप्पणी

comments