Main Menu

जापाता र किसान आन्दोलन

escuelita-paco-13

मेक्सिकोका क्रान्तिकारी नायक इमिलियानो जापाताले नेतृत्व गरेको किसान आन्दोलन विश्वकै महत्वपूर्ण किसान आन्दोलन मानिन्छ । जापाताले सन् १९१० देखि १९१९ सम्म जमिनदार वर्गपक्षधर राष्ट्रपति पोर्फिरियो दायजको निरङ्कुश शासनविरुध्द भूमिसुधारको नारामा सशस्त्र किसान आन्दोलन चलाएका थिए । उनले मोरलोस राज्यको त्यलाहुइकान नामक आदिवासी अमेरिकी गाउँबाट किसान आन्दोलन चलाउँदै देशभरिको क्रान्तिको रुप दिएका थिए ।

सङ्घर्षगाथा
राज्यले किसानहरुको जमिनमा हस्तक्षेप गरी भकाभक केही कम्पनीको हातमा जमिन दिनथालेपछि जमिनको रक्षा र जीविका सुरक्षाका लागि किसानहरु एकजुट हुन थाले । त्यसबेला जापाता र उनका सहयोगीहरुले विश्वकै लागि आफ्नो आन्दोलन र मागका विषयमा स्पष्ट पार्ने प्रयास गरे । उनीहरुले आन्दोलनका मान्यताहरु अगाडि सार्दै आफ्नो सङ्घर्षका लागि सहयोग र समर्थनका लागि आह्वान गरे । यो खालको अनुरोध एकदमै महत्वपूर्ण थियो । किनकि सरकारले उनीहरुको मागलाई बेवास्ता गरिरहेको थियो र उनीहरुका सर्तलाई स्विकारेको थिएन । उनीहरुले मूलतः ‘प्लान डी आयला’ नामक घोषणापत्र बनाएर जमिन आदिवासी किसानहरुबीच वितरण गर्नुपर्ने नीति र कार्यक्रम सार्वजनिक गरे । उनीहरुले सरकारले आफ्नो पक्षमा भूमिसुधारको नीति ल्याएमा सङ्घर्ष त्यागिदिने समेत उद्घोष गरे ।

‘प्लान डी आयला’को निर्माणको प्रक्रिया आफै महत्वपूर्ण छ । साधारण किसान र गाउँले समुदायले भेला आयोजना गरी भूमिसम्बन्धी नीतिमा केके बुँदा हुनुपर्छ भन्ने प्रश्नमा सल्लाह गरे । त्यहाँ आएका विचारलाई विद्यालयका शिक्षक ओटिलियोले नोटबुकमा लेख्ने काम गरे । तिनै नोटका आधारमा ओटिलियो र जापाताले अन्तिम खेस्रा बनाए, जसमा किसान आन्दोलनको मूल योजना र भूमिसुधारका लागि आफ्ना अडानलाई समेट्ने काम गरियो । यसलाई माउन्टेन क्याम्प आयोकुस्तलामा २२ नोभेम्बर १९११ मा भएको विशाल भेलाले अनुमोदन गरेपछि अन्तिम रुप दिने काम भयो । यसलाई स्थानीय पुजारीले टाइप गरी पहिलो कपी तयार गरे । यसरी ‘प्लान डी आयला’ तयार गरियो ।

‘प्लान डी आयला’मा दाबी गरियो, किसानहरुले तुरुन्तै जमिनको स्वामित्व लिनुपर्छ, जुन अधिकारबाट गैरकानुनी हस्तक्षेपको कारणले खोसिएको थियो । उनीहरुले जमिनमाथिको अधिकार भएको देखाउनुपर्छ । जसलाई त्यस्तो अधिकार देखाउन कठिन हुन्छ, उनलाई जमिनदारबाट खोसिएको ३ भागको एकभाग दिइने छ ।

