Main Menu

जलवायु परिवर्तन र अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको बेला जसरी जलवायु परिवर्तन र पृथ्वीको तापक्रम बृद्धिका कुरा वाइहात हुन् र त्यसको लागि अमेरिकाले पैसा खर्च गर्न सक्दैन भनी जुन बिचार व्यक्त गरेका थिए त्यही मुताविक अहिले शपथ ग्रहण लगतै उनले ह्वाइट हाउसको वेभसाइटबाट जलवायु परिवर्तनसम्बन्धी सम्पूर्ण पृष्ठहरु हटाउन लगाएका छन् । विश्वमा हरितगृह ग्याँस उत्सर्जन गरी पृथ्वीलाई झनपछि झन तात्दै जानमा अमेरिकाको योगदान प्रमुख रहँदै आएको छ । त्यसैले विश्व जनमतको दवाबलाई थेग्न नसकी अमेरिकाले हरितगृह ग्याँस उत्सर्जन कम गर्न योगदान दिने राष्ट्र तथा संस्थाहरुलाई आर्थिक सहयोग गरी आफ्नो कार्यको मूल्य चुकाउँदै आएका छन् । तर, अहिले नयाँ अमेरिकी राष्ट्रपतिको पर्यावरण संरक्षणविरोधी भनाइ र गतिविधिबाट विश्व भयग्रस्त बनेको छ ।

गत हप्ता मात्रै वैज्ञानिकहरुले सन् २०१६ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष रहेको तथ्य सार्वजनिक गरेका थिए । सन् २०१५ मा कायम भएको सबैभन्दा तातो वर्षको रेकर्ड सन् २०१६ मा तोडियो । सन् २०१५ मै पनि सन् २०१४ मा कायम भएको रेकर्ड तोडिएको थियो । त्यसैले, तीन वर्ष लगालग सबैभन्दा तातो वर्षको रेकर्ड तोडिँदै आएको छ र यो क्रम रोकिने छाँटकाँट नभएको जलवायु वैज्ञानिकहरु बताउँछन् ।

समुद्री तथा वायुमण्डलीय अवस्थाको अध्ययन गर्ने अमेरिकी संस्था नेसनल ओसिएनिक एण्ड एट्मोस्फियर एडमिनिस्ट्रेसन (एनओएए)का अनुसार सन् २०१५ भन्दा सन् २०१६ मा पृथ्वी सतहको औसत तापक्रम ०.०४ डिग्री सेन्टिग्रेडले बढेको छ । सन् १८८० मा एनओएएले रेकर्ड राख्न सुरु गरेदेखि सन् २०१६ का जनवरीदेखि अगस्टसम्म हरेक महिना सबैभन्दा तातो महिनाहरु रहे ।

सन् २०१६ मा विश्वभरिको जमिन तथा समुद्री सतहको औसत तापक्रम १४.८३ डिग्री सेन्टिग्रेड रह्यो, जुन बीसौँ शताब्दीको औसत तापक्रम १३.८९ भन्दा ०.९४ डिग्री बढी हो । त्यस्तै, सन् २००० पछि ‘सबैभन्दा तातो वर्ष’को रेकर्ड ५ चोटी तोडिसकिएको छ । सन् २००५ र सन् २०१० मा पनि यो रेकर्ड तोडिएको थियो । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सबैभन्दा तातो १७ वटा वर्षहरुमा १६ वटा वर्षहरु सन् २००१ पछि छन् ।
‘हरेक वर्ष यो (सबैभन्दा तातो वर्षको) रेकर्ड तोडिन्छ भन्ने छैन, तर दीगो रुपमा जुन पृथ्वीको सतहको औसत तापक्रम बढ्ने ट्रेन्ड छ, त्यो स्पष्ट नै छ ।’ नासाको गडार्ड इन्स्टिच्युट फर स्पेस स्टडिजका गेभिन स्मिडले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नासा र एनओएएका रेकर्डहरु केही भिन्न छन् किनभने दुई संस्थाहरुले दुई भिन्नाभिन्नै पद्दति प्रयोग गर्छन् । तर, दुबै संस्थाहरुको डाटाअनुसार वैज्ञानिकहरु के कुरामा सहमत छन् भने सन् २०१४, २०१५ र २०१६ लगातार ‘सबैभन्दा तातो वर्ष’ रहँदै आएका छन् ।

