Main Menu

ऐतिहासिक भौतिकवाद के हो ?

(कोरा आर्थिक निर्धारणवाद (determinism) मा नफस्ने गरी चेतना, दृष्टिकोण र व्यवहारमा आर्थिक–सामाजिक सम्बन्ध बनावटको निर्णायक भूमिका बुझ्ने हो भने ऐतिहासिक भौतिकवादको सही बुझाइ जरुरी हुन्छ । यो विषयमा अलमल लिनु कुनै नौलो कुरा नभएको एंगेल्सले लेखेका यो पत्रले प्रमाणित गर्छ ।
यस पत्रमा एंगेल्सको पालाको जर्मन राज्यको इतिहासको उदाहरण छ । यो इतिहासको उदाहरण पूरा बुझ्नका लागि थप अध्ययन गर्नुपर्ने हुन्छ । तैपनि त्यो उदाहरण थाती राखेर पनि उनका सार कुरा बुझ्न सकिन्छ । उनले भनेका छन्, ‘मानिसको सोच, बुझाइ र कार्यको भूमिका एकसाथ महत्वपूर्ण हुन्छ ।’ एंगेल्सको यो भनाइले निम्न तीन कुराबारे अलि गहिरो रुपमा सोच्न र बुझ्न जोड दिएको । (१) मानव जातिको जीवनयापन पनि प्राकृतिक प्रक्रियाअन्तर्गत पर्छ, (२) स्वतन्त्रता र आवश्यकताबीच सम्बन्धको प्रकृतिको स्वरुप, (३) सही क्रान्तिकारी संरचना र कार्यशैली निर्माण गर्नुमा ऐतिहासिक भौतिकवादको सही बुझाइको महत्व ।
यो पत्रमा फलदायी अभियान कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीलाई एंगेल्सको महत्वपूर्ण निर्देशन पनि पाएको छ । उनी के सल्लाह दिन्छन् भने अलमल वा भ्रममा नपर्न मौलिक स्रोत खोजेर सिद्धान्तको अध्ययन गर्नुहोस् । त्यही स्प्रिटमा एंगेल्सको यो मौलिक पत्र उपलब्ध गराउँछौं । एक सय २४ वर्षअघि एक अर्थविद्लाई सम्बोधन गर्दै भ्रममा नपरोस् भनेर माक्र्स आफैले अघि सारेको भौतिकवादको सिद्धान्त प्रस्ट्याउन एंगेल्सलाई पहिले नै जरुरी लागेको रहेछ  : सम्पादक)

फ्रेडरिक एंगेल्स

फ्रेडरिक एंगेल्स

इतिहासको भौतिकवादी अवधारणाअनुसार वास्तविक जीवनको उत्पादन र पुनरुत्पादन नै अन्ततोगत्वा इतिहास प्रक्रियाको निर्णायक तत्व मानिन्छ । यसभन्दा फरक कुरा कहिल्यै न माक्र्सले दावी गनुभयो न त मैले नै गरेँ । तसर्थ, यदि कसैले उक्त कुरा बंग्याएर आर्थिक तत्व नै एकमात्र इतिहास निर्माणमा निर्णायक हुन्छ भन्छ भने उक्त प्रस्तावनालाई एउटा अर्थहीन, अमूर्त तथा खोक्रो वाक्यांशमा परिणत गरिरहेको हुन्छ । आर्थिक परिस्थिति जग हो, तर अधिरचनाको विभिन्न तत्व– वर्गसंघर्षका राजनीतिक रुप र विजयी वर्गद्वारा संघर्षमा सफलता प्राप्त गरिसकेपछि स्थापित राज्य प्रणाली आदिजस्ता यसका नतिजाले, न्यायिक रुप र अझ यी सबै वास्तविक संघर्षमा सहभागी मानिसको दिलदिमागमा परेको छापले राजनीतिक, न्यायिक, दार्शनिक सिद्धान्तले, धार्मिक बिचारले र अझ जडसूत्रको प्रणालीमा तिनको विकासले समेत ऐतिहासिक संघर्षको प्रक्रियामाथि आफ्नो प्रभाव पार्छन् र धेरै मामिलामा त संघर्षको रुपको निर्धारणमै महत्वपूर्ण रहेको समेत सावित हुन्छ ।