यसरी १२ सेप्टेम्बर १९०९ मा तीसवर्षको उमेरका इमिलियानो जापाता गाउँ सुरक्षा समितिको सभापतिमा छानिए । गाउँका पाकाहरुले निर्णय गरे, जवान नै भए पनि जापातासँग गाउँको जमिन फिर्ता ल्याउने सङ्घर्षको नेतृत्व गर्ने क्षमता छ । उनलाई पाकाहरुले स्थानीय चर्चमा एकहप्ता लामो सम्मेलन गर्न लगाए, जहाँबाट परम्परागत अधिकार, जमिनमाथिको माया र वंशगत अधिकारका विषयमा छलफल गरियो । छलफलपछि जमिन खोज्ने र कब्जा गरिएका जमिनको फिर्ता गर्ने योजना बनाइयो । भिल्ला डे आयला र मोयोटेपेक पनि जापाताले नेतृत्व गरेको गाउँ सुरक्षा समितिमा समाहित भए ।
zapatista-women
सङ्घर्ष गर्दै जाँदा थाहा भयो, कानुनी रुपमा जमिन प्राप्त गर्नु सम्भव छैन । किनभने धेरै न्यायाधीशहरु जमिनदार भएकाले उनीहरुले कहिल्यै पनि किसानहरुको पक्षमा निर्णय गर्दैनथे । त्यसैले गैरकानुनी रुपमा जमिन कब्जा गर्ने प्रक्रियालाई अगाडि सारियो । यो प्रक्रियाको थालनीपछि जमिनदार र सेना आक्रामक भएर आए । त्यसपछि जमिन प्राप्तिको सङ्घर्षले हिंसात्मक रुप लियो । यसले आन्दोलनलाई देशभरि फैलाउने र गहिर्याउने काम भयो । किसानहरुले नजिकैका सामूहिक वस्ती चिनामेकाबाट हतियार ल्याए । गाउँले र किसानहरुको सहभागितासहित ‘लिबरेसन आर्मी अफ साउथ’ नामक छापामार सङ्गठन बनाए । एकै महिनापछि नै उनीहरुको सदस्य–सङ्ख्या एकहजार पुग्यो । उनीहरुको सङ्घर्ष अब ‘जमिन, स्वतन्त्रता र न्याय’ प्राप्तिको नाराका साथ आँधीझैं बढ्न थाल्यो, जुन सरकारका लागि ठूलो टाउको दुखाइको विषय भयो ।

नयाँ बनेको भिक्टिोरियो हुयेर्टाको सरकारले जापातालाई किसान आन्दोलन रोक्नका लागि घुस दिने प्रस्ताव गर्यो । उनले सो प्रस्तावलाई अस्वीकार गर्दै सरकारविरुद्ध सशस्त्र आन्दोलनलाई जारी राखे । यसको विरुद्धमा नयाँ सरकार र मेक्सिको सहरका केही जमिनदारहरुको गठबन्धन थियो । त्यसै समयमा लडाकु किसानहरुले फिर्ता लिएको वा कब्जा जमाएको जमिनको सुरक्षा गरे, त्यसमा बाली लगाए । जब सरकारी सेना उनीहरुलाई त्यहाँबाट हटाउनका लागि आयो, विद्रोही किसानहरु समूह–समूहमा आबद्ध हुँदै गए । त्यतिमात्र होइन, उनीहरु आफ्नो घोषणा लागू गराउन कुनै पनि बेला लड्न तम्तयार भए ।

रणकौशल
लडाकु किसानहरुले गरेको सङ्घर्षलाई आधुनिक छापामार कारबाहीसँग दाँजेर हेर्ने गरिएको छ । सरकारी सेना किसान लडाकु नजिक आउँदा उनीहरु कहिले हराउँछन्, कहिले लुक्छन्, कहिले स्थानीय मानिसहरुसँगै घुलमिल भएर बस्छन् । जब सरकारी सेनाले आक्रमण गर्ने योजना गर्छन्, तब किसान लडाकुहरुले हडताल गर्छन् । यसरी छापामार शैलीमा लड्दै प्रत्येक साना सहरलाई किसान लडाकुहरुले जित्दै गए, जमिन कब्जा गर्दै जमिनदारहरुको भूस्वामित्वको रेकर्डलाई नास गर्दै गए । मोरलोसका धेरैजसो जमिन, ५३ वटा सामूहिक वस्ती, खेती गरिएका जमिन सबै किसानहरुले फिर्ता लिए । साना कृषि उद्योगकर्तालाई भने उनीहरुले सम्मान नै गरे । जमिन वितरणका साथै सन् १९१५–१६ मा किसानहरुका लागि वचत तथा ऋण कार्यक्रम पनि सुरु गरे ।