त्यस्तै, जापानको जापान मिटियोरोलोजिकल एजेन्सी र बेलायतको हेड्ली सेन्टरले पनि यस्तै निष्कर्ष निकालेका छन् । हेड्ली सेन्टरको डाटाअनुसार सन् १९६१ देखि १९०० बीचको पृथ्वीको औसत तापक्रमभन्दा सन् २०१६ को औसत तापक्रम ०.७७ डिग्री बढी छ । सन् २०१५ मा यो ०.७६ डिग्री बढी थियो ।

नासाका अनुसार १९ औँ शताब्दीको तुलनामा अहिले पृथ्वी औसतमा १.१ डिग्री तातो छ । ग्रान्थम रिसर्च इन्स्टिच्युटका बब वार्डका अनुसार यो निकै गम्भीर छ किनभने पृथ्वीको तापक्रमलाई औसतमा १.५ डिग्रीभन्दा बढ्न नदिन वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन् ।

‘औद्योगिक युगअगाडिको पृथ्वीको औसत तापक्रमभन्दा १ डिग्री सेल्सियस बृद्धि भएको यो लगातार दोस्रो वर्ष हो । १.५ डिग्री थ्रेसहोल्ड छिटै छुने क्रममा छ । यो थ्रेसहोल्ड पार गरेको खण्डमा जलवायु परिवर्तनको प्रभाव भयानक हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।’ बब वार्ड भन्छन् ।

आर्कटिक क्षेत्रमा वरफको परिमाण कम हुँदा ध्रुवीय भालुहरुको वासस्थान संकटमा परेको छ ।

जलवायु परिवर्तनका प्रभावहरु बिस्तारै देखिँदै आएका पनि छन् । अष्ट्रेलियाको उत्तरपूर्वको ग्रेड ब्यारियर रिफ्टमा अहिलेसम्मकै सबैभन्दा ठूलो कोरल ब्लिचिङ्ग (उच्च तापक्रमका कारण आफ्नो शरीरमा भएका एल्गीहरुलाई शरीरबाहिर पठाउँदा कोरल रङ्गबिहीन हुने प्रक्रिया) भएको थियो । आर्कटिक क्षेत्रको समुद्री बरफको कुल परिमाण अहिलेसम्मकै सबैभन्दा कम रहेको पाइएको छ । त्यस्तै, सन् २०१६ को वर्षमा जनवरीदेखि सेप्टेम्बरसम्मको हरेक महिना अघिल्ला वर्षका उहीउही महिनाहरुभन्दा तातो हुन पुग्यो । त्यतिखेर भारतमा पनि चरम रुपमा तापक्रम बृद्धि भएका समाचारहरु बाहिर आएका थिए । फलोडी नामक शहरमा भारतको राष्ट्रिय रेकर्ड तोड्दै तापक्रम ५१ डिग्री पुगेको थियो । त्यस्तै गरी जुलाइ २२ मा इरानको देल्होरनमा ५३ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।

सन् २०१६ अमेरिकाको लागि भने दोस्रो तातो वर्ष रह्यो । तर, अमेरिकाकै उत्तरी प्रान्त अलास्काको लागि भने उक्त वर्ष सबैभन्दा तातो वर्ष रह्यो ।

युनिभर्सिटी अफ एरिजोनाका जलवायुविज्ञ जोनाथन ओभरपेकका अनुसार स्ट्राटोस्फेयर तह (पृथ्वीको सतहबाट १३.५ देखि २१ किलोमिटर माथिसम्मको वायुमण्डलीय तह) सन् २०१६ मा सबैभन्दा चिसो रह्यो ।

‘वायुमण्डलको तल्लो तहमा देखिएको उच्च तापक्रम र स्ट्राटोस्फेयरमा देखिएको अतिकम तापक्रम जलवायु परिवर्तनको स्पष्ट संकेतहरु हुन् – जलवायु परिवर्तन गराउने हरितगृह ग्याँस (greenhouse gases) हरुले सूर्यबाट आएको तापलाई वायुमण्डलको तल्लो तहमा ट्र्याप गरेर माथिल्लो तहमा जान नदिने भएकोले जति बढी हरितगृह ग्याँस उत्पादन भयो, तल्लो तहमा तापक्रम त्यति बढ्छ भने माथिल्लो तह त्यति चिसो हुन्छ ।