यी सबै तत्वबीचमा एक अन्तक्र्रिया भइरहेको हुन्छ, जसमा आकस्मिक घटनाका अनन्तः समूहका बीचबाट (अर्थात् त्यस्ता वस्तु र घटनाका अनन्त समूहबीचबाट जसको भित्री अन्तर्सम्बन्ध यति टाढाको देखिन्छ र प्रमाणितसमेत गर्न नसकिने हुन्छ कि हामी त्यसलाई अनुपस्थित वा नगन्य मान्न सक्छौं) । आर्थिक गति नै अन्ततः अनिवार्य गतिका रुपमा प्रकट हुन्छ । अन्यथा यस सिद्धान्तलाई इतिहासको कुनै पनि कालखण्डमा इच्छानुसार लागु गर्नु पहिलो तहको एउटा सरल समीकरण समाधान गर्नुभन्दा सजिलो हुने थियो ।

हामी हाम्रो इतिहास आफैं बनाउछौं, तर सर्वप्रथम, अति निश्चित मान्यता र परिस्थितिअन्तर्गत रहेर मात्र बनाउँछौं । तीमध्ये आर्थिक मान्यता र अवस्था अन्तिम रुपबाट निर्णायक हुन्छन् । तर, राजनीतिक र अन्य मान्यता र अवस्थाले पनि कतिसम्म भने वास्तवमा मानव मनलाई निरन्तर त्रस्त बनाउने परम्पराले समेत इतिहास निर्माणमा भूमिका खेलिरहेका हुन्छन्, यद्यपि ती निर्णायक भने हुँदैनन् । प्रसिया राज्य (the Prussian state) पनि ऐतिहासिक कारणले, अन्ततोगत्वा आर्थिक कारणले गर्दा नै जन्मेको र विकसित भएको हो । तर, उत्तर जर्मनीका थुपै्र स–साना राज्यमध्येको ब्रान्डेनबर्गले नै महान् शक्तिको भूमिका खेल्नु थियो, जहाँ उत्तर र दक्षिणबीच आर्थिक भाषागत र धर्म सुधारपछि धार्मिक विभेद निर्माण भयो र यस्तो खालि आर्थिक आवश्यकताका कारणले मात्र भएको हो, यसमा अन्य तत्वको (सर्वप्रथम प्रसियालाई कब्जा गरी राख्ने उद्देश्यले ब्रानडेनबर्ग पोन्डसँगको अनुचित सम्बन्धमा र फलस्वरुप अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धमा अल्झिएको तथ्य । यो वास्तवमा अष्ट्रियाको राजवंशको शक्ति निर्माणमा निर्णायक थियो भन्ने तथ्य) कुनै हात थिएन भन्नु पाण्डित्य प्रदर्शन गर्नु मात्र हुनेछ । आफूलाई हास्यास्पद नबनाई जर्मनीका विगत र वर्तमानका सबै स–साना राज्यको अस्तित्वको व्याख्या केवल अर्थशास्त्रका शब्दावलीमा गर्ने प्रयास गर्नु वा जर्मनीभरिका सुडेटिकदेखि टानस शृंखलासम्मका पहाडी दिवारमा सहज रुपले खाडल बनाउँदै, पर्वतीय विभाजन प्राचीरलाई फराकिलो पार्ने उच्च जर्मन व्यञ्जन विवर्तनको उत्पत्तिबारे अर्थशास्त्रीय ढंगले व्याख्या गर्नु कठिन विषय हो ।
तथापि दोस्रो कुरो, इतिहास कस्तो तरिकाले निर्माण हुन्छ भने अन्तिम परिणाम सधैँ अनेकौं व्यक्तिगत इच्छाशक्तिको द्वन्द्वबाट फुत्त माथि निस्कन्छ । यी वैयक्तिक इच्छा स्वयम् जीवनका अनगिन्ती विशिष्ट अवस्थाबाट बनेका हुन्छन् । यसप्रकार असंख्य प्रतिच्छेदक (एक–अर्कालाई परस्पर रुपले काट्ने) शक्ति हुन्छन्, शक्तिका समानान्तर चतुर्भुजका अन्त शृंखला हुन्छन्, तिनबाट एक परिणामी उत्पन्न हुन्छ, यही नै ऐतिहासिक घटना हो । हामीले यसलाई एउटा त्यस्तो शक्तिको उपजका रुपमा पनि हेर्न सक्छौं, जसले समग्रतामा अचेतन रुपले र इच्छा अभावमा काम गर्छ किनभने एकजना व्यक्तिले जे चाहना गरेको हुन्छ, त्यसलाई बाँकी अरु सबैले अवरुद्ध गरिदिन्छन् र जुन परिणाम प्रकट हुन्छ, त्यसलाई कसैले पनि चाहना गरेका हुँदैनन् ।