जापाताले छोटो समयमा नै लडाकु किसान छापामारहरुको ठूलो सङ्ख्या तयार गर्दै सरकारी सेनालाई हराउँदै सन् १९१४ मा पहिलोपटक राजधानी मेक्सिको सिटीमै मार्चपास गरे । यसरी किसानहरु सङ्गठित र सङ्घर्षशील हुँदै जानुमा किसान छापामारहरुले स्थानीय तहका जनताको बलियो सहयोग र समर्थनले भूमिका खेलेको देखिन्छ ।
किसान लडाकुहरुलाई शान्त पार्न देशका विभिन्न भागमा जमिन किसानहरुलाई नै पुनः फिर्ता गर्ने योजना तय गरियो । यो योजना सन् १९१७ को मेक्सिकोको संविधानको दफा २७ मा संविधानसभामार्फत् प्रकट गरियो । क्रान्तिपश्चात् विभिन्न संघीय सरकार सत्तामा आए तर कसैले पनि प्रतिबद्धताअनुसार जमिन पुनः वितरण र प्रभावकारी भूमिसुधार लागू गरेनन् । पहिला वितरण गरिएका केही जमिन पनि सरकारी सेनाले फिर्ता लियो ।
पालासिओसले एकजना अमेरिकीको आँखाबाट जापाताको नेतृत्वमा भएको सो किसान क्रान्तिको व्याख्या गरेका छन् । उनको भनाइअनुसार पत्रकार विलियम गेट्स अमेरिकी सरकारको तर्फबाट त्यहाँको क्रान्तिको विषयमा अध्ययन गर्न सन् १९१९ मा नियुक्त भएका थिए । र, उनी त्यहाँ पुग्दा निकै आश्चर्यचकित भए, किसान लडाकुहरुको कार्य देखेर, जमिन कब्जा गरेको देखेर, त्यसमा खेती गर्दै जमिनको संरक्षण गरेको देखेर । गेट्सले सामाजिक क्रान्तिको विषयमा सत्य बोलेका थिए ।

पालासिओसले थप लेखेका छन्, जापाता र किसान आन्दोलनका विषयमा मिल्दो सङ्केत र विचार विल्सोन, ल्केमेन्सीयु, लायड जर्ज र लेनिनले आफ्नो रचनामा व्यक्त गरेका थिए । आन्दोलनले निश्चित पनि भावुकतापूर्ण विचारलाई सँगालेको छ । इरिक ओल्फका अनुसार यो अझै पनि दृश्यात्मक छ, नयाँ निर्माण गरिएको अनेनेकुल्को सङ्ग्रहालयमा देखिन्छ, जापाता र उनका विद्रोहीहरुले गुडालुपेको उर्वर भूमिमा लडेका कुरा, आदिवासी अमेरिकीहरुलाई दमनबाट मुक्ति दिएको संकेत र भूमिको प्रतिनिधित्व गरेको कुरा ।
यो आन्दोलनका लागि महिलाहरुले ठूलो योगदान गरे र महङ्खवपूर्ण भूमिका खेले, विशेषगरी लडाकु कार्यक्रमहरुमा । आन्दोलनले सन् १९१७ पछि धेरै नै कठिनाइ बेहोर्नुपर्यो । सरकारी सेनाले विभिन्न उपाय लगाएर उनीहरुमाथि दमन गर्यो । सबै गाउँलेहरुले छापामारहरुलाई जुन सहयोग गरेका थिए, त्यसलाई समाप्त पार्यो । अन्ततः जापातालाई सरकारी सेना र एजेन्टले सन् १९१९ को अप्रिल १० का दिन झुक्याएर अविश्वसनीय तरिकाबाट हत्या गरे ।

जापाताप्रति किसानहरुमा अति धेरै माया र विश्वास थियो । उनको हत्यापछि पनि किसानहरुको मनमस्तिष्कमा बाँचिरहेका छन्, क्रान्तिकारी विचार र आचरणले गर्दा । केही मानिसहरुलाई उनी जिउँदै छन् कि भन्ने विश्वाससमेत रहेको देखियो । उनलाई किसानहरुले गुरु नै माने, इसाईहरुको क्राइस्टजस्तै ।

जापाताको प्रशिक्षणले, अति नै विश्वास जित्ने नाराले अनि सबै आन्दोलनको दिशा दिने प्रवृत्तिले उनलाई दन्त्यकथाका नायक बनाए । यो कुरा अमेरिकी अवलोकनकर्ता तानेतबाउनले लेखेका हुन् । जापातिस्ताको हत्या भएको ४ वर्षपछि मेक्सिको भ्रमण गरेका तानेतबाउनले निम्न कुरा पत्ता लगाए । ‘दक्षिणका विद्रोहीहरु तिम्रो शरणमा पर्नुभन्दा मर्नु नै जाति छ ।’ यो अभिलेखको रुपमा क्युरनाभाकामा ११ अप्रिल १९१९ का दिन जापातिस्ताको हत्या भएपछि कोरिएर टाँसिएको थियो ।