‘सन् २०१६ एक हिसाबले चेतावनी जस्तै हो ।’ ओभरपेक भन्छन्, ‘जलवायु परिवर्तन वास्तविकता हो र यो हामी मान्छेकै कारण भइरहेको छ ।’

एकातर्फ वैज्ञानिकहरुको चेतावनी छ, अर्कोतर्फ छन्, डोनाल्ड ट्रम्प । यो तथ्य कसैबाट लुकेको छैन कि ट्रम्प जलवायु परिवर्तन विज्ञानकाविरोधी हुन् र उनको राष्ट्रपति कालमा यो एक प्रमुख एजेण्डा रहनेवाला छ । ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिएको केही घण्टापछि नै ह्वाइट हाउसको वेभसाइट whitehouse.gov बाट जलवायु परिवर्तनसम्बन्धी सम्पूर्ण पृष्ठहरु हटाइए । यो त सुरुवात मात्र हो ।

वैज्ञानिकहरुलाई के कुराको भय छ भने अनलाइन डाटा यसरी मेटाउने काम यस्ता साना परिचयात्मक वेभसाइटहरु हटाउनेमै सिमित हुँदैन । ट्रम्प प्रशासनले महत्वपूर्ण सरकारी डाटाहरु पनि पूर्णतया मेटाउनसक्ने खतरा वैज्ञानिकहरु देख्छन् । अमेरिकी सरकारले स्टोर गरेर राखेका जलवायु परिवर्तनसम्बन्धी डाटाहरु अन्यन्त महत्वपूर्ण र आधिकारिक मानिन्छन् ।

ट्रम्पले अफिस सम्हाल्न थालेदेखि ५० भन्दा बढी वैज्ञानिकहरुले स्वयंसेवीको रुपमा वातावरणीय सुरक्षा संस्था (Environmental Protection Agency), नासा, एनओएए र अमेरिकी भौगर्भिक सेवाका वेभसाइटहरुमा स्टोर गरेर राखिएका डाटाहरुलाई सुरक्षित गर्न आफ्नो समय दिएको न्यू योर्क टाइम्सले जनाएको छ । यी वेभसाइटहरुले वायुमण्डलीय तापक्रमको प्रवृत्ति, हरितगृह ग्याँस उत्पादनको लेभल तथा समुद्री सतहको वृद्धिजस्ता महत्वपूर्ण तथा संवेदनशील डाटाका रेकर्डहरु राख्छन् ।

‘अमेरिकी सरकारले जलवायु परिवर्तनसम्बन्धी थुप्रै डाटाहरु संकलन गरी थुप्रै सरकारी संस्थाका वेभसाइटहरुमा स्टोर गर्न धेरै मिहिनेत गरेको छ ।’ ३१४ एक्सनका संस्थापक शनेसी नोटन भन्छन्, ‘हाम्रो चिन्ताको विषय के हो भने अब यी डाटाहरु सार्वजनिक रुपमा उपलब्ध नहुन सक्छन्, र उनीहरुले अब उप्रान्त डाटाहरु संकलन गर्न छाड्नेछन् । डाटा नै नहुने अवस्थामा जलवायु परिवर्तन नकार्न निकै सजिलो हुन्छ ।’

वैज्ञानिकहरुको यो भय निराधार छैन । ‘तपाईं के अपेक्षा गर्नुहुन्छ र ? नयाँ प्रशासन आउँदैछ र यस प्रशासनको हाम्रो संसारलाई हेर्न फरक दृष्टिकोण छ ।’ इन्स्टिच्युट फर इनर्जी रिसर्चका प्रवक्ता क्रिस वारेन भन्छन्, ‘हरेक राष्ट्रपतिका आ–आफ्नै प्राथमिकताहरु हुन्छन् । राष्ट्रपति ओबामाका धारणाहरु जस्ता थिए, त्यसैको प्रतिबिम्ब हामीले उहाँ राष्ट्रपति हुँदा सरकारी वेभसाइटहरुमा देखेका थियौँ । अहिले नयाँ प्रशासनले संसारलाई हेर्ने दृष्टिकोण निकै फरक छ ।’

(Visited 81 times, 1 visits today)

टिप्पणी

comments