यसरी इतिहास आजसम्म एक प्राकृतिक प्रक्रियाको ढंगले नै अघि बढ्दै आएको छ । सारमा गतिको नियम जे छ त्यसैको अधीनमा रहेको हुन्छ । तर, वैयक्तिक इच्छा– तीमध्ये हरेकका इच्छा उसको शारीरिक गठन र वाह्य अन्ततः आर्थिक (परिस्थिति) कि त उसको आफ्नै परिस्थिति कि त आमसमाजको परिस्थितिबाट पे्ररित हुन्छन् (को प्राप्ति हुबहु सोचेजस्तो हुँदैन बरु ती एक सामुहिक मध्यमानमा एक सम्मिलित परिणामीमा (कुल औसतमा) विलय हुन्छन् भन्ने तथ्यका आधारमा के निक्र्यौल निकाल्नु हुँदैन भने यी वैयक्तिक चाहनाको मूल्य शून्य समान हुन्छ । यसको उल्टो के बुझ्नुपर्छ भने हरेक इच्छाले उल्लिखित कुल औसतमा योगदान गरेको हुन्छ र यही सीमासम्म परिणाममा समावेश भएको हुन्छ ।

यस अतिरिक्त म तपाईंलाई यस सिद्धान्तबारे सहायक स्रोतका आधारमा होइन, मूल ग्रन्थका आधारमा अध्ययन गर्नुहोस् भन्न चाहन्छु । यस्तो गर्नु वास्तवमै सरल छ । माक्र्सले यस सिद्धान्तको हात नभएको कुनै कुरा पनि लेख्नुभएको छैन । खासगरी लुई बोनापार्टको अठारौं बु्रमेर यस किसिमको प्रयोगको सबैभन्दा उत्कृष्ट उदाहरण हो । क्यापिटलमा यसका थुप्रै सन्दर्भ भेटिन्छन् । यसका साथै म तपाईंलाई मेरा यी पुस्तकतिर निर्देशित गर्न चाहन्छु । युजेन श्री ड्युहरिङद्वारा विज्ञानमा प्रवर्तित क्रान्ति र लुडविग फायरबाख तथा क्लासिकीय जर्मन दर्शनको अन्त्य । यी रचनामा मैले ऐतिहासिक भौतिकवादको विदर्शन गरेको छु, मेरो जानकारीमा यसभन्दा बढी विशद वर्णन अन्यत्र पाइँदैन । (जर्मन बिचारधारा माक्र्स तथा एंगेल्सको जीवनकालभरि प्रकाशन भएको थिएन ।)

युवाहरु कहिलेकाहिँ आवश्यकताभन्दा बढी आर्थिक पक्षमा जोड दिने गर्छन्, यसमा अंशतः स्वयम् माक्र्सको र मेरो दोष छ । किनकि हामीले विरोधीको सामना गर्दै मुख्य सिद्धान्तमा जोड दिनुपरेको थियो र त्यस अन्तरक्रियामा संलग्न अरु तत्वलाई तिनको उचित स्थानबारे प्रस्ट गराउन समय, ठाउँ तथा अवसर हामी सधैं पाउँदैनथ्यौं । तर, इतिहासको कुनै एक अंशलाई प्रस्तुत गर्ने अर्थात् यसको व्यवहारिक उपयोग गर्नुपर्ने प्रश्न आइपर्दा कुरा अर्कै हुन्थ्यो, त्यहाँ गल्तीको कुनै सम्भावना रहँदैन, छैन । तर दुर्भाग्यवश, बहुधा के हुने गरेको छ भने नयाँ सिद्धान्तका मुख्य प्रस्तवनालाई बुझिसकेपछि– तिनलाई सधैं सही किसिमले बुझिँदैन– मानिस के ठान्ने गर्छन् भने हामी यसमा पूर्णतया पारंगत भइसकेका छौं र ग्रहण गरेको प्राणैदेखि नै उक्त सिद्धान्तलाई कुनै परिश्रम नगरी लागु गर्न सक्छौं । हिजोआजका हाम्रा धेरै ‘माक्र्सवादी’लाई पनि म यस दोषबाट मुक्त छन् भन्ने मान्न सक्तिनँ किनभने यिनीहरुबाट पनि सर्वाधिक अचम्मलाग्दा बकबास र गन्थन उत्पादन गरिएको छ ।

साभार : प्रस्थान त्रैमासिक, वर्ष १, अंक १

अनु : नारायण पोखरेल

(Visited 1,578 times, 1 visits today)

टिप्पणी

comments