जापाताको हत्यापछि
पछिल्ला दुई दसक जहाँ–जहाँ किसान आन्दोलनहरु भए, त्यहाँ–त्यहाँ किसानहरुका पक्षमा भूमिसुधार भयो, विशेषतः किसानहरुमाथि दमन गरिएका भेरा क्रुज, मिचोन र युकाटनमा । सन् १९३० को आधाआधीसम्म सुधारवादी सरकारका प्रमुख जनरल लाजारो कारदेनास पूर्ण रुपमा किसान सङ्गठनमा निर्भर रहे । किनकि सेनाको सुरक्षाभित्र रहने परम्परवादीहरुले उनको सहजीकरणको अवज्ञा गरिरहे । तर उनले ल्याएका नीति र कार्यक्रम सबै नै सुधारमुखी थिए । भूमिसुधारकै क्रममा १८ मिलियन हेक्टर जमिन सातलाख सत्तरी हजार किसानलाई वितरण गरियो । यसमध्ये प्रायः सबै सिञ्चित क्षेत्र थिए । कहिलेकाहीँ भूमि वितरणका बेलामा हिंसात्मक घटना पनि भए । र, किसान सङ्गठनहरुलाई सरकारले बलियो पार्ने काम गर्यो । तिनको रक्षाका लागि हतियार नै वितरण गर्यो । यो सरकारले प्राकृतिक स्रोतको रक्षाका लागि पनि कडा अडान लियो । जस्तै विदेशीहरुले कब्जा जमाएका तेलखानीलाई राष्ट्रियकरण गर्यो, जुन स्टान्डर्ड र रोयर डच शेल कम्पनीका थिए । कार्डेनासको शासनकाल उल्लेखनीय छ, किनकि त्यसबेला जनसमुदायको परिचालन र सहयोगमात्रै भएन, नयाँ खालको आम सहभागिता र समर्थन पनि उपलब्ध भयो । किसान संघहरु र मजदुर युनियनलाई एक्कैठाउँमा ल्याएर महासंघ बनाउने काम भयो र ती दुवैलाई राष्ट्रिय आधिकारिक पार्टीमा एकीकृत गरियो, जुन भिन्न–भिन्न नाममा आज पनि शक्तिमा रहेका छन् ।

समग्र भूमिसुधारको काम सन् १९४० मा गएर रोकियो र किसान परिचालनको कुरा भावनात्मक रुपमै सेलाएर गयो । राजनीतिक शक्ति मध्यम वर्गको हातमा गयो, जसमा आमूल परिवर्तन गर्ने रुचि थिएन, भूमिसुधार गर्ने इच्छा पनि थिएन । किसानहरुका औपचारिक सङ्गठनहरुले मौखिक रुपमा भए पनि यसको विरोध गरे । अतः देशमा किसानहरुबीच असन्तुष्टिसँगै अशान्ति बढ्दै गयो र धेरै किसान सरकारले मान्यता नदिएको आफ्नो अनौपचारिक सङ्गठनमै फिर्ता भए ।

सन् १९५८ मा स्वतन्त्र किसान सङ्गठनको जासिन्तो लोपेजले युनियन जेनेरल डि ओब्रेरोस मेक्सिकोको नेतृत्व गरे । त्यसले बलियो ढङ्गले जनतालाई सङ्गठित गर्न र साङ्केतिक रुपमा जमिनमाथिको कब्जा गर्न अग्रसर तुल्यायो, जुन ठूला जमिनदारहरुको नियन्त्रणमा थियो । जग्गा कब्जाको काम मुख्यतः मेक्सिकोको उत्तरी प्यासिफिक राज्यमा गरियो, जहाँ सरकारद्वारा ठूला जमिनदारहरुलाई व्यावसायिक खेती गर्न ठूलठूला सिञ्चित क्षेत्र दिइएको थियो । सुकुम्वासी र मोही किसानहरुले सोही जमिनमाथि अधिकारका लागि राज्यको नीतिअनुरुप नै दाबी गरिरहेका थिए । तर बीचै भूमिसुधारको काम स्थगित गर्ने र त्यसको फलस्वरुप सामाजिक अशान्ति बढाउने काम भएपछि आजसम्म पनि यो समस्या पूर्ण रुपमा समाधान भएको छैन । अतः जापाताको सपना पूरा गर्न आज पनि किसानहरु जापातिस्ता मुभमेन्ट र अन्य सङ्गठनको नाममा सङ्गठित भई शान्तिपूर्ण आन्दोलनदेखि सशस्त्र सङ्घर्षसम्ममा समेत लागिरहेका छन् ।

सन्दर्भ स्रोत ; १‍‍. Gerrit Huizer, peasant mobilization for land reform: Historical cases and considerations.
२. Krishna Ghimire, Land Reform and Livelihoods
३. मेक्सिकोको किसान आन्दोलनसम्बन्धी वेभसाइटहरु

(मेक्सिकोमा दशकौंदेखि चलिरहेको किसान आन्दोलन अझै जारी छ । त्यो आन्दोलनको महत्व अझै घटेको छैन । त्यसैले त्यससम्बन्धी तयार पारिएको सामग्री अझै सान्दर्भिक नै हुने भएकोले मूल्याङ्कन पूर्णाङ्क १५३ मा प्रकाशित यस लेख यहाँ पुनः प्रकाशित गरिन्छ ।– सं.)

(Visited 95 times, 1 visits today)

टिप्पणी

